भर्खरै :

प्रहरी र गुप्तचर विभाग थप गम्भीर हुनुपर्ने

आजको दुई दैनिक पत्रिकामा ‘जबरजस्ती यौन धन्दा’ र ‘राजधानीमा यौन व्यवसायको लागि भक्तपुरबाट बालिका ओसारपसार’ शीर्षकमा तस्बिरसहित समाचार छापिएको छ ।
यस्ता पेशा र घटनाहरूमा पञ्चायतकालमा माथिल्ला पञ्चहरूसमेत संलग्न थिए भने प्रजातन्त्र पुनःस्थापनापछि प्रजातन्त्रवादी र ७ वाममध्ये शासनमा जाने एक समूहकै एक माथिल्लो नेता परिवारको संलग्नता थियो । त्यस पेशाबारे पोल खोल्ने डरको कारण एउटी महिलाको हत्या भएको थियो र अपराधीले सजाय पाएको थियो ।
पेशाबारे खुलासा भएको थिएन । कारागारमा रहेका केही ‘जीउ मास्ने’ र ‘विदेशमा केटीहरू बेच्ने’ मुद्दाका अपराधीहरूको भनाइअनुसार त्यस्ता अपराधीहरू २–४ महिनामै कानुनी र अन्य उपायबाट छुट्ने गरेका धेरै उदाहरण छन् ।
यसबारे औपचारिक र अनौपचारिकरूपले गृह मन्त्रालय र प्रहरी कार्यालयका प्रतिनिधिहरूसँग केही वर्षअघि नै छलफल भएको कुरा बाहिर आएको विषय हो । अपराधीहरूबारे छानबिन हुँदा नाम, थर, जात, शिक्षा र ठेगानामात्र होइन संलग्न पेशागत वा वर्गीय सङ्गठन एवम् सम्बन्धित राजनैतिक दल र नेताहरूसमेत खुलासा गर्नुपर्ने देखिन्छ । एकजना अपराधी बारम्बार एउटै नेता वा पार्टीका भनसुन वा सहयोगबाट छुट्नु निश्चय पनि समाजको निम्ति राम्रो कुरा होइन ।
अपराधी लुक्ने र जोगाउने ठाउँ कुनै सामाजिक सङ्घ संस्था र राजनैतिक दललाई प्रयोग गर्न दिनुभएन । यसकारण यसबारे प्रहरी र गुप्तचर विभाग थप गम्भीर हुनुपर्ने देखिन्छ । आशा छ, यसबारे सम्बन्धित निकायहरूको ध्यान जानेछ ।
एक नागरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *