भर्खरै :

पराजय– १

पात्रहरू
कम्पनी कमान्डर : ओसिप अब्रामिच लेभिनसन
सहायक कमान्डर : बाक्लानोभ । क्वाटर–मास्टर । सहायक क्वाटर–मास्टर
अर्दलीहरू : मोरोजका, एफिमका
माइन बिछ्याउने : गोन्चारेन्को
पल्टन कमान्डरहरू : दुबोभ, कुब्राक, मेतेलित्सा, शाल्दिबा, बोरिसोभ, ओसोकिन
सैन्य डाक्टर :स्ताशिन्स्की । डाक्टरको सहयोगी : खारचेन्को । नर्स : भार्या
अन्य सैनिक : कनुनिकोभ, मेतचिक, सिस्किन, पिका, लाभरुश्का, पहरेदाहरू, सन्देशवाहकहरू ।
गाउँले प्रधान : होमा रियाबेत्स
गाउँलेहरू : एभस्ताफी, कोरियाली किसान, पादरी, गोठालो केटो, गोठालाको मालिक
पाकेटमारहरू : स्तिर्कशा, (अप्रकट : ली फू)
घोडाहरू : मिश्का, ज्युचिखा, निभ्का ।
कज्जाकीहरू : बुर्कावाल, नेचिताइलो, अफिसर, सिपाहीहरू ।
स्थानहरू
उपन्यासले ओगटेको भूगोल: जापानी सागरको पश्चिम र भ्लादिभोस्तोकभन्दा उत्तरमा पर्ने सिखोते–अलिन पर्वतमाला र उस्सुरी नदीवरपरका उपत्यका र नदी घाटीहरू – सुचान, स्वियागिनो क्षेत्र, क्रिलोभ्का, सोलोमेनाया, शिबिशी, उलाखे, उदेगे पहाड, बाघ उपत्यका, इरोखेदजा, खाउनीखेदजा, तुदो–वाकु ।
जङ्गल : ताइगा (भोजपत्र, ओखर, बाँझ, देवदार, धुपी, सल्ला, मेपल, एल्म, विलो) ।
नदी : फुदजिन, उलाखे, इरोखेदजा, खाउनीखेदजा, उस्सुरी ।
१ मोरोजका
आफ्नो पुरानो जापानी तरबारलाई सिँढीहरूमा ट्याङ–ट्याङ पार्दै लेभिनसन आँगनमा ओर्लियो । खेतबाट लट्टेको मगमग बास्ना आइरहेको थियो । जुलाईको घाम रापिला घुर्मैला गुलाबी बादलहरूमा पौडिरहेको थियो ।
बाटुला कुखुराहरूको एउटा अटेर बथानलाई कोर्राले धपाउँदै अर्दली मोरोजकाले तिरपालमा उवाका दानाहरू सुकाउँदै थियो ।
“सुन, यो शाल्दिबाको डफ्फासम्म पु¥याऊ !” लेभिनसनले एउटा बन्द खाम दिँदै भन्यो, “अनि उनलाई भन्नू… भयो भो । सबै कुरा चिठीमा लेखिएको छ ।”
मोरोजकाले ठुस्किँदै अनुहार अन्त फर्कायो र कोर्रा झट्का¥यो । ऊ जान चाहँदैनथ्यो । यी उराठलाग्दा प्रशासकीय दौडादौड, बेकारका सन्देशहरू र सबैभन्दा बढ्ता ऊ लेभिनसनका विचित्र आँखाहरूबाट दिक्क भइसकेको थियो । जुम्ल्याहा सरोवरसरि गहिरा लेभिनसनका ठूलाठूला आँखाले मानौँ शिरदेखि पाउसम्म सग्लो मोरोजकालाई आफूमा डुबाउँथे र तिनमा त्यस्ता अनेक कुराहरू हेर्थे जसबारे मोरोजका आफै सचेत थिएन ।
“मठ्याहा !” अर्दलीले खल्बलिएको भावले आँखा झिम्झिमाउँदै मनमनै गाली ग¥यो ।
“के भो, के पर्खेको ?” लेभिनसनले कड्किँदै सोध्यो ।
“कुरा के भने कमान्डर कामरेड जहाँ पनि मोरोजका नै किन जानुपर्ने ? मबाहेक अरू कोही छैन र ?”

कहालिएका मान्छेहरूको अन्तिम जत्थामा टाउकोमा एउटा सेतो रुमाल बाँधेको, साँघुरो सहरी ज्याकेट लगाएको एकजना हलुङ्गो युवक आफ्नो राइफल जथाभावी घिसार्दै लर्खराइरहेको थियो । लाग्थ्यो, जत्थाका बाँकी मान्छेहरू ऊ पछि नछुटोस् भनेर बिस्तारै भागिरहेका थिए । जत्था झन्झन् पातलिँदै थियो । सेतो रुमाल बाँधेको युवक पनि गोली खाएर ढल्यो तर मरेन । उसले उठेर घस्रिने कोसिस गर्नथाल्यो । उसले आफ्ना पाखुराहरू फैलायो र चिच्याएर केही भन्यो । बाँकी मान्छेहरू उसलाई पछाडि छोडेर पछि नहेरी बेतोड भाग्न थाले ।

मोरोजकाले आफ्नो कुरामा सरकारी छनक दिन जानाजान ‘कमान्डर कामरेड’ भन्यो । सामान्यतया उसले लेभिनसनलाई उसको नामले मात्र बोलाउने गथ्र्यो ।
“सायद म आफै जानुपर्छ, हैन ?” लेभिनसनले भुतभुतिँदै सोध्यो ।
“तपाईँ किन जानुप¥यो, अरू धेरै मान्छे छन् त… ।”
लेभिनसनले निधो गरिसकेको भंगिमासहित खामलाई आफ्नो खल्तीमा यसरी कोच्यो मानौँ उसको धैर्यको बाँध फुटेको छ ।
उसले भन्यो, “जाऊ आफ्नो राइफल क्वाटर–मास्टरलाई देऊ, अनि यहाँबाट हटिहाल । मलाई यहाँ लफङ्गाहरू चाहिँदैन ।” उसको स्वर बिपत्तै शान्त थियो ।
नदीबाट बहने मन्द हावाको झोक्काले मोरोजकाको उत्ताउलो कपाल छ्यालब्याल तुल्याइदियो । सिँयालनिर सुक्खा चिराइतोको झ्याङबाट उड्ने घामकीराहरूको एकोहोरो ध्वनिले तातो बतासमा मानौँ प्वाल पारिरहेको थियो ।
“रोक ¤” मोरोजकाले हडबडाउँदै भन्यो, “त्यो चिठी मलाई देऊ !”
आफ्नो पोशाकभित्र चिठी घुसाउँदै उसले लेभिनसनलाई सम्झाउने भन्दा पनि आफैलाई ढाडस दिने मनसायले सफाइदियो : “कम्पनी छोड्ने, राइफल फाल्ने ? लाजको मर्नु !” उसले आफ्नो धुलाम्य टोपीलाई टाउको पछाडि सा¥यो र फुलेल हुँदै आफ्नो कुरा टुङ्ग्यायो । “तिम्रा सुन्दर आँखाले हेर्लान् भनेर हामीले यो खेल चालू गरेका थिएनौँ, लेभिनसन साथी ! खनिकहरूको खरो भाषामा तिमीलाई भन्दिन्छु !”
कमान्डरले हाँसेर भन्यो, “बल्ल तिमीले मनको कुरा खोल्यौ, यति रुखो किन बनेको पटमूर्ख !”
मोरोजकाले लेभिनसनको कोटको टाँक समातेर उसलाई नजिक तान्यो र गोप्य कुरा सुनाएझैँ खुसुक्क भन्यो, “हेर साथी, मैले भार्यालाई भेट्न अस्पताल जाने तरखर गर्दै थिएँ, तिमी चिठी लिएर टुप्लुक्क आइहाल्यौ । कुरा छर्लङ्ग छ, पटमूर्ख तिमी हौ ।”
उसले आफ्ना धमिला, हरिया, कपटी आँखा सन्कायो र खित्का छोड्दै हाँस्यो । अब उसले आफ्नी स्वास्नीको बारेमा कुरा गरिरहेको थियो । तैपनि, उसको हाँसोमा अश्लीलजस्तो केही थियो जसले वर्षौँदेखि कुनै कसिङ्गरले जस्तै उसलाई सताइरहेको थियो ।
“तिमोशा !” लेभिनसनले चारपाईमाथि थैलोजस्तो गुजुक्क परी बसेको व्यक्तिलाई डाक्यो । आँखा झमाकझुमुक पार्दै ऊ निद्रा भगाउने सुरसारमा थियो । “उवा हेर्नू, मोरोजका जाँदै छ ।”
तबेलानिर घोप्टिएको काठको डुँडमा बसेर माइन बिछ्याउने गोन्चारेन्कोले छालाका थैलाहरू टालिरहेको थियो । उसको टाउको मुडुलो थियो र शरीर घामले रन्केको थियो । उसको गाढा रातो र बाक्लो दाह्री पसिनाले निथ्रुक्क भिजेको थियो । आफ्नो ढुङ्गाजस्तो कठोर अनुहार थैलीमाथि झुकाएर उसले आफ्नो सिँयो यति जोडजोडले चलाइरहेको थियो मानौँ उसले माटोका डल्लाहरू फोरिरहेको छ । बाक्लो कमिजमुनि उसको दर्बिलो कुम ढुङ्गाको चक्कीजस्तै चलिरहेको थियो ।
“लौ, फेरि हिँडिहाल्यौ ?” गोन्चारेन्कोले सोध्यो ।
“हजुर !” मोरोजका तन्किएर ‘सावधान’ को मुद्रामा उभियो र आफ्नो साँप्रामा हात अड्याएर उसले सलाम ठोक्यो ।
“रोक !” गोन्चारेन्को अफिसरी शैलीमा भुतभुतियो । “कुनै बेला म पनि पटमूर्ख बन्ने गर्थेँ । के काम लिएर आयौ ?”
“कुनै विशेष काम होइन । कमान्डर मलाई अलि कसरत गराउन चाहन्छन् । घोटिएर कसरत गरिन भने मैले यहाँ बसेर चल्ला काढूँला भन्ने उनलाई पिर छ ।”
“बेकुफ !” गोन्चारेन्को बर्बरायो, “सुचानको बकम्फुसे गधा !”
मोरोजकाले आफ्नो घोडालाई तबेलाबाट बाहिर ल्यायो । लामो याल भएको घोडाका कान टाँठा भए । ऊ हृष्टपुष्ट र झ्यापुल्ले दौडक थियो । ऊ आफ्नो मालिकसँग मिल्दोजुल्दो थियो । उस्तै धमिला हरिया आँखा । ऊजस्तै होचो र मोटो, बाङ्गा खुट्टा र उस्तै उजण्डहरूको जस्तो निर्लज्ज भावभङ्गीमा ।
“मिश्का ! पिशाच !” घोडाको काठी कस्दै मोरोजका सस्नेह चिच्यायो, “मिश्का ¤ ओए कुकुर्नीको सनकी छाउरो !”
“सवारी गर्न बुद्धि चाहिन्थ्यो भने,” गोन्चारेन्कोले गम्भीर हुँदै भन्यो, “भगवान् कसम, तिमी मिश्कामाथि होइन, मिश्का तिमीमाथि चढ्ने थियो ।”
मोरोजका घोडाको डुल्की चालसँगै आँगनबाहिर आयो ।
बोटबुट्यानले भरिएको गाउँले सडक नदीको तीरैतीर फैलेको थियो । नदीपारि लट्टे र गहुँको खेत घामको उज्यालोमा चम्किरहेको थियो । ओसिलो कुहिरोमा सिखोते–अलिन पर्वतमालाका निला टाकुराहरू टाढाटाढासम्म देखिन्थे ।
मोरोजका एकजना खनिकको छोरो थियो र आफू पनि खनिक थियो । सुचानमा आफ्नै इष्टदेवले परित्याग गरेपछि र मान्छेहरूबाट एक्लिएपछि उसका बाजेले किसानी गरेका थिए । तर, उसका बाबुले कालो माटो छोडेर कोइला फोर्ने पेशा अपनाए ।
दुई नम्बर खानीनिर एउटा अँध्यारो ब्यारेकमा मोरोजकाको जन्म भएको थियो । बिहानी खेपको तीखो सिट्टी बजिरहेको थियो ।
“छोरो हो कि क्या हो ?” खानीको डाक्टरले सानो टहरोबाट बाहिरिएर खबर दिँदाघरि उसका बाबुले सोधेका थिए । “चौथो छोरो,” हतास भएर उनले गन्ती गरे, “गएकै जुनी हो !”
अनि उनले कोइलाको धुलोले काती परेको आफ्नो तिरपालको ज्याकेट ओढे र ग¥हुङ्गा पाइला चाल्दै उनी काममा गए ।
बा¥ह वर्षको उमेरमै मोरोजकाले सिट्टीसँगै उठ्न, कोइलाका गाडीहरू धकेल्न, बेफ्वाँकमा फोहोर कसम खान र भोड्का घुट्क्याउन सिकेको थियो । सुचानका खानीहरूमा जति पियक्कडहरू थिए, उति नै रक्सीका पसलहरू थिए ।
खानीबाट दुई सय गजको दूरीमा घाटी सकिन्थ्यो र ज्वालामुखी पहाडहरू सुरु हुन्थे । पहाडका भीरहरूबाट कलेटी परेका यामानका देवदारका रूखहरूले गम्भीरतापूर्वक फेँदमा बसेको बस्तीलाई नियाल्थे । बिहानीपख कुइरो र हिमपात हुँदाको दिन ताइगाका हरिणहरूले मानौँ आफ्नो स्वरभित्र (कारखानाको) सिट्टीलाई डुबाउने प्रयास गर्थे । पहाडी निला खोँचहरूबाट निस्कने गहिरा खहरेहरू तर्दै र अन्तहीन सडकहरू छिचोल्दै ट्रक र अन्य गाडीहरू रात–दिन कानगौज स्टेसनतिर ओइरिरहन्थे । भट्टीको टुप्पोमा कालो तेलले लत्पतिएको र थर्किरहेको मेसिनले मोटा दाम्लाहरू तानिरहेको हुन्थ्यो । खोलाको मुखैमा बास्नादार देवदारका रूखहरूबीच बनाइएका ढुङ्गाका घरहरू अर्थ न बर्थका देखिन्थे । त्यहीँनिर कसका लागि पसिना बगाइरहेका छौँ भन्ने थाहै नपाई मानिसहरू मिहिनेत मजदुरी गर्थे । रेलका इन्जिनका बेसुरे सिट्टीहरू बजिरहन्थे, बिजुलीले चल्ने लिफ्टहरू घ्यार्रघुर्र गरिरहन्थे ।
त्यो जिन्दगी रमाइलो थियो ।
त्यो जिन्दगीमा मोरोजकाले नयाँ बाटो खोजेन । बरु पुरानो र सुरक्षित बाटोमै हिँडिरह्यो । समय आएपछि उसले साटिनको एउटा लबेदा र गतिलो छालाको जुत्ता किन्यो । छुट्टीको बेला ऊ तल घाटीको गाउँ ओर्लिन्थ्यो । त्यहाँ अरू तन्नेरीहरूसँग मिलेर उसले अकार्डियन बजाउँथ्यो, लोकभाका गाउँथ्यो र गाउँका केटीहरू ‘बिगाथ्र्यो’ ।
फर्किने बेला ‘खानीका लफङ्गाहरू’ ले खरबुजा र पाकेका काँक्रा चोर्थे र खहरे खोलामा हुत्तिँदा लहरमा बाँकटे हान्थे । उनीहरूको रमाइलो चिच्याहटले ताइगालाई ब्युँझाइदिन्थ्यो । चट्टानहरूका कापबाट डुब्दो जूनले डाहा गर्दै उनीहरूलाई नियाल्थ्यो । खोलामाथि न्यानो कुहिरोको एउटा बर्कोजस्तो तह तैरिरहेको हुन्थ्यो ।
समय आएपछि मोरोजकालाई एउटा फोहर पुलिस चौकीमा थुनियो । त्यस चौकीमा उपियाँ, उडुस र असिनपसिन खुट्टामा बाँधिएको पट्टीको दुर्गन्ध आइरहन्थ्यो । यो त्यतिबेलाको कुरा हो, जतिबेला अप्रिलका हड्तालहरू चरमचुलीमा थिए । त्यसबेला खानीका अन्धा घोडाहरूको आँसुजस्तो मैलो भूमिगत पानी रात–दिन खानीका खल्डाखुल्डीभित्र चुहिरहन्थ्यो । त्यसलाई पम्पले बाहिर निकाल्ने कोही पनि हुन्नथ्यो ।
कुनै ठूलो पराक्रम देखाएबापत उसलाई पक्राउ गरिएको थिएन । बरु, उसको जिब्रो खुब चल्ने हुनाले उसलाई डरधम्की देखाएपछि गडबडी मच्चाउनेहरूको खोजखबर लिन सकिन्छ भनेर उसलाई समातिएको थियो । कुहिगन्दे कोठरीमा माइखेका मामुली चोरहरूबीच बसेर उसले उनीहरूलाई छाडा किस्साहरू त सुनाइरह्यो । तर, हड्तालका नेताहरूसँग उसले विश्वासघात गरेन ।
आफ्नो पालो आएपछि ऊ लडाइँको मोर्चामा गयो र उसलाई घोडचढी सेनामा भर्ती गरियो । त्यहाँ उसले सबै रिसल्लाहरूले जस्तै ‘पैदल घस्रिनेहरू’ लाई तल्लो आँखाले हेर्न सिक्यो । ६ चोटि घाइते भयो, बम बिस्फोटमा दुईचोटि प¥यो र क्रान्तिभन्दा ठीक पहिले सदालाई बर्खास्तीमा प¥यो ।
घर फर्केर उसले पन्ध्र दिनसम्म खुब रक्सी धोक्यो अनि खानी नम्बर एकमा गाडी तान्ने एक दयालु र निडर महिलासँग बिहे ग¥यो । जे काम गरे पनि उसले सोचविचार नगरी गथ्र्यो । सुचानका खरबुजाका खेतहरूमा काँक्रा चोरेजस्तै जिन्दगीलाई उसले सीधासादा ठान्थ्यो ।
सायद यस्तै उमङ्गले गर्दा १९१८ मा सोभियतहरूको रक्षाको लागि ऊ आफ्नी स्वास्नीसँगै घरबाट निस्कियो । जे भए पनि त्यसपछि उसले खानीमा फर्किने कुरा सोच्नै सकेन । सोभियतहरूको रक्षा गर्न सकिएको थिएन र नयाँ अधिकारीहरूले मोरोजकाजस्ता मान्छेलाई शङ्कालु आँखाले हेर्थे ।
मिश्का आफ्ना नाल ठोकिएका खुरहरूलाई रिसले बजार्दै र दौडिँदै गइरहेको थियो । उसका कान वरपर भन्किँदै हरिया झिँगाहरूले उसलाई सताइरहेका थिए । उसको बाक्लो जगरमा घुस्रेर ती झिँगाहरूले उसलाई रगत निस्किने गरी टोकिरहन्थे ।
मोरोजका स्वियागिनो सैनिक क्षेत्रमा पस्यो । क्रिलोभ्का गाउँमा शाल्दिबाको डफ्फाले अड्डा जमाएको थियो । गाउँ हरिया ओखरका बोटहरूले ढाकेको पहाड पछाडि लुकेको थियो ।
“झिँ–इँ–इँ.. झिँ–इँ–इँ,” झिँगाहरूको एकनासे भन्काइ जारी थियो ।
पहाडको पछाडि एउटा अचम्मको गर्जन सुनियो । गर्जन गुञ्जियो । फेरि अर्को गर्जन आयो, फेरि आयो । मानौँ कुनै जङ्गली जन्तु आफ्नो साङ्लो चुँडालेर काँडैकाँडाको झाडी छिचोल्दै गइरहेको थियो ।
“रोक !” मोरोजकाले समूहलाई रोक्दै दबेको स्वरमा भन्यो ।
आज्ञाकारी मिश्का निश्चल उभियो । उसको हृष्टपुष्ट शरीर अघिल्तिर तन्कियो ।
“सुन त्यो आवाज ? गोली चल्दै छ !” काठीमा तन्किँदै अर्दलीले सुस्तरी भन्यो, “गोली चल्दै छ, हँ ?”
भट–ट–ट । पहाड पछाडिबाट मेसिनगनको गर्जनले मानौँ दन्किँदो डोरा पार्दै शटगनको बेलाबेलाको ढ्यामढ्याम र जापानी बन्दुकहरूको तीखो आवाजबीच आफ्नो छाप छोडिरहेको थियो ।
“अगाडि बढ ! छिटो !” मोरोजका आत्तिँदो स्वरमा चिच्यायो ।
सरसराउँदो झाडी चिर्दै मिश्का पहाडको टाकुरातिर अघि बढ्यो । र, मोरोजकाले आफ्नो पाउका पञ्जाहरूलाई रिकाबमा गाड्दै काम्दा औँलाहरूले आफ्नो रिभोल्भरको थैली खोल्यो ।
टाकुरामा पुग्नुभन्दा ठीक अघि मोरोजकाले एकाएक लगाम तान्यो ।
“यहाँ रोक !” जमिनमा हामफाल्दै र लगामलाई काठीमाथि फाल्दै उसले भन्यो । मिश्कालाई बाँधिरहनु पर्दैनथ्यो । आफ्नो मालिकको बफादार न ठहरियो !
मोरोजका हातखुट्टाको भरमा टाकुरातिर घस्रिन थाल्यो । बायाँतिर क्रिलोभ्कालाई एकातिर छोडेर हरियो र पहेँलो पट्टीसहितको टोपी लगाएका ससाना एकनासका आकृतिहरूको लहर यस्तो चुस्त रेखामा अगाडि बढ्दै थियो मानौँ परेड खेलिरहेका हुन् । बायाँतिर सुनौला बालासितको जौको खेतमा मान्छेहरूको जत्था पुत्ताछोड भागिरहेको थियो र भाग्दाभाग्दै उनीहरूले गोली दागिरहेका थिए । रिसले बौलाएको शाल्दिबाले आफ्नो कोर्रा दायाँबायाँ झट्कारिरहेको थियो । तैपनि, उसले दौडिरहेका मान्छेहरूलाई रोक्न सकिरहेको थिएन । मोरोजकाले उसलाई उसको कालो घोडा र भुवादार छालाको टोपीको चुच्चे कल्गीबाट चिनिसकेको थियो । मोरोजकाले भागिरहेका मान्छेमध्ये केहीले आफ्ना राता फिताहरू निकालेर फालिरहेको देख्यो ।
“सुँगुरका छाउराहरू” के सोचेर भागिरहेका छन् ? के गर्दै छन् तिनीहरू ?” मोरोजका फतफतायो । गोलीबारीका कारण उसको उद्विग्नता बढ्दै गइरहेको थियो ।
कहालिएका मान्छेहरूको अन्तिम जत्थामा टाउकोमा एउटा सेतो रुमाल बाँधेको, साँघुरो सहरी ज्याकेट लगाएको एकजना हलुङ्गो युवक आफ्नो राइफल जथाभावी घिसार्दै लर्खराइरहेको थियो । लाग्थ्यो, जत्थाका बाँकी मान्छेहरू ऊ पछि नछुटोस् भनेर बिस्तारै भागिरहेका थिए । जत्था झन्झन् पातलिँदै थियो । सेतो रुमाल बाँधेको युवक पनि गोली खाएर ढल्यो तर मरेन । उसले उठेर घस्रिने कोसिस गर्नथाल्यो । उसले आफ्ना पाखुराहरू फैलायो र चिच्याएर केही भन्यो ।
बाँकी मान्छेहरू उसलाई पछाडि छोडेर पछि नहेरी बेतोड भाग्न थाले ।
“मठ्याहाहरू ! के गर्दै छन् ?” मोरोजका फेरि चिच्यायो । पसिनाले रिभोल्भरमा चप्केका उसका औँलाहरू काम्न थाले ।
“मिश्का ! यता आ !” ऊ बिरानो स्वरमा चिच्यायो ।
प्रस्तुती –सुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *