सरकार सुशासनको वकालत गर्छ, प्रदेश र स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप गर्छ
- बैशाख ३१, २०८३
यस पुस्तककी लेखिका सोभियत कम्युनिस्ट पार्टीकी वरिष्ठ कार्यकर्ता थिइन् । उनी १९०४–१९०५ मा निर्वासनमा थिइन्, त्यहाँ उनले बोल्शेभिक समुदायबिच काम गरिन् । रुसका गुप्त सङ्गठनहरूसँग गरिने गुप्त पत्र–व्यवहारमा क्रुप्सकायालाई सघाइन् । १९०५ को क्रान्ति र महान अक्टोबर क्रान्तिमा सक्रियतापूर्वक भाग लिइन् । सोभियत सत्ताका सुरुआती वर्षहरूमा उनले जनकमिसार परिषद् र श्रम तथा प्रतिरक्षा परिषद् सँगसँगै लेनिनको सेक्रेटरीको रूपमा काम गरिन् । उनले लेनिनको बारेमा अनेक संस्मरणहरू लेखिन् । प्रस्तुत पुस्तक लेनिनको बारेमा फोतिएभाले लेखेका संस्मरणहरूको सङ्ग्रह हो ।
मलाई सम्झना छ, १९२२ को सुरुमा लेनिन गोर्कीमा हुनुहुँदा मैले उहाँसँग टेलिफोनमा कुरा गरेँ । त्यहाँ उहाँको लागि सिधा लाइनको टेलिफोनको व्यवस्था थियो र उहाँले आफ्ना आदेश तथा चिठ्ठीहरू टेलिफोनमार्फत नै लेखाउनुहुन्थ्यो । तर, यो टेलिफोन पनि दोषहीन थिएन । टेलिफोनमा हल्ला वा खलल उत्पन्न गर्ने खालका आवाजले लेनिनलाई झिँझो लाग्थ्यो । सम्भवतः यहीँ कारणले पनि उहाँको बिमारी बढ्न सुरु भएको थियो । प्रायः हरेक कुराकानीमा उहाँले टेलिफोनको दोषबारे टिप्पणी गर्नुहुन्थ्यो । “आज त टेलिफोनले ठीकै काम गरिरहेको छ,” उहाँले भन्नुहुन्थ्यो, वा “एक मिनेट पहिला मैले हजुरको आवाज राम्रोसँग सुनिरहेको थिएँ, तर अब यो केही कारणले खराब भएको छ ।” यी दुईमध्ये एक वाक्य उहाँसँगका हरेक टेलिफोन कुराकानीमा धेरैजसो आउँथे । मलाई खारकोभ लाइनको सम्झना खासगरी आउँछ, जसको प्रयोग लेनिनले धेरै राम्रोसँग गर्नुहुन्थ्यो र त्यो पनि खराब भइरहन्थ्यो ।
साधारणतः उहाँको टेबलको बायाँतर्फ केही फाइलहरू राखिरहेको हुन्थ्यो । जति वर्ष मैले लेनिनसँग काम गरेँ, त्यति वर्षसम्म बारम्बार, कहिले उहाँको आदेशमा र कहिले आफ्नै पहलमा फाइलहरूसम्बन्धी उहाँको कार्यलाई सहज र धेरै उपयोगी बनाउने कोसिस गरिरहन्थँे, तर सधैँ असफल भएँ । लेनिनले मसँग आफ्ना अत्यावश्यक, कम आवश्यक, महत्वपूर्ण, कम महत्वपूर्ण, समाधान गरेका, समाधान नगरेका साथै अन्य कागजहरूको लागि अलग–अलग फाइलहरू बनाउन भन्नुहुन्थ्यो । मैले फाइलहरू मगाउँथे, उचित क्रमबद्धताका साथ त्यसमा कागजहरू राख्थेँ, प्रत्येक फाइलमा विषय उल्लेख गरेको कागज टास्थेँ र तिनका आन्तर्य पनि उल्लेख गरिदिन्थेँ । तब फाइलहरू अत्यन्त क्रमबद्धरूपमा टेबलमा राख्दिनथेँ । लेनिनले आफ्ना आवश्यकताका सबै कागजहरूलाई टेबलको बीच भागमा जम्मा गर्नुहुन्थ्यो र यदि उहाँ कोठाबाट बाहिर जानुभएमा फाइलमाथि एउटा गरुङ्गो कैँची राख्नुहुन्थ्यो । यसको अर्थ हुन्थ्यो, “नछुनुहोला” । वा, उहाँले आफ्ना आवश्यकताका सबै कागजहरूलाई कुनै फाइलमा राख्नुहुन्थ्यो र आफ्नो साथमा लैजानुहुन्थ्यो । त्यस फाइलका सामग्रीहरूमाथि जब लेनिनले काम गर्नुहुन्थ्यो, तब त्यो फाइल एकदम महत्वपूर्ण बन्थ्यो । अन्ततः लेनिनले त्यसमा विभिन्न कारणले नयाँ कागजहरू थप्नुभएकाले फाइल एकदम फुल्थ्यो र नभ्याउँदासम्म कसैलाई पनि छुन दिनुहुन्नथ्यो । तर, जब मलाई छुने अनुमति हुन्थ्यो, तब मैले सबै कागजहरूलाई छाँट्थेँ । तिनलाई सम्बन्धित फाइलहरूमा लगाउँथेँ र पुराना भएका कागजहरूलाई निकालेर पूरा लेख–सङ्ग्रहालयमा पठाइदिन्थेँ ।
यद्यपि, विधिपूर्वक फाइल गर्ने यी कोसिसहरूमा सधँै असफलता हात लाग्थ्यो । तथापि, कुनै न कुनै कारणले लेनिनले त्यसको कुरा उठाइरहनुहुन्थ्यो । उहाँले एकचोटि मसँग भन्नुभएको थियो, “फल्नाँ व्यक्तिका सबै कागजात मिलाइएका हुन्छन् तर मैले त्यस्तो गर्न सक्दिन ।” अन्ततोगत्वा हामीले उहाँको लागि विभागहरू नै छुटट्याइएको एउटा ठुलो फाइल चालु ग¥यौँ, तर नतिजामा केही फेरबदल आएन । “अत्यावश्यक र अति महत्वपूर्ण” विभागले त सक्रिय जीवन बितायो तर अन्य विभागहरू प्रायः निस्क्रिय नै रहे । जीवन तीव्रगतिमा बितिरहेको थियो, त्यसमा अति धेरै “अत्यावश्यक र अति महत्वपूर्ण” हुन्थे । तसर्थ अरूलाई समय नै दिन सकिँदैनथ्यो । हुन त लेनिनको काममा कागज मात्र त सर्वाेपरि थिएन । उहाँका लागि जुन–जुन कुरा थाहा पाउन जरुरी थियो, त्यो सबै कुराकानी र निरीक्षणमार्फत थाहा पाउने उहाँको एउटा आफ्नो तरिका थियो ।
लेनिनले आफ्ना टेबलका सबै घर्राहरूमा ताला मार्नुहुन्थ्यो । केवल बायाँतर्फको माथिल्लो घर्रा खुला हुन्थ्यो । त्यसमा उहाँले आफ्ना लिखित आदेश तथा निर्देशनहरू राख्नुहुन्थ्यो । हामीले यी आदेश र निर्देशनहरूलाई तुरुन्त कार्यान्वयन गर्न दिनमा बारम्बार निकाली रहन्थ्यौँ ।
एक दिन लेनिनले बुखाराको एउटा प्रतिनिधि–मण्डलसँग भेटघाट गरिरहनुभएको थियो । जब उनीहरू गए तब सम्मेलन हलमा खुल्ने अध्ययन–कक्ष ढोकाभित्रबाट बन्द थियो । हामीलाई यो देखेर आश्चर्य भयो । त्यसबेला दिउँसोको खाना खान लेनिन सधँै घर जानुहुन्थ्यो । हामी कौसीतर्फ ढोकामा निगरानी राख्ने अखिल रुसी असाधारण आयोगका कार्यकर्ताले ढोका बन्द गरेको सोच्यौँ । र, टेबलको घर्रामा हाम्रा लागि छोडिएका लेनिनका आदेशहरूको कार्यान्वयन समयमा हुन सक्नेछैन भनी चिन्तित हँुदै हामीले जोड–जोडले ढोका ढकढक्याउन थाल्यौँ । मिनेट–दुई मिनेटभित्र स्वयम् लेनिनले मुस्कुराउँदै ढोका खोल्नुभयो । उहाँँ प्रतिनिधि–मण्डलले उपहारमा दिएको बुखाराको राष्ट्रिय पोशाकमा हुनुहुन्थ्यो । जसलाई लगाएर नापजाँच गर्न उहाँले ढोका बन्द गर्नुभएको रहेछ ।
लेनिनको टेबलमा एउटा ठुलो कैँची सधैँ हुन्थ्यो । त्यसबाट उहाँले यस्ता खामहरूलाई काटेर खोल्नुहुन्थ्यो, जसमाथि उहाँकै आदेशअनुसार “निजी, अरूले नखोल्नु” लेखिएको हुन्थ्यो । खामभित्र उहाँका निकटतम साथीहरूले पठाएका अत्यन्त गोपनीय पत्र हुन्थे । उहाँको टेबलमा किताबका पाना चिर्न सीपको एउटा चक्कु पनि हुन्थ्यो । त्यसको बारेमा लेनिनले मुस्कुराउँदै भन्नुहुन्थ्योः “मलाई यस्तो खालको चक्कु मन पर्छ भनी यत्तिकै भनेको थिएँ, अर्को दिनमै एउटा चक्कु मेरो लागि पठाइयो ।”
यो त भन्नैपर्छ, लेनिन अस्त–व्यस्त कामको कारणले अप्रसन्न हुनुहुन्थ्यो र रिसाउनुहुन्थ्यो ।दोषीलाई गाली गर्न पनि गर्नुहुन्थ्यो । त्यस्तै राम्रोसँग, कटिबद्धताका साथ काम गर्दाखेरीमा खुसी हुनुहुन्थ्यो र सानो कुरामा पनि प्रशंसा गर्नुहुन्थ्यो । मलाई एउटा घटना राम्रोसँग सम्झना छ, राजकीय प्रकाशन गृहद्वारा निकालिएको १९१९ वा १९२० को भित्तेपात्रोलाई देखेर उहाँ कति प्रसन्न हुनुभएको थियो । त्यसमा छापिएका अङ्कहरू कोठाको जुनसुकै स्थानबाट सजिलैसँग पढ्न सकिन्थ्यो । लेनिनले आँखा चम्किला पार्दै भन्नुहुन्थ्यो, “हाम्रा साथीहरूले यस्ता चिजहरू बनाउन जानेका छन् ? धेरै राम्रो ¤” त्यो भित्तेपात्रो लेनिनको टेबल सामुन्ने सोफामाथिको भित्तामा टाँगिएको थियो र त्यसका पानाहरू उहाँले प्रत्येक दिन स्वयम् च्यात्नुहुन्थ्यो ।
उहाँको टेबलमा सधैँ खुबैसँग तिखारिएको सिसाकलम, कलम र अन्य लेखन सामग्रीहरू, रबरको घुराउरो ढक्कनयुक्त गमको डिब्बा हुन्थे । गम खासगरि गापनीय पत्रहरूलाई शिलबन्दी गर्न प्रयोग गरिन्थ्यो ।
लेनिनले हामीलाई कुनै खास गोपनीय पत्र पठाउन दिँदा सधैँ भन्नुहुन्थ्यो, “यसमा प्वाल पार्नुस्, त्यसमा एउटा डोरी छिराउनुस् र त्यस डोरीको टुप्पोलाई हातैले शिलबन्दी गर्नुस् ।”
लेनिन अति हसमुख व्यक्ति हुनुहुन्थ्यो । मेरो ख्यालमा उहाँको काम गर्ने तरिकाको वर्णन गर्दा उहाँले प्रशन्नताका साथ काम गर्नुहुन्थ्यो भन्न सकिन्छ । उहाँको विनोद बुद्धि असाधारण थियो । आफ्नो अध्ययन–कक्षमा कसैसँग कुरा गर्दैगर्दा उहाँ अट्टाहास हाँसेको सुन्न सकिन्थ्यो । उहाँ जनकमिसार परिषद्को बैठकमा पनि प्रायः हाँस्ने गर्नुहुन्थ्यो । उहाँको हाँसो असाधारण मोहित र दुभार्वनारहित हुन्थ्यो । उहाँको हाँसो एक यस्तो मानिसको हाँसो थियो, जसमा स्फुर्ति र उत्साह उम्लिरहेको होस् । उहाँको यस्तो जोशले अरूलाई पनि प्रभावित पाथ्र्यो । फलतः उहाँको दायाँ–बायाँ भएका मानिसहरू पनि उत्प्रेरित, आनन्दित र उत्सुक रहन्थे । केवल कामका अन्तिम दश हप्ताहरूमा (अक्टोबर–डिसेम्बर १९२२), जब उहाँको बिमारी उहाँमाथि बोझ भैसकेको थियो, उहाँको हाँसो कम सुनिन्थ्यो । मुस्कान वा हाँसोसँगै आफ्नो आदेश सुनाउने उहाँको एउटा आफ्नो ढङ्ग थियो । उहाँको साथमा काम गर्नु खुसीको कुरा थियो । त्यसैले पनि उहाँको माग जतिसुकै कष्टसाध्य किन नहोस्, उहाँको अनुशासन अति नै कठोर किन नहोस्, त्यसलाई स्वीकार गथ्र्यौँ ।
लेनिनलाई नरम, गद्धीदार कुर्सिहरू मन पर्थेनन् । उहाँको टेबल वरिपरी राखिएका कुर्सीहरू साधारण काठका हत्थादार हुन्थे, जसको सिट र अडेसदानी बेतद्वारा बुनिएको हुन्थ्यो । यस्तै बनावटको एउटा कुर्सी उहाँको लागि सम्मेलन–हलमा पनि राखिएको हुन्थ्यो ।
१९१४ मा लेनिनको अध्ययन–कक्षमा भएको एउटा सानो सभापछि उहाँले मसँग आफ्नो लागि टेबल मगाउन भन्नुभयो, “चार ओटा खुट्टा भएको साधारण टेबल, जुन बस्न र लेख्न दुवै काममा आओस्” (दुवैतर्फ घर्राहरू भएको लेख्ने टेबल होइन्) । त्यो टेबललाई लेख्ने टेबलसँग सटाएर समकोणमा राखियो र त्यसको वरपर छालाले मोडिएका ठुल्ठुला हत्थायुक्त कुर्सीहरू राखियो । जब कोही लेनिनसँग भेट्न आउँथ्यो, तब उहाँले तिनै कुर्सीहरूमध्ये एउटालाई लेख्ने टेबलछेऊ सारेर आगन्तुक नजिकै सर्नुहुन्थ्यो । राम्रोसँग कुरा सुन्न अगाडि थोरै झुक्ने उहाँको आफ्नो ढङ्ग थियो । कुराकानी रोचक भएमा त लेनिन अद्भूत श्रोता हुनुहुन्थ्यो ।
उहाँको खुट्टा चिसो नहोस् भनी उहाँको आग्रहमा उहाँको टेबलको तल भुइँमा स–सानो गलैँचा बिछ्याइएको थियो । एकदिन हामीले गलैँचाको ठाउँमा सेता रौँ भएको भालुको छाला बिच्छ्यायौँ । लेनिनले यस अनावश्यक चटकको लागि मलाई कडा पारामा गाली गर्नुभयो । जब मैले उहाँलाई त्यस्तै किसिमको छाला अन्य संस्थाहरूका औसत दर्जाका कार्यकर्ताहरूका अनेक कोठाहरूमा पनि देखेकी छु भनी आश्वासन दिलाएँ, तब मात्र उहाँले त्यस परिवर्तनलाई मन नलागी–नलागी स्वीकार्नुभयो ।
उहाँको टेबलमा हरियो सिसा भएको एउटा सानो ल्याम्प थियो । साँझमा एक्लै हँुदा लेनिनले त्यही ल्याम्पलाई मात्र प्रयोग गर्नुहुन्थ्यो र झुमर निभाउनुहुन्थ्यो । सारा बत्ती ननिभाइकन उहाँले कहिल्यै पनि अध्ययन–कक्ष छोड्नुहँुदैनथ्यो । यदि हामीमध्ये कसैले बत्ती बालेरै छोडेको उहाँलाई थाहा भएमा, बिजुली खर्च गरेकोमा हामीलाई अर्कोदिन बिहान सम्झाउन बिर्सनुहुन्नथ्यो । १९२२ को पतझर मौसममा लेनिनकै आदेशमा सिसावाला ल्याम्पलाई फेरेर त्यसको सट्टामा रेशमको टेबल लाइट (शेड) लगाइयो ।
लेनिनले नोटबुकमा आफ्नो टिपोट, आदेश, निर्देशन, भेटघाट गर्न चाहने साथीहरूको नाम लेख्ने गर्नुहुन्थ्यो । त्यो नोटबुक सधँै उहाँको टेबलमा राखिएको हुन्थ्यो । कहिलेकाहीँ टिप्पणी लेख्न उहाँले क्यालेण्डरका पानाहरू पनि प्रयोग गर्नुहुन्थ्यो ।
कौसीतर्फ खुल्ने ढोकाको छेउमा एउटा सानो टेबल भइरहन्थ्यो, जसमा एटलस र नक्साहरू हुन्थ्यो । लेनिनको काममा नक्सा अति महत्वपूर्ण हुन्थ्यो । किताब राख्ने आलमारीको तल्लो खानामा नक्साहरूको थुप्रो नै हुन्थ्यो । भित्तामा स्वयं लेनिनद्वारा टाँसिएकोे टर्की र इरानको साथसाथै रुसी सीमा अङ्कित एउटा ठुलो नक्सा थियो । त्यो मलाई अर्थहीन लाग्थ्यो तर लेनिनले “मलाई त्यो नक्सा त्यहाँ हर्ने बानी परिसकेको छ” भनेर त्यो नक्सा हटाउन दिनुहुन्नथ्यो । लेनिनलाई त्यस कोठामा राखिएका आफ्ना वरपरका सामानहरू हेर्ने बानी परिसकेको थियो । तिनलाई जस्ताको तस्तै राख्न उहाँलाई मन पथ्र्यो । अपरिवर्तित, पुराना, सुपरिचित स्थानहरूबाट कहिल्यै नहटाइएका चिजहरूको मौनतामा मानौँ उहाँलाई घटनाहरूले भरिएको जीवनको थकानबाट आराम मिल्थ्यो ।
देशको कुनै न कुनै भागको नक्सा, जहाँको गृहयुद्ध सर्वाधिक निर्णयात्मक गन्तब्यमा हुन्थ्यो, ‘साधारण टेबल’ मा प्रायःजसो फैलिरहन्थ्यो । लेनिनले धेरैजसो कुनै यस्तो उपाय निस्कियोस्, जसमा खोलिएकै नक्साहरू प्रयोगको लागि सधँै उपलब्ध होउन् भन्ने इच्छा प्रकट गर्नुहुन्थ्यो । आवश्यकतानुसार नक्साहरूलाई छिटोभन्दा छिटो बदल्न सकियोस् भन्ने उहाँको आशय हुन्थ्यो । यस्तो खालको उपायको लागि धेरै दिनसम्म असफल प्रयास गरेपछि अन्ततः (मेरो ख्यालमा १९१९ को अन्त्य वा १९२० को सुरुमा) आफूलाई मन लागेको चिज बनाउन एकजना इन्जिनियर खोज्नमा सफल भएँ । एउटा ठुलो ढाँचा बनेर तयार भयो, जसले कौशितर्फ खुल्ने ढोकाबाट लिएर सम्मेलन हलमा खुल्ने ढोकासम्म सारा भित्ता घे¥यो । त्यो भित्तामा पहिलेदेखि ने टाँगिरहिने रुसी सङ्घको रेल्वे नक्सालाई दुई झ्यालहरूको बिचमा टाँग्नुप¥यो । जसकारण त्यो ऐनालाई कोठाबाट निकाल्नुप¥यो, जुन त्यहाँ सधँै रहिरहन्थ्यो । हुन त लेनिनलाई त्यो ऐनाको कुनै आवश्यकता पनि थिएन । नयाँ ढाँचा यसप्रकार थियो ः एउटा चौखटमा जोडिएको वर्गाकार लिनेनको टुक्रामाथि बाह्रवटा ठुला–ठुला नक्सा टाँसिएको थियो । त्यो चौखट एउटा खुट्टामा उभिएको थियो, जुन उचाइमा लगभग सवागज थियो । चौखटको दायाँतर्फ एउटा हेण्डील थियो, जसको मद्दतले लिनेनमा टाँसिएको नक्सालाई चौखटको तल–माथि घुमाउन सकिन्थ्यो । इन्जिनियरको भनाइअनुसार ढाँचा तयार गर्न दशजना मजदुरहरू खटेका थिए । अन्ततः त्यसलाई ल्याइयो, त्यो एकदम हलचल गरिरहन्थ्यो । मैले इन्जिनियरलाई नक्सा एकदम सिधा चप्काइएको छैन र धुरा बाङ्गो–टिङ्गो घुम्छ भनी राम्रो–नराम्रो भनेँ । तर, लेनिन खुसी हुनुभएको थियो । उहाँले सहृदयताका साथ खराबीहरूलाई ध्यान नदिएर भन्नुभयो, “कपडामाथि कागज नखुम्च्याई चप्काउनु गाह्रो काम हो । अहिले हामीले त्यस्तो आशा कसरी गर्न सक्छौ ¤”
अनुवादः आरम्भ
Leave a Reply