भर्खरै :

फेरि तेलको मूल्य बढाउने तयारीमा निगम मूल्य स्थिरीकरण कोष प्रभावहीन

काठमाडौँ, ५ फागुन । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको एक साता नबित्दै नेपाल आयल निगम फेरि मूल्य बढाउनुपर्ने दबाबमा परेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएपछि निगम मूल्य बढाउनुपर्ने दबाब परेको हो ।
मङ्गलबार आइओसीले निगमलाई नयाँ मूल्यसूची पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पाक्षिक रू. एक अर्ब सात करोड घाटा व्यहोर्नुपर्ने प्रक्षेपण गरिएको छ । निगमले मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको नयाँ मूल्य प्रतिलिटर रू. ११४, डिजेल तथा मट्टीतेलको रू. ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रू. ६७ प्रतिलिटर तोकेको छ । बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८६८ अमेरिकी डलर तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रू. एक हजार ४०० तोकिएको छ ।
वृद्धि गरिएको मूल्यमा इन्धन बिक्री गर्दा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटर ४ रूपैयाँ १३ पैसा नोक्सान छ । मट्टीतेलको नाफा घटेर प्रतिलिटर २१ रूपैयाँ ५२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २ रूपैयाँ ३२ पैसा तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको नाफा ३४ रूपैयाँ १९ पैसामा झरेको छ । खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर २९५.८३ रूपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
खरिद मूल्य आठ महिनामा दोब्बर
कोभिड–१९ महामारीसँगै विश्वमा तेलको खपत घट्दै जाँदा मूल्य न्यूनतम अवस्थामा पुगेको थियो । सन् २०२० अप्रिल २१ मा अन्तर्राष्ट्रिय बजारमा ‘ब्रेन्ट क्रुड’ आयलको मूल्य सबैभन्दा कम १९.३३ डलर प्रतिब्यारेलसम्म झरेको थियो । अन्तर्राष्ट्रिय बजारमा सो मूल्य रहँदाको समयमा आईओसीले नेपाललाई पठाएको मूल्त्न्दा अहिलेको मूल्य दोब्बरभन्दा बढी पुगिसकेको छ ।
लकडाउन सुरू हुँदाको समय सन् २०२० अप्रिल १ मा पठाएको मूल्यसूचीअनुसार निगमले आइओसीलाई पेट्रोलमा प्रतिलिटर २७ रूपैयाँ ५७ पैसा, डिजेलमा प्रतिलिटर ३८ रूपैयाँ ६३ पैसा, मट्टीतेलमा प्रतिलिटर ३८ रूपैयाँ ६८ पैसा, हवाई इन्धनमा प्रतिलिटर २९ रूपैयाँ ९५ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिन्डर एक हजार १४ रूपैयाँ ०९ पैसा मूल्य तिर्नुपथ्र्यो ।
सो मूल्यमा विभिन्न शीर्षकमा लाग्ने कर, निगमको ढुवानी भाडा, प्रशासनिक एवं बिक्री खर्च, प्राविधिक नोक्सानी, डिपो बिक्री मूल्य, पेट्रोलियम डिलर वा बिक्रेताको खर्चसहितको मूल्यसहित जोड्दा निगम पेट्रोलमा प्रतिलिटर १६ रूपैयाँ १७ पैसा, डिजेलमा १२ रूपैयाँ ९० पैसा, मट्टीतेलमा प्रतिलिटर ३६ रूपैयाँ ७७ पैसा, आन्तरिक उडानको हवाई इन्धनमा प्रतिलिटर १९ रूपैयाँ ७० पैसा तथा अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा प्रतिलिटर ६९ रूपैयाँ ६२ पैसा नाफा थियो । खाना पकाउने एलपी ग्यासमा भने त्यतिबेला पनि निगमलाई प्रतिसिलिन्डर १९५ रूपैयाँ ०७ नोक्सानको अवस्था थियो ।
निगमले काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर ९६ रूपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८५ रूपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७५ रूपैयाँ, अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर ९५० अमेरिकी डलर तथा एलपी ग्यास रू. एक हजार ३७५ मूल्य तोकेको थियो । स्वचालित मूल्य प्रणालीलाई थाँती राखेर त्यतिबेला पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एकैपटक १०÷१० रूपैयाँ घटाएर उक्त मूल्य कायम गरिएको थियो ।
लकडाउनको समयमा पेट्रोल, डिजेल तथा हवाई इन्धनको आन्तरिक खपत न्यून थियो तर एलपी ग्यासको खपत भने त्यतिबेला सामान्य अवस्थाभन्दा पनि बढी थियो । अन्य पदार्थमा धेरै नाफा देखिए पनि एलपी ग्यासको नोक्सान परिपूर्तिसमेत हुने अवस्था नरहेको निगमको भनाइ छ ।
पछिल्लो मूल्यसूचीअनुसार निगमले आइओसीलाई तिर्नुपर्ने मूल्य बढेर पेट्रोलमा प्रतिलिटर ५३ रूपैयाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर ५५ रूपैयाँ १५ पैसा, मट्टितेलमा प्रतिलिटर ४८ रूपैयाँ ७६ पैसा, हवाई इन्धनमा प्रतिलिटर ५० रूपैयाँ २६ पैसा तथा तथा एलपी ग्यास एक हजार १२९ रूपैयाँ ८१ पैसा पुगेको छ । यो लागत, कर तथा निगमको अन्य दायित्वसमेत गर्दा मूल्य समायोजनपश्चात् पनि कुल घाटा पाक्षिक रू. ८६ करोड ७८ लाख हुने निगमको प्रक्षेपण छ ।
अन्तर्राष्ट्रिय बजारको मूल्यमा भएको सामान्य उतारचढावको कारणले मूल्यमा पार्नसक्ने प्रभाव हटाउन निगमले मूल्य स्थिरीकरण कोषको व्यवस्था गरेको थियो । अहिले सो कोषमा करिब रू. नौ अर्ब बचत रहेको छ तर तत्काल यो कोषको प्रयोग निष्प्रभावी हुने निष्कर्षमा निगम नेतृत्व पुगेको छ । “अहिले कोषमा रू नौ अर्ब जति छ । अहिले मासिक नोक्सान नै रू. दुई अर्ब पुग्ने अवस्था आइसक्यो । अझै मूल्य बढ्यो भने नोक्सान योभन्दा माथि पुग्न सक्छ”, निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भन्नुभयो, “यो हिसाबले त यो कोषले चार महिना पनि धान्न सक्दैन । मूल्य स्थिरीकरण कोषको प्रयोगले समस्या समाधान हुने देखिँदैन ।”
निगमले प्रशासनिक खर्चबापत पेट्रोलियम पदार्थमा प्रतिलिटर ०.६८ पैसा तथा ग्यासमा प्रतिसिलिन्डर १० रूपैयाँ १८ पैसा मात्र लिँदै आएको छ । यो मूल्यले समग्र मूल्य प्रणालीमा ठूलो असर नगर्ने कार्यकारी निर्देशक पौडेलको दाबी छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *