भर्खरै :

कोभिड–१९ नियन्त्रणमा राजनीतिक कार्यकर्ताको परिचालन

भारतबाट स्वदेश फर्केका नेपालीहरूको स्वास्थ्य परीक्षणको लागि जनशक्तिको अभाव भएको समाचार लगातार आइरहेका छन् । जनशक्ति र उपकरण अभावको कारण नेपाल भित्रिएका मानिसको उचित स्वास्थ्य परीक्षण हुन नसक्दा देशमा कोभिड–१९ सङ्क्रमणको सम्भावना अझ सघन भएको छ । रोजगारीको लागि भारत गएका नेपालीहरू उता सङ्क्रमणको सम्भावना बढेसँगै स्वदेश फर्किन थालेका छन् । स्वदेश फर्केका केही नेपालीमा स्वास्थ्य परीक्षण गर्दा कोभिड–१९ र नयाँ प्रजातिको भाइरससमेतको सङ्क्रमण फेला परेको छ । स्वदेश फर्केका नेपालीहरूमध्ये झन्डै दस प्रतिशतको मात्र स्वास्थ्य परीक्षण भएको छ । बाँकीको स्वास्थ्य परीक्षण हुन सकेको छैन । स्वास्थ्य परीक्षणबिना नै मानिसहरू नेपाल पसेका छन् र विभिन्न गाउँ–ठाउँमा पुगेका छन् । स्वास्थ्य पूर्वाधारको अभाव भएका स्थानमा उनीहरू पुगेको हुनुपर्छ । यसले गर्दा कोभिड–१९ सङ्क्रमणको जोखिम अब सहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि बढेको छ ।
तर, सङ्क्रमणको यस्तो डरलाग्दो अवस्थाप्रति सरकारी प्रयास अझै प्रभावकारी बन्न सकेको छैन । सरकारले स्वदेश फर्किने नेपालीहरूको उचित स्वास्थ्य परीक्षण गरी सङ्क्रमितको स्क्रिनिङ गरी उपचार र क्वारेन्टिनको बन्दोबस्त गरे देशभित्र महामारीको जोखिम न्यून हुने थियो । सीमा क्षेत्रमा जनशक्ति अभावलाई ध्यानमा राखेर अन्यत्रको जनशक्ति त्यता परिचालन गर्ने योजना सरकारले बनाउन ढिला गर्नु हुन्न । शासक दलका नेता–कार्यकर्ता र जनवर्गीय सङ्गठनलाई पनि आधारभूत तालिम दिएर यो काममा परिचालन गर्न जरुरी छ । काठमाडौँमा नेता र मन्त्रीका घर–घर डुलेर तथा सिंहदरबारभित्र मन्त्रालय–मन्त्रालय चहारेर समय व्यतीत गर्ने शासक दलका नेता–कार्यकर्ताहरूलाई यतिबेला सीमा क्षेत्रमा किन परिचालन नगर्ने ? काठमाडौँका भेलाहरूमा ताली पिट्नुभन्दा यतिबेला जनताको सेवा गर्न सीमा क्षेत्रमा परिचालन हुनु उत्तम काम हो ।
राजनीतिमा लाग्नु भनेको मन्त्री बन्नु, भाषण गर्नु, पदमा पुग्नु होइन, जनतालाई आपत् पर्दा निःस्वार्थरूपमा सेवा गर्नु हो भन्ने सन्देश आफ्ना नेता–कार्यकर्ता र जनवर्गीय सङ्गठनलाई दिने अहिले सर्वाधिक उपयुक्त समय हो । स्वयम्सेवकको रूपमा परिचालन हुने ती नेता–कार्यकर्ताहरूले सीमा नाकामा आएका नेपालीको स्वास्थ्य परीक्षणदेखि अन्य व्यवस्थापनको काम गर्न सके देशभित्र कोभिड–१९ को जोखिम न्यून बनाउन सकिन्छ । सीमित सरकारी कर्मचारी र सुरक्षाकर्मीबाट मात्र ठुलो सङ्ख्यामा आउने जनताको उचित व्यवस्थापन गर्न सक्नेछैन । हजारौँ कार्यक्रममा दिन नसकिएको प्रशिक्षण यस्तो बेलाको सक्रियताबाट प्राप्त गर्न सकिन्छ ।
आफ्ना कार्यकर्ता र जनवर्गीय सङ्गठनहरूलाई यो समयमा कोभिड–१९ महामारीबारे सचेतनामूलक गतिविधि गराउन सबै राजनीतिक दलले अग्रसरता लिनुपर्छ । राजनीतिक कार्यकर्ता भनेका सर्वसाधारणभन्दा एक कदम अघि बढेका सचेत र सङ्गठित शक्ति मानिन्छ । राजनीतिक कार्यकर्ताको मूल लक्ष्य जनताको सेवा गर्नु हो । नचाहेर पनि कोभिड–१९ को नयाँ सङ्क्रमणले फेरि विकराल रूप लिइरहेको छ । यस्तो समयमा राजनीतिक दलहरूसँग भएको सङ्गठित, अनुशासित र समर्पित जनशक्तिलाई जनताको सेवामा परिचालन गर्न सके राजनीतिको नकारात्मक परिभाषा बदल्न सकिन्छ । राजनीतिमा लाग्नु भनेको सत्तासुख पाउनु हो भन्ने गलत बुझाइ उल्टाउन यो समयको सदुपयोग हुन जरुरी छ ।
खोपीमा थन्काइएको हतियार अभर पर्दा काम लाग्दैन । राजनीतिक कार्यकर्ता पनि हतियारजस्तै हुन् । सङ्कट सामनामा परिचालन हुने कार्यकर्ता नै धारिलो र काम लाग्ने हुन्छ । जनताको सेवा गर्न राजनीतिक कार्यकर्ताको प्रभावकारी परिचालनले कोभिड–१९ प्रतिरोधमा उदाहरणीय सफलता हासिल गर्न सम्भव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *