भर्खरै :

स्वास्थ्य प्रणालीको असफलता र शासक दल

कोभिड–१९ महामारीको दोस्रो लहरसँगै नेपालको स्वास्थ्य प्रणालीका कमजोरी सतहमा देखिँदै छ । उकालो लाग्दो सङ्क्रमण दर धान्न नेपालको स्वास्थ्य प्रणालीलाई धौधौ भइरहेको छ । राजधानीमै भेन्टिलेटर र आईसीयू मात्र अप्राप्य भएको होइन, बरू अक्सिजन र अक्सिजन सिलिन्डरसमेत सुलभ नहुँदा बिरामीलाई जोखिम बढेको छ । सरकारी अस्पतालले धान्न सक्ने अवस्था रहेन । कति निजी अस्पतालहरूले असमर्थता जनाएका छन् भने कतिपयले यो समयलाई बिरामीको चर्को दोहन गर्ने समय बनाएका छन् ।
बाँके जिल्ला तीव्र सङ्क्रमणको चपेटामा परेपछि त्यहाँ भौतिक पूर्वाधारमात्र नभई स्वास्थ्यकर्मीहरूको पनि अभाव भयो । स्वास्थ्यकर्मीको अभावको कारण सङ्क्रमित स्वास्थ्यकर्मीहरू नै बिरामीको उपचारमा लाग्नुपर्ने बाध्यता प¥यो । स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न जुम्लाबाट स्वास्थ्यकर्मी झिकाउनुपर्ने बाध्यता आइलाग्यो । हालै सुदूरपश्चिम प्रदेशअन्तर्गत पहाडी जिल्लाका सरकारी अस्पतालमा रहेका भेन्टिलेटर धनगढी ल्याउन खोज्दा स्थानीय जनताले विरोध गरे । काम नगरेको अवस्थामा भेन्टिलेटर फिर्ता ल्याउन खोज्दा महामारीको समयमा ती उपकरणको मर्मत गर्नुको सट्टा फिर्ता लान खोजेको भन्दै विरोध गरेका थिए । देशैभरि सङ्क्रमणले उग्रता लिइरहेको बेला भएको भेन्टिलेटर फर्काउन नखोज्नु स्वाभाविक जनभावना हो ।
सङ्कटको यो घडीमा काठमाडौँ उपत्यकामा थप मेडिकल कलेज र अस्पतालको आवश्यकता नभएको भन्दै विगतमा भएका सङ्घर्ष र हडताल स्मरणीय छ । राजधानीमा आवश्यकताभन्दा बढी मेडिकल कलेज र अस्पताल भइसकेको भन्दै थप संस्थालाई अनुमति दिन नहुने भनी अनसन भएका थिए । तर, आजको सङ्कटबाट दुई वटा कुरा प्रस्ट देखियो– पहिलो, काठमाडौँ उपत्यकाको जनघनत्वको आधारमा अझै पनि अस्पताल र मेडिकल कलेजहरूको खाँचो पूरा भएको छैन । दोस्रो, त्यस्ता कलेज र अस्पतालहरू निजी होइन, बरू सरकारी वा स्थानीय तहबाट सञ्चालन गर्नुपर्ने देखिन्छ । विशालबजारकै शैलीमा स्थापित अस्पतालको नाफामुखी चरित्रलाई कमजोर बनाउनलाई पनि सरकारी र स्थानीय तहबाट स्वास्थ्य संस्थाको खाँचो छ ।
भक्तपुुर नगरपालिकाले आफ्नै स्रोत–साधनमा मेडिकल कलेज स्थापनाको प्रस्तावलाई कतिपय मानिसले सङ्कीर्ण र पूर्वाग्रही आँखाले हेर्दा त्यसले अझै मूर्तता पाउन सकेको छैन । निजी र नाफाखोर मेडिकल कलेज र अस्पताल स्थापना गर्न दिने तर जनताको हितमा जनताकै अग्रसरतामा त्यस्ता संस्था खोल्न खोज्दा रोक लगाउने शासक दलको चरित्रको परिणाम आज नेपाली जनताले भोगिरहेका छन् । जसरी भक्तपुर नगरपालिकाले स्थापना गरेका कलेजबाट तयार भएका जनशक्तिले आज देशभर योगदान गरिरहेको छ, त्यसरी नै मेडिकल कलेज स्थापना गर्न दिएको भए आज देशले भोगिरहेको स्वास्थ्यकर्मीहरूको अभावमा केही टेवा पक्कै पुग्ने थियो । तर, जनताको सेवा गर्ने भावनाभन्दा कमिसनको मोलमोलाइमा देश चलाउने स्वार्थी शासकहरूकै कारण त्यसो हुन सकेन ।
शासक दलहरूको यस्तो सोचाइको कारण आपत् पर्दा आज देशको स्वास्थ्य प्रणाली खिया लागेको खुकुरीजस्तै भएको छ । हिजो अनसन र हड्ताल गर्ने आन्दोलनकारीहरूले आफ्ना मागसँगै आउने यस्ता समस्याबारे पनि हेक्का राख्नुपथ्र्यो ।
समयले सबै कुराको परीक्षा पनि लिन्छ र समयसँगै के ठीक र के बेठीक भन्ने कुराको छिनोफानो पनि हुन्छ । आज महामारी सामना गर्दै गर्दा हामीले हिजो स्वास्थ्य क्षेत्रको बहसमा आएका अनेक तर्क र विचारको समीक्षा पनि गर्न जरूरी छ । हामीले भोग्नुपरेको विषम परिस्थिति भोलिको पुस्ताले भोग्न नपरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *