भर्खरै :

कोरोना नियन्त्रणको शिक्षा क्युवाबाट सिकौँ

कोरोना भाइरसकोे महामारीले अधिकांश पश्चिमा पुँजीवादी देशहरूको सार्वजनिक स्वास्थ्य नीतिको असफलता उदाङ्गो भयो । अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैङ्कले लादेका दशकौँसम्मको नवउदारवादी कटौतीका नीति र पुनर्संरचना कार्यक्रमअनुसार शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौतीले ती देशका सार्वजनिक स्वास्थ्य प्रणालीलाई पङ्गु बनाइसकेको थियो । त्यसैको परिणामस्वरूप कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि नवउदारवादी नीति लागू गरिरहेका ल्याटिन अमेरिका र युरोपेली देशहरू र संरा अमेरिकामा समेत त्यहाँको जनस्वास्थ्य उपचार प्रणाली असफल भयो र अत्यधिक सङ्ख्यामा मानिसहरूको मृत्यु भयो ।
पश्चिम गोलाद्र्धमै भूगोल र जनसङ्ख्याको हिसाबले सानो समाजवादी देश क्युवाले भने महामारी नियन्त्रणमा दक्षताको उदाहरण स्थापित ग¥यो । समान जनसङ्ख्या भएका विकसित भनिएका पुँजीवादी देशका सहरहरू र देशहरूकै तुलनामा क्युवामा सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या निकै कम छ । लगभग १ करोड १३ लाख ५० हजार जनसङ्ख्या भएको देश क्युवामा फेब्रुअरी, २०२१ को मसान्तसम्ममा ७२ हजार जनता कोरोना सङ्क्रमित भए भने ३ सय जनाको मात्र मृत्यु भयो । १८ लाख ८० हजार जनसङ्ख्या भएको बृहत् न्युयोर्क सहरमा सङ्क्रमितको सङ्ख्या ७ लाख ८१५ पुग्यो भने २८,८८८ जनाको मृत्यु भयो । क्युवाको भन्दा सानो जनसङ्ख्या भएको युरोपेली देश स्विटजरल्यान्डमा ८६ लाखमात्र जनसङ्ख्या छ तर त्यहाँ ५,५०,२२४ जना कोरोना सङ्क्रमित भए भने ९,२२६ जनाको मृत्यु भयो । न्युयोर्क सहर र स्विटजरल्यान्डभन्दा निकै कममात्र स्रोतसाधन भएको देश क्युवाले निकै दक्षतापूर्वक कोभिड–१९ को महामारी व्यवस्थापन गर्न सकेको प्रस्ट भयो ।
फिडेल क्यास्ट्रोको नेतृत्वमा १९५९ को क्युवाली क्रान्तिले देशमा भएको थोरै स्रोतसाधन स्वास्थ्य प्रणाली निर्माणमा केन्द्रित गरेको थियो । त्यसले जनताको शिक्षा र स्वास्थ्योपचारलाई पहिलो प्राथमिकतामा राखी काम गरेको थियो । त्यहाँको सरकारले स्वास्थ्य क्षेत्रका निजी कम्पनीहरूका स्वार्थ, स्वास्थ्य बीमाकर्ता कम्पनीहरू, ठूलो औषधि निर्माता कम्पनीहरू र विकसित देशका महँगा हाइटेक औषधि कम्पनीहरूका स्वार्थलाई अस्वीकार गरिदिएको थियो । क्रान्तिपछि क्युवाका झन्डै आधा चिकित्सकहरू क्रान्तिविरोधीहरूको उक्साहटमा देश छोडी गएका थिए । तर क्रान्तिकारी सरकार निराश भएन र नयाँ स्वास्थ्य विशेषज्ञहरूको शिक्षा र तालिममा लगानी गर्ने निर्णय लियो । उक्त निर्णयको परिणामस्वरूप केही वर्षपछि नै विशेषज्ञ चिकित्सकको उपचार सेवा क्युवाका ग्रामीण क्षेत्रहरू र उत्पीडित जनतासम्म पु¥याउनमा सफलता मिल्यो ।
क्युवाली सरकार र जनताले कोरोना महामारीको बीचमा स्वास्थ्य सुरक्षाको मापदण्ड अनुशासितरूपमा पालना गरे । पुँजीवादी देशहरूमा जस्तो जनतालाई भोकभोकै राखेर कडा लकडाउनको नाटक मञ्चन त्यहाँ भएन । अफ्रिका र ल्याटिन अमेरिकामा फैलिएका विभिन्न रोगको महामारी नियन्त्रण गर्नमा उल्लेख्य भूमिका निर्वाह गरेका क्युवाली स्वयम्सेवक चिकित्सकहरूका अनुभवले पनि कोरोना महामारी नियन्त्रणमा क्युवाले सफलता हासिल गरेको हो । कोरोना महामारीको क्रममा क्युवाले महामारी रोग नियन्त्रणमा दक्ष चिकित्सकहरूको टोली विश्वका ५५ भन्दा बढी देशमा सङ्क्रमितको उपचारमा सहायक औषधिसहित पठायो । क्युवाली चिकित्सकहरूको सेवा र समर्पणको चारैतिर प्रशंसा भयो र क्युवाली मेडिकल ब्रिगेडलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्नुपर्ने आवाज उठ्यो । क्युवाले कोरोना महामारी नियन्त्रण र खोपको लागि समेत धनी देशहरूको मुख ताकेन । क्युवाली भाइरस विशेषज्ञहरू र औषधी निर्माण संस्थाहरू मिलेर कोरोना भाइरस निर्मूलीकरणको लागि सोबेराना पहिलो र दोस्रोलगायत ५ प्रकारका खोपहरू तयार गरेका छन् र ती खोप अन्तिम चरणको परीक्षणमा रहेका छन् । क्युवाले ती खोप आउँदो अगस्टसम्ममा तयार हुने र आफ्नो देशको पूरै जनसङ्ख्यालाई आफ्नै देशको खोप दिने आशा गरेको छ । क्युवाले आफ्नो समाजवादी सोचका कारण आफ्नो देशको खोप उत्पादन र वितरण पुँजीवादी देशको भन्दा भिन्न हुने र अत्यावश्यक र गरिब देशहरूलाई प्राथमिकतामा राखेर उत्पादन गर्ने बताएको छ । क्युवाली खोपहरू गरिब देशका लागि नयाँ आशा भएको छ । कोरोना नियन्त्रणको शिक्षा क्युवाबाट सिक्न जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *