भर्खरै :

पोल पोटः साम्राज्यवादी सञ्चारमाध्यमको शिकार

अङ्ग्रेजीमा एउटा बहुप्रचलित उखान छ – ‘रोयटर’ समाचार संस्था बेलायती नौसेनाभन्दा शक्तिशाली छ । हुन त जुनबेला यो कथन प्रचलनमा आयो, त्यतिखेर बेलायतको सेना र त्यसमा पनि त्यहाँको नौसेना विश्वको प्रमुख शक्तिशाली फौजको रूपमा स्थापित थियो, तैपनि जुन आसयलाई सो उखानले मुखरित गर्दथ्यो, त्यसमा भने हालसम्म पनि कुनै खास परिवर्तन आएको छैन । बेलायतको नौसेना उपनिवेशवाद र साम्राज्यवादको धारिलो हतियार हो, तर त्यो भने अत्यधिक खतरनाक ‘रोयटर’ हो । यो मान्यतालाई सोभियत सङ्घ र पूर्वी यूरोपमा यस दशकमा आएको परिवर्तनले झनै दरिलो बनाइदिएको छ । साम्राज्यवाद बेलगाम भएको छ र त्यस्तोमा उसका सञ्चार माध्यमहरू पनि पहिलेभन्दा आक्रामक हुँदै आइरहेका छन् ।
आफ्नो तालमा नाच्न नमानेको कारण त्यसरी अगन्ता गर्ने देश र त्यसका नेताहरूलाई काबुमा ल्याउन साम्राज्यवादी देशहरूले सैनिक कारबाहीलाई अघि बढाएका उदाहरणहरू इतिहासमा धेरै छन् । तर, आधुनिक संसारमा त्यस्ता पनि थुप्रै घटनाहरू छन् जहाँ साम्राज्यवादी सेनाले हासिल गर्न नसकेका उपलब्धिहरू उसका सञ्चार माध्यमहरूमार्फत हात पारिएका छन् । नायकलाई खलनायक बनाइदियो र खलनायकलाई नायकको रूपमा चित्रण गरिदियो अनि आफ्नो दूनो सोझ्यायो । साम्राज्यवादी सञ्चारसाधनको शिकार भएका त्यस्ता असङ्ख्य देशहरूमध्ये एउटा कम्बोडिया पनि हो र साम्राज्यवादीहरूले आफ्नो तुच्छ स्वार्थको लागि विकृत ढङ्गले चित्रण गरिएका कैयौँ नेताहरूमध्ये कम्बोडियाका नेता पोलपोट पनि एक हुन् ।
को हुन् पोल पोट ? अनि कसरी विकृत रूपमा चित्रण गरियो त उनको तस्विर ?
वास्तविक नाम सालोठ सार भएका पोल पोटको जन्म सन् १९२८ मा कम्बोडियाको प्रेक स्बाउभ गाउँमा भएको बताइन्छ । त्यतिखेर कम्बोडिया फ्रान्सेली उपनिवेश थियो, यसकारण त्यहाँ लगायत त्यसका छिमेकी भियतनाम र लाओसमा पनि उपनिवेशवाद–विरोधी सङ्घर्ष सल्किँदै थियो । सन् १९३० मा हङकङमा हिन्द–चीनी कम्युनिस्ट पार्टीको स्थापना भयो र त्यससँगै तिनै देशको स्वाधीनता सङ्ग्रामले पनि तीव्रता लिँदै गयो । दोश्रो विश्वयुद्धपछि फ्रान्सको औपनिवेशिक शक्तिमा ग्रहण त लाग्यो, तैपनि हिन्द–चीनी जनताले आफै पूर्ण स्वतन्त्रताको सास फेर्न पाएनन् । किनभने, कमजोर हुँदै गइरहेका फ्रान्स र बेलायतको ठाउँ लिन छिट्टै नै अमेरिकी साम्राज्यवाद अगाडि उभिन आइपुग्यो । तैपनि त्यहाँका जनताको अथक सङ्घर्षको परिणामस्वरूप भियतनामको आधा हिस्सा मुक्त भयो, लाओस स्वतन्त्र भयो र कम्बोडिया पनि नरोदम सिंहानुकको राजवंश वास्तविक रूपमै पुनस्र्थापित हुनपुग्यो । कम्बोडियाले फ्रान्सेली अधीनबाट आंशिकरूपले मुक्ति पाएकै साल (सन् १९५३) पेरिसमा अध्ययनरत पोल पोट आफ्नो देश फर्के । त्यो देशले पूर्ण स्वतन्त्रता हासिल गरेको साल (सन् १९५४) पोल पोटले नोम पेन्हमा पुगेर गुप्तरूपले सो सालको चुनावमा उम्मेदवार भएका कम्युनिस्ट तथा वामपन्थीहरूलाई सघाउन सुरू गरे ।
हुन त पोल पोटले सन् १९५४ मा नोम पेन्हको एउटा निजी कलेजमा प्राध्यापन पनि सुरू गरेका थिए, तर हिन्द–चीनी कम्युनिस्ट आन्दोलनभित्रको उनको सक्रियता पनि सँगसँगै गइरहकै थियो । सन् १९६० मा कम्बोडियाली श्रमिक पार्टीको केन्द्रीय सदस्य र सन् १९६२ मा पार्टीको कार्यवाहक सचिव बनेका पोल पोटका गुप्त गतिविधिहरू अघि बढ्दै गइरहेका थिए । तर, सन् १९६३ मा सिंहानुकको सरकारले प्रकाशित गरेको सम्भावित ‘कम्युनिस्टहरूको सूची’ मा उनको नाम पनि समावेश भएको देखेपछि उनको निम्ति नोम पेन्हमा बसेर काम गरिरहनु सम्भव भएन । फलस्वरूप पोल पोट इयाङ सारी र सोन सेनसँगै ग्रामीण क्षेत्रमा गए र त्यहाँबाट तिनीहरूले राजधानीलगायत देशका अन्य भागहरूमा सञ्चालित सङ्घर्षलाई दिशानिर्देशित गर्न थाले ।
सन् १९६३ मा हिन्द–चीनी सङ्घर्षले नाटकीय मोड लियो । एकातिर अमेरिकी साम्राज्यवादले दक्षिण भियतनाममा निकै बदमानी कमाइसकेका आफ्ना कठपुतली राष्ट्रपति न्गो डिन्ह डियमलाई षड्यन्त्रपूर्वक मार्न लगाएर आफ्ना अर्का कठोर कठपुतलीलाई राष्ट्रपति बनाउन लगायो भने अर्कोतिर सो षड्यन्त्रका सूत्रधार अमेरिकी राष्ट्रपति जोन एफ. केनेडी स्वयं पनि त्यसको तीन हप्तापछि एक जना अज्ञात बन्दुकधारीको शिकार बन्न पुगे । अमेरिकाको विश्वसनीयता समाप्त हुँदै गइरहेको थियो, यसकारण राजा सिंहानुकले त्यही साल अमेरिकी सैनिक सहयोगलाई समाप्त पारेर भियतनामका कम्युनिस्टहरूसित मित्रताको हात बढाए । अमेरिकालाई चिढाउन अरू के चाहियो र ? प्रतिगामी षड्यन्त्रको सिलसिलाले तीब्रता लिँदै गयो र आखिर अमेरिकी साम्राज्यवाद तीन वर्षपछि कम्बोडियामा अमेरिकाभक्त भनी चिनिएका लोन नोललाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गराउन सफल भयो । त्यससँगै सिंहानुक र अमेरिकीबीचको दूरी झन बढ्यो । फलस्वरूप सन् १९७० मा सिंहानुक सोभियत सङ्घ र चीनको राजकीय भ्रमणमा गइरहेको मौका पारी कम्बोडियामा रक्तपातविहीन सैनिक विद्रोह भयो र अमेरिकी कठपुतली लोन नोलले आफैलाई राज्य प्रमुख भएको घोषणा ग¥यो ।


आफ्नो राजकीय भ्रमणको क्रममा सोभियत सङ्घ पुग्दा सिंहानुकलाई तत्कालीन सोभियत राष्ट्रपति निकोलाई पोदगोनीले स्वागत गरेका थिए । तर, त्यहाँ बस्दाबस्दै सिंहानुक सत्ताच्यूत भएको के घोषणा भयो, उनलाई बिदाइ गर्न विमानस्थलमा सोभियत विदेशमन्त्री आन्द्रेइ ग्रोमिमात्र उपस्थित भए । सोभियत सङ्घबाट यसरी अपमानित भएका सिंहानुक पेकिङ्ग पुग्दा भने उनलाई चिनियाँ दर्जा दिई स्वागत ग¥यो र त्यही उनले अमेरिकी साम्राज्यवादको विरोधमा लड्ने आफ्नो अठोट सार्वजनिक गरे । त्यस लगत्तै भियतनामी प्रधानमन्त्री फाम भान डोङ सिंहानुकप्रतिको ऐक्यबद्धता दर्शाउन पेकिङ्ग पुगे । त्यतिखेर भियतनामी नेतासँग पोल पोट पनि थिए ।
सिंहानुकको राजावादी सेना र पोल पोटको कम्युनिस्ट फौज मिलेर संयुक्त मोर्चा बनेपछि कम्बोडियाली सङ्घर्षको एउटा नौलो मोड लियो । भियतनाममा चलिरहेको सशस्त्र सङ्घर्षले फाट्टफुट्ट भए पनि कम्बोडिया र लाओसलाई समेत समाहित त पहिल्यै गरिसकेको थियो, तर सिंहानुक र पोल पोटहरूको संयुक्त सरकार सार्वजनिक भएपछि कम्बोडियामा पनि अविरल बम वर्षा सुरू ग¥यो र सन् १९७५ सम्मको पाँच वर्षे लोन नोलको शासन अवधिमा पाँच लाखभन्दा बढी कम्बोडियालीले अकालमा ज्यान गुमाउनुप¥यो । आँकडा बोल्छ – हिन्द–चीनी सङ्घर्षको दौरानमा भियतनाम, लाओस र कम्बोडियामा जति बम खसालियो, त्यति त पूरा दोस्रो विश्वयुद्ध अवधिभर पनि खसालिएको थिएन । स्पष्टै छ– जुन अनुपातमा बमबारी भयो, त्यही अनुपातमा धन–जनको पनि क्षति भयो । यसप्रकार त्यो सङ्घर्षको अवधिमा साम्राज्यवादीहरू जति हिंस्रक भएर अगाडि आए, त्यति तिनीहरू त्यो भन्दा पहिला कहिल्यै भएका थिएनन् । त्यस्तै हिन्द–चीनमा साम्राज्यवादी शक्तिहरूले जुन पराजय भोग्नुप¥यो, त्यस्तो लज्जास्पद हार पनि तिनीहरूले त्यो भन्दा अगाडि कहिल्यै भोग्नुपरेको थिएन ।
अन्ततः सन् १९७५ अप्रिल १७ का दिन कम्बोडिया लोन नोलको अत्याचारबाट मुक्त भयो । भियतनामको पुनःएकीकरण भयो भने लाओसले पनि स्वतन्ताको स्वाद चाख्न पायो । अमेरिका र उसका पिठ्ठूहरूको पराजय कम लज्जाजनक थिएन, तैपनि तिनीहरूले विश्राम लिने त कुरै थिएन । त्यसैबीच सन् १९७६ अप्रिलमा ‘प्रजातान्त्रिक कम्पुचिया’ (कम्बोडिया) को संविधान जनसमक्ष आयो र त्यससँगै पोल पोट प्रधानमन्त्री पदमा चुनिएको घोषणा पनि भयो । त्यत्तिञ्जेल पनि भूमिगत रूपमा क्रियाशील पोल पोटको नामबाट कम्बोडियाका धेरै जनता परिचित थिएनन् । तर पछि पत्ता लाग्यो– पोल पोट उनै सालोठ सार हुन् जस्ले कुनै बेला नोमा पेन्हमा प्राध्यापकको रूपमा काम गरिसकेका थिए ।
एकातिर साम्राज्यवादीहरू चुप लागिसकेका थिएनन् । त्यसैबीच अर्कोतिर कम्बोडिया र भियतनामबीच पनि कटुता बढ्दै जान थाल्यो । दुई देशबीचको सिमानामा गोली हानाहान दिनदिनै सुनिन थाल्यो र त्यससँगै शक्तिशाली भियतनामबाट हुनसक्ने आक्रमणबाट जोगिन पोल पोटको सरकारले आफ्नो सैन्यशक्ति, रसदपानी र जनशक्तिलाई नोम पेन्हमा मात्र केन्द्रित नराखी ग्रामीण क्षेत्रहरूतिर ओसार्न सुरू ग¥यो । बस् त्यहीँदेखि प्रारम्भ भयो कुप्रचारको बाढी पनि । साम्राज्यवादी रागमा विस्तारवादको पनि स्वर थपिएपछि त्यो भजन (कोरस) मा परिणत हुनपुग्यो र यसप्रकार पोल पोट र उनको सहयोगीहरूले एकपटक फेरि गुरिल्ला युद्धको सहारा लिनुप¥यो जो अहिले पनि चरिरहेकै छ । १९ वर्ष अघिको सो सत्ता परिवर्तनले जहाँ भियतनाम समर्थक कम्बोडियाली पार्टी र नेताहरूलाई पोल पोट र खमेर रूज नेताहरूको बदनाम गर्ने नयाँ हतियार प्रदान ग¥यो । त्यहीँ खमेर रूज नेताहरू बीरान जङ्गलमा धकेलिन पुगी कुप्रचार युद्धमा समेत प्रतिरक्षाविहीन हुनपुगे । यस्तोमा बोल्नेको पीठो पनि बिक्यो र बोल्न नसकेकाहरूको चामल पनि बिक्न छोड्यो ।
अमेरिकी साम्राज्यवादको विरोधमा शिरमा कात्रो बेरेर रणक्षेत्रमा हातेमालो गरेर उत्रेका भियतनाम र कम्बोडियाबीचको बढ्दो कटुताले कम्बोडियामा समाजवादी सत्ताको समाप्तिसँगै दुवै देशको अर्थतन्त्रलाई अझ जर्जर त बनायो नै, त्यसको अतिरिक्त ती दुवै देशले नराम्रो राजनैतिक क्षति समेत व्यहोर्नुप¥यो । साम्राज्यवादविरोधी अन्तर्राष्ट्रिय आन्दोलनको प्रेरणा श्रोत बनेका भियतनाम र कम्बोडियाको अन्तर्राष्ट्रिय साखमात्र गिरेन, बरू फ्रान्स र अमेरिकाले हिन्द–चीनी भूमिमा गरेका असङ्ख्य अक्षम्य अपराधहरू पनि पखाले । त्यसैको फलस्वरूप सन् १९५४ सम्म फ्रान्सेली उपनिवेशवादले गरेका जघन्य अपराधहरू, सन् १९७० सम्मको दशकमा अमेरिकी सेनाले गरेको अतिक्रमण र सन् १९७० देखि १९७५ सम्म लोन नोलको शासन र अमेरिकी बमवर्षबाट पाँच लाखभन्दा बढी कम्बोडियालीहरूको आत्महत्या इत्यादि सब त्रासदीहरूको भार पोल पोट र उनको खमेर रूज समूहरूलाई बोकाइयो भने ती सब कर्तूतका वास्तविक अपराधी फ्रान्स र अमेरिका, अनि तिनका कम्बोडियाली टट्टुहरूका साम्राज्यवादी प्रचार माध्यमहरूको कारणले ‘निरपराध’ साबित हुनपुगे । त्यसैको परिणामस्वरूप साम्राज्यवादी स्वार्थको लागि खोल्न थालिएको ढोका झन् झन् चौडा हुँदै छ र खासगरी अमेरिकी साम्राज्यवाद एकपटक फेरि हिन्द–चीनका प्राकृतिक श्रोतहरूमाथि आधिपत्य जमाउन अगाडि बढ्दै छ । यसप्रकार इतिहासले एक पटक फेरि साबित गरिदिने भयो– जुन उपलब्धि हासिल गर्न विश्वको सर्वाधिक शक्तिशाली अमे िरकी सेना २१ वर्षसम्म असफल रह्यो, त्यसलाई आफ्नो प्रचार यन्त्रको माध्यमबाट साम्राज्यवादले केही वर्षमै हात पार्न सक्ने भयो ।
(‘श्रमिक’ साप्ताहिकबाट साभार गरी ‘नौलो आयाम’ – २०५५ मा प्रकाशित, सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *