भर्खरै :

चिनियाँ इतिहासको १७२ वर्ष

चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो १०० औँ स्थापना दिवस मनाउँदै गर्दा चिकपा र चीनको सन्दर्भमा सञ्चारमाध्यममा प्रकाशित विभिन्न लेख–रचनाले चीन चिन्न अझै संसारमा धेरै थरी समस्या रहेको देखिन्छ । तेन आनमेन चोकमा सी चिनफिङले दिएको भाषणलाई लिएर केही पश्चिमा सञ्चारमाध्यमले गरेका अपव्याख्या यसको एउटा उदाहरणमात्र हो । चीनबारे राजनीतिक, सैद्धान्तिक, आर्थिक र सभ्यताको पूर्वाग्रही आँखाले लेखिएका लेख–रचनाबाहेक पनि चीनको इतिहास, राजनीतिक व्यवस्थाको विशिष्टता र आर्थिक नीतिको विकासक्रमलाई बुझ्न नसक्दा वा गोलमटोल ढङ्गले बुझ्दा विश्लेषणमा धेरै गल्ती हुने गरेको उदाहरण नेपालकै सञ्चारमाध्यममा प्रकाशित कतिपय लेख रचनामा देखियो । सामाजिक सञ्जालहरूमा चलेका बहसमा पनि चीनबारे पश्चिमा लेखकहरूले लेखेका र बढीमा हेनरी केसिङ्गरको ‘अन चाइना’ किताबमात्र पढेर चीनबारे जानकार भएको दाबी गर्दै उपदेश छाँट्ने मानिसको पनि कमी देखिएन । संसारको उदयीमान अर्थतन्त्र र त्यहाँ विगत ७० वर्षदेखि शासन चलाउँदै आएको पार्टीबारे विश्वव्यापी चर्चा हुनु कुनै आश्चर्यको कुरा भएन । तर, चर्चा कुन कोणबाट चल्दै छ भन्ने प्रश्नले पनि अहम् महत्व राख्छ । ताइवान, हङकङ र पश्चिमा देशमा बस्दै आएका केही चिनियाँहरूले चिकपाको स्थापना दिवसको सन्दर्भमा सामाजिक सञ्जाल क्लब हाउसमा उधुमे गलत प्रचार गरेको पनि देखियो ।
चीन र चिकपाबारे यस्ता गलत र भ्रमपूर्ण प्रचारबाजीसँग प्रतिस्पर्धा गर्न चीनसँग केही विस्तारित र गम्भीर सञ्चारमाध्यम छन् । तथापि, पश्चिमा सञ्चारमाध्यमलाई ‘सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको पर्याय’ ठान्ने पश्चिमा पूर्वाग्रहको ढकनी लगाएका विश्लेषकहरू चीनका ती सञ्चारमाध्यमलाई भने ‘प्रोपागान्डा मेसिन’ को संज्ञा दिइरहेका हुन्छन् । फलतः युरोकेन्द्रियतावादी र गोरा सर्वोच्चतावादी चिन्तनले अझै पनि संसार मुक्त हुन सकेको देखिएन ।
चीन चिन्न पश्चिमा आँखाले लेखिएका पुस्तक र सामग्रीलाई आधिकारिक र सन्तुलित ठान्ने र चीनले प्रकाशित गरेका पुस्तक र सामग्रीलाई ‘प्रोपागान्डा’ ठान्ने पूर्वाग्रहबाट नेपालकै बौद्धिक समुदाय पनि मुक्त हुनसकेको छैन । तर, चीन चिन्न चीनबाट नै प्रकाशित सामग्रीको अध्ययनले अझ बढी सत्यको नजिक पुग्न सकिने कुरालाई नकार्न सकिन्न । हात्तीलाई नेत्रहीनहरूले छानेर अनेक अनुमान लगाएजस्तै चीनबारे अडकलबाजीले संसारकै दोस्रो ठुलो अर्थतन्त्र चिन्ने चाहना पूरा हुनसक्दैन ।
संसारसामु चीन जति–जति खुल्दै गयो, चीनबारे संसारमा चासो पनि बढ्दै गएको छ । अनि त्यही गतिमा चीनबारे गलत प्रचारबाजी भइरहेका छन् । यस्तो परिस्थितिमा चीनबारे संसारलाई सही जानकारी दिने उद्देश्यले चीनकै चाइना इन्टरकन्टिनेन्टल प्रेसले प्रकाशित गरेको पुस्तक हो– ‘चिनियाँ कम्युनिस्ट पार्टी र चीनको विकास ।’ त्यसो त चीनमा सी चिनफिङ नेतृत्वमा आएयता अर्को युग नै सुरू भएको चीनका जनता र संसारले अनुभव गरिरहेका छन् । चिकपा सत्तामा आइसकेपछि धेरै चिनियाँ नेताहरूले नेतृत्व गरे पनि केही नेताहरूको उदयले एउटा युगको प्रतिनिधित्व गर्ने गरेको देखिन्छ । सीको उदय त्यस्तै युगबोधक उदय हो । चीनलाई निरपेक्ष गरिबीबाट मुक्त बनाउनेदेखि मध्यम ढङ्गले समृद्ध समाज निर्माण गर्न सी नेतृत्वले हासिल गरेको सफलताले एउटा युगकै प्रतिनिधित्व गर्दै छ । त्यसकारण सन् २०१२ अर्थात् सीको सत्तारोहणअघि नै प्रकाशित यो पुस्तकले आजको चीनलाई सपाट चित्रण गर्न अपुग हुनसक्छ । तथापि, चीनलाई आजको अवस्थामा पु¥याउन सीअघिका चिकपाका नेताहरूको अतुलनीय योगदानमा विवाद छैन ।
पुस्तकमा सन् १८४० मा बेलायतसँग भएको पहिलो अफिम युद्धदेखि सन् २०१२ मा राष्ट्रपति हु चिन्ताओको ‘विकासमा वैज्ञानिक सिद्धान्त’को अभ्याससम्मको चित्रण गरिएको छ । चीनको इतिहासमा यो कालखण्ड निकै उथलपुथलपूर्ण र उपलब्धिपूर्ण पनि रह्यो । चाङ पाइचियाले लेखेको पुस्तक तीन खण्डमा विभाजित छ । ‘राष्ट्रिय स्वाधीनता र जनमुक्तिको प्राप्ति’ शीर्षकको पहिलो खण्डमा १८४० को अफिम युद्धदेखि सन् १९११ को गणतन्त्र स्थापना हुँदै जनगणतन्त्र चीन स्थापनाको झन्डै एक सय वर्षको कालखण्डबारे चर्चा गरिएको छ । यो अवधिमा सन् १८४० को पहिलो अफिम युद्ध, सन् १८५६–६० सम्मको दोस्रो अफिम युद्ध, सन् १८८३–८५ सम्मको चीन–फ्रान्स युद्ध, सन् १८९४–९५ सम्मको चीन–जापान युद्ध र सन् १९०० र १९०१ मा आठ वटा उपनिवेशवादी शक्तिले चीनमाथि गरेको हमलाको इतिहासको सङ्क्षेपमा चर्चा गरिएको छ । सामन्ती उत्पादन सम्बन्धको अन्तरविरोध र विदेशी शक्तिको लगातारको हमलाको कारण छिङ वंश क्रमशः कमजोर बन्दै थियो । विदेशी उपनिवेशवादी शक्तिले चीनका विभिन्न भागलाई टुक्राटुक्रामा विभाजन गरेर हडपिसकेका थिए । जस्तै बेलायतले हङकङ, पोर्चुगलले मकाउ, जापानले ताइवान र साङ्घाई सहरका विभिन्न क्षेत्रमा फ्रान्सलगायतका उपनिवेशवादी शक्तिहरूले कब्जा जमाएका थिए । उत्तरपूर्वी चीनका विभिन्न भूभागमा रूसले कब्जा जमाइसकेको थियो । सन् १९११ मा डा. सन यात सेन नेतृत्वको प्रजातान्त्रिक क्रान्तिले छिङ वंशलाई समाप्त ग¥यो र प्रजातान्त्रिक सरकार स्थापना ग¥यो । तर, विदेशी शक्तिको बलियो प्रभाव र युद्धसरदारहरूको दबदबाबाट चीन मुक्त हुनसकेको थिएन । त्यस अवस्थामा डा. सन यात सेनको सरकारको आयु लम्बिएन । चीनमा युद्धसरदार युआन सिकाईले केही समय शासन चलायो ।
सन् १९१९ को मे महिनामा चीनको सार्वभौमिकताको न्यूनाङ्कन गर्ने साम्राज्यवादी शक्तिहरूको विरोधमा चीनभर देशभक्त युवा विद्यार्थीहरूको आन्दोलन उठ्यो । मे ४ आन्दोलन नामले चर्चित सो जनसङ्घर्षसँगै चिनियाँ युवाहरूले चीनको स्वाधीनताको निम्ति पछ्याउनुपर्ने बाटोको खोजी गर्न थाले । दुई वर्षअघि रूसमा भएको अक्टोबर क्रान्तिको प्रभाव चीनमा पर्नु स्वाभाविक थियो । त्यही प्रभावले चीनमा माक्र्सवाद–लेनिनवाद भित्यायो । सन् १९२१ को जुलाइमा चीनमा कम्युनिस्ट पार्टी स्थापना भयो । डा.सन यात सेनको कम्युनिस्ट पार्टी र सोभियत सङ्घप्रतिको सकारात्मक धारणाको कारण कोमिन्ताङ र कम्युनिस्ट पार्टीबीच सहकार्यको नीतिलाई कोमिन्ताङको अनुदार पक्ष च्याङ काई शेक गुटले बिथोल्यो । सन् १९२७ मा कोमिन्ताङले कम्युनिस्ट पार्टीमाथि निर्मम दमन ग¥यो । त्यो दमनले सोभियत विद्रोहको ढाँचाको अन्धानुकरण गर्ने चिकपाको नीतिमा पुनःविचार भयो । चीनको सन्दर्भमा क्रान्तिको आफ्नै मौलिक तरिका हुनुपर्ने माओ त्सेतुङको नीतिअनुसार ग्रामीण क्षेत्रमा आधारित क्रान्ति अघि बढाइयो ।
सन् १९३१ बाट जापानी उपनिवेशवादी शक्तिले गरेको हमलाबाट चीन थप सङ्कटमा फस्यो । चिकपा र कोमिन्ताङबीचको विभाजनले जापानीहरूलाई बलियो बनाइरहेको थियो । कोमिन्ताङ सरकारका केही सेना नेताहरूको दबाबमा अन्ततः च्याङ काई शेक कम्युनिस्ट पार्टीसँग सहकार्य गर्न तयार भयो । दोस्रो विश्वयुद्धको समाप्तिसँगै जापानी उपनिवेशवाद चीनमा पराजित भयो । सन् १९४५ मा चीन जापानी उपनिवेशवादबाट मुक्त भयो । त्यसपछि झन्डै आधा दशक चिकपाले च्याङ काई शेकको प्रतिक्रियावादी गुटविरूद्ध सङ्घर्ष गर्नुप¥यो । अन्ततः सन् १९४९ को अक्टोबर १ मा चीनमा जनगणतन्त्र स्थापना भयो ।
पुस्तकको दोस्रो खण्डमा जनवादी गणतन्त्र चीनको स्थापनादेखि सांस्कृतिक क्रान्तिको अवसान हुँदै सुधार र खुलापन नीतिको घोषणासम्मको २९ वर्षको अवधिको चर्चा गरिएको छ । त्यो अवधि जनवादी गणतन्त्र चीनको जग राख्ने निकै महत्वपूर्ण कालखण्ड हो । सत्ता आफ्नो हातमा आइसके पछि जनतालाई वाचा गरेअनुसारका क्रान्तिकारी व्यवस्था लागु गर्ने दायित्व चिकपाको काँधमा थियो । संसारमा धेरै कम्युनिस्ट पार्टीहरू राजनीतिक सत्ता कब्जा गर्न सफल हुन्छन्, तर जितिसकेको राज्यसत्ताको सही नेतृत्व गर्न नसक्दा अन्ततः असफल हुने गरेका छन् । चीनको कम्युनिस्ट पार्टीसमक्ष त्यही चुनौती थियो । संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको, आर्थिकरूपमा निकै कमजोर, पूर्वाधारमा निकै सीमित देशलाई कसरी समाजवादी व्यवस्थातिर अघि बढाउने भन्ने जिम्मेवारी चिकपासामु थियो ।
तिनताक चीन औद्योगिकीकरणको प्रारम्भिक चरणमै थियो । अर्थात्, जमिन नै उत्पादनको प्रमुख साधन थियो । त्यस परिस्थितिमा क्रान्तिकारी भूमिसुधार नै कम्युनिस्ट पार्टीको प्रमुख जिम्मेवारी थियो । चिकपाले तीन वर्षकै अन्तरालमा क्रान्तिकारी भूमिसुधारको जिम्मेवारी पूरा ग¥यो ।
चीनमा फहरिएको रातो झन्डा साम्राज्यवादी शक्तिहरूको निम्ति अपाच्य हुनु आश्चर्यको कुरा थिएन । त्यसकारण भर्खर हुर्कंदै गरेको समाजवादी चीनलाई कलिलोमै निमोठ्ने हेतुले सन् १९५०–५४ सम्म कोरिया युद्ध भयो । कोरियामाथि हमला गर्नुको मूल लक्ष्य चीनको रातो झन्डालाई सखाप बनाउनु थियो । तर, कोरिया युद्धमा अमेरिका पराजित भएर कुलेलम ठोक्नुप¥यो । त्यस्तै ताइवानको विषयमा पनि पश्चिमा साम्राज्यवादी शक्तिले किचलो उछालिरह्यो । यो अवधिमा चीनमा उत्पादन क्षेत्रमा भएका विभिन्न प्रयोग, कूटनीतिक क्षेत्रमा हासिल गरेका सफलता, आर्थिक क्षेत्रमा गरेका चरणबद्ध गतिविधिलाई यो खण्डमा चर्चा गरिएको छ । जनगणतन्त्र चीन स्थापनापछि चीनको राजनीतिलाई संस्थागत गर्न गरिएका चिनियाँ जनसल्लाहकार सभा हुँदै चीनको राष्ट्रिय काङ्ग्रेसका राजनीतिक महत्व र मौलिक अभ्यासबारे यसमा वर्णन गरिएको छ ।
नयाँ चीनको नेतृत्वसामु एक शताब्दीबाट विभाजित र विखण्डित अवस्थामा रहेको चीनलाई एक ठाउँमा ल्याउनुपर्ने जिम्मेवारी पनि थियो । तिब्बत, सिन्च्याङ, ताइवान आदि भूभागलाई चीनमा सङ्गठित गर्ने जिम्मेवारी पनि यही अवधिमा चीनको नेतृत्वले पूरा ग¥यो । चीनलाई कूटनीतिकरूपमा एक्ल्याउने पश्चिमा शक्ति र संशोधनवादी सोभियत सङ्घको प्रतिरोध गर्न कूटनीतिको परिधिलाई पनि फराकिलो बनाउँदै लाने दायित्व पनि चिनियाँ नेतृत्वले पूरा ग¥यो । विशाल भूगोलमा फैलिएको चीनमा रहेका आदिवासी जनजातिलाई एकाकार बनाउनुपर्ने चुनौतीलाई माओ नेतृत्वको चिनियाँ सरकारले स्वायत्तताको सफल कार्यान्वयनमार्फत सफलतापूर्वक सामना ग¥यो ।
सन् १९६६ देखि १९७६ सम्म भएको सांस्कृतिक क्रान्तिलाई पुस्तकले चीनको इतिहासमा ‘अँध्यारो कालखण्ड’को रूपमा चित्रण गरेको छ । त्यो समयबारे पुस्तकले धेरै व्याख्या गर्न चाहेको देखिन्न ।
सन् १९७६ मा माओको निधनपश्चात् सांस्कृतिक क्रान्ति पनि समाप्त भयो । देङ स्याओपिङको नेतृत्वमा सन् १९७८ बाट चीनमा सुधार र खुलापनको युग सुरू भयो जो आजसम्म पनि परिमार्जितरूपमा कायम नै छ । चीनको सेनचेन नामको एउटा सानो गाउँबाट सुरू भएको यो नीति समयान्तरमा चीनका अधिकांश क्षेत्रमा लागू गरियो । सन् १९७६ अघिको केन्द्रिकृत अर्थतन्त्रलाई समाजवादी बजार अर्थतन्त्रको रूपमा अघि बढाइयो । सोभियत सङ्घले गरेको गल्तीबाट सिकेर चीनले यो गतिशील नीति अँगीकार गरेकोले नै चीनमा चिकपाको नेतृत्व अझ सबल बन्दै गएको हो । चीनको आर्थिक विकास र समृद्धिसँगै चिकपाको नेतृत्व अझ बलियो र प्रभावकारी बन्दै गयो । सुधार र खुलापन नीतिले चीनलाई संसारका पुँजीवादी अर्थतन्त्रसँग प्रतिस्पर्धा गर्ने तहमा उकास्यो । सुधार र खुलापनको नीतिकै कारण चीन आज संसारको दोस्रो ठुलो अर्थतन्त्र बन्न सफल भएको छ । माओ त्सेतुङको माओ विचारधारा र देङ स्याओपिङको सुधार र खुलापनको नीतिकै जगमा च्याङ चमिनको तीन प्रतिनिधित्वका सिद्धान्त र हु चिन्ताओको विकासको वैज्ञानिक अवधारणा प्रतिपादनसम्मको अवधिलाई पुस्तकमा चित्रण गरिएको छ । सन् २०१२ मा भएको चिकपाको अठारौँ महाधिवेशनपछि सी चिनफिङको नेतृत्व आएयता चिकपाले क्रान्तिका सबै मोर्चामा फड्को मारिसकेको समकालीन दस्तावेजको अध्ययनबाट थाहा हुन्छ । यो उपलब्धिलाई चिकपाले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादी व्यवस्था स्थापनाको निम्ति सी चिनफिङ विचारधारा’ अघि सारेको छ ।
संसारलाई चीन चिनाउन चीनमै अङ्ग्रेजी भाषामा प्रकाशित पुस्तक शृङ्खलाको यो पुस्तक एउटा हिस्सा हो । ११८ पृष्ठको सानो पुस्तकमा चीनको साढे एक शताब्दीको इतिहासलाई सघन संरचनामा प्रस्तुत गरिएको छ । विभिन्न उपशीर्षकमा विभाजन गरिएको लेखन संरचनाले पाठकलाई ऐतिहासिक कालखण्डको सीमा रेखा बुझ्न मद्दत गरेको छ । चीन चिन्न चाहने जिज्ञासुलाई यो पुस्तक पठनीय कृति हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *