भर्खरै :

महामारी नियन्त्रणबारे रुपन्देहीमा सर्वपक्षीय बैठक

बुटवल, २७ वैशाख । लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भोजप्रसाद श्रेष्ठले बुटवलस्थित मन्त्रालयमा कोभिड–१९ रोकथाम तथा उपचार व्यवस्थाबारे अन्तरक्रिया गर्न सोमबार सर्वपक्षीय बैठक आयोजना गर्नुभयो ।
बैठकमा मन्त्री श्रेष्ठले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा सङ्क्रमितहरूको उपचारको लागि दलहरूले समाजमा महत्वपूर्ण योगदान दिनसक्ने बताउनुभयो । रूपन्देहीका तीन वटा अक्सिजन उद्योगहरूले चौबीसै घण्टा अक्सिजन उत्पादन गरिरहेको तर वितरणमा समस्या परेकोले वितरण व्यवस्थापन कसरी गर्ने र सिलिन्डर अभाव पूर्ति कसरी गर्ने भनी सल्लाह माग्दै मन्त्री श्रेष्ठले दलहरूले कार्यकर्ताहरूलाई स्वयम्सेवकको रूपमा परिचालन गरेर सहयोग गर्न अपिल गर्नुभयो । स्वास्थ्यकर्मीबिना नै आइसोलेसन बनाउने नाममा लापरबाही भइरहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले चिकित्सकसहितको आइसोलेसन बनाउनुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले मन्त्री प्रदेशका बिरामीले रगतको शुल्क तिर्नु नपर्ने गरी नीतिगत निर्णय लिएको जानकारी दिनुभयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टी रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले कोभिड–१९ रोकथामको लागि पार्टीहरूले स्वयम्सेवकको रूपमा कार्यकर्ताहरू परिचालन गर्नुपर्ने प्रस्ट पार्नुभयोे । चुनावको बेला घर–घरमा भोट माग्न गएजस्तै दलहरूले कोभिड–१९ को बेलामा पनि जनताको घर–घर गएर दलहरूले सेवा गर्नुपर्ने आशा व्यक्त गर्दै अध्यक्ष वासीले अक्सिजन उत्पादन क्षमता बढाउन र एकद्वार प्रणालीबाट वितरण हुनु आवश्यक छ भन्नुभयो ।
सङ्घीय जनमुक्ति पार्टीका झमबहादुर थापाले कोभिड–१९ नियन्त्रणको लागि सबै पक्षको सहभागिता खोज्नु सकारात्मक रहको चर्चा गर्दै सत्ता पक्षले नै भीडभाड जम्मा हुने कार्यक्रम गरिरहेको आरोप लगाउनुभयो । नेकपा विप्लव समूहका श्याम सेन्चुरीले आइसोलेसनमा उचित व्यवस्थापन नहुँदा आइसोलेसनभित्र सङ्क्रमितले आत्महत्या गरेको उदाहरण दिनुभयो । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले रूपन्देहीमा सिलिन्डरभन्दा पनि अक्सिजन उत्पादन नै अपुग भएको हुँदा दैनिक १०० सिलिन्डर उत्पादन क्षमता भएको मेसिन तत्काल किन्नुपर्नेमा जोड दिनुभयो ।
रूपन्देही उद्योग सङ्घका अध्यक्ष बाबुराम बोहराले उद्योगहरूबाट पन्ध्र सय दुई हजार वटा सिलिन्डर सङ्कलन भइसकेको जानकारी दिंदै रेम्डिसिभियर औषधि बङ्गलादेशबाट ल्याउन निजी क्षेत्रलाई जिम्मा दिँदा महँगो भएको बताउनुभयो । उद्योग वाणिज्य सङ्घ बुटवलका उज्ज्वल कसजूले निजी अस्पतालहरूलाई अनिवार्यरूपमा अक्सिजन प्लान्ट जडान गर्न लगाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा एमालेका ऋषिराम पाण्डे, राजमोका प्रतिनिधि, जिफन्टका हरि कार्की, रूपन्देही व्यापार सङ्घका एमलाल लोहनीलगायतले कोभिड–१९ नियन्त्रणका लागि सुझाव दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *