भर्खरै :

सक्वको म राजदास – ८३

विश्वप्रसिद्ध साहित्यकार म्याक्सिम गोर्कीको रुसी क्रान्तिमा योगदान
सन् १८९५ देखि गोर्कीका रचना र कृतिहरू विभिन्न पत्रपत्रिकामा छापिन थाल्यो । पछि युवा साहित्यकारको प्रशंसा जताततै हुन थाल्यो । सन् १८९८ मा उनको विश्वप्रसिद्ध पुस्तक ‘निबन्ध र कथाहरू’ (ओछेर्की ई रासकाजी) दुई भागमा प्रकाशित भए । यी दुई पुस्तक प्रकाशित भएपछि रुसमा मात्र नभई विश्वभरि नै एक ठुलो तरङ्ग पैदा भयो । यी पुस्तकहरू रुसी श्रमिक वर्गबीच चर्चित हुँदै गयो । प्रजातन्त्रवादी पाठकहरूले गोर्कीलाई धेरै मन पराए र सर्वसाधारण जनताको चिन्तकको रूपमा गोर्कीलाई ठम्याए । उनका साहित्यमा जनताले क्रान्तिको भावना महसुस गर्न थाले ।
आफ्नो साहित्यमार्फत गोर्कीे रुसमा विकास हुन खोजिरहेको पुँजीवादको विरोध गर्दै निम्न पुँजीवादीहरूको प्रजातान्त्रिक क्रान्ति होइन, सर्वहारा वर्गको हितमा क्रान्ति हुनुपर्छ भन्ने मार्गदर्शन गर्दै अघि बढ्न थाले । उनको यस दृष्टिकोणले गर्दा रुसी श्रमिक वर्गबीच गोर्की धेरै लोकप्रिय बन्न थाले ।
गोर्कीको साहित्यमा रुसका महान् कवि अलेक्जेन्डर पुश्कीनदेखि विश्व प्रसिद्ध उपन्यासकार लेभ टल्स्टोईको पनि राम्रो प्रभाव परेको थियो । लेभ टल्स्टोई गोर्कीलाई धेरै माया गर्थे र भन्थे, “गोर्की तिमी लेख्नुभन्दा पहिले धेरै पढ्ने गर्नू ।”
गोर्कीले आफ्ना साहित्यमार्फत रुसमा पश्चिम यूरोपबाट फैलाउन खोजिएको साहित्यिक र सांस्कृतिक विचलनलाई रोक्ने प्रयास गरे । आफ्नो देश सुहाउँदो देशभक्तिपूर्ण साहित्य र कलाको प्रवद्र्धनमा ध्यान दिने रुसी चित्रकारहरू जस्तैः रेपीन, पेरोभ, सुरीकोभको प्रतिरक्षा गर्दै रुसी सङ्गीतमा आधारित थियटरहरूको प्रवद्र्धनमा ध्यान दिए ।
गोर्की एक प्रतिष्ठित साहित्यकारको रूपमा स्थापित हुँदै गर्दा रुसमा जार शासनविरुद्ध क्रान्ति गर्ने वातावरण बन्दै थियो । गोर्की पनि स्वयम् जार शासकविरुद्ध उभिए । यद्यपि, उनी क्रान्तिकारीहरूसँग एकैपटक मिसिन पुगेनन् । जार शासकको विरोध भएकै कारण र खुलम खुला जार शासनको विरोध गरेकोले रुसमा तत्कालीन जार निकोलस द्वितीय गोर्कीदेखि रुष्ट थिए । सन् १९०२ मा गोर्कीलाई रुसी साहित्यिक प्रतिष्ठानमा मानार्थ सदस्यता प्रदान गर्दा जार निकोलसले उक्त पदवी खोसेका थिए ।
गोर्कीको यथार्थवादी जन साहित्यले गर्दा उनी तल्लो तहका जनतादेखि नै धेरै लोकप्रिय हुँदै आएका थिए । खुलारूपमा उनी रुसमा सामाजिक, सांस्कृतिक र राजनीतिक परिवर्तनको समर्थनमा लागे ।
सन् १८९९ वा उन्नाइसौँ शताब्दीको अन्तमा उनी रुसमा विकसित हुँदै गरेको माक्र्सवादी सोसियल डेमोक्रेटहरूसँगको प्रत्यक्ष सम्पर्कमा गए । यसले गर्दा गोर्की बुद्धिजीविहरू, क्रान्तिकारीहरूका साथै साधारण श्रमिकहरूबीच पनि धेरै प्रशंसित भए ।
गोर्की २० औँ शताब्दीमा पदार्पण गर्दै
सन् १९०० देखि १९०५ सम्म अथवा बिसौँ शताब्दीको सुरुमा गोर्कीका लेखहरू धेरै आशावादी भएर निस्कन थाले । उनी राजनीतिक सङ्घर्षबाट प्रेरित हुँदै गए । यसैकारण, सन् १९०१ मा उनी पक्राउ परे र जेल चलान गरिए ।
गोर्कीले एक–ताका निझ्नीनोभ्गोरोड भन्ने सहरमा थियटर पनि चलाएका थिए । उनको यस कार्यको लागि कन्सटान्टीन स्टानीस्लाभस्की र साम्भा मारोजोभले आर्थिक सहयोग गरेका थिए । स्टानीस्लाभ्स्कीले सन् १८९० देखि नै रुसमा भइरहेको थियटरमा परिवर्तन ल्याउन खोजिरहेको काममा गोर्कीले नयाँ परिवर्तन ल्याउन सक्छन् भन्ने विश्वास लिएका थिए । तर, गोर्कीले प्रस्तुत गरेका नाटकहरू तत्कालीन जार शासनले सेन्सर गर्दै दिक्क पारेको हुँदा गोर्कीले त्यो काम छोडे ।
थियटर चलाउने काम बन्द गरेपनि गोर्की एक लेखक, साहित्यकार, सम्पादक र नाटक लेखन विधामा धेरै सफल भएको कारण उनको आयआर्जन राम्रो थियो । आफ्नो आयबाट उनले ‘रुसी समाजवादी प्रजातान्त्रिक लेवर पार्टी’ लाई आर्थिक सहयोग उपलब्ध गराइरहे ।
सन् १९०५ मा रुसका दसौँ हजार श्रमिक–मजदुर एक धर्मगुरुको नेतृत्वमा जार शासकसँग देशमा राजनीतिक सुधार र जनताको लागि रोजीरोटीको माग गर्दै शान्तिपूर्णरूपमा जुलुसमा गएका थिए । तर, जार निकोलस द्वितीयको निर्देशनमा उक्त शान्तिपूर्ण जुलुसमाथि बर्बरतापूर्वक गोली चलाइयो । हजारौँ निर्दोष, गरीब रुसी जनताको निर्मम हत्या भयो । ९ जनवरी १९०५ मा भएको उक्त हत्याकाण्डलाई ‘ब्लडी सन्डे’ भनियो ।
यही ‘ब्लडी सन्डे’ को घटनाले रुसमा १९०५ को क्रान्ति चर्केको थियो । जार निकोलसको पतनको कारण पनि यही ‘ब्लडी सन्डे’ को घटना हुन पुग्यो ।
सन् १९०५ को यस दुर्घटनाले गोर्कीलाई अझ बढी क्रान्तिकारी बनायो । देशमा आमूल परिवर्तनको खाँचो छ भन्ने दृढ निश्चय गर्दै उनी क्रान्तिकारीहरूको सङ्गतमा बढी नजिक हुन पुगे । त्यहीबेला उनी भ्लादिमीर लेनिनसँग धेरै नजिक हुन पुग्नुको साथै अलेक्जेन्डर बग्डानोभको बोल्शेभिक पार्टीसँग आबद्ध भए । आधिकारिकरूपमा नै गोर्की पार्टी सदस्य भए÷भएनन् थाहा भएन । तर, गोर्कीले १९०५ को घटनापछि आक्रामकरूपमा जार शासनविरुद्ध वा क्रान्तिको लागि साहित्य रचना गर्न थाले । पटक–पटक उनलाई जेल चलान गरेपनि गोर्कीले ‘गहिराइमा’ (द लओर डेफ्थ), ‘सूर्यका सन्तान’ (द चिल्ड्रेन अफ द सन्) जस्ता नाटक लेखे ।
गोर्कीको पक्राउ र जेल चलानविरुद्ध यूरोपमा चर्को विरोध भएपछि उनलाई जेलमुक्त गरियो । गोर्कीको जेल चलानविरुद्ध आवाज उठाउनेहरूमा विश्व चर्चित व्यक्ति म्यारी क्युरी पनि थिइन् । म्यारी क्युरी विश्व विख्यात वैज्ञानिक पेरी क्युरीकी श्रीमती थिइन् । दुवै वैज्ञानिकले आफ्नो जीवन समर्पण गर्दै रेडियोधर्मी (रेडियो एक्टिभ) अनुसन्धानमा ठुलो योगदान गरेका थिए ।
सन् १९०६ मा बोल्शेभिक पार्टीको निर्देशनमा गोर्की पार्टीको लागि आर्थिक सहयोग सङ्कलन गर्न संयुक्त राज्य अमेरिका प्रस्थान गरे । त्यहीबेला गोर्कीले आफ्नो विश्वप्रसिद्ध उपन्यास ‘आमा’ लेखे । अमेरिकामा बस्दा गोर्कीले पुँजीवादी बर्जुवा समाजको अति घिनलाग्दो चरित्र अनुभव गरे ।
अमेरिकाबाट फर्केर सन् १९०६ देखि १९१३ सम्म गोर्की इटालीको दक्षिणी सहर क्याप्री द्वीपमा बस्न गए । आफ्नो बिगँ्रदै गएको स्वास्थ्यको उपचार गर्न र वास्तवमा त्यो भन्दा पनि बढी तत्कालीन रुसमा भइरहेको दमनकारी वातावरणबाट मुक्ति पाउन उनी त्यहाँ बस्न गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *