भर्खरै :

सक्वको म राजदास – ७८

संशोधनवादी नेता गोर्वाचोभको पतन
युरोप र अमेरिकामा गोर्वाचोभको धेरै प्रशंसा भयो । ‘बर्लिन वाल’ ढलेपछि जर्मनीहरूले गोर्वाचोभलाई देउतासरि ठानी उसको फोटोसहितको प्लेकार्ड बोकी सडक–सडकमा लाखौँलाख जर्मनहरू ‘गोर्वा…!!!’ ‘गोर्वा…!!! भन्दै निस्कन थाले । नर्वेमा नोवेल पुरस्कार कमिटीले सन् १९९० को शान्ति पुरस्कार गोर्वाचोभलाई प्रदान गर्ने निर्णय ग¥यो ।
नर्वेको राजधानी सहर ओस्लोमा नोवेल पुरस्कार कमिटीले गोर्वाचोभलाई नोवेल शान्ति पुरस्कार दिने निर्णय लिनुको कारण विगत ५ वर्षदेखि गोर्वाचोभले पूर्वी युरोप र पश्चिम युरोपमा भइरहेको तनावपूर्ण स्थिति साम्य पार्नु, सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकाबीच भइरहेको शीतयुद्ध समापन गर्ने दिशामा निर्णायक कदमहरू चाल्नु, सामरिक हातहतियारहरूको उत्पादनमा रोक लगाउने काममा थुप्रै सम्झौताहरूमा हस्ताक्षर गर्नु र पूर्वी युरोपका समाजवादी देशहरूमा प्रजातान्त्रिक आन्दोलनको समर्थन गर्नु थियो ।
सोही नोवेल पुरस्कार कमिटीले सोभियत सङ्घभित्र ठूलो खुलापन ल्याएर विश्वले सोभियत सङ्घमाथि शङ्कास्पद आँखाले हेर्ने कुरामा पनि ठूलो परिवर्तन ल्याइदियो । विश्वमा शान्ति स्थापनाको लागि उठाएका कदमहरूको प्रशंसा गर्दै नोवेल पुरस्कार कमिटीले भन्यो, गोर्वाचोभको कार्यनीतिले विश्वमा भइरहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र दार्शनिक समस्याहरू सुल्झाउनमा धेरै सहयोग र मत मिलेको छ ।
ओस्लोमा ५९ वर्षका सोभियत नेता गोर्वाचोभको प्रशंसा गर्दै नोवेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गर्दै गर्दा संयुक्त राज्य अमेरिकी राष्ट्रपति जर्ज बुशले गोर्वाचोभलाई विश्वमा शान्ति स्थापना गर्ने एक साहसी शक्तिको रूपमा चित्रण गरे । त्यस्तै बेलायत, जर्मनी, पोल्यान्ड, चेकोस्लोभाकिया, जापान, फ्रान्स आदि पुँजीवादी देशहरूले गोर्वाचोभको गुणगान गाउन भ्याए ।
तर, सोभियत राजधानी मास्कोमा गोर्वाचोभलाई प्रशंसा गर्नेहरूसँगै उनको निन्दा गर्नेहरू पनि धेरै निस्किए । एक अन्योलग्रस्त मिश्रित प्रतिक्रियाहरू मास्कोका सडकहरूमा प्रकट भए ।
गोर्वाचोभले आफ्नो पेरेस्ट्रोईका (पुनर्निर्माण) को उद्देश्य प्रस्ट्याउँदै भने, “सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकाबीच दशकौँदेखि भइरहेको शीत युद्धलाई पुरानो सोभियत दृष्टिबाट भन्दा पनि नयाँ ढङ्गले हेरिनु पर्दछ । पूर्वी युरोपका समाजवादी देशहरूको संरक्षण गर्दै विश्वका तेस्रो मुलुकहरूमा पनि समाजवादी व्यवस्था लागु गर्ने दिशामा जानुपर्दछ ।”
गोर्वाचोभले विश्वमा क्रान्तिद्वारा समाजवादको स्थापना गर्ने नीतिलाई परित्याग गरे । यस अर्थमा समाजवादको कुरा गरे पनि गोर्वाचोभ विश्व साम्राज्यवादी देशहरूसँग मिलेर विगतमा सोभियत नेता निकिता ख्रुश्चेभले अँगालेको ‘सह–अस्तित्व’ कै नीतिलाई नै अपनाएर नव–उदारवादको धार र नव–साम्राज्यवादी संशोधनवादमा लागेको प्रस्ट हुन्छ । यही संशोधनवादले सोभियत सङ्घमा समाजवादको अन्त भएको हो । गोर्वाचोभको शासनकालमै सोभियत समाजवादी देशको अन्त भयो ।
कसरी सोभियत सङ्घ विघटन भयो ?
सन् १९९१ को डिसेम्बर २५ मा सोभियत राष्ट्रपति मिखाएल गोर्वाचोभले आफ्नो पदबाट राजीनामा दिए । आणविक अस्त्र प्रयोग गर्ने अधिकारसहित सबै सत्ता–शक्ति एल्सिनलाई हस्तान्तरण गरे ।
आफ्नो पद हस्तान्तरण गरेलगत्तै मास्कोको क्रेमलिन दरबारमाथि फहरिरहेको सोभियत सङ्घको रातो झन्डा निकालेर रुसको तीन रङ्गको झन्डा फहराउन लगाइयो । बिहानको साढे सात बजे सोभियत सङ्घको विघटन भएको घोषणा गरियो ।
सन् १९९१ को डिसेम्बर महिनाको घटनाअगाडि सोही वर्ष अगष्ट महिनामा सोभियत सरकार र सोभियत सैनिकका उच्चपदस्थ अधिकारीहरू मिलेर सोभियत राष्ट्रपति मिखाएल गोर्वाचोभलाई अपदस्थ गर्न खोजिएको थियो । यस घटनालाई ‘अगष्ट कू’ भनियो र यो विफल भयो ।
तर, यस घटनापछि सोभियत सङ्घभित्र धेरै गणराज्यहरू सोभियत सङ्घबाट अलग्ग भएर स्वतन्त्र राज्यको रूपमा रहन चाहे । यीमध्ये विशेष गरेर प्रि–बाल्टिक राज्यहरू लिथुआनिया, लातभिया, लितभिया, इस्टोमिया सोभियत सङ्घबाट अलग्ग हुन खोजे । सेप्टेम्बर महिनामा ती देशहरू स्वतन्त्र राज्य घोषणा भए ।
सन् १९९१ डिसेम्बर ८ मा रुस, उक्राइना र बेलोरुसले पनि आफूहरू स्वतन्त्र राष्ट्र भएको घोषणा गरे । १९९१ डिसेम्बर २५ मा गोर्वाचोभले सोभियत राष्ट्राध्यक्षको पदबाट राजीनामा दिएर सोभियत सङ्घको विघटन गर्न लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *