भर्खरै :

संस्कृति र वातावरणका कुरा

विक्रम संवत् २०१९ असारमा पहिलोचोटि नेपाल आएका जर्मनीका वास्तुविद् (आर्किटेक्ट) निल्स गुस्चोसँग उतिबेलाको भक्तपुरलाई कसरी सम्झनुहुन्छ भनी केही वर्षअगाडि यो पङ्क्तिकारले सोधेको थियो । गुस्चोले भनेका थिए – “उतिबेला भक्तपुरमा प्लास्टिक भन्ने फोहर देखिँदैनथ्यो ।” विसं १९६४ मा प्लास्टिकको आविष्कार भएको थियो । आज नेपालमा पनि पातला प्लास्टिकमाथि प्रतिबन्ध लगाउने कुरा राजनीतिक विषय बनिरहेको छ । नेपाल सरकारको यसपालिको प्रस्तावित बजेटमा ४० माइक्रोनभन्दा पातला प्लास्टिकमाथि प्रतिबन्ध लगाउने कुरा फेरि दोहोरिएको छ । तर, वर्षौँदेखिका सरकारका यस्ता घोषणा या प्रतिबद्धता पानीमा कोरिएको धर्कोबराबर भइरहेको छ ।
केही दिनयता चुरेको अमूल्य प्राकृतिक सम्पदा विनाश गर्न सरकार नै लागिपरेको सन्दर्भमा सामाजिक सञ्जाल तथा विभिन्न भच्र्युअल बैठकमा व्यापक बहस चलिरहेको छ । एकातिर चुरे संरक्षणको निम्ति विदेशी दातृ निकायको सहयोगको लागि हारगुहार गरिरहेको र अर्कोतिर चुरे विनाशको योजना पनि आफैले घोषणा गरिरहेको भन्दै सरकारको द्वैध चरित्रको कटु आलोचना भइरहेको छ ।

सरकारले २०७८ जेठ १५ गते प्रस्तुत गरेको बजेटमा उल्लिखित प्रस्तुत केही विषयमा बहस चर्किनुको खास सन्दर्भ पनि छ – शनिबार, जेठ २२ गतेको विश्व वातावरण दिवस (जून ५ तारिख) । यस प्रसङ्गमा आगामी असार २ गते मनाइने सिठी नखः (पर्व) लाई जोडेर हेर्नुपर्ने हुन्छ । वातावरण दिवस र सिठी नखःबीच गजबको तादात्म्य छ । दुवै पर्व उही मौसममा पर्नु, दुवैको उद्देश्य मेल खानु एउटा संयोग हो । प्रस्तुत आलेखमा वातावरणसँग जोडिएका केही मौलिक ज्ञान तथा परम्पराबारे चर्चा गर्ने जमर्को गरेको छु । यो सानो आलेखमा संस्कृति र वातावरणका सबै आयामहरू समेट्न सकिँदैन ।
दाइजोमा चिउरीको बोट
मध्यपहाडी क्षेत्रमा बस्ने चेपाङ जाति छोरी जन्मिँदा चिउरी (डिप्लोक्नेमा ब्युटीरेसिया) को बोट रोप्छन्, छोरी हुर्किँदै जाँदा चिउरीको बोट पनि बढ्दै जान्छ । त्यही रुख छोरीको पेवा बन्छ । चिउरी २०–२५ मिटर अग्लो हुन्छ । समुद्र सतहबाट २०० देखि १५०० मिटरको उचाइमा पाइन्छ । चेपाङ समुदाय चिउरीको पातको टपरीमा भोजभतेर गर्छन्, यसको फल गुलियो र रसिलो हुन्छ, फलबाट रक्सी बनाउँछन्, बिउबाट घिउ बनाएर त्यसैको भुटुनमा तरकारी पकाउँछन् । यसकै घिउबाट बत्ती बाल्न मिल्छ । यसरी जीवनसँग जोडिएको वनस्पतिको संरक्षण गर्ने काम युगौँदेखि भइरहेको छ । हिजोआज चिउरीघारीमा मौरी चराउन लैजाने गरिन्छ ।
काठमाडौँ उपत्यकाका किसानले भूक्षय रोक्न खोलाको डिलमा बैँस र जाली फूल (जाली स्वाँ) रोप्छन् । बैँसको डालेघाँस बाख्राबाख्रीलाई खान दिन्छन् । हरेक वर्ष हिउँदमा बैँसको रुख छटनी गरी दाउराको जोहो पनि गर्दछन् । ससाना लाम्चिला पात हुने जाली फूलको बोट काटेर दाउरा बनाउँछन् । जीवन पनि चल्यो, प्रकृति पनि बच्यो ।
खोलाको डिलमै नर्कट (अरुन्डो डोनाक्स) रोप्ने अक्कल पनि काठमाडौँ उपत्यकाका किसानसँग छ । लामालामा पात हुने, हलक्क बढ्ने, छेकबार आदिको रूपमा प्रयोग गरिने निगाला जातको वनस्पति हो नर्कट । यसको जराले पानी सफा गर्ने क्षमता राख्दोरहेछ । धापिलो ठाउँमा हुर्किने यो वनस्पतिले पानीमा रहेका हानिकारक रसायन तथा सूक्ष्मजीव छान्ने काम गर्दोरहेछ । धुलिखेल अस्पतालले यस्तो परीक्षण गरेको यो लेखकले पनि अवलोकन गर्ने अवसर पाएको थियो । अस्पतालबाट निस्किएको फोहर सफा गरी खेतमा उपयोग गरिएको थियो । करिब २० वर्षअगाडि यो कुरा देख्दा यो लेखक पनि छक्क परेको थियो । ‘पवित्र गङ्गा’ संरक्षण गर्ने स्थानीय ज्ञानबारे वातावरणमन्त्री विज्ञ होलान् कि अनभिज्ञ ?
किसानले असारमा बढेको घाँस कान्ला ताछेर फाल्छन् तर खेतमा बढ्ता भएको पानी निकाल्ने निकास वा समाहामा ताछ्दैनन् । एक छेउतिर अग्लो र अर्को छेउतिर होचो भई समानरूपले पानी नपटिने स्थितिमा बिचमा आँठो बाँधेर अलग्गै सानो गरो वा फगटो बनाउने बुद्धि पनि नेपाली किसानकै हो । आली लगाएर गरिने गराखेती नेपालको भूगोल सुहाउँदो र वैज्ञानिक मानिन्छ । खेतका डिलमा बनाइने आलीमा मास, भटमासलगायत अनेक फूलका बोट रोप्ने कृषिको ज्ञानबाट आलीमात्र जोगिँदैन, उत्पादन र खेतको सौन्दर्य पनि बढ्छ । भूक्षय रोक्ने मौलिक ज्ञान जोगाउन राज्य उदासीन नै छ ।
सिठी नखः स्थानीय पर्यावरण दिवस
इतिहास र संस्कृतिका अध्येता ओम धौभडेलका अनुसार सिठी नखःको प्रमाण भक्तपुर स्वर्णद्वारको शिलापत्र ५६१ वर्ष पुरानो छ । यसको वास्तविक इतिहास खोज्न लिच्छवीकालसम्म नै पुग्नुपर्दछ । हामी सोच्न सक्छौँ – सयौँ वर्षदेखि सिठी नखः (पर्व) मनाइँदै आउनुको अर्थ के होला ?
सिठी नखः पानीको मुहान सफा गर्ने पर्व हो । सिठी नखःले वर्षा ऋतुको आगमनको सङ्केत गर्छ । यसले वर्षा ऋतुको लागि तयारी गर्न पनि आह्वान गर्दछ । सिठी नखःले पानीको मूल सफा गर्न घच्घच्याउँछ । यसले वातावरण सफाइ र संरक्षणको पाठ सिकाएको छ, कुरामात्र होइन काम गर्न पनि प्रेरित गर्छ, प्रकृति र मानव जीवनको सम्बन्ध अन्योन्याश्रित भएको बोध गराउँछ । प्रकृतिको रक्षा गर्नको निम्ति हाम्रा पुर्खाले सिकाएको पाठमा धार्मिक आवरण छ, त्यही आवरणप्रतिको विश्वासले नै आजसम्म इनार, धारा, कुवालगायत पानीका अन्य मुहानको सरसफाइ गर्दै छन्, स्थानीय जनता ।
आज पनि इनारमा थुक्नुहुन्न भन्ने विश्वास कायम छ । खोला, कुवा, मुहानमा दिसापिसाब गर्नुहुन्न भन्ने मान्यता छ । ‘नागराजा’ को डर त झन् प्रभावशाली हुने भइगयो । मुहानमा रुखबिरुवाको संरक्षणको ज्ञान यसरी नै दिइयो । पानीको मुहानतिरै मन्दिर बनाइयो, मन्दिर वरपरको जङ्गल नाश गर्नु हुँदैन नत्र ‘भगवान’ को श्राप लाग्छ भनियो । मुहानबाट ल्याइएको कुलो बग्ने वरपरको ठूलो आली बिगार्नुहुन्न भन्ने मान्यता पुस्तान्तर सर्दै आयो । तर, आस्था परिवर्तनशील छ, आधुनिक विज्ञानका कैयौँ आविष्कारपछि पुरानो आस्था खण्डित हुँदै संस्कृतिलाई नयाँ ढङ्गबाट विश्लेषण गर्ने आयाम खुल्दै गएको छ । प्रकृतिको रक्षा गर्न अनेक वैज्ञानिक अनुसन्धान भइरहेका छन् । अब ‘भगवान’ त भागिसके । अवैज्ञानिकताको कुरा छोडिदिऊँ !
सिठी नखःको सन्देशभित्र सफा पानी पनि पर्दछ । चोखो पानी (नि लः) को संस्कृतिले फोहर पानीको प्रयोग गर्नुहुन्न भन्ने कुरा प्रस्ट पार्छ । इनारमा थुप्रिएको लेदो, इँटा वा माटो निकाल्दा भूमिगत पानीका मुखहरू खुला हुनुको साथै पानी पनि सफा हुन्छ । गर्मीयाम सुरु हुनुभन्दा अगाडि मनाइने सिठी नखःले गर्मी मौसममा रोग फैलाउने अनेक कीटाणु सक्रिय हुन्छन् भन्ने चेत पनि दिएको हुनुपर्छ । झाडापखाला, हैजा, आउँ, कमलपित्त, अनेक खालका जुका दूषित पानीकै कारणबाट हुन्छन् भन्ने आधुनिक विज्ञानले प्रमाणित गरेको तथ्य हो । हिजो यी रोगको कारण मात्र थाहा थियो, आजको विज्ञानले प्याथोजेनिक ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा वा नेमाटोडलाई कारक मानेको छ । हाम्रा पुर्खालाई रोगको कारण थाहा थियो तसर्थ सफा, शुद्ध वा चोखो पानीको प्रयोग गर्नुपर्छ भन्ने नै हो मूल सन्देश ।
खानेपानी र पर्यावरण
जथाभावी सहरीकरणको कारण काठमाडौँ उपत्यकाको भूमिगत पानीको सतह घटिरहेको विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ । भूमिगत पानी निकालिएको अनुपातमा पुनःभरण नहुँदा उपत्यका भासिने खतराबारे पनि वैज्ञानिकहरूले सचेत पारिरहेका छन् ।
वर्षाको पानी सङ्कलन गर्न हाम्रा पूर्वजहरूले ठाउँठाउँमा पोखरी बनाएका थिए, पानी जम्मा हुन्थ्यो । आवश्यकताअनुसार पोखरीको पानी प्रयोग हुन्थ्यो । आज हामी जमिनमुनिको पानीको सतह बढाउन स्वदेशी र विदेशी उत्प्रेरणा एवम् ज्ञान पाएर भूमिगत पानी ‘रिचार्ज’ अभियान थालिरहेका छौँ । त्यही कुरा अबुझ भनिएका पुर्खाले गर्दा त्यसको महत्व नबुझ्ने हामी विदेशीले नौलो कुरा सिकाए भन्ठानेर तिनका पछि लागिरहेका छौँ । रैथाने ज्ञान र सीप नजान्दा दुःख त हुने नै भयो । होइन, हाम्रो चेत कहिले फर्केर आउँछ ?
विगतमा फर्कँदा सयौँ वर्ष पुराना इनार, ढुङ्गेधारा र पोखरीले मानिसका धेरै आवश्यकता पूरा भइरहेका थिए । काठमाडौँमा रहेका २ सय ३७, ललितपुरका ७७ र भक्तपुरका ५३ (अमात्य, २००६) ढुङ्गेधारालाई विगतमा झैँ राख्न सकिएको भए यति बिघ्न समस्या आउने थिएन कि !
पुराना ढुङ्गेधारा त्यतिखेरको समाजको निर्माणकलाका प्रमाण त हुँदै हुन् । सहरभन्दा धेरै टाढाबाट पानीको कुलो ल्याई दरबारसम्म पानी पु¥याइएको छ । ‘भक्तपुरको राजकुलो’ नामको पुस्तकका लेखक भोलानाथ पौडेलका अनुसार भक्तपुरदेखि २ कोस (करिब ७ किमि) पूर्वतिर पहाडको चुचुरोमुनिको खोँचमा अवस्थित महादेवपोखरीबाट निस्किएको पानी पहाडका अरू साना ठूला मूलहरूलाई बटुल्दै नगरकोटको फेदीमा पुगेपछि बनेको खोलालाई वासुकिघाटमा बाँध बाँधी ल्याइएको कुलो नै भक्तपुरको राजकुलो हो । कुलो तेलकोट र खरिपाटी हुँदै बाँसबारीको पानी पोखरीभन्दा केही तल दगुगा भन्ने ठाउँमा रहेको सानो पोखरीमा खसालिन्छ र सानो पोखरीबाट ठूलो पोखरीमा पानी सङ्कलन गरिन्छ । ठूलो पोखरीबाट पोलेका माटाका डुँड र इँटले बनेको पाइप, ढल वा नलबाट सोझै भक्तपुर सहरमा पानी ल्याइन्छ । सहरभित्र पसेपछि पनि त्यस कुलोबाट राजदरबारको सुन्धारा, खौमाटोलको धारा, नासमना टोलका धारा, भैरवस्थानको सुन्धारा आदि अनेक धाराहरू सञ्चालन गरिएको भोलानाथ पौडेलको पुस्तकमा उल्लेख छ । तेलकोटदेखि काठ क्षेत्र र सहर वरपरका खेतका फाँटहरू समेत सिँचित गर्न बनाइएको यस्तो राजकुलो भूगर्भमा लुप्त छ ।
लेखक पौडेलकै अनुसार भक्तपुर दरबारभित्र रहेको सुन्धारामा पानी आउने गरी वि. सं. १७३५ मा राजा जितामित्र मल्लले राजकुलो बनाएको इतिहास छ । नेपालमा करिब एक सय वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरको पालामा परम्परागत प्रणालीमा परिवर्तन गरिएको देखिन्छ । काठमाडौँमा बग्ने बागमती र यसका सहायक नदी नै सहरी क्षेत्रका बासिन्दाको लागि पानीको मुख्य स्रोत थिए । आज बागमती ‘ढलमती’ बनेपछि पानीको हाहाकार भएको छ । विकासको नाममा आएका इँटा भट्टालगायत अनेक उद्योगले नदी र खोला थुनेर पानीको दोहन गर्र्दा, ढल र रसायन मिसाउँदा बस्तीका बस्ती काकाकुलमात्र भएनन्, कृषि उत्पादन प्रभावित भयो, जलचर समाप्त भए । पर्यावरण चक्रमा नकारात्मक असर प¥यो । पानीको मूल एवम् स्रोतको संरक्षण गर्ने सिठी नखःलाई यान्त्रिकरूपमा वा परम्परा धान्ने मेसोमात्र मान्दा सहरवासीहरू थप सङ्कट भोग्दै छन् ।
जैविक मल नै प्राकृतिक पद्धति हो
फेरि सिठी नखः कै कुरा गरौँ ¤ किसान सिठी नखः को दिन खेतमा कुनै काम गर्दैनन् बरु प्राङ्गारिक मल बनाएर कम्तीमा एक खेप खेत पु¥याउनुपर्ने मान्यता राख्छन् । यसले कृषि उत्पादन बढाउँछ भने मानिसको स्वस्थकर जीवनको निम्ति प्राङ्गारिक मल अति उत्तम हो भन्ने सन्देश पनि दिन्छ । नेवारका प्रत्येक घरमा जैविक फोहरलाई मलको रूपमा प्रयोग गर्ने परम्परागत प्रविधि छ । खरानी नौ गाः (खरानीको खाल्डो) मा जम्मा पारेर आवश्यकताअनुसार खेतको बालीमा प्रयोग गरिन्छ कीटनाशक खरानी । त्यस्तै घरबाट निस्कने जैविक फोहर सबै थुपार्न बनाइएको खाल्डोलाई साः ग : (मल खाल्डो) भनिन्छ । गाईवस्तुको मल कुहाउने प्रविधि पनि नेवार समुदायमा विद्यमान छ । आधुनिकीकरणको नाममा आएको पश्चिमीकरणले सहरी क्षेत्रमा साः गाः र नौ गाः को प्रयोग लुप्तप्रायः भएको छ, दुःखको कुरा !
रासायनिक मलले क्षणिक प्रतिफल दिन्छ, सहर र बस्ती ‘सफा’ हुन्छ तर यसका केही खतरनाक नकारात्मक पक्ष छन् । रासायनिक मलको सही उपयोगबारे किसान राम्ररी प्रशिक्षित छैनन् । उपयोग नभएको रासायनिक मलले पानी प्रदूषित बनाएको छ, यसको नकारात्मक असर समुद्री जीवमा समेत परेको पढ्न पाइन्छ ।
पश्चिमाहरूले जैविक मलको महत्व बुझ्न थालेपछि फेरि हामी हाम्रो पुरानो प्रविधितिर फर्किने तरखर गरिरहेका छौँ । हजारौँ वर्ष पुराना परम्परामा समयअनुसार सुधारमात्रै गरी अगाडि बढेको भए पनि हामी परनिर्भर बन्नुपर्ने थिएन । घरबाट निस्कने फोहर घरघरमै मल बनाई प्रयोग गर्न सकेको भए नगरपालिकाहरूको काम घट्ने थियो, बोझ थपिने पनि थिएन ।
अन्तमा, सोच विश्वव्यापी होस्, काम स्थानीय होस् भन्ने हो भने हामीले हाम्रो ऐतिहासिक परम्परालाई पर्गेल्नै पर्छ । छ्यासमिस भएका संस्कृति र त्यसका विभिन्न आयामका राम्रा पक्षको उजागर गर्ने र खराब पक्षलाई फाल्नु पनि उत्तिकै जरुरी छ । हाम्रो पहिचान यसैमा निहित छ । नेपालभाषामा एउटा उखान छ, आफूले आफैलाई चिन्न नसक्दा दुःख पाएँ । आफ्नो क्षमताबोध हुँदा स्वाभिमान त्यसै उँचो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *