भर्खरै :

पराजय– ५

“कुरो के हो ?” बाक्लानोभले हडबडाउँदै भन्यो, “केही गडबडीको लक्षण छ र ?” उसले आफ्नो चिल्लो टाउको लेभिनसनतिर घुमायो र उसका तातार जातिको जस्ता तेस्रा मसिना आँखा चिन्तित भए ।
“प्यारो साथी, लडाइँको मौसममा सधैँ गडबडी हुन्छ,” लेभिनसनको स्वरमा एकैसाथ स्नेह पनि थियो र कटाक्ष पनि । “साथी, लडाइँ भनेको मारुस्यासित घाँसको चाङमा पल्टेजस्तो होइन ।” ऊ अचानक उल्लासले भरिएर खितखिताउन थाल्यो र बाक्लानोभको छातीमा आफ्नो कुइनो ठोक्यो ।
“खुब टाँठो हुनुहुन्छ दाइ, यसमा शङ्का छैन !” बाक्लानोभले लेभिनसनका हात दबाउँदै उत्तर दियो र एकैबाजी चुलबुले, प्रफुल्ल र ठट्यौलो भयो । “मर्किनु पर्दैन, भागेर जान पाउँदैनौ,” लेभिनसनको पाखुरा उसको पिठ्यूँमा बटार्दै र उसलाई सिँढीतिर धकेल्दै आफ्नो दाँतको बीचबाट ठट्यौलीमा घुर्कियो ।
“आऊ । हेर मारुस्याले तिमीलाई बोलाइरहेकी छे,” लेभिनसनले झूटो बोल्यो । “यतिबिघ्न बदमासी ! खचाखच सभामा पनि यस्तो चालचलन देखाउँछ कसैले ।”
“धन्न सभामा बसेका छौ, नत्र तिमीलाई जानेको थिएँ… ।”
“जाऊ । त्यहाँ छे तिम्री मारुस्या !”
“तिमीले पहरामा मान्छे थप्न भन्यौ होइन ?” उठ्नेबित्तिकै बहाना बनाउँदै बाक्लानोभले भन्यो ।
लेभिनसनका हँसिला आँखाले उसलाई पछ्याइरह्यो ।
“तिम्रो सहायक हीरा हो, हीरा,” कसैले उसलाई भन्यो, “रक्सी पिउँदैन, चुरोट तान्दैन र सबैभन्दा ठूलो कुरा ऊ जवान छ । अस्ति ऊ घोडाको कण्ठी माग्न मेरो झुप्रोमा आएको थियो । मैले भनेँ, “भाइ, खुर्सानी मिसाएको भोड्का एक गिलास पिउँछौ ?” उसले भन्यो, “अहँ, मैले पिउने गरेको छैन । तर, दिने नै भए एक गिलास दूध देऊ । दूध पिउनमा म बाहुबली नै हुँ ।” अनि, उसले एक कटौरा दूध पियो, बुझ्यौ, त्यसमा रोटीको टुक्रा हालेर बालकले जस्तै खायो । हो भनेको, मजाको मान्छे हो ऊ !”
भीडमा ठूलो सङ्ख्यामा छापामारहरू देखिन थाले । अँध्यारोमा उनीहरूका बन्दुकका सङ्गीनहरू चमकचमक चम्किन थाले । तोकिएको समयमै उनीहरू दल बाँधेर आए । त्यसपछि खनिकहरू आए । उनीहरूको नेतृत्व सुचानको एउटा अग्लो गठिलो ज्यान भएको कोइला खन्ने तिमोफेइ दुबोभले गरिरहेको थियो । ऊ अहिले एउटा पल्टनको कमान्डर बनिसकेको थियो । उनीहरूले पनि एउटा दल बनाएका थिए र नफैलिकन एकै ठाउँमा बसे । मोरोजका मात्र पर्खालनिर एउटा बेञ्चमा निभेको बत्तीजस्तै एक्लै बसेको थियो ।
“ऐ !, तिमी पनि यहीँ छौ ?” लेभिनसनलाई देखेर वर्षौँपछि भेटेझैँ र यो ठाउँमा त भेट्ने आसै नगरेझैँ दुबोभ हर्षले हौसियो । “हाम्रो त्यो खनिक साथीले के ग¥यो ?” उसले लेभिनसनसामु खरानीले कत्लिएको आफ्नो विशाल हात बढाउँदै सुस्त तर धोद्रो स्वरमा सोध्यो । लेभिनसनले सम्झाउन थालेपछि ऊ फेरि गर्जियो, “उसलाई सजाय देऊ । अरू उसको बाटोमा नलागून् भनेर उसलाई पाठ पढाऊ ।”
“हामीले पहिले नै उसलाई थप्पड लगाउनुपथ्र्यो । हाम्रो कम्पनीको ख्यातिमाथि ऊ कलङ्कको टीका हो,” मीठो स्वरमा एकजना नवयुवकले राय दियो । उसले विद्यार्थीको टोपी र टल्किने जुत्ता लगाएको थियो । उसलाई मान्छेहरूले सिस्किन नामले बोलाइरहेका थिए ।
“तिमीसित कसैले सल्लाह मागेको छैन,” दुबोभले उसलाई झपा¥यो । सिस्किनतिर उसले हेर्दा पनि हेरेन ।
सिस्किनलाई नराम्रो लाग्यो । तैपनि बलियो देखिनका लागि उसले आफ्नो दाँत किट्यो । लेभिनसनका खिसी गर्ने आँखा आफ्ना खुट्टामा गडेको देखेपछि भने ऊ भीडभित्र पस्यो ।
“त्यो जुकोलाई हेर ?” पल्टन कमान्डरले तीखो स्वरमा सोध्यो । “उसलाई तिमीले किन कम्पनीमा राख्न चाहेको ? उसलाई चोरीको आरोपमा कलेजबाट निकालिएको थियो भन्ने हल्ला छ त ?”
“सबै उडन्ते हल्लामा विश्वास नगर,” लेभिनसनले भन्यो ।
“लौ, अब भित्र गएर बस्ने बेला भयो,” रियाबेत्सले अप्ठ्यारो गरी हात हल्लाउँदै दलानबाट हाँक लगायो । जङ्गली घाँसले गाँजेको आफ्नो खरबुजाको खेतको सानो घटनाले यति धेरै मान्छे जम्मा गर्नसक्छ भन्नेमा उसलाई विश्वास भइरहेको थिएन । “अब हामीले सभा सुरु गर्नुपर्छ । भाले बासुञ्जेल यहाँ बसेर हामीले समय खेर फाल्न सक्दैनौँ… ।”
कोठा तात्यो र बिँडीको धुवाँले भरियो । बेञ्च प्रशस्त थिएन । किसान र छापामारहरू घुलमिल भएर बेञ्च र ढोका हुँदै लेभिनसनको पछाडिसम्म अटेसमटेस भई बसेका थिए ।
“सुरु गर, ओसिप अब्रामिच,” रियाबेत्सले ग¥हौँ आवाजमा भन्यो । ऊ आफू र कमान्डर दुवैसँग रिसाएको थियो । सबथोक उसलाई निरर्थक र अनावश्यक आडम्बरजस्तो लाग्दै थियो ।
उदास र चिन्तित मोरोजका ढोकाबाट खुम्चिँदै अगाडि बढ्यो र दुबोभको छेउमा आएर उभियो ।
लेभिनसनले यो विषय सबैको हो भनी नबुझेका भए किसानहरूलाई कामबाट अलग्गाएर आफूले जम्मा गर्ने थिएन भन्ने कुरामा जोड दियो । त्यो सबैजनामा किसान, छापामार र त्यसबाहेक कम्पनीमा रहेका धेरै स्थानीय मान्छेहरू पर्थे ।
“फैसला तपाईँको हातमा छ,” उसले आफ्ना शब्दहरूमा धेरै जोड दियो र किसानहरूको बोलीचालीको शैली अपनाउँदै आफ्नो कुरा टुङ्ग्यायो । ऊ बेञ्चमा बिस्तारै घुस्रेर बस्यो र मैनबत्तीको आगो निभेझैँ एकदम सानो र महत्वहीन बन्यो । अनि, विषयलाई किनार लगाउन समितिलाई अन्धकारमा छोड्दियो ।
धेरै मान्छे एकैचोटि बोल्न थाले । सबैले गञ्जागोल र यताउताका कुरा गरिरहेका थिए । निरर्थक र महत्वहीन तथ्यहरूमा अल्झिरहेका थिए । त्यसपछि अरू पनि मैदानमा उत्रे र छिट्टै कसले के भनिरहेको छ, बुझ्न असम्भव भइगयो । बोल्नेहरूमा धेरैजसो किसान थिए । छापामारहरू आफ्नो समय पर्खेर चुपचाप बसिरहेका थिए ।
“हैन, यो ठीक भएन,” एभस्ताफी नाउँको एउटा बुढोले कडा स्वरमा पोखियो । उसको अनुहार चाउरी परेको थियो र कपाल पूरै पाकेको थियो । “उहिले उहिले, जार निकोलाइको समयमा, यस्तो बिठ्याइँ गर्ने बेला गाउँमा तपाईँको जुलुस निकालिन्थ्यो । चोरी गरेको सामानलाई चोरको घाँटीमा झुन्ड्याइन्थ्यो र बाजा बजाउँदै उसलाई घिसार्दै लगिन्थ्यो ।” उसले कसैलाई जिस्क्याएझैँ भाकामा आफ्नो सिन्के औँला हल्लायो ।
“निकोलाईको समय घर्किसक्यो ¤” झुकेको काँध भएको एउटा कानो व्यक्ति चिच्यायो । ऊ आफ्ना पाखुरा हल्लाउन चाहन्थ्यो । तर, त्यसो गर्न ठाउँ अपुग भयो । ऊ पहिलेभन्दा पनि क्रुद्ध भयो र भन्यो, “त्यही जाबो जारको कुरा फलाकिरहन्छौ ! उहिलेका कुरा खुइले, हे भगावान !”
“जारको समय गए पनि नगए पनि, जे भयो ठीक चाहिँ भएन,” बुढाले आफ्नो कुरामा अडान राख्दै दोहो¥यायो, “जसरी पनि यिनीहरूको पूरै टोलीलाई हामीले खानेपिउने बन्दोबस्त गर्नैपर्छ । त्यसमाथि हामीले चोरहरू पाल्न सक्दैनौँ ।”
“तिनलाई पाल भनेर कसले भन्यो ? कसैले चोरको पक्ष लिएको छैन । तिमीले नै तिनलाई पालेका हौला,” कानो व्यक्तिले बुढाको छोरातिर इसारा गर्दै भन्यो । उसको छोरो दस वर्षदेखि बेपत्ता थियो । “हामीले एउटा नयाँ कानुन बनाउनुपर्छ । ६ वर्षदेखि यो युवक छापामारमा भर्ती भएर लडिरहेको छ, जाबो एउटा खरबुजा खाने मन बनाउँदैमा आकाश खस्छ र ?”
किसानको बोलीमा अलिकति पनि रिस थिएन । अधिकतर सहभागीहरू पुरानो कानुन अब लागू गर्न सकिन्न र विषयलाई नयाँ तरिकाले हल गर्नुपर्छ भन्ने कुरामा सहमत थिए ।
“कुरालाई प्रधानसँग मिलेर टुङ्ग्याउन भन,” कोही चिच्यायो, “हामी यो लफडामा फँस्दैनौँ ।”
लेभिनसन फेरि उठ्यो र उसले टेबल थप्थपायो ।
“हेर्नुस्, एकचोटिमा एकजनामात्र बोलौँ साथीहरू !” सबैले सुनून् भनेर उसले सुस्तरी तर स्पष्ट स्वरमा भन्यो, “हामी सबैजना एकैचोटि बोल्यौँ भने मुद्दा कहिल्यै सल्टिन्न । मोरोजका कहाँ छ ? यता आऊ, सुन्यौ !” उसले हकार्ने बोलीमा बोलायो र सबैले अर्दलीलाई हेर्न थाले ।
“म जहाँ छु, ठिक्कै छु,” मोरोजकाले कर्कश स्वरमा भन्यो ।
“यहाँबाट निस्क !” दुबोभले उसलाई कुइनोले ठेल्दै भन्यो ।
मोरोजका हिचकिचायो । लेभिनसन अघिल्तिर झुक्यो र उसका विस्फारित आँखाले मोरोजकालाई अँठ्याएर भीडको बीचबाट यसरी ताने मानौँ कुनै सनासोले भित्तामा गडेको किला तान्छ ।
मुन्टो र आँखा झुकाएर भीडबाट बच्दै अर्दली टेबलतिर गयो । ऊ पसिनाले निथ्रुक्कै भएको थियो र उसका हातहरू कामिरहेका थिए । पचास जोर कौतुक आँखाले उसलाई एकटक हेरिरहेका छन् भन्ने कुरा उसले चाल पाइसकेको थियो । उसले आफ्नो मुन्टो उचाल्ने कोसिस ग¥यो । तर, गोन्चारेन्कोका कठोर र झुसे अनुहारसँग उसका आँखा ठोक्किए । गोन्चारेन्कोको मुहारको भाव एकैचोटि सहानुभूतिपूर्ण पनि थियो र गम्भीर पनि थियो । मोरोजकाले उसको सामना गर्न सकेन । उसले आफ्नो अनुहार झ्यालतिर मोड्यो र निश्चल उभियो । उसका आँखाहरू झ्यालबाहिरको अन्धकारमय शून्यमा जमेका थिए ।
“ल अब यो विषयलाई टुङ्ग्याऔँ,” लेभिनसनले भन्यो । उसको स्वर अझै पनि निकै शान्त थियो । तैपनि त्यो स्वर सबैकहाँ, दलानमा उभिएका मान्छेहरूसम्म पुग्यो । “को बोल्न चाहन्छ, तिमी बोल्छौ बाजे ?”
“म किन बोल्ने ?” अल्मलिएर एभस्ताफी ले भन्यो, “हामी त आपसमा कुराकानी गर्दै थियौँ… ।”
“धेरै वादविवाद गर्नुपर्ने के छ र ? मिलेर किनार लगाओ,” किसानहरू चिच्याए ।
“पख, बुढा बा, मलाई केही भन्न देऊ !” दुबोभ एक्कासि बर्सियो । उसको स्वरमा दबेको आवेश थियो । उसले एभस्ताफी बाजेतिर हेर्दै थियो । त्यसैले अनायासै उसले लेभिनसनलाई ‘बुढा बा’ भन्यो । उसको बोलीमा केही त थियो जसले गर्दा सबैले अचम्मित भएर ऊतिर हेर्न थाले ।
ऊ खुम्चिँदै भीड चिरेर टेबलतिर गयो अनि बुढा र मोरोजकाको छेउमा पुगेर उभियो । उसको चौडा र मोटो शरीरले लेभिनसनलाई ढाक्यो ।
“तिमी हामीले यो विषयलाई आफैबीच मिलाऔँ भन्ने चाहन्छौ ? तिमी डरपोक हौ र ?” ऊ एकाएक अघिल्तिर झुकेर रिसले पड्कियो । “ठीक छ, हामी आफै मिलाऔँला !” ऊ एकै झपटमा मोरोजकातिर घुम्यो र बल्दा आँखाले मोरोजकालाई छेड्न थाल्यो, “तिमी आफूलाई हामीमध्ये एक हुँ भन्छौ, खनिक हौ ?” उसले तन्किँदो र बिझाउँदो स्वरमा सोध्यो, “ओ, खाते कुकुर ¤ सुचानको लफङ्गो ! तिमी हामीसित बस्न चाहन्नौ र ? चोरी गर्छौ ? तिमीले हामी सबै कोइला खानीका मजदुरको मुखमा कालो मोसो दल्दिएका छौ ! ठीक छ !” दुबोभका शब्दहरूले चोइटिएर झन्झनाउँदै खसिरहेका कोइलाले जस्तै सभाको मौनता भङ्ग गरिदिए ।
मोरोजकाको अनुहार फिक्का भयो । उसले दुबोभतिर हेरिरह्यो र उसको मन भरङ्ग भयो ।
“ठीक छ !” दुबोभले दोहो¥यो, “चोर बनिराख । हेरौँला हामीबिना तिम्रो दिन कसरी कट्ला । हामीले… हामीले त्यसलाई लात हानेर गलहत्याउनेछौँ !” फनक्क लेभिनसनतिर घुमेर उसले आफ्नो भाषण एकाएक टुङ्ग्यायो ।
“कसलाई लात्ती हानेर निकाल्ने सोचेको ?” एउटा छापामार चिच्यायो ।
“के भन्यौ ?” दुबोभ गर्जियो र एक पाइला अघि बढ्यो ।
“हे भगवान, झगडा नगर साथीहरू,” कोठाको कुनाबाट एउटा गरिबी लागेको नाके स्वर काम्यो ।
लेभिनसनले पछाडिबाट पल्टन कमान्डरको पाखुरा समात्यो ।
“दुबोभ ¤” उसले सुस्तरी भन्यो, “अलि यता आऊ त, मैले केही पनि देख्न सकिन… ।”
दुबोभ तुरुन्तै शान्त भयो । ऊ हिच्किचायो र मुख चेप्राउँदै आँखा झिम्झिमाउन थाल्यो ।
“मूर्खलाई लात हानेर कसरी निकाल्नी ?” भीडमाथि आफ्नो घुम्रिएको, घामले पोलेको मुन्टो उठाउँदै गोन्चारेन्को अकस्मात् बोल्यो, “म उसको पैरवी गर्न चाहन्न । यस्तो गर्नै सकिन्न । उसले एउटा घिनलाग्दो नकाम गरेको छ । के भनुँ, दिनदिनै कराउँदै र हकार्दै म यसलाई सम्झाउँछु । तर, लडाइँको मामिलामा यो गतिलो छापामार साबित भएको छ भन्ने कुरा मान्नैपर्छ । उसुरीको मोर्चामा हामी दुवै सँगै लडाइँ लडेका थियौँ । ऊ हामीमध्ये एक हो । उसले हामीलाई धोका दिनसक्दैन ।”
“तिमीहरूमध्ये एक हो रे !” दुबोभ तीतो स्वरमा कुर्लियो, “अनि हामीमध्ये पनि एक होइन ? हामीले ऊसित एउटै नर्कसरी खानीमा काम गरेका छौँ । झन्डै तीन महिनासम्म हामीले एउटै सिरक ओढेर सुतेका हौँ । अब हरेक मठ्याहाले,” मीठो स्वरसितको सिस्किनलाई हठात सम्झिँदै ऊ गर्जियो, “हामीलाई सिकाउनी !”
“म तिम्रै कुरामा आउँदै छु,” दुबोभमाथि एउटा व्याकुल नजर फालेर गोन्चारेन्कोले भन्दै गयो, किनभने दुबोभले झटारो आफैलाई हानेको हो भन्ने उसलाई अनुमान थियो । “हामी यो नकामलाई बिर्सन सक्दैनौँ, न त उसलाई लात हानेर निकाल्न सक्छौँ । आफ्ना मान्छेलाई हामी लात्ती हानेर बाहिर निकाल्न सक्दैनौँ । मेरो विचारमा उसैलाई सोध्नु बेस होला ¤” उसले हावामा आफ्नो ठूलो हात यसरी घुमायो मानौँ उसले सारा अनावश्यक गन्थनलाई आफ्नो न्यायसङ्गत र आवश्यक तर्कले काटेर अलग्याइरहेछ ।
“यो राम्रो होला ! उसैलाई सोधौँ ! उसलाई आफ्नो कुरा भन्न दिउँ । ऊ हामीमध्ये एक हो कि होइन हेरौँ ।”
कुक्रुक्क परेर भीडमा घुस्दै आफ्नो स्थानमा फर्किन थालेको दुबोभ बीचमै रोकियो र मोरोजकालाई छामेजस्ता आँखाले हेर्नथाल्यो ।
हच्किँदै अर्दलीले उसलाई घोरिएर हेरिरह्यो पसिना लत्पतिएका अस्थिर औँलाहरू उसको लबेदामा खेल्नथाले ।
“जे भन्ने हो भन !”
मोरोजकाले आफ्ना आँखाको चेपबाट लेभिनसनतिर हे¥यो ।
“के तिमीले साँच्चै यसमा विश्वास…” ऊ बोल्दाबोल्दै रोकियो । उसको मुखमा शब्द आइरहेको थिएन ।
“भन, भन !” ऊ उसलाई उत्साहित गर्दै करायो ।
“के तिमीले विचार गरेका छौ, मैले… ?” उसको घाँटी अवरुद्ध भयो र रियाबेत्सतिर हेर्दै उसले आफ्नो मुन्टो हल्लायो । “जेहोस्, खरबुजाकै कुरा न हो ! के मैले यसो गर्थेँ… यदि मैले अलिकति पनि सोचेको हुन्थे भनेँ… के बदमाश भएर मैले यसो गरेको हुँला ? केटाकेटी छँदै हामीलाई चोरी गर्ने बानी परेको थियो । यो कुरा तिमीलाई पनि थाहा छ… र मलाई पनि… दुबोभले भनेजस्तो मैले तिमी सबैलाई लज्जित पारेको छु, तर के साँच्चै मैले यसो गर्न सकुँला त साथी हो ?…” अन्तिम शब्दहरू सीधै उसको अन्तरहृदयबाट निस्किए । ऊ अघिल्तिर झुक्यो । उसले आफ्नो छाती समात्यो र यसका आँखामा न्याना आँसु टल्किन थाले । “… साँचो भन्छु, तिमीहरूमध्ये जसको लागि पनि मैले आफ्नो रगतको थोपाथोपा बगाउनेछु, कुनै कुराको लागि म तिमीहरूको अपमानको कारण बन्दिन ।…”
बाहिरदेखि कोठामा अरू आवाज पस्न थाले । कतै कुनै कुकुर भुक्यो । कतै किसान बालाहरू गाइरहेका थिए । छिमेकको पादरीको घरबाट हथौडाको दब्दो एकसुरे ट्याकट्याक आइरहेको थियो । मानौँ, कुनै ओखलमा केही कुटिँदै छ । यात्रुहरू बोक्ने नाउबाट एउटा लम्बेतान स्वर आयो, “तान ?”
प्रस्तुती– सुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *