भर्खरै :

चीन उभियो त सय वर्षमा

एउटा राजाको छोरो भन्दै थियो रे, होइन ! जनताका छोराछोरी पेटभरि दूध–भात पनि खान पाउँदैनन् ? आखिर ऊ त राजाको छोरो न भो ! पेटभरि दूध–भात साधारण भो, मामुली भो । यो कुरा वर्ग वर्ग हेरी गरिँदो रहेछ । राजा भनेको यहाँ उत्कृष्ट व्यक्तिलाई भनिएको हो । जनवादी गणतन्त्र चीनले बितेका सय वर्षमा भोको पेटदेखि प्रारम्भ गरेर समृद्धिसम्म भेटेको छ । यसो हेर्दा भोको पेटको वेदना आफैले नभोगिकन थाहा हुँदैन । भोको पेट र अघाएको पेटको अन्तर कल्पना गरेर थाहा हुँदैन, अनुभव नै गर्नुपर्छ । चीन विशाल घर थियो पनि । आजभन्दा सय वर्ष अघिदेखिकै कुरो हो यो । सन् १९१७ मा रसियामा अभूतपूर्व क्रान्ति भो । का. लेनिन र का. स्टालिनको नेतृत्वमा रूसमा नयाँ राजनीतिक प्रक्रिया प्रारम्भ भो । चीन बृहत्तर ठूलो मुलुक । सङ्गठित थिएन । तर, त्यसबेलाबाट रसियन कामरेडहरूले एउटा नयाँ राज्य व्यवस्था प्रारम्भ गरे शोषणको विरूद्ध थियो त्यो व्यवस्था । माक्र्सवादमा आधारित थियो । माक्र्सवाद के हो त्यो पनि नौलो नै थियो त्यतिबेला । शोषणलाई मान्छेहरू भाग्यसँग जोड्थे । राज्य भनेकै शोषणसँग गासिएको हुन्छ भन्नेमात्र बुझेको थियो त्यतिबेलाको मान्छेले । संसार एकपक्षीय थियो । चीन गरिब अति नै गरिब थियो । चीनका तत्कालीन युवाहरूमा एउटा जोश, जाँगर र उत्साह जागेछ चिनियाँ कम्युनिस्ट पार्टी खोल्ने ।
सय वर्ष लाग्यो भरपेट खान
त्यतिबेलाको सञ्चार कत्रो थियो होला, कस्तो थियो होला ! के सञ्चार गर्दो हो । के सन्देश दिने हो दिनेले, के कसरी बुझ्दो हो बुझ्नेले । तर, चीनले स्थापना ग¥यो सय वर्षअघि चिनियाँ कम्युनिस्ट पार्टी । चिनियाँ युवाहरू त्यो पार्टीमा आकृष्ट भएछन् । त्यत्रो विशाल चीन व्यापकरूपमा भोको छ । अरू त अरू पानीसमेत पेटभर खान पाइँदैन भने अन्य कुरा त अन्य नै भए । तर, आँट र अठोट भनेको अर्कै कुरा भो । सय वर्षअघिका केही चिनियाँ युवाले स्थापना गरिछोडे चिनियाँ कम्युनिस्ट पार्टी । चीनलाई भोकबाट, रोगबाट, अभावबाट मुक्त गरी, काम र माम दुवै थोक उपलब्ध गराउनु थियो । यो कुराभन्दा लेख्दा र सोच्दा सामान्यजस्तो लागे पनि गर्दा असाध्यै जटिल, दुरूह र गर्नै नसकिने जस्तो भएर तर्सिने । कार्यकर्ताहरू थोरै सारै थोरै । तर केही त गरौँ भन्थे । पार्टी भर्खर भर्खर सुरू भएको छ । तर, अन्तरविरोधहरू धेरै आउने । नेतृत्व गर्नेहरूलाई ती अन्तरविरोधहरू कसरी पन्छाउने र पार्टीलाई सरल तथा स्वाभाविकरूपमा कसरी सञ्चालन गर्ने भन्ने पिरलो ! अघाएको पेट त्यति समस्या होइन । तर, सय वर्षअघिको चीनमा पेटभर खान पाउने कति नै पो थिए होलान् र ? अघिल्लो हप्ता चीनको कम्युनिस्ट पार्टी स्थापना भएको शतवार्षिकी बडो भव्यतासाथ मनाइयो । त्यो विशाल चीन एक पेट खान सय वर्षसम्म अटुट सङ्घर्ष गर्न थाकेन । बल्ल पेटभर खानसक्ने भएको छ ।
भन्दा र लेख्दा सामान्य गर्दा असामान्य
यो पेटभर खाने भन्ने कुरा जसरी सरल प्रकारले भन्न सकिन्छ त्यति सरल तरिकाले गर्न सकिँदो रहेनछ । त्यो विशाल चीनले सबै जनतालाई भरपेट खुवाउन पूरा सय वर्ष सङ्घर्ष ग¥यो । चीनका पनि साँगुरा बाटा छन् । सम्पूर्ण चीनमा समान उत्पादन र उत्पादकत्व सम्भव छैन । सम्पूर्ण चीन तातो छैन । चिसो चीनलाई तताई आफ्नो ठाउँलाई पुग्ने उत्पादन गराउन समान खालको परिश्रम र व्यवस्थापनले पर्याप्त हुँदैन । यस्ता जटिलता तथा विशेषताको सूक्ष्म अध्ययन, अनुसन्धान एवम् प्रयोग गरी बाटोमा पुग्न एक सय वर्ष लागेछ चीनलाई । चीन भूगोलको हिसाबले मात्र विशाल छैन , जनसङ्ख्या एवम् जनशक्तिको हेराइमा पनि विशालतम छ । यसर्थ, चीनले आफ्ना आम जनतालाई पेटभरि दुवै छाक खुवाउन एकसय वर्ष अविश्रान्त सङ्घर्ष ग¥यो । एक अर्ब चालीस करोड जनतालाई पेटभरि दुवै छाक खुवाउने कुरा लेख्दा सरल छ तर गर्दा सरल छैन । चीनले आफ्ना विशाल जनतालाई बाटोमा हिँडाउन पनि कति परिश्रम पर्ला यसो घोत्लियौँ मात्र भने पनि छेउ टुप्पो पत्ता लाग्छ कि ? साँच्चै उपयुक्त उत्तराधिकारी पाइएन भने पनि यो भगीरथ सङ्कल्प पूरा हुनसक्दैन । कुनै पनि काम विफल हुन एउटामात्र काम बिग्रिए पुग्छ । तर, सफल हुन सबै काम ठीकसँग हुन्छ । यो नै सफलता र विफलताको विभाजन रेखा भन्ठान्छु । भन्दाखेरि र लेख्दाखेरि यो सामान्यजस्तो लाग्छ । तर, गर्दाखेरि असामान्य छ ।
पेटभरि खाने भए चिनियाँ
विकास भनेकै असामान्य । सामान्य काम सामान्य मान्छेले गर्नसक्ने । तर, विकास भनेको थप काम नै हो । साविकको भन्दा बढी कमाउनुपर्ने, बढी फलाउन बढी परिश्रम गर्नुपर्ने । परिश्रम बढी गरेरमात्र नहुने । समय मिल्नुपर्ने । उन्नत बीउ, उपयुक्त मल, समयमा वर्षा, रेखदेखको हेरचाहको समुचित प्रबन्ध हुनुपर्ने । अकस्मात् जलवायुमा परिवर्तन आउन सक्ने, असिना, शीत लहर, तातो हावा, सलह, खास खास समयमा खास खास रोग, व्याधि आउन सक्ने समस्यासँग जुध्नुपर्ने कुरा नेतृत्वले बुझ्नुपर्ने सामान्य कुरा भो । तर, कम्युनिस्ट पार्टीको कुशल नेतृत्वमा चीनले छिचोल्यो त यस्ता सङ्कट । सबै चिनियाँ जनतालाई पेटभरि बिहान–बेलुकी खुवाउन धेरै वर्ष निरन्तर बुद्धिमत्तापूर्ण सङ्घर्ष गर्नुप¥यो । चीन ठूलो मुलुक जमीनका दृष्टिले र जनसङ्ख्याका दृष्टिले पनि । फेरि चीनले गरिखाएको पनि देखि नसक्ने मान्छेहरू चीनभित्र पनि र चीन बाहिर पनि । छ्वास्स कतै केही सानु कुरो भइहाले संसारै हल्लने गरी कराउने । तर, त्यत्रो विशाल चीनले आफ्नै विशेषतायुक्त चिनियाँ कम्युनिस्ट पार्टीको सक्षम चोखो नेतृत्व गरिछोड्यो । हो समय लाग्यो लामै, लाग्ने नै भैगो त्यतिको पेट भर्नुपथ्र्यो । कहिले सुखा प¥यो, कहिले अतिवृष्टि, कहिले अनावृष्टि । तैपनि गरिछाड्यो । चीनको १ अर्ब ४० करोड चिनियाँले पेटभरि खान पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *