भर्खरै :

आदर्शच्युत बनेको संरा अमेरिकामा स्वाधीनता दिवस

संरा अमेरिकाले जुलाई ४ मा आफ्नो स्वाधीनता दिवस मनाउने गरेको छ । आइतबार स्वाधीनता दिवसको अवसरमा संरा अमेरिकामा विविध गतिविधि गरियो । स्वाधीनताको इतिहास जति पुरानो बन्दै गयो, संरा अमेरिकामा स्वाधीनता आन्दोलनका मूल्यमान्यता भने क्रमशः क्षीण बन्दै गएको छ । संरा अमेरिकी स्वतन्त्रता आन्दोलनका संस्थापक नेताहरूले त्यो भूमिलाई प्रजातन्त्रको मानक बनाउने सपना देखेका थिए । त्यसकारण, आज पनि पश्चिमा प्रजातन्त्रको चर्चा चल्दा अमेरिकी स्वतन्त्रता आन्दोलनका नेताहरूका विचारको चर्चाबिना अपूर्ण हुने गर्छ । तर, सन् १७७६ देखि आजसम्म आइपुग्दा अमेरिकी प्रजातन्त्र अझ बढी सुसंस्कृत र परिपक्व बन्नुपर्नेमा प्रजातन्त्रको जराबाट अमेरिकी राजनीतिक व्यवस्था अलग हुँदै गएको देखिँदै छ । अमेरिकी प्रजातन्त्र संसारको लागि आज आदर्श होइन, नकारात्मक उदाहरण बन्दै गएको छ । प्रजातन्त्रको आत्मा भनेको कमजोर र अल्पसङ्ख्यकको सम्मानमा हुनुपर्ने हो । तर, अमेरिकामा लागु राजनीतिक व्यवस्थाको कारण त्यो देश आज गरिब, विपन्न र अल्पसङ्ख्यक जनताको लागि नारकीय बनेको छ ।
संरा अमेरिका संसारको महाशक्ति देश हो । तर, सानोभन्दा सानो चुनौतीसामु पनि अमेरिकी प्रजातन्त्र लुलो प्रमाणित बन्दै गएको छ । अर्को शब्दमा भन्दा अमेरिकी युग ओरालो लागेको छ । महाशक्तिको नाताले न संसारलाई शान्ति र सद्भावतर्फ उसले नेतृत्व गर्न सकेको छ न त आफ्नै सीमाभित्र पनि जनतालाई खुसी बनाउन सकेको छ । बरू, अमेरिका अन्तर्राष्ट्रियरूपमा विध्वंस, युद्ध र अत्याचारको पर्याय बनेको छ भने देशभित्र दमन र विभेदको लागि बदनाम छ । अमेरिकी प्रजातन्त्रमा मानिसहरू ‘श्वास फेर्न गा¥हो मानिरहेका छन् ।’ प्रजातन्त्र बलियो बनाउन न्याय एउटा अपरिहार्य सर्त हो । तर, आज अमेरिकी समाजमा आर्थिक विभेद फराकिलोमात्र बनिरहेको छैन, बरू गरिब जनताको जीवन एक जना मानिसले बाँच्ने जीवनभन्दा तल्लो स्तरको बन्दै छ । त्यस अवस्थामा अमेरिकी प्रजातन्त्र त्यहाँका गरिब जनताको लागि ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको छ ।
अमेरिकी ‘प्रजातन्त्र’ धरासयी बन्दै जानुको मूल कारण शोषणमा आधारित पुँजीवादी राज्य व्यवस्था हो । नाफाबाहेक केही नदेख्ने पुँजीवादी प्रणालीको कारण अमेरिका स्वार्थको डावानलमा फसेको छ । अमेरिकी समाजको दुरवस्थाले आज अमेरिकी स्वाधीनता आन्दोलनका नायकहरूका आदर्शलाई गिज्याइरहेको छ । संसारको कुनै पनि देशको राजनीतिक व्यवस्था आफ्नो व्यापारिक स्वार्थअनुरूप नहुँदा सैनिक दमन र आन्तरिक मामिलामा हस्तक्षेपको तहमा उत्रन कति पनि असजिलो नमान्ने संरा अमेरिकी राजनीतिक नेतृत्व आफ्नै देशभित्र पनि प्रजातन्त्रलाई आफ्नो स्वार्थपूर्ति नभए नङ्ग्याउन लाज मान्दैन ।
संरा अमेरिकी इतिहासका धेरै गौरवपूर्ण घटनाले संसारमा परिवर्तनको निम्ति ठुलो भूमिका खेलेको छ । अमेरिकी इतिहास गौरवपूर्ण इतिहास हो । श्रमिक जनताको सङ्घर्षदेखि युद्धविरोधी ऐतिहासिक आन्दोलनको देश, रङभेदको विरोधमा ऐतिहासिक सङ्घर्षदेखि संसारका न्यायप्रेमी सङ्घर्षमा ऐक्यबद्धता जनाउने योद्धाहरूको देश संरा अमेरिकालाई पुँजीवादी स्वार्थले आज कान्तिहीन बनाएको छ । पुँजीवादी व्यवस्थाको जरादेखि उखेलेरमात्र संरा अमेरिकी गौरवको रक्षा गर्न सकिन्छ । अमेरिकाले स्वाधीनता दिवस मनाइरहँदा अमेरिकी जनतालाई न्यायपूर्ण समाज व्यवस्था स्थापना र साम्राज्यवादविरोधी सङ्घर्षको निम्ति थप सङ्घर्षलाई अघि बढाउन हौसला प्रदान गरोस्, शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *