भर्खरै :

कोभिडलाई दिगु पूजा गरेर घरभित्र नभित्याऔँ

कोभिड–१९ को सङ्क्रमणकै बीच विभिन्न सांस्कृतिक चाडपर्व पनि आइरहेका छन् । नेपालमा मङ्गलबार मातातीर्थ औसी अर्थात् आमाको मुख हेर्ने दिन पर्छ । यो दिन छोराछोरीले आफूलाई जन्माउने आमाप्रति सम्मान व्यक्त गर्ने चलन छ । संसारका हरेक समाजमा जस्तै नेपाली समाजमा पनि आमाप्रतिको उच्च आदर गर्ने चलन छ । त्यसकारण यो दिन आमाको पूजा गरिन्छ । आमालाई मनपरेका मीठा परिकार खुवाइन्छ । राम्रा उपहार दिइन्छ । नेपाली समाजले मनाउने धेरै पर्वमध्ये यो ज्यादै महत्वपूर्ण सामाजिक दिन हो । अघिल्लो वर्ष कोभिड–१९ सङ्क्रमणको कारण आमाको मुख हेर्ने दिन हामी धेरैले सावधानीका उपाय पालना गरेर वा अभौतिकरूपमा मनाएका थियौँ । त्यसो गर्दा आमाप्रतिको माया घटेको थिएन बरू आमाप्रतिको सम्मान र मायाकै कारण त्यसरी आमाको मुख हेरेका थियौँ । विडम्बना ¤ कोभिड–१९ को महामारी पनि घुमीफिरी यही बेला नेपालमा अझ भयानक बनेर आएको छ । अघिल्लो प्रजातिको कोरोना भाइरसभन्दा यो पटकको भाइरस अझ सङ्क्रामक र घातक भएकोले स्वास्थ्य अधिकारीहरूले पहिलेभन्दा थप सजग बन्न बारम्बार आग्रह गरिरहेका छन् । यस्तो परिस्थितिमा हामीले यो पटक पनि आमाको मुख हेर्ने दिनलाई अभौतिकरूपमा मात्र मनाउनुपर्ने भएको छ । अभौतिकरूपमा मनाउने भन्नुको अर्थ आजको समयले हामीलाई दिएको प्रविधिको प्रयोग गरी आमासँग सदृश्य संवाद गर्ने, आपसी दुःख–सुखको कुरा साट्ने र सद्भाव बाँड्ने तर भौतिकरूपमा सावधानीका उपाय पालना गर्ने हो ।
माता तीर्थ औँसीसँगै भक्तपुरका विशेषतः नेवार समुदायबीच यही समयमा दिगु पूजा अर्थात् दिवाली वा कुल पूजा पनि परेको छ । सामान्य अवस्थामा दिगु पूजाको समयमा हजारौँ परिवारका दसौँ हजार मानिस एकै ठाउँमा भेला भएर भोज गर्ने परम्परा छ । सांस्कृतिक वैभवले भरिपूर्ण भक्तपुरका धेरै सांस्कृतिक आयाममध्ये दिगु पूजा पनि एउटा महत्वपूर्ण आयाम हो । तर, यो पटक डढेलोजस्तै फैलिरहेको महामारीबीच यो पर्वलाई पनि हामीले पछिको लागि स्थगन गर्नुपर्ने अवस्था देखिन्छ । मानिसले जीवन रहे संस्कृति र परम्परा मान्ने हो । जीवन नै नरहे केको संस्कृति, केको परम्परा ! अत्यन्त सङ्क्रामक यो भाइरसको रोकथामको निम्ति अथवा सङ्क्रमणको शिलशिला तोड्न हामीले आपसी भौतिक सम्पर्क त्याग्नुपर्ने हुन्छ । त्यसको निम्ति धेरै मानिस जम्मा हुने कुनै पनि पर्व वा जात्रा घातक हुनसक्छ । दिगु पूजा कोरोना सङ्क्रमणको लागि मलिलो माटो हुनसक्छ । अहिले नै भयावह बनिसकेको महामारी दिगु पूजामा अझ व्यापक बन्न सक्नेप्रति सजग हुन जरूरी छ । धेरै सङ्ख्यामा सङ्क्रमितको वृद्धिले अहिले नै अस्पतालमा शय्याको अभाव भइरहेको छ । अक्सिजन समयमा उपलब्ध नहुँदा मानिसहरूले जीवन गुमाइरहेका छन् । नेपालमा भन्दा पहिला दोस्रो लहर उठेको भारतमा मे महिनाको मध्यपछि क्रमशः सङ्क्रमण नियन्त्रणमा आउने अनुमान गरिएको छ । अर्थात्, नेपालमा सङ्क्रमणको रेखा अझ उकालो लाग्ने सम्भावना प्रबल छ । तसर्थ, दिगु पूजा कोभिड सङ्क्रमण निम्त्याउने अवसर बन्न नदिऔँ ।
केही मानिसहरूको जिद्दी सिङ्गो समाजको लागि हानिकारक र घातक हुनसक्छ । संस्कृति भन्नु मानिसको कल्याणको लागि हो । परम्परा धान्ने नाममा मानिस र समाजको अहित हुने काम गर्नु भनेको संस्कृति होइन, जड सोच हो । जडताले समाजलाई हानि गर्छ ।
स्थानीय सरकारले यतिबेला महामारीलाई मध्यनजर गरी चाडपर्वलाई भन्दा आफ्नो स्वास्थ्य सुरक्षालाई ध्यान दिन आह्वान गरिरहेको छ । विडम्बना ! केही मानिस भने स्थानीय सरकारप्रतिको गुनासो वा असन्तोषलाई यस्ता आह्वान उल्लङ्घन गरेर पूरा गर्न खोज्छन् । यो मूर्खता नभए के ? आफ्नो खुट्टामा आफैले बञ्चरो हान्नु वा आफू बसेको हाँगो आफैले काट्ने रत्नाकार मूर्ख नभए को ? कोरोनाको महामारी जसले भोग्यो वा भोगिरहेका छन्, उनीहरूको लागि सत्य हो । अरूको लागि अझै पनि यो हल्लामात्र हुनसक्छ । तर, महामारीको यो डढेलोलाई आफ्नो घरमा पूजाआजा गरेर स्वागत गर्ने मूर्खता कसैले नगरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *