भर्खरै :

काठमाडौँमा माक्र्स दिवस

सर्वहारा वर्गका महान् गुरू कार्ल माक्र्सको २०३ औँ जन्म दिवसको अवसरका नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, काठमाडौँ जिल्ला समितिले एक अन्तरक्रियाको आयोजना गरेको छ ।
बिहीबार साँझ अनलाइनमा आयोजित कार्यक्रममा ‘श्रमिक’ साप्ताहिकमा प्रकाशित विभिन्न लेखरचनाको अध्ययन तथा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले कार्ल माक्र्सले सन् १८४८ मा प्रकाशन गर्नुभएको कम्युनिस्ट घोषणापत्रमार्फत बालश्रमको अन्त्य गरी बालबालिकालाई निःशुल्क अध्ययनको वातावरण मिलाउनुपर्ने माग पहिलोपटक सार्वजनिक गर्नुभएको भन्दै आज पनि पुँजीवादी देशहरूमा कम्तीमा १० प्रतिशत बाल श्रमिक रहेको बताउनुभयो । कम्युनिस्ट घोषणापत्रमा उत्पादन–श्रमसँग जोडिएको शिक्षाको आवश्यकताबारे उल्लेख गरिएको भन्दै त्यस्तो व्यवस्था नभएसम्म शिक्षाले समाजमा समृद्धि ल्याउन नसक्ने केन्द्रीय सदस्य गोसाईको तर्क थियो ।
उहाँले माक्र्सले मजदुरको निम्ति ८ घण्टाको कार्यदिनको व्यवस्थाको माग गर्नुभएअनुसार आज विश्वभर ८ घण्टाको कार्यदिन लागू भएको धारणा राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले माक्र्सले मजदुर वर्गलाई शोषणविरूद्ध सङ्गठित भई सङ्घर्ष गर्न अह्वान गर्नुभएको उल्लेख गर्दै उत्पादनका साधनहरूको समाजिकीकरणपछि मात्र मजदुर वर्गले खुशीसाथ उत्पादन कार्यक्रममा सक्रियता जनाउने विचार राख्नुभयो ।
कोभिड–१९ महामारीमा अनेक ‘झूटा सूचनाको महामारी’ फैलाइएको भन्दै अन्धविश्वास तथा अवैज्ञानिक कुराको पछाडि नलाग्न अनुरोध गर्दै जनतामा सही सूचना दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले कोभिड महामारीको दोस्रो लहर आउने विज्ञको चेतावनी हुँदाहुँदै सरकारले आवश्यक तयारी नगर्दा कोभिड महामारीको क्रममा हजारौँ नागरिकले ज्यान गुमाउनु परेको विचार राख्नुभयो । उहाँले समयमा खोप आएको भए कैयौँ मानिसको ज्यान जोगिने थियो भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले समाजवादी देशहरूले महामारी नियन्त्रणमा सफलता हासिल गरेको उल्लेख गर्दै स्वास्थ्य सामग्रीलगायत खोप उपलब्ध गर्न नसक्नु सरकारको कमजोरी हो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष अस्मिता महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरूङ, नेमकिपा काठमाडौँ जिल्ला समितिका सहसचिव विश्वक डंगोल, विद्या महर्जन, सौगात श्रेष्ठ, आशिष डंगोल, अशोक महर्जन, रामलाल महर्जनलगायतले आफ्नो अध्ययन प्रस्तुति राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *