भर्खरै :

सीडीओ, मालपोत र नापी शाखामा किसानहरूको प्रतिनिधिमण्डल

भक्तपुर, ३० चैत । नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष एवं भक्तपुर जिल्ला अध्यक्ष गोविन्द दुवालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मालपोत र नापी कार्यालयमा भइरहेको ढिलासुस्ती, भ्रष्टाचारका कारण अनाहकमा जनतालाई दुःख भइरहेको जनगुनासो अवगत गराउन सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख प्रेमप्रसाद भट्टराईको ध्यानाकर्षण ग¥यो ।
अध्यक्ष दुवालले सयौँ वर्ष अघिदेखि भक्तपुर जिल्लाको सदरमुकाममा रहेको दरबार क्षेत्रबाट जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, जिल्ला जनसम्पर्क कार्यालयलगायतका प्रशासनिक कार्यालयहरू सूर्यविनायक नगरपालिकाको भक्तपुर इँटा तथा टायल कारखाना क्षेत्रमा स्थानान्तरण गरिने काम जनहित र जनभावनाविपरीत भएको भनी प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनुभयो ।
ध्यानाकर्षणको क्रममा उहाँले भन्नुभयो, “भक्तपुर सानो औद्योगिक क्षेत्रमा रहेको ७७ रोपनी जग्गामा ध्वनि, धुवाँ, रसायन प्रदूषण फाल्ने टेक्सटायल, रङ्गरोगन, प्लास्टिकलगायतका कारखानाहरू सञ्चालन भइरहेका छन् । नेपाल सरकारले रसायन, ध्वनि, प्रदूषण, रङ्गरोगन र प्लास्टिकजन्य कारखानाहरू काठमाडौँ उपत्यकाबाहिर स्थानान्तरण गर्ने निर्णय गरिसकेको अवस्थामा त्यस्ता उद्योगहरू त्यहाँबाट स्थानान्तरण गरी ती ठाउँमा सरकारी कार्यालयहरू राख्नु उचित हुन्छ ।”
भक्तपुरका जनता सोझासीधा भए पनि अन्याय, अत्याचार र भ्रष्टाचारविरूद्ध सचेत रहेको चर्चा गर्दै उहाँले राष्ट्रसेवक कर्मचारीले जनतालाई अनाहकमा दुःख दिन नपाइनेतर्फ प्रमुख जिल्लाअधिकारीको ध्यानाकर्षण गराउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी भट्टराईले नेक्राकिसङ्घको सुझाव मननयोग्य रहेको र आफू त्यसमा सकारात्मक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर जिल्लामा शान्ति सुरक्षा कायम गर्न, भ्रष्टाचार र अनियमिततालाई निरूत्साहित गर्न म सधैँ सक्रिय रहनेछु ।”
मालपोत कार्यालयका प्रमुख देवीबहादुर भण्डारीले मालपोत जनसरोकारको प्रमुख कार्यालय भएकोले जनताप्रति आफू समर्पित रहेर सेवा गर्ने बताउनुभयो ।
प्रतिनिधिमण्डलमा नेक्राकिसङ्घ भक्तपुर जिल्ला समिति र नगर समितिका पदाधिकारीहरूको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *