राजनैतिक बन्दोबस्तबारे बुद्धिजीवी समुदाय सैद्धान्तिक र व्यावहारिक रूपले पहिले स्पष्ट होऔँ !
- जेष्ठ ४, २०८३
कोभिड–१९ रोग यस्तो रोग हो जो पर्नेलाई ज्वरो आउँछ, नपर्नेलाई कुराबाहेक केही आउँदैन । भोग्नेलाई त्यसको कहर अचाक्ली हुन्छ, अरूलाई अझै कोभिड–१९ हल्लामात्र हो, केही होइन । तर, अहिलेसम्म आफूलाई नपर्नुको अर्थ पछि पनि आफूलाई त्यो रोग लाग्दैन भन्ने होइन । अघिल्लो लहरको सङ्क्रमण फैलिँदा सञ्चारमाध्यमहरूमा कोभिड–१९ महामारी ‘औषधि कम्पनीहरूले चलाएको हल्लामात्र हो’ भन्ने मानिसहरू खुब चर्कीचर्की अन्तर्वार्ता दिइरहेका थिए । तर, यसपल्ट उनीहरू कुन दुलोमा पसे ? किन ? किनभने कोभिड–१९ सामान्य रोग होइन । यो मानिसले यसअघि कहिल्यै नभोगेको रोग हो । यसले आजसम्म संसारमा दसौँ लाख मानिसको ज्यान लिइसकेको छ ।
अहिले नेवार समुदायमा देवाली पूजाको समय छ । सचेत मानिसहरू यो रोगको संवदेनशीलतालाई बुझेर यो वर्ष देवाली नमनाउने निर्णयमा पुगेका छन् । देवालीमा लाग्ने खर्च पौष्टिक खानेकुरामा खर्च गरेर आफू र परिवारलाई अझ शारीरिकरूपमा बलियो र रोग प्रतिरोधी गर्नतिर लागेका छन् । आफ्नो कुल र परिवारको हितको निम्ति सधैँ पूजाआजा र बोका नै काटेर खानुपर्छ भन्ने होइन । समय–परिस्थितिअनुसार सबैको भलो चिताएर मनोकामना गरेर पनि परिवारको कल्याण चाहनु हो । बुद्धिमान मानिसहरूले यो वर्ष देवाली त्यसरी नै मनाउने निधोमा पुगेका छन् ।
संस्कृति भनेको मानिसको जीवनको लागि हो, मृत्युको लागि होइन । संस्कृति भनेको स्वस्थ बन्नको लागि हो, रोगी बन्नको लागि होइन भन्ने कुरा नबुझेका वा बुझ पचाउने मानिसहरूले भने देवाली नमनाउँदा आकाशै खस्नेजस्तो सोचिरहेका छन् । यसपालि महामारी डढेलोजस्तो फैलिरहेको अवस्थामा देवाली नमनाउँदा सुरक्षित होइन्छ भने मनाउँदा के हुन्छ, भन्न सकिन्न । कतिबेला औषधिजस्तै शब्द पनि तीतो हुनसक्छ ।
सकेसम्म बाहिरको मानिस भेट्दै नभेट्ने, भेटे पनि दुई मिटर दुरी कायम गरी भेट्ने, मास्क नलगाइकन कसैलाई नभेट्ने सावधानीका नियमको कडाइपूर्वक पालना गर्नुपर्ने बेलामा धेरै परिवारका सदस्य एकै ठाउँमा भेला भएर देवाली मनाउनु भनेको सीधै दिगु द्यः पुजा गरेर रोग घरमा भित्र्याउनु हुनेछ । दिगु द्यः को पूजा घरमा रोग र दुःख भित्र्याउन होइन ।
केही मानिसलाई लागिरहेको हुनसक्छ–नगरपाालिकाले जारी गरेको सूचना उल्लङ्घन गर्न सके ‘बहादुर’ भइन्छ । सरकारको आदेश नमान्दा ‘वीर’ भइन्छ । महामारीको सन्दर्भमा यस्तो सोच्ने मानिसलाई नेपाली शब्दकोशमा एउटा शब्द छ–पटमूर्ख । मानिसबाट मानिसमा तुरुन्तै सर्ने भाइरस रोक्न सावधानीका उपाय पालना गर्नु कुनै सरकार वा पदाधिकारीको भलोको निम्ति होइन, नितान्त आफ्नै हितको लागि हो । यी नियम पालना कसैले नगर्दा बिरामी हुने नगरपालिकाका प्रतिनिधि र कर्मचारी होइनन्, बरु नियम मिचुवाहरू आफै बिरामी हुन्छन् । सरकारका मन्त्रीहरूले पनि यो नियमको कडाइका साथ पालना गर्दासम्म सङ्क्रमित हुँदैनन् । त्यसकारण, सावधानीका नियम पालना गर्ने वा नगर्ने कुरा राज्य र जनताबीचको लडाइँ होइन ।
पढेलेख्दैमा मानिस सबै सचेत हुन्छन् भन्ने कुरा होइन । पढेलेखेका मानिस त्यत्तिबेला सचेत ठहरिन्छ जब उसले व्यवहारमा आफ्नो सचेतना देखाउन सक्छ । शैक्षिक योग्यता धेरै भएर पनि यस्तो बेला देवाली मनाउनुपर्छ भनेर जिद्दी कसैले गर्छ भने उनीहरूको शैक्षिक प्रमाणपत्र आगोमा जलाए पनि फरक पर्नेछैन ।
परम्परा मनाउनुपर्छ, यसमा विवाद छैन । परम्परालाई अझ समयानुकूल बनाउँदै लानुपर्छ । यो पनि सत्य हो । तर, अहिलेको अवस्थामा देवालीजस्तो पर्व मनाउँदा मानिसको जीवन नै जोखिममा पर्ने अवस्था छ । यत्तिबेला त्यस्तो संस्कृतिलाई कम्तीमा महामारीको अवस्थासम्म त्याग्नैपर्छ । यसलाई संस्कृतिविरोधी भनिँदैन बरु बुद्धिमानी भनिन्छ । महामारीले उग्र रूप लिइरहेको बेलामा कुनै पनि पर्व वा चाड नमनाउने निर्णय अहम्को विषय होइन, विवेक र अन्तश्चेतनाको विषय हो ।
Leave a Reply