भर्खरै :

लेनिनका जीवनका पानाहरू – १७

मस्कोमा जनकमिसार परिषद्को कामका प्रारम्भिक महिना (मार्च–मे १९१८)
(यस पुस्तककी लेखिका सोभियत कम्युनिस्ट पार्टीकी वरिष्ठ कार्यकर्ता थिइन् । उनी सन् १९०४–१९०५ मा निर्वासनमा थिइन्, त्यहाँ उनले बोल्शेभिक समुदायबीच काम गरिन् । रुसका गुप्त सङ्गठनहरूसँग गरिने गुप्तपत्र – व्यवहारमा क्रुप्सकायालाई सघाइन् । सन् १९०५ को क्रान्ति र महान् अक्टोबर क्रान्तिमा सक्रियतापूर्वक भाग लिइन् । सोभियत सत्ताका सुरुआती वर्षहरूमा उनले जनकमिसार परिषद् र श्रम तथा प्रतिरक्षा परिषद् सँगसँगै लेनिनको सेक्रेटरीको रूपमा काम गरिन् । उनले लेनिनको बारेमा अनेक संस्मरणहरू लेखिन् । प्रस्तुत पुस्तक लेनिनको बारेमा फोतिएभाले लेखेका संस्मरणहरूको सङ्ग्रह हो ।)
११ मार्च १९१८ मा ८ बजे राति लेनिनको अगुवाइमा सोभियत सरकार मस्को आयो । दोस्रो दिन १२ मार्चमा अखिल रुसी केन्द्रीय कार्यकारिणी समितिको अखबार ‘इज्वेस्तिया’ को अङ्क ४६ मा ‘हाम्रो समयको मुख्य कार्यभार’ शीर्षक लेनिनको लेख छापियो । त्यो लेख कि त टे«नमा लेखिएको थियो, होइन भने आधा रातमा ‘नसिओनाल’ होटलमा लेखिएको थियो । मस्को आएपछि लेनिन उक्त होटलमा बस्नुभएको थियो । त्यस दिनबाट मस्को सोभियत राज्यको राजधानी बन्यो ।
बे्रस्त–लितोभ्स्कको शान्ति–सन्धि (१) भर्खर–भर्खर सम्पन्न भएको थियो, सातौँ पार्टी अधिवेशन भर्खर–भर्खर सकिएको थियो । जसमा युद्ध वा शान्तिको सम्बन्धमा लेनिनको प्रस्ताव, ‘वामपन्थी कम्युनिस्टहरू’ (२) लाई दृढ आपत्तिको बाबजुद स्वीकृत गरिएको थियो ।
बुखारिनको नेतृत्वमा ‘वामपन्थीहरू’ ले पार्टीको केन्द्रीय समितिमा सरिक हुन अस्वीकार गरे । केन्द्रीय समितिका निर्णय तथा प्रस्तावहरूको बाबजुद त्यसको काममा, त्यस समयसम्म कुनै भाग लिएनन्, जबसम्म १९१८ को गर्मीयाममा ‘वामपन्थी कम्युनिस्टहरू’ को दल पराजित भएन । ‘वामपन्थी’ समाजवादी–क्रान्तिकारी (३) हरूले पनि बे्रस्त–लितोभ्स्कको शान्ति–सन्धिको विरुद्धमा एक डरलाग्दो आन्दोलन चलाए ।
यस्ता परिस्थितिहरूमा पार्टी तथा सोभियत सत्ताको सामुन्ने लेनिनले कस्तो कार्यभार प्रस्तुत गर्नुभयोे ? त्यो थियो सारा निराशालाई, अपमानजनक सन्धि सम्पन्न गर्नेबारेका सारा ‘क्रान्तिकारी’ बकवासलाई टाढा सार्ने र सारा शक्ति बटुलेर, एक–एक इँटा थपेर समाजवादी समाजको बलियो जग राख्न सुरुआत गर्ने कार्यभार, अनुशासन र आत्मानुशासन स्थापित गर्ने कार्यभार । राम्रो सङ्गठन, व्यवस्था, हिसाब–किताब र निरीक्षण कायम गर्न अथक परिश्रम गर्ने कार्यभार । केवल यही बाटोबाट हिँडेर एक सैनिक र समाजवादी शक्तिको नवनिर्माण गर्न सकिन्थ्यो । एक शक्तिशाली र प्रचुर साधनहरूले सम्पन्न राज्यको रूपमा गरिब र कमजोर रुसको पुनर्निर्माण गर्न सकिन्थ्यो ।
यस लेखको केन्द्रमा ती विचार निहित थिए, जसलाई केही समयपछि लेनिनले आफ्नो लेख ‘सोभियत सत्ताका तात्कालिक कार्यभार’ मा विकसित गर्नुभयो ।
कामदार जनताका सबै सोभियतहरू (नगर, जिल्ला र गुबेर्निया सोभियतहरू) लाई लेनिन तथा बोँच–बु्रएभिचका हस्ताक्षरयुक्त गस्ती तार पठाइयो, जसद्वारा उनीहरूलाई सरकार मस्कोमा स्थानान्तरित भएको सूचना दिइयो । अबका सबै डाक र तार जनकमिसार परिषद्, मस्कोको ठेगानामा पठाउन आदेश पनि दिइयो ।
क्रान्तिपछि पहिलोचोटि १२ मार्चमा लेनिन बोँच–बु्रयेभिचसँग कारमा त्रोइत्स्कीए फाटकको बाटो हुँदै क्रेमलिन आउनुभयो । क्रेमलिनको निरीक्षण गरिसकेपछि लेनिनले महल र शस्त्र–भण्डारका सारा मूल्यवान चीजहरू सुरक्षित छन् वा छैनन् ? जान्नमा रुचि देखाउनुभयो ।
त्यसै दिन लेनिनले पोलिटेक्निकल म्युजियमको ठुलो हलमा आयोजित मस्को सोभियतको सभामा समसामयिक समस्याहरूमाथि भाषण दिनुभयो ।
साँझ लेनिनले अर्को सभामा भाषण गर्नुभयो, जुन फेबु्रअरी क्रान्ति वर्षगाँठको उपलक्ष्यमा लेर्फोर्तोभसेमा अलेक्सेएभ्स्की म्यानेज (घोडसवारी स्कूल) मा भएको थियो । त्यसमा लगभग दश हजार मानिसहरू सरिक थिए ।
१४ देखि १६ मार्चसम्म टे«ड–युनियन भवनको स्तम्भहलमा (जुन पहिला सम्भ्रान्तहरूको क्लव थियो) सोभियतहरूको चौथो असाधारण अखिल रुसी अधिवेशन भयो । त्यो अधिवेशन बे्रस्त–लितोभ्स्क शान्ति–सन्धिको पुष्टीकरणको लागि आयोजना गरिएको थियो । लेनिनले १३ मार्चमा अधिवेशनका बोल्शेभिक दलको सामुन्ने भाषण गर्नुभयो । उहाँले अधिवेशनमा (१४ मार्चमा) शान्ति–सन्धिको अभिपुष्टी (पुष्टीकरण) को सम्बन्धमा एउटा विस्तृत रिपोर्ट पेश गर्नुभयो र (१५ मार्चमा) समापन भाषण गर्नुभयो ।
अधिवेशनमा उपस्थिति धेरै ठुलो थियो – १२३२ जना प्रतिनिधि । ‘इज्बेस्तिया’ को अङ्क ४८, १५ मार्च, १९१८ मा छापिएको थियोः “६ बजेसम्म सम्भ्रान्तहरूको पुरानो क्लव टम्मै थियो । बस्नको लागि उपयुक्त–अनुपयुक्त सारा स्थान स्रोताहरूले खचाखच भरिएको थियो ।”
मस्को प्रदेशका मजदुर, किसान र सैनिकहरूको तर्फबाट अधिवेशनलाई अभिन्दन गर्दै मि.नि. पोकोभ्स्कीले भन्नुभयो, “रुसका कामदार जनताका सच्चा प्रतिनिधिहरू, मस्कोको सर्वहारा वर्गले तपाईँको हार्दिक स्वागत गर्दछ ।”
अधिवेशनलाई भङ्ग गर्ने कोशिशमा वामपन्थी समाजवादी–क्रान्तिकारीहरू, ‘वामपन्थी कम्युनिस्टहरू’ मेन्सेभिकहरू र अराजकतावादीहरूले बे्रस्त सन्धिको विरुद्धमा आफ्नो अभियानलाई निरन्तर जारी राखे । तर, उनीहरू अल्पमतमा थिए । अधिवेशनले लेनिनद्वारा पेश गरिएका प्रस्तावलाई भारी बहुमतले स्वीकार ग¥यो । १० डिसेम्बर १९१७ मा सरकारमा सामेल गरिएका ती सात जना वामपन्थी समाजवादी–क्रान्तिकारीहरूले जनकमिसार परिषद्को नीतिको अनुसरण गर्ने सपथ खाएका भए पनि वास्तवमा काममा बाधा उत्पन्न गरिरहेका थिए । पछि उनीहरूले केन्द्रीय समितिको आदेशमा सोभियतहरूको चौथो अधिवेशनपछि जन–परिषद्बाट राजीनामा दिने घोषणा गरे । यसको साथसाथै, अखिल रुसी केन्द्रीय कार्यकारिणी समिति तथा स्थानीय सोभियतहरूमा आफ्नो सङ्घर्ष जारी राख्ने इच्छाले उनीहरू ती संस्थाहरूका आफ्ना पदमा बसिरहे ।
लेनिनले ब्रेस्त सन्धिको अस्थायित्व र त्यसको यथार्थतालाई पहिल्यैदेखि राम्ररी बुझ्नुभएको थियो । उहाँले जर्मन साम्राज्यवादको सैनिक शक्तिको पराजय अनिवार्य र आसन्न छ भन्ने पनि बुझ्नुभएको थियो ।
बोँच–बु्रएभिचले आफ्नो संस्मरणमा लेख्नुभएको छ, “हामी भर्खर मस्को आएका के थियौँ जर्मन सरकारले राम्रो टाइप र राम्रो कागजमा रुसी र जर्मन दुवै भाषामा छापिएको तथा राम्ररी सिलबन्दी गरिएको शान्ति–सन्धिको प्रति हामीलाई पठायो । मलाई त्यो जनकमिसार परिषद्को प्रबन्ध–कार्यालयमा प्राप्त भयो । म त्यसलाई लिएर तुरुन्त लेनिन छेउ गएँ ।
“उहाँले त्यसलाई हातमा लिनुभयो, हेर्नुभयो र हाँस्दै भन्नुभयो, सिल राम्रो छ, छपाइ सुन्दर छ, तर ६ महिना बित्दा–नबित्दै यस सुन्दर कागजको नामोनिशान बाँकी रहनेछैन ।”
मस्कोमा हाम्रा सुरुआती दिनका धेरैजसो हिस्सा कमिसारियतहरूलाई स्थान खोज्न र व्यवस्थित तथा सङ्गठित गर्नमा लाग्यो । अधिकारी साथीहरू र केही कार्यालयहरूलाई होटलमा स्थान दिइयो, जहाँ पहिलेदेखि स्थान सुरक्षित गरिएको थियो । लेनिन, क्रुप्सकाया र मारिया इल्यीनिच्ना ‘नसिओनाल’ होटल (सोभियतहरूको प्रथम भवन) मा बस्नुभयो । त्यहाँ स्वेर्दलोभ, जे.भि.स्टालिन, फे.ए. झेर्जेन्स्की, भ्ला.द.बोँच–बु्रएभिच, अ.द. त्सुरूपा र अरु पनि बसे । विदेशी मामिलाहरूको जन–कमिसारियतलाई ‘मेट्रोपोल’ होटल (सोभियतहरूको दोस्रो भवन) मा र ‘प्राभ्दा’ को सम्पादकीय कार्यालयलाई ‘ड्«ेस्डेन’ होटलको कोठा व्यवस्था गरियो । रेल्वेको जन–कमिसारियत र राष्ट्रिय अर्थव्यवस्थाको अखिल रुसी परिषद्लाई देलोभोई द्वारमा व्यवस्था मिलाइयो । यसैगरी अन्य होटल तथा ठुला भवनहरू पनि भरिए । यसबेला ‘नसिओनाल’ होटलमा कहिलेसम्म बस्नुभयो भनी ठ्याक्कै बताउन कठिन छ । तर, उहाँ दश–पन्ध्र दिनभन्दा धेरै बस्नुभएन होला । क्रेमलिनमा जनकमिसार परिषद्को प्रबन्ध–कार्यालयको लागि कोठाहरूको मर्मत लेनिनको घरको मर्मतभन्दा पहिला भयो । होटेल छाडेपछि आफू बस्ने घरको मर्मत नहँुदासम्म उहाँ केही दिनसम्म क्रेमलिनको घोडसवार दलको भवनमा बस्नुभयो । (त्यहाँ १२ मार्च १९५८ मा एउटा स्मारक बनाइयो) । लेनिनसँग दुईओटा कोठा थिए । लेनिन मस्कोमा जनकमिसार परिषद्का सुरु–सुरुका बैठकहरूको अध्यक्षयता गर्न तिनै कोठा हुँदै जानुहुन्थ्यो । उहाँ जनकमिसार परिषद्को कार्यालयसँग सटेको पुरानो दरबार भएको भवनमा, आफ्नो निवास स्थानमा, अप्रिलको बीचमा वा अन्त्यमा आउनुभयो ।
जनकमिसार परिषद्, लेनिनको अध्ययन–कक्ष र उहाँको आवास सबै, भवनको एउटै खण्डको तेस्रो तलामा थिए । कोठाहरूको योजना र त्यसभित्रको वस्तुक्रमपछिका वर्षहरूको तुलनामा १९१८ मा केही भिन्न थियो ।
जनकमिसार परिषद्को प्रबन्ध कार्यालयका कर्मचारी–मण्डलमा ११ मार्च १९१८ मा स्मोल्नीबाट ल्याइएका ४३ जना थिए । तिनीहरूमा मुख्यतः साना कर्मचारी तथा अन्य प्राविधिक कार्यकर्ताहरू सामेल थिए । जस्तोः – सफाइ गर्ने महिलाहरू, टेलिफोन–अपरेटर, साइकिल–सन्देशवाहक, डाक पठाउने क्लर्क, टाइपिष्ट इत्यादि । सुरुमा जनकमिसार परिषद्को विशेष कार्यालयमा चार वा पाँच मानिसहरूमात्र थिए, तर मे १९१८ को अन्त्यसम्ममा १८ जना अरू भर्ती गरियो । जनकमिसार परिषद्को प्रबन्ध कार्यालयको कर्मचारी–मण्डलमा कमिसारियतको ठुलो कर्मचारी–मण्डलको अपेक्षामा एकदम कम मानिसहरू थिए ।
मस्कोमा जनकमिसार परिषद्को पहिलो बैठक १८ मार्चमा भयो, जसमा दोस्रो बैठकमा (१९ मार्च) जस्तै सङ्गठनका प्रश्नहरूमाथि विचार–विमर्श भयो । ‘अखिल मन्त्रिपरिषद्सम्बन्धी सङ्कट’ पहिलो विचारणीय प्रश्न थियो, जसलाई स्वर्दलोभले उठाउनुभएको थियो । अर्थात्, ‘वामपन्थी’ समाजवादी–क्रान्तिकारी र ‘वामपन्थी कम्युनिस्टहरू’ ले राजीनामा दिएका पदहरूमा जनकमिसारहरूको नियुक्ति नै पहिलो विचारणीय प्रश्न थियो । त्यस दिनको कार्यसूचीमा कृषि, न्याय, डाक–तार र राजकीय समितिका जनकमिसारहरू तथा राष्ट्रिय अर्थव्यवस्थाको अखिल रुसी परिषद्का अध्यक्षका पदहरूमा नियुक्तिका प्रश्न समावेश थिए । त्यस बैठकमा राजकीय अनुदान कमिसारियतको ठाउँमा सामाजिक भरण–पोषण कमिसारियत कायम गर्ने, सर्वोच्च सैनिक परिषद्को स्थापना गर्ने आदिको सम्बन्धमा एउटा प्रस्ताव स्वीकृत गरियो ।
पहिलो बैठकमा नै स्वेर्दलोभद्वारा पेश गरिएको प्रस्तावमाथि मस्कोका पँुजीवादी अखबारहरूलाई तुरुन्त बन्द गरिदिने, त्यसका सम्पादक र प्रकाशकहरूलाई क्रान्तिकारी अदालतमा पेश गर्ने र ती मामिलाहरूमा कडाभन्दा कडा सजाय दिने निर्णयलाई स्वीकृत गरियो ।
१८ मार्चदेखि जनकमिसार परिषद्को बैठक आइतबारबाहेक प्रायः दैनिक हुनथाल्यो । कहिलेकाहीँ बैठक बिहीबार पनि हुँदैनथ्यो, तब त्यसको स्थानमा पोलिटब्युरोको बैठक हुन्थ्यो ।
आउने बैठकको दिन र समय गत बैठकका कार्य–विवरणमा उल्लेख गरिन्थ्यो । साधारणतः बैठकहरू साँझ ८ बजे, तर कहिलेकाहीँ ६ वा ७ बजे सुरु हुन्थ्यो ।
जनकमिसार परिषद् अर्थात् संसारको पहिलो सोभियत सरकारको कर्मचारी मण्डल, एकदमै नयाँ थियो । त्यससँग न अनुभव थियो, न परम्परा, न त कार्यालयको कामको जानकारी । हाम्रो कामको ठुलो हिस्सा जनकमिसार परिषद्का बैठकहरूको सामग्री तयार गर्ने, लेनिनको नाममा आउने डाकलाई हेर्ने र कामदार जनताले पठाएका असङ्ख्य पत्रहरू पढ्नेसँग सम्बन्धित थियो । तर, हाम्रो खास र सबैभन्दा महत्वपूर्ण काम लेनिनका आदेशलाई पूरा गर्नु तथा सबै तुरुन्त हल गनुपर्ने मामिला र जनकमिसारहरूको सोधपुछको बारेमा उहाँलाई रिपोर्ट दिनु थियो । हामीले त्यस समयमा उहाँका आदेशहरूको कुनै रेकर्ड नराखेकोमा पछुतो लाग्छ र अब यतिका दिनपछि तिनलाई पारमाणिकतापूर्वक बताउन सकिंदैन ।
हामीलाई हाम्रो कामसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्धित भएका ती सबै चिजहरूको जानकारी हुनु आवश्यक छ भनी लेनिन हामीलाई बारम्बार भन्नुहुन्थ्यो । हामीलाई जवाफमा “मलाई थाहा छैन” भन्ने अनुमति थिएन, चाहे उहाँद्वारा सोधिएको प्रश्न बिल्कुल अप्रत्याशित नै किन नहोस् ।
यद्यपि, सन् १९१८ मा हाम्रो कार्य–दिवस एकदम लामो र कडा थियो (दिउँसोको खानाको लागि एक घण्टा छुट्टीको साथमा बिहान नौ बजेदेखि राती दुई बजेसम्म) तर पनि हामी सबैले स्वेच्छापूर्वक काम गथ्र्र्याैँ । काम धेरै राम्रोसँग र अत्यन्त मैत्रिपूर्ण वातावरणमा हुन्थ्यो । लेनिनजस्ता नेता र साथी हुँदाहँदै अन्यथा हुन पनि कसरी सक्थ्यो र ?
जनकमिसार परिषद्का बैठकहरू प्रायः साँझ ८ बजेदेखि रातको ११–१२ बजेसम्म, कहिलेकाहीँ अझै अबेरसम्म चल्थ्यो । लेनिनले बैठकहरूमा नियम र व्यवस्थाको कार्यान्वयन गर्न औधी जोड दिनुहुन्थ्यो । तर, त्यसको प्रक्रिया अत्यन्त सुस्त थियो । जन–कमिसारियतहरूका कर्मचारी–मण्डलमा अझै पनि कैयौँ पुराना नोकरशाह थिए, जो आफ्नो विशिष्ट क्षेत्रमा राम्रा विशेषज्ञ त थिए तर उनीहरूले क्रान्तिकारी बेगमा काम गर्नुको सट्टा आफ्नो पुरानो नोकरशाही तरिका अपनाउँथे । उनीहरूले लामो स्मरण–पत्र लेख्थे । उनीहरूले स्मरण–पत्र जति धेरै लामो हुन्छ, त्यति धेरै त्यो मूल्य हुन्छ भन्ने विश्वास गर्थे । यी कागजातहरू जनकमिसारहरूको हस्ताक्षरसहित जनकमिसार परिषद्को नाम उल्लेख गरी कार्यसूचीमा पेश कुनै विषयको समर्थनमा पठाइन्थे । उदाहरणको लागि, १४ मे १९१४ को बैठकको कार्यसूचीका केवल ५ विषयहरूको पुष्टिमा पेश गरिएको स्मरण–पत्र र अन्य सामग्रीहरू करिब १२० पृष्ठ बराबर थिए ।
यी लामा कागजातहरूबाट लेनिन सधैँ झिज्निुहुन्थ्यो । उहाँले यस्ता धेरै लामा सामग्रीहरू पढ्नु असम्भव र अनावश्यक ठान्नुहुन्थ्यो ।
टिप्पणीहरू ः
(१) ब्रेस्त–लितोभ्स्कमा मार्च १९१८ मा सोभियत रुस र जर्मनी, अस्ट्रिया–हङ्गेरी, बुल्गेरिया तथा टर्कीको बीचमा सम्पन्न भएको शान्ति–सन्धिले साम्राज्यवादी विश्वयुद्धमा रुसको भागेदारीको अन्त्य ग¥यो ।
शान्ति सन्धिका सर्तहरू अत्यन्त कठोर थिए । तर, देशभित्रका प्रतिक्रान्ति तथा वैदेशिक हस्तक्षेपकारीहरूलाई परास्त गर्न सेना सङ्गठित गर्ने र शक्तिसञ्चय गर्नका निमित्त अल्पवयस्क सोभियत जनतन्त्रलाई समयको आवश्यकता थियो । जर्मनीमा नोभेम्बर क्रान्ति (१९१८) पछि उक्त सन्धिलाई रद्द गरियो ।
(२) ‘वामपन्थी कम्युनिस्ट’ – बुखारिन, रादेक र प्याताकोभको नेतृत्वमा १९१८ मा बनेको एक पार्टीविरोधी दल, जसले ब्रेस्त–लितोभ्स्क शान्ति–सन्धि सम्पन्न गर्नेसम्बन्धी प्रश्नमा पार्टीको विरुद्ध स्थिति अपनायो । ‘वामपन्थी कम्युनिस्ट’ को यो दलले क्रान्तिकारी युद्धको सम्बन्धमा आफ्ना नीतिलाई वामपन्थी बकवासको आवरणमा पेश गर्दै वास्तवमा नवोदित सोभियत जनतन्त्रलाई, जोसँग अहिले सेनापनि थिएन, साम्राज्यवादी जर्मनीसँग युद्धमा फसाउने दुस्साहसवादी नीतिको अनुसरण गरिरहेको थियो । यसप्रकार सोभियत सत्तालाई खतरामा धकेलिरहेको थियो ।
(३) ‘वामपन्थी’ समाजवादी–क्रान्तिकारी – समाजवादी–क्रान्तिकारीहरूको निम्न–पँुजीवादी पार्टीको वाम पक्ष । यो पार्टी रुसमा १९०२ मा बनाइएको थियो । ‘वामपन्थी’ समाजवादी–क्रान्तिकारी त्यस पार्टीबाट अलग भए र उनीहरूले डिसेम्बर १९१७ मा एक स्वतन्त्र पार्टी बनाए । ‘वामपन्थी’ समाजवादी–क्रान्तिकारीले आफूलाई किसानहरूको पार्टी मान्थे । किसान समुदायमा आफ्नो प्रभाव कायम राख्ने इच्छाले उनीहरूले आधिकारिकरूपले सोभियत सत्तालाई स्वीकार गरे । तर, तथ्यगत वास्तविकतामा उनीहरू कुलकहरूको हितको पक्षधर थिए । यसरी वर्ग–सङ्घर्षको विकाससँगै उनीहरू कुलक–विद्रोहहरूको सङ्गठनकर्ता बने । ‘वामपन्थी’ समाजवादी–क्रान्तिकारीहरूले ‘वामपन्थी कम्युनिस्टहरू’ ले जस्तै बैस्त–लितोभ्स्क शान्ति–सन्धिको विरोध गरे । पछि उनीहरूले सोभियत सत्ताको विरुद्धका षड्यन्त्रहरूमा भाग लिए । किसानहरूमा आफ्नो प्रभाव हराएपछि यो पार्टी पनि हरायो ।
प्रस्तुति ः आरम्भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *