भर्खरै :

सक्वको म राजदास – ८४ /अलि भिन्नै स्वभावका थिए म्याक्सिम गोर्की

तस्बिरः साहित्यकार म्याक्सिम गोर्की सन् १९३९ मा जोसेफ स्तालिनसँग
सन् १९०२ मा भ्लादिमीर इलिच्छ लेनिनलाई भेटेका विश्व प्रसिद्ध साहित्यकार म्याक्सिम गोर्की अलि भिन्न स्वभावका थिए । लेनिनसँग भेट्दा उनीहरू दुई जना निकट साथी पनि भए । अक्टोबर क्रान्तिको सफल आन्दोलनपछि लेनिन र गोर्कीको बीचमा केही निकटता छाए र एक आपसबाट अलि टाढा पनि रहे । बोल्शेभिक कम्युनिस्ट पार्टीले सोभियत सत्ता हत्याएको गोर्कीलाई त्यत्ति मन परेन र लेनिनले पनि गोर्कीको द्विविधात्मक दृष्टिकोणमा समर्थन जनाउन सकेनन् । यद्यपि, गोर्कीले अक्टोबर क्रान्ति हुनुपूर्व बोल्शेभिक कम्युनिस्ट पार्टीलाई नैतिक र राजनीतिक समर्थनको साथसाथै ठुलो आर्थिक सहयोग पनि गरेका थिए । सन् १९०६ मा बोल्शेभिक कम्युनिस्ट पार्टीको लागि आर्थिक सङ्कलन गर्न गोर्की संयुक्त राज्य अमेरिका गए । तर, गोर्कीको अमेरिकी यात्रा सुखदभन्दा दुःखद रह्यो । अमेरिका बस्दा गोर्कीको एक महिलासँग निकट सम्बन्ध भयो । पछि उनै महिलासँग मतभेद भएपछि गोर्की रुस फर्के । एक कटु अनुभव गरेर आफू फर्किँदा गोर्कीले अमेरिकाको सबभन्दा ठुलो आर्थिक व्यापारिक केन्द्र न्युयोर्क सहरलाई एक ‘पीत प्रेतको संज्ञा’ दिए । उनको विरोधाभासपूर्ण स्वभाव र व्यवहारले गर्दा गोर्कीलाई अमेरिकामा सामाजिक बहिष्कार गरिएको थियो ।
सन् १८९९ देखि १९०६ सम्म तत्कालीन रुसी साम्राज्यको राजधानी पिटर्सवर्गमा बस्दा उनी माक्र्सवादीहरूसँग नजिक हुन पुगेका थिए । तत्कालीन उनले सोसियल डेमोक्रेटिक पार्टीलाई समर्थन गरे । सन् १९०३ मा सोसियल डेमोक्रेटिक पार्टी टुक्रेपछि गोर्की बोल्शेभिक पार्टी नजिक पुगे । उक्त पार्टीलाई म्याक्सिम गोर्कीले लेखबाट प्राप्त हुने रकम चन्दास्वरूप प्रदान गर्थे । गोर्की त्यतिञ्जेल प्रतिष्ठित साहित्यकार भइसकेका थिए । उनको आयस्रोत राम्रो थियो ।
सन् १९०१ मा गोर्कीको एक ‘बुरीबेस्टनीक (चरा) को गीत’ भन्ने कविता छापिएबापत तत्कालीन माक्र्सवादी पत्रिका ‘झीजून (जीवन)’ माथि प्रतिबन्ध लगाइएको थियो । तत्कालीन जार शासनमा गोर्कीलाई केही समय थुनामा राखियो ।
जेलबाट मुक्त भएपछि गोर्की स्वास्थ्य उपचारको लागि क्रिमियातिर प्रस्थान गरे किनकि उनी क्षयरोगबाट पीडित थिए ।
गोर्की र लेनिनको विमति उनीहरूको जीवनप्रतिको दर्शन नै मुख्य थियो । गोर्की भन्थे, “राजनीतिक र आर्थिक क्रान्तिले मात्र समाजवादको विकास हुँदैन । मानव जीवन सफल पार्न संस्कार र संस्कृति हुर्काउनुपर्छ ।” आफ्नो बाल्यकाल अभाव र दुःखमा बिताएका उनी रुसी समाजको अति तल्लो स्तरका जनजीवनसँग भिज्दै हुर्के ।
एक ऐश्वर्य शान्ति र आदर्शको आधारमा समाजवाद स्थापना गर्ने गोर्कीको भावना र कल्पनामा लेनिनले आफ्नो सहमति जनाउन सकेनन् ।
आफ्नो युवा अवस्था रुसको ‘काजान’ क्षेत्रमा बिताएका गोर्कीले तत्कालीन त्यहाँका जनताको दुःख र शोषण उत्पीडन देख्न र सहन नसकेर एकपल्ट आफूले आफैलाई गोली हानी आत्महत्या गर्ने असफल प्रयास गरेका थिए ।
आफ्नो अस्थिर, विवादित स्वभाव र धारणाले गर्दा गोर्की धेरै पटक निर्वासनमा बस्न बाध्य भए । भ्लादिमीर लेनिनसँग बेला–बखत विमतिहरू प्रकट गरे पनि लेनिनको मृत्युपश्चात् सोभियत सत्ता समालेका जोसेफ स्तालिनको उनी सम्मान गर्थे । सन् १९२४ देखि १९२८ सम्म इटालीको क्याप्री द्वीपमा निर्वासनमा बसिरहेका गोर्कीलाई स–सम्मान सोभियत सङ्घ फर्काउन स्तालिनले आफ्नो विशेष दूत पठाएका थिए । त्यसबेला गोर्कीलाई आफ्नो ठुलो परिवारसहित इटालीमा जीवन निर्वाह गर्न आर्थिक समस्या भइरहेको थियो ।
गोर्की त्यसबेला विश्व विख्यात साहित्यकार बनिसकेका थिए । ‘नोबेल पुरस्कार’ को लागि पाँच पटकसम्म प्रत्याशी बनेका थिए । गोर्कीका उपन्यास, कथा, नाटकहरू विश्वका एक सय (१००) वटाभन्दा बढी भाषामा अनुवादित भइसकेको थियो ।
गोर्कीको विश्व प्रसिद्ध उपन्यास ‘आमा’ नेपाली भाषामा प्रकाशित भएको छ । उक्त ‘आमा’ उपन्यास गोर्कीले १९०६ मा लेखेका थिए ।
गोर्की रुसी लेखक–साहित्यकारहरू दस्तोएभस्की र टोलस्टोई जस्ताको उचाइमा पुग्न नसके पनि विश्वमा उनी बढी चर्चित भए । उनको ‘आमा’ उपन्यास पनि साहित्यिक हिसाबले टोल्स्टोईको कृतिसँग दाँज्ने अवस्थामा नरहे पनि ‘आमा’ ले द्वितीय विश्व युद्धको समयमा सोभियत जनमानसमा आफ्नो पितृभूमिप्रति देशभक्ति भावना जगाउन ठुलो सहयोग गरेको थियो ।
सन् १९०८ पछि स्तालिनको आग्रहमा आफ्नो देश फर्केका गोर्कीको यति सम्मान भयो कि गोर्की स्वयम्ले कहिल्यै सपनामा सोचेका थिएनन् । गोर्कीको त्यत्ति धेरै सम्मान गरे पनि गोर्कीले स्तालिनको स्तुतिगान कहिल्यै गाएनन् । तर, सोभियत सङ्घको समाजवादी व्यवस्थाको पृष्ठपोषक भने उनी बने । सोभियत सङ्घ र सोभियत नेतृत्व वर्गले आफ्नो शासनकालमा उनीबाट धेरै योगदान प्राप्त गरे ।
सन् १९१३ मा रुस फर्केपछि बोल्शेभिक पार्टी र स्वयम् भ्लादिमीर लेनिनसँग स्वरमा स्वर मिलाई उनले प्रथम विश्वयुद्धबाट रुसले हात झिक्नुपर्छ भन्नेमा सहमति जनाए । सोभियत क्रान्तिपछि रुसमा कम्युनिस्ट शासकहरूले लिएको नीतिमा विमति जनाउँदै गोर्कीले स्थानीय ‘नोभाया झीज्न’ (नयाँ जीवन) पत्रिकामा लेखहरू प्रकाशित गर्दै गए । जुन केही समयपछि पार्टी र स्वयम् लेनिनको आदेशमा छाप्न बन्द भयो ।
तत्पश्चात् गोर्की लेनिनग्राडमा आफ्नो सहयोगी साहित्यकारहरूको उद्धार गर्न लागे । थुनामा राखेका उनीहरू गोर्कीको आँखामा निर्दोष थिए र सोभियत सङ्घको शत्रु थिएन । तर, गोर्कीको यो काम लेनिन र जिनोएभलाई त्यति मन परेन । जिनोएभ एक प्रभावशाली सोभियत कम्युनिस्ट पार्टीका नेता थिए जो लेनिनको निकट मित्र पनि थिए । त्यसबेला पेट्रोगाडमा बोल्शेभिक पार्टीको मुख्यालय थियो । सन् १९२१ मा फेरि गोर्कीलाई लेनिनले स्वास्थ्य उपचारको बहानामा विदेशमा निर्वासनमा पठाए ।
निर्वासनमा बस्दै गर्दा गोर्कीका विश्व विख्यात कृतिहरू प्रकाशित भए । प्रकाशित कृतिहरूमा ‘बाल्यकाल’ (डेटस्भो), ‘संसारमा’ (इन द वल्र्ड) र ‘मेरो विश्वविद्यालय’ (माई युनीभर्सिटी) थिए ।
यसबाहेक निर्वासित जीवनमा गोर्कीले आफ्ना अन्य ‘कथाहरू’ (स्टोरीज) लेखे र प्रकाशित भए ।
सन् १९२४ देखि गोर्की इटालीको सोरेन्टो भन्ने सहरको एक भवनमा बस्न गए । उनले त्यहाँ धेरै रुसी लेखक र साहित्यकारहरूलाई बस्न दिए । गोर्कीको स्वास्थ्य बिग्रँदै थियो । उनले सोभियत क्रान्ति र सोभियत नेतृत्वप्रति उत्पन्न भएको आफ्नो विमति र क्रान्तिप्रति गरेको आलोचनाको आत्मालोचना गर्दै सन् १९२८ मा सोभियत सङ्घ फर्कने आग्रहलाई स्वीकार्दै उनी सोभियत सङ्घ फर्के । तत्कालीन सोभियत नेता जोसेफ स्तालिनले उनको ६० औँ जन्मोत्सव भव्यताका साथ मनाए ।
रुसी लेखक र साहित्यकारहरूको बारेमा गोर्कीले लेखेका लेखहरू धेरै उत्कृष्ट थिए । सन् १९१९ मा उनले रुसी साहित्यकार लेभ निकालाएभिच टोल्स्टोई (लिओ टलस्टोई होइन) को बारेमा ‘टोल्स्टोईको सम्झनामा’ भन्ने लेखेका थिए ।
सन् १९२८ मा ‘लेखकहरूको बारे’ मा कृति उनले प्रकाशन गरे । त्यस्तै विश्व विख्यात लघु कथाकार आन्टोन पाब्लोभिच चेखोभको बारेमा पनि म्याक्सिम गोर्कीले उत्कृष्ट कृति लेखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *