भर्खरै :

चितवनमा घट्यो तरकारीको भाउ

  • बैशाख २५, २०७८
  • – आरके श्रेष्ठ
  • समाचार

नारायणगढ, २४ वैशाख । चितवनमा निषेधाज्ञा आदेश जारी भएसँगै तरकारीको मूल्यमा भारी गिरावट आएको छ । मानिसको आवातजावत कम भएसँगै तरकारी बजारमा नै थुप्रिन थालेपछि एकाएक भाउ घटेको हो । तरकारीको सिजनमा मूल्यमा गिरावट आएपछि चितवनका किसानहरू पीडित हुनु परेको छ ।
पश्चिम चितवन दिव्यनगरका सिताराम महत्तो यतिखेर आफूले लगाएको तरकारीको भाउ नपाएर चिन्तित छन् । उहाँको बारीमा अहिले गोलभेडा, काँक्रो, सिमी उत्पादन भएको छ । दुईसय रुपैयाँ क्रेट गोलभेडा बेचेर घाटा छ । उहाँ भन्नुहुन्छ, “सुरुवातमा बीउ विजन किन्नुपर्दछ । बीउ छरेदेखि फल तयार नभएसम्म विषादी छर्नुपर्दछ । मल र औषधि त्यतिकै महँगो पर्छ । एक खेतालाको ज्याला पाँच सय पर्छ । अनि दुई सय रुपैयाँ क्रेट गोलभेडा बेचेर खेतालालाई ज्याला दिन नै ठीक हुन्छ ।” अरू तरकारीको पनि भाउ छैन । क्रेटको पाँच सय रुपैयाँमा मात्र गोलभेडा बेच्न पाएमा पनि सन्तोषजनक हुने सिताराम महत्तोको भनाइ थियो ।
सिताराम महत्तोले व्यवसायी तरकारी पेशा गर्न थाल्नुभएको दुई साल भयो । झन्डै एक बिगाहा जमिनमा तरकारी खेती गर्नुभएका उहाँले राज्यबाट अहिलेसम्म राज्यबाट कुनै अनुदान पाउनुभएको छैन । आजभोलि चितवनमा व्यवसायिक तरकारी खेती फस्टाउँदै गएको छ । उत्पादित तरकारी जिल्ला बाहिर पनि निर्यात हुन्छ । यो बेला अधिक तरकारी उत्पादन हुने समय हो । तरकारीको भाउ त घट्ने नै हो । तर तरकारी बिक्नै गा¥हो हुनाले पनि किसानलाई घाटा पर्न पुगेको हो । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाको कारण पनि तरकारीले भाउ पाउन नसकेको किसानी महत्व बुझाइरहेको छ । अरू समयमा पनि मल औषधि सबै भारतबाट आउँछ । भारतबाट नेपाली किसानको खेतबारीमा मल औषधि आइपुग्दासम्म धेरै महँगो हुन जान्छ । भारतमा खेती गर्न किसानलाई नेपालमा भन्दा सस्तो पर्न जान्छ । जसको कारण भारतीय सस्तो तरकारीले नेपालको बजार लिँदा नेपाली किसानीलाई मार पर्दछ उहाँ भन्नुहुन्छ । नेपालको किसानलाई पनि सस्तो सुलभ मूल्यमा बीउ, मल, औषधि सरकारले मिलाउनुपर्ने महत्वको कुरा छ ।
जिल्लामा अहिले गोलभेडा, बोडी, फर्सी, करेला, भेंडी, सिमी, घिँरौला, लौकालगायत तरकारी उत्पादन छ । अहिले चितवनमा उत्पादन भएको तरकारीलाई लोकल बजारले धान्न सक्दैन । बाहिरी जिल्लाहरूमा उत्पादित तरकारी निर्यात हुनैपर्दछ । निषेधाज्ञाको कारण जिल्ला बाहिर राम्रोसँग तरकारी जान पाएको छैन । जसका कारण पनि तरकारीको मूल्यमा गिरावट आएको व्यापारीहरूको कुरा छ ।
भरतपुरको क्षेत्रपुरस्थित महानगर फलफुल तथा तरकारी बजारभित्र रही होलसेल तरकारी व्यापार गर्दै आउनुभएका विशाल भेजिटेवल्सका दीपक अर्याल भन्नुहुन्छ, “तरकारीको भाउ घट्ने बेला पनि हो । यो बेला तरकारी अधिक उत्पादन हुन्छ । लकडाउनअघि गोलभेडाको बाहेक अरू तरकारीको राम्रै मूल्य थियो । लगडाउन भएपछि तरकारीको मूल्यमा साठी सत्तरी प्रतिशतले गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष तरकारीको भाउ राम्रै रहेको थियो ।”
मानिसहरूको आवातजावतमा कम भएको छ । प्रहरी प्रशासनले कडा गरेको छ । अलि कडा खालको कोरोना भाइरस भनी मानिसहरू आफै पनि डराएको छ । आफू नै पनि बाइकमा हिँड्डुल गर्दा प्रहरीले पटक–पटक चिट काटेको सुनाउँदै बजारमा तरकारीको व्यापार नभएकैले नै बिक्री हुन गा¥हो भएको र मूल्यमा गिरावट आएको दिपक बताउनुहुन्छ । पचास साठीमा बिक्री भएको बोडी अहिले किलोको पन्ध्र बीस छ । त्यस्तै किलोको बीस बाइस पर्ने काँक्रो ६ सात, करेला किलोको तीस थियो अहिले ६ सातमा झरेको छ । चितवनमा उत्पादित तरकारी गोर्खा, काठमाडौँ, पोखरा, सुर्खेत, नेपालगन्ज, दाङ, तुल्सिपुरलगायत बजारहरूमा निर्यात हुन्छ । खुद्रा व्यापारीहरू व्यापार नभएर सटर नै बन्द गरेर बस्नुपरेको छ ।
कोभिड प्रभावको कारण बाहिरी जिल्लाहरूमा पनि हिँडडुल गर्न प्रहरी प्रशासनले कैद गरिएको छ । किसानीहरू तरकारी उचित मूल्यमा बिक्री नभएर पीडित छन् भने तरकारी व्यापारीहरू पनि व्यापार नभएर चिन्तित हुन पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *