भर्खरै :

आयाम’ बुलेटिन पूर्णाङ्क ११ को अन्तरक्रिया

काभ्रे, २५ वैशाख । ‘आयाम’ बुलेटिन प्रकाशन समूह बनेपा काभ्रेको आयोजनामा पूर्णाङ्क ११ को अन्तरक्रिया कार्यक्रम शनिबार भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्रजातान्त्रिक अभ्यासअनुरूप नेमकिपाले राष्ट्रियसभाको उपनिर्वाचनका लागि कृष्णबहादुर तामाङको उम्मेदवारी दर्ता गरिएको हो भन्नुभयो । प्रजातन्त्रको सौन्दर्य जोगाउने काम नेमकिपाले गरिरहेको उहाँले बताउनुभयो ।
“अक्सिजनलगायतका स्वास्थ्य उपकरणहरूको अभाव निम्त्याएर जनतालाई प्रताडित बनाउनुमा अहिलेका शासक दल र सरकार जिम्मेवार छन्”, उहाँले भन्नुभयो । राष्ट्रियसभाको उपचुनावमा उम्मेदवारी दर्ता गर्न हेलिकप्टर प्रयोग गर्ने सरकारले जनतालाई महामारीबाट बचाउन किन सहयोग गर्नसक्दैन भनी उहाँले प्रश्न राख्नुभयो । चिनियाँ सरकारसँग समन्वय गरेर छिटो छरिटो स्वास्थ्य उपकरण र औषधि ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले नेमकिपाले विभिन्न समयमा प्रकाशन गरेका प्रकाशित पत्रपत्रिकाहरूबारे चर्चा गर्दै आस्था र सिद्धान्तमा आधारित पत्रिका प्रकाशन गर्नु व्यापारिक पत्रिकालाई जस्तो सहज नहुने बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरूले कोभिड–१९ को महामारीबाट जनतालाई सुरक्षित गर्न भक्तपुरमा जनचेतना जगाउने काम गरिरहेको बताउनुभयो । नेमकिपाले भारतसँगको खुला सिमाना नियमन गर्न पहिलेदेखि सुझाएको तर सरकारले ध्यान नदिएकै कारण नेपालमा कोरोनाको दोस्रो लहर फैलिएको र तेस्रो लहर पनि पस्न सक्ने आशङ्का उहाँले व्यक्त गर्नुभयो ।
‘आयाम’ बुलेटिन प्रकाशन समूह बनेपा काभ्रेका संयोजक भवानी जोशीको सभापतित्वमा भएको अनलाइन अन्तरक्रिया कार्यक्रममा नवराज केसी, मणिराज श्रेष्ठ, डा. हरिप्रसाद मानन्धर, पुण्यशोभा श्रेष्ठ, लक्ष्मीराम न्हुछेप्रधान, मुना तामाङ, तुलाराज शाही ठकुरी, आकाश मानन्धर, सत्यनारायण श्रेष्ठ, ओमप्रसाद मानन्धरलगायतले ‘आयाम’ बुलेटिन पूर्णाङ्क ११ को अध्ययन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *