भर्खरै :

अफगानिस्तान पहिले सो¥हौँ नम्बरमा थियो, बीस वर्षमा अमेरिकाले एक नम्बरमा पु¥यायो

अफगानिस्तानबाट संरा अमेरिका फर्केको विषयमा सञ्चारमाध्यमहरूमा एउटा आशयको समाचार दोहोरिरहेको पाउँछौँ– बीस वर्षसम्म संरा अमेरिकाले अफगानिस्तानमा खरबौँ खबर डलर खर्च ग¥यो र हजारौँ मानिसको ज्यान गयो । तथापि, अफगानिस्तानबाट संरा अमेरिका फर्किंदा त्यो देशको अवस्था उस्तै छ, जस्तो संरा अमेरिका बीस वर्षअघि आउँदा थियो ।
“हामीले केही पनि लछारपाटो लगाउन सकेनौँ”, अमेरिकी पण्डितहरू भन्छन् । तर, यो कुरा सत्य होइन । संरा अमेरिकाले अफगानिस्तानलाई आतङ्कवादीहरूका लागि मलिलो माटो हुनबाट जोगाउन’ कब्जा गरेको थियो । अनि संरा अमेरिकाले अफगानिस्तानलाई त्यही अवस्थामा छोडेन । बरु अझ खराब अवस्थामा छोड्यो । निकै खराब अवस्थामा ।
म आमनरसंहारबाट जोगिएको एक जना पीडित मान्छे हुँ । मैले युद्धग्रस्त देश र त्यहाँका जनतालाई शिक्षाबाट पुनःस्थापना गर्ने तरिकाबारे प्राज्ञिक अध्ययन गर्दै आएकी छु । त्यसक्रममा मैले पटक पटक कसरी एक जना सहनशील मुसलमान समेत परिस्थितिले डो¥याउँदा कट्टर विद्रोही बनेको कुरा देखेकी छु ।
मैले वर्षौं मेरा आफ्ना बोस्नायक समुदायका मान्छेहरू कसरी विद्रोही बने भन्ने कुराको अध्ययन गरेकी छु । कुनै बेला बोस्नियन मुसलमानहरूलाई संसारकै सबभन्दा सहनशील मुसलमान समुदाय मानिन्थ्यो । तर, आज धेरै सङ्ख्यामा बोस्नायकहरूले इस्लाम धर्मअन्तर्गत पनि सबभन्दा कट्टरपन्थी विचारधारा सलाफिज्म अपनाएका छान् । धेरै मान्छेहरू अल कायदा, आइएसआइएल (आइएसआइएस) वा बोको हराममा पनि लागेका छन् । यो के भइरहेको छ ?
अपनत्व, पहिचान र आधारभूत आवश्यकताको अभाव भोगिरहेका मान्छेहरूले आफूलाई शक्तिशाली बनाउने बाटोको आतुर र दिशाहीन खोजीको कारण मानिसलाई विद्रोही बनाउँछ ।
पूर्वी युगोस्लाभियाको लागि गठित अन्तर्राष्ट्रिय अपराध अदालतले आमनरसंहारको लागि आरोपित सर्वियाली नेता रादोभान काराद्जिकले सन् १९९१ मा बोस्नायकहरूलाई चेतावनी दिएका थिए,“बोस्निया र हर्जगोभिनालाई नर्कमा लाने कहिल्यै नसोचेस् । मुसलमानहरू लोप होलान् किनभने साँच्चै लडाईं भए मुसलमानहरू आफ्नो रक्षा गर्न सक्नेछैनन् ।”
खासमा उनी सही थिए । सन् १९९२ देखि सन् १९९५ को अन्त्यसम्ममा पनि बोस्नायकहरू नर्कमै जाकिए ।
सर्बियाली सेनाले कब्जा गर्दा आफ्नो रक्षा गर्न हामीसँग हतियार थिएन । उनीहरूलाई बोस्नियाका स्थानीय सर्वहरूले पनि मद्दत गरेका थिए । त्यही भएर सर्बियालीहरूले छोटो समयमा नै बोस्नियामाथि कब्जा जमाए । संरा अमेरिका र युरोपले त्यत्तिबेला भएको नरसंहार मूकदर्शक भएर हेरिरहे । आफ्नै आँखाअघि बोस्नायकहरूमाथि भएका युद्धअपराध र सामूहिक बलात्कारका घटनालाई उनीहरू देखे–नदेखेजस्तै गरी बसिरहे । सन् १९९५ को गर्मीयामको एउटा गर्मी दिनमा स्रिब्रिनिकामा बोस्नायकहरूलाई एउटा गाडीमा राखेर सर्बियाली सेनाले मार्न लग्दा पनि उनीहरू चुपचाप हेर्दै बसे । हजारौँ हजारको हत्या, धेरैको बलात्कार र महिनौँको असह्य पीडा पछि अन्ततः नाटोले त्यो द्वन्द्व समाप्त ग¥यो । तर, आमनरसंहार मच्चाउने वा त्यस्ता घटना सबै चुपचाप हेरेर बस्नेहरूले स्रिब्रिनिकासहित बोस्नियाको आधा भाग सर्वियालीहरूलाई दिए ।
नरसंहारका घटना र हमलाकारीहरूलाई नै भूमि दिएर पुरस्कृत गरेकोमा असन्तुष्ट केही बोस्नायकहरूलाई विद्रोही बनायो । मेरो अध्ययनले यो शिलशिला आज पनि चालु छ ।
ऐतिहासिकरूपमा अरू संस्कृति र धर्मप्रतिको सहनशीलता र स्वीकार्यताको लागि चिनिएका बोस्नायकहरूलाई विद्रोही बन्न सक्छन् भने जो कोही पनि विद्रोही बन्न सक्छन् । हिंसाको सामनाले जो कोहीलाई विद्रोही बनाउने गम्भीर जोखिम हुन्छ । मानसिक आघातले व्यक्तिमा आफ्नो पीडा, पराजय, बहिस्करण र गहिरो दुःखको कारण खोज्ने आन्तरिक रूपान्तरण ल्याउँछ ।
यो कुरा मैले आफैले भोगेकी छु । मेरो गृहनगर बिहाकस्थित ब्लु ब्रिजमा एक जना सर्वियालीको हमलाबाट म बल्लबल्ल जोगिएपछि मैले एउटा संयुक्त राष्ट्र सङ्घीय कार आएको देखेँ । म त्यत्तिबेला भर्खर १७ वर्षकी थिएँ । मलाई लाग्यो, त्यो कार मलाई सहायता गर्न त्यहाँको आएको थियो । तर, मलाई र पुलमा घाइते अवस्थाका अन्य व्यक्तिहरूको सहयोग गर्नुको सट्टा त्यो कार त्यहाँबाट अझ तेजमा हुँइकियो । त्यत्तिबेला मैले अनुभव गरेँ–संसारले सडकमा घायल र मर्दै गरेका बोस्नायकहरूलाई वास्ता गर्दो रहेनछ ।” विस्फोटनले अनुहार क्षतविक्षत भएकी एक जना केटीलाई मद्दतको निम्ति म अघि सर्दा मैले अनायास अनियन्त्रित आक्रोशको अनुभव गरेँ । त्यो आतङ्क र मानसिक आघातबीच मलाई भित्रैबाट अब मैले केही गर्नुपर्छ भन्ने भावना जाग्यो । फेरि पनि मलाई र मैले प्रेम गर्ने मान्छेहरूलाई यस्तो घटना दोहोरिन नदिन केही काम गर्नैपर्ने मलाई लाग्यो । त्यसअघि मलाई थाहा पनि नभएका निकै भयानक विचार मेरो दिमागमा मडारिन थाल्यो । मैले देखेको हिंसाको कारण त्यस्ता विचारको प्रवाह मेरो दिमागमा आएको थियो । हत्याराहरूका निर्दोष बालबालिकाको हत्या गरेर हामीले बद्ला लिन सक्दैनौं र ? के त्यसो गर्नु उचित हो ? हामीविरुद्ध नरसंहार रोक्न के कुराले रोक्न सक्छ ?
मेरो मानसिक आघातमा मलजल गरेकोमा म हरेक सर्व, हरेक इसाई, हरेक अमेरिकीलाई घृणा गर्न सक्थेँ । तर, मैले त्यो हिंसाको बाटो रोजिनँ । न त नरसंहारको मानसिक आघातबाट पीडित बनेका ठुलो सङ्ख्याका बोस्नायकहरूले नै त्यो बाटो रोजे । तर, केही सीमित मान्छेहरूले भने त्यो बाटो रोजे । मानसिक आघातबाट मुक्त हुन मैले एउटा फरक बाटो रोजेँ । मभित्रै केही अन्तरनिहीत कुराले मलाई त्यो बाटो रोज्ने बनाएको थिएन । बरु मैले राम्रो शैक्षिक अवसर र उत्तम पारिवारिक सम्बन्ध पाएको हुनाले म त्यो बाटो रोज्न सक्ने भएँ । जातीय सफाया र एक हजारभन्दा बढी दिन लामो सर्बियाली हमलाबाट ज्यान जोगाउन सफल भएपछि सन् १९९६ मा म संरा अमेरिका बसाई सरेँ । त्यहाँ मैले स्वतन्त्र रूपमा आफ्नो पढाइलाई निरन्तरता दिन सकेँ । मेरा अभिभावक, शिक्षक र पथप्रदर्शकहरूले मलाई मानसिक रूपमा बलियो बनाए र धेरै कुरामा संलग्न हुने अवसर प्रदान गरे । ती सबै कुराले मलाई हिंसात्मक बाटोमा अघि बढ्दै गरेको विद्रोही हुनबाट जोगायो ।
मलाई सुरक्षा जालोले जोगायो र अहिंसाको बाटोमा डो¥यायो । तर, मानौं किशोरावस्थामा मसँग कुनै विकल्प नभएको भए, कुनै समर्थन नभएको भए र मानसिक आघातबाट मुक्त हुने कुनै उत्तम बाटो नभएको भए ? म पनि त्यस्तै विद्रोही बन्न सक्थेँ ।
अफगानहरू हुन् वा अरू कोही, बोस्नायकहरू भन्दा कति पनि फरक छैनन् । हिंसा सामना गर्ने कोही पनि मानिस निश्चित अवस्थामा विद्रोही हुने खतरा जहिल्यै पनि हुन्छ ।
आज अफगानिस्तानको परिस्थिति विद्रोही बनाउन मलिलो माटो हो । अफगानहरू मानसिक आघात र हिंसाबाट पिरोलिएका छन् । आफूलाई ‘मद्दत गर्ने’ बहानामा आएका बाह्य शक्तिले आफूलाई धोखा दिएको उनीहरूले अनुभव गरेका छन् । उनीहरूले मद्दत गर्नुको सट्टा उनीहरूलाई थप भयावह अवस्थामा पु¥याएका छन् । उनीहरू आर्थिकरूपमा जर्जर अवस्थामा बाँचिरहेका छन् । दसौँ लाख केटाकेटी भोका छन् । अफगानिस्तानमा शिक्षाको अवसर निकै सीमित छ । दसौँ लाख बालबालिकाहरू विद्यालय जान पाएका छैनन् र भविष्यप्रति उनीहरूमा निकै थोरै मात्र आशा छ ।
सन् २००१ यता दसौँ हजार अफगान नागरिकहरू संरा अमेरिकी ड्रोन हमलामा परी मारिए । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्डे«नका अनुसार बितेका बीस वर्षमा झण्डै ३३ हजार बालबालिका मारिए वा गम्भीररूपमा घाइते भए । त्यसको अर्थ अफगानिस्तानमा हरेक चार घण्टामा औसत एक जना बालक मारिएका वा घाइते भएका छन् । यो वर्षको अगस्ट महिनामा इस्लामिक राज्य खोरासन प्रान्त आइएसकेपी (आइएसआइएस–के) मा बमवारी भएको बद्ला स्वरूप काबुलको विमानस्थलमा भएको संरा अमेरिकी हवाइ हमलामा १८२ जना सर्वसाधारणको हत्या भयो । एउटै परिवारका दस जना मानिसको निधन भयो । तीमध्ये सात जना त बालबालिका थिए । पछि, सो परिवारको ‘आतङ्कवादी समूह’ सँग कुनै सम्बन्ध नभएको खुलासा भयो ।
अफगानहरूको आँखामा ती मृतक र घाइतेहरू तथ्याङ्क मात्र होइनन् । त्यसलाई ‘दुर्घटनावश भएको क्षति’ भनी लेख्न सकिन्न । अमेरिकी बम वा अमेरिकी उपस्थितिले मारिएका उनीहरू बुबा, आमा, छोरा र छोरीहरू हुन् । यी सबै हत्याले अफगान हृदयमा चोट पुगेको छ । यसले अंशतः तालिवानले अफगानिस्तानमाथि कब्जा जमाउन किन गाह«ो भएन भन्ने कुरालाई छर्लङ्ग पार्छ ।
अफगानहरूले कहिल्यै पनि हामी (अमेरिकी) हरूको उपस्थिति चाहेका थिएनन् । उनीहरूको लागि संरा अमेरिका भनेको हिंसा निम्त्याउने र आफ्ना नेताहरूलाई भ्रष्ट बनाउने अर्को एउटा साम्राज्य मात्र हो ।
मेरो अनुसन्धानमा बाह्य शक्तिको खतरा अनुभव हुँदा व्यक्ति होस् वा देशले सुरक्षाको लागि आफैभित्र विकल्प खोज्छ र बाहिरका ‘अरू’ लाई राक्षसीकरण गर्छ भन्ने कुरा बारम्बार देखेको छु । यो प्रक्रियामा उनीहरू प्रायशः विद्रोही बन्छन् । दशकौँसम्म अफगानहरू बाहिरका ‘अरू’ नै हुन् ।
संरा अमेरिकाले सबभन्दा पहिला अफगानिस्तानको लागि आशावादी समयमा हस्तक्षेप गरेको थियो । सन् १९७८ मा तत्कालीन सोभियत सङ्घको प्रभावमा रहेको कम्युनिस्ट पार्टीमा सत्तामा थियो । त्यो सरकारले महिला अधिकार, साक्षरता दर वृद्धि र आधुनिकीकरणका मुद्दालाई विस्तार गरेको थियो । तथापि, अफगानिस्तानका ग्रामीण क्षेत्र भने अशिक्षित रहे । त्यहाँका जनता धार्मिक निरपेक्षताको विरोधमा रहे । अमेरिकाले ती अशिक्षित ग्रामीण जनतालाई एक ठाउँमा जम्मा गरेर धार्मिक लडाकू बनाए । त्यसले अफगानिस्तानको परिस्थितिमा हलचल ल्यायो र अस्थिरता निम्त्यायो । त्यसले अफगान जनताको जीवन र भविष्यको मूल्यमा सोभियत सङ्घविरुद्ध युद्ध निम्त्यायो । सन् १९९० दसकको मध्यसम्ममा संरा अमेरिकाले आंशिक रूपमै भए पनि आफूले चाहेको कुरा पायो । सोभियत सङ्घ अफगानिस्तान छोडेर गए । तर, थप हिंसात्मक गतिविधिसहित तालिवान शक्तिशाली भएर उदायो । सन् २००१ को उत्तराद्र्धमा सेप्टेम्बर १ को हमलापछि संरा अमेरिकाले अफगानिस्तानमाथि फेरि हमला ग¥यो । यो पटक भने उसको लक्ष्य तालिवानलाई पराजित गर्नु थियो ।
अफगानिस्तानमा बीस वर्ष बसेपछि संरा अमेरिकाले यो वर्ष अफगानिस्तान छोड्यो । तर, अफगानहरू फेरि पनि विद्रोही हुनुपर्ने अवस्थामा सामना गरिरहेका छन् । उनीहरूसामु सन् २००१ अघिभन्दा अहिले हिंसात्मक विद्रोहमा लाग्ने मलिलो परिस्थिति छ । यसको कारण अफगान जनताका मानसिक आघातबाट बाहिर आउने रचनात्मक बाटोको निम्ति आवश्यक मद्दत पाउने अवस्था संरा अमेरिकामा बनेन । अफगान जनतालाई मानसिक रूपमा त्यो अवस्थामा पु¥याउन संरा अमेरिकाले निकै महत्वपूर्ण भूमिका खेलेको छ । बोस्नियन आमसंहारपछि मेरो मानसिक आघातबाट मुक्त हुन मलाई जस्तो अवसर प्राप्त थियो, आज धेरै अफगान युवाहरूले त्यो अवसर पाउन सकेका छैनन् । उनीहरूसँग हातमा केही छैन, सहयोग गर्ने कुनै सञ्जाल छैन । न उनीहरू भविष्यप्रति आशावादी छन् ।
बितेका बीस वर्षमा संरा अमेरिकाले अफगानिस्तानमा सैनिक गतिविधि गर्न दसौं खर्ब अमेरिकी डलर खर्च ग¥यो । तर, त्यो पैसा त्यहाँको शिक्षा र मानसिक स्वास्थ्यको क्षेत्रमा बुद्धिमानीपूर्वक लगानी हुन सकेन । ठूला भौतिक पूर्वाधार विकासमा त्यो पैसा खर्च हुन सकेन । अफगानिस्तानमा रहेको लिथियमको विशाल भण्डारको लाभ उठाउन आवश्यक समृद्ध अर्थतन्त्र बन्न सकेन । त्यहाँको कानुनी व्यवस्थाले संसारकै सबभन्दा गरिब र भ्रष्ट देशमा भ्रष्टाचार कम गर्न असफल भयो ।
संरा अमेरिकाले अफगानिस्तानमाथि तथाकथित ‘आतङ्कवादविरोधी युद्ध’ को हिस्साको रूपमा जब कब्जा जमायो, अफगानहरू भावनात्मकरूपमा अमेरिकीहरूबाट टाढा भए । आफ्नो दुरावस्थाको निम्ति उनीहरूले प्रत्यक्षरूपमा जिम्मेवार ठानेका शक्तिप्रति उनीहरूको आक्रोश र असन्तुष्टिले उनीहरू कुनै बेला आफैले निन्दा गरेको तरिका अङ्गीकार गर्न अग्रसर भएका छन् । उनीहरूले ठूलो लक्ष्य पुरा गर्न हत्या वा यातनालाई जायज ठानेका छन् । भावनात्मक रूपमा अलग हुनुको अर्थ हत्यालाई पनि नैतिक र उपयुक्त तरिका मान्नु हो । अनि भावनात्मक रूपमा टाढा हुनुलाई नै आफ्नो परिस्थितिमा परिवर्तन ल्याउने, आफ्नो सुरक्षा, आफ्ना हित र स्वार्थको रक्षा गर्न मद्दत गर्नेमा उनीहरू विश्वास गर्छन् ।
अफगानिस्तानमा फेरि पनि उदाउन सक्ने नयाँ कट्टरपन्थी समूहले फेरि पनि अमेरिकालाई त्यहाँ फर्किने आधारको गर्भाधान हुन सक्नेबारे अहिले कसैलाई थाहा छैन । तर, धेरै सरकारी र गैरसरकारी पात्रहरू आफ्ना मुद्दा अघि सार्न त्यहाँ जम्मा हुन सक्नेमा सन्देह छैन । फलतः यो हिंसाको घातक चक्र जारी रहनेछ ।
अफगानिस्तानमा पटक पटकको हस्तक्षेपबाट पश्चिमा देशहरूले सिक्नुपर्ने एउटा पाठ होः मानसिक आघातबाट बाहिर निस्कन कुनै आशा वा सहयोगी सञ्जाल नभएका मानिसहरूलाई विद्रोही बनाउन सजिलो हुन्छ । किनभने त्यस्ता मान्छेहरू सशक्तिकरण, न्याय र स्वाभिमानको बाटोको व्यग्र खोजीमा हुन्छन् ।
संरा अमेरिकाले अफगानिस्तानमाथि कब्जा गर्नुअघि सन् २००१ मा विश्वको आतङ्कवादसम्बन्धी सूचकाङ्कमा अफगानिस्तान १६ औँ नम्बरमा थियो । अमेरिकाले अफगानिस्तानमाथि बीस वर्ष कब्जा जमायो । अफगानिस्तान आज सूचकाङ्कको त्यो स्थानमा छैन । आज ऊ एक नम्बरमा पुगेको छ ।
उनीहरूलाई त्यहाँ पु¥याउन संरा अमेरिकाले मद्दत ग¥यो ।
(लेखक उपाधि विजेता संस्मरण ‘द क्याट आइ नेभर नेम्डः अ ट्रु स्टोरी अफ लभ, वार एन्ड सर्भात्ल’ (ब्लुमबेरी, २०००) का लेखक हुनुहुन्छ । त्यो कृति बोस्निया युद्धबारे उहाँको संस्मरण हो । उहाँ संरा अमेरिकाको कोलोम्बिया विश्वविद्यालयमा आबद्ध छन् ।)
स्रोत : अल जजिरा
नेपाली अनुवाद :सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *