भर्खरै :

नयाँ बसपार्कका टिकट काउन्टर बुधबारदेखि बन्द

काठमाडौँ, ३० चैत । नेपालको राष्ट्रिय बसपार्कका रूपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउन्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् ।
बसपार्कका टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउन्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकोले हाल सञ्चालन हुँदै आएका काउन्टर वैशाख १ गतेदेखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउन्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउन्टर केही दिनका लागि बन्द गर्न लागेको जानकारी दिनुभयो ।
नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउन्टर सञ्चालनमा छन् । प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकोले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ ।
उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’ अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *