भर्खरै :

बिदाको दिनमा पनि आउने ‘मजदुर’

सबैजसो दैनिक पत्रिकाहरूको प्रकाशन बन्द भएको बेला बिहान चिया खाँदै दैनिक समाचार पढ्ने बानी परेका पाठकहरू ‘के बिर्सेको, के छुटेको’ अनुभव गर्छन् । यसरी पाठकहरू रनभुल्लमा परेको बेला कहिल्यै प्रकाशन बन्द नहुने ‘मजदुर दैनिक’ हात परेपछि खुसी नहुने कुन पाठक होला !
१९ कार्तिक २०७८ को दिन नेपाल संवत् ११४२ को दिन परेकोले पत्रिका ‘भिन्तुना’ (शुभकामना) बाहेक के नै समाचार होला भनी सोच्ने सरल पाठकहरू आश्चर्यमा परे होलान् ।
१८ कार्तिकको टीकापुरको डेटलाइनमा ‘सामान किन्दा सचेत बनौँ’ शीर्षकमा प्रकाशित समाचारले व्यापारीहरूले मौका छोपेर उपभोक्ताहरूसँग निर्धक्कसँग ठगेको देखाएको छ । काङ्ग्रेस, समाजवादी र ‘प्रचण्ड’ को सरकारको अकर्मण्यता ‘रासस’ ले बुझेकोमा पाठकहरूले सन्तोषका सास फेरे । ‘जति ठूला व्यापारी, उत्ति ठूला ठग र शोषक हुन्छन्’ भन्ने कहावत नै चलेको छ । अहिले, त्यो साहु गाउँको होस् वा सहर बजारको, तराईको होस् वा पहाडको । तर, यसमा पनि एक–दुइटा अपवाद पनि छन् !
हिजो, सानो–तिनो व्यापारी, प्राथमिक शिक्षक वा ‘पञ्च’ परिवारका सदस्य पनि प्रजातन्त्र र गणतन्त्रकालमा ‘प्रजातन्त्रवादी’ र ‘गणतन्त्रवादी’ शासक दलका ‘ज्यू–हजुरिया’ भएर, ठूलठूला भुँडे र ठूलठूला भवन र रिसोर्ट बनाएर शासक दलका मन्त्रीहरूलाई घुस खुवाउन र खान पल्किएका छन् । सानो इँटा भट्टा ठूलठूला हुँदै गए, स–साना जग्गा खरिद –बिक्री दलालहरू आज ठूलठूला दरबार किन्दै र पुराना भवन भत्काउँदै सांस्कृतिक महत्वका इँट, झ्याल, खापा, अन्य सामान बेच्दै करोडपतिबाट अर्बपति बन्दै छन् । १०–१५ तले घरका मालिक बन्दै छन्– सहकारी संस्था डुबाउँदै स–साना सहकारीका हिस्सेदारहरूलाई रगतका आँसु पिउन बाध्य गराउँदै छन् । यही त हो पुँजीवादी गणतन्त्र वा पुँजीवादी प्रजातन्त्र ! तिनीहरूकै हितमा त ऐन–कानुन संसद्बाट पारित गराउँछन् । मारवाडीहरू उद्योग–वाणिज्य सङ्घका नेता बनेका छन्, संसद् र सरकारमा पुगेका छन्, भर्खर मोटाएका स्थानीय व्यापारी, ठेकेदार र जाली–फटाहाहरूलाई तल्ला स्तरका नोकर बनाएका छन् । पैसा हुँदैमा ‘इज्जत’ हुन्न भन्दै एक मारवाडीले हिजो गुनासो गर्दै थिए, एक जना नेतृसँग – “के गर्नु हजुर, हामीलाई अछुतसरह व्यवहार गर्छन्, त्यसैले राजनीति गर्दै छु र सांसद बन्दै छु र मन्त्री पनि बन्ने छु ।” अर्को एक अर्बपति मारवाडीले आफ्नो घरको बिहा भोजमा एकै दिनमा पनि करोड रुपियाँ खर्च गरेको र पाहुनालाई हवाईजहाजको बन्दोबस्त मिलाएर पाँचतारे होटल बुक गरेको देखेर उनकै सहयोगी भन्दै थिए, “पैसा भएर के गर्ने, जनताले विश्वास गर्दैनन्, त्यसैले ‘विश्वास’ र ‘इज्जत’ कमाउन भोजमा करोडौँ खर्च गर्छ । आफ्नो ‘प्रतिष्ठा’ को निम्ति राजा र राष्ट्रपतिबाहेक सबै नेता र मन्त्रीहरूलाई पाहुना बनाउँछ, अनि त तल्लो कर्मचारीदेखि माथिल्ला कर्मचारी र प्रहरी नायकहरू पनि मित्र बन्छन्, केही दूतावासका ‘महामहिमहरू’ पनि सङ्गत गर्ने बाटो खुल्छ ।”
‘मजदुर’ को असोज १९ को सम्पादकीयको शीर्षक छ– ‘नेपाल संवत् ११४२ को शुभकामना’ । सम्पादकीयले नेपाल संवत्बारे थप खोजबिन र आलोचनात्मक व्याख्याको माग ग¥यो । ‘कर्णालीमा मुख्यमन्त्री फेरिएछन् रे !” शीर्षकमा सन्दर्भ स्तम्भमा छापिएको कालीकोटको सूर्यबहादुर विष्टको लेख यथार्थपरक छ । ओम धौभडेलेको ‘मास्टर जगतसुन्दर मल्ल र उहाँका पुर्खाबारे एक इतिहास’ अत्यन्त प्रासङ्गिक र खोजमूलक लाग्यो ।
उदय शाहीको ‘तःमुंज्यामा देखिएको तत्परता’ अर्थात् बृहत् ‘साहित्य सम्मेलन वा विचार गोष्ठी’ को गतिविधि र सम्मेलनको मूल्याङ्कन अनुभवपरक छ । अन्तर्राष्ट्रिय ऐतिहासिक स्तरीय विचारप्रधान ‘मन्थली रिभ्यू’ (मासिक समीक्षा) को विथ मिन्टजको ‘नवउदारवाद र उच्च शिक्षामा सङ्कट’ मा गम्भीर र भविष्यको चिन्ता गर्नुपर्ने विषय समेटिएको छ । यसमा उच्च शिक्षाको विषयमा छलफल प्रस्तुत छ । लेखक भर्मोन्ट विश्वविद्यालयका समाजशास्त्रका वरिष्ठ प्राध्यापक हुनुहुन्छ ।
सीजीटीएनका टम फाउसीको ‘प्रजग कोरियामाथिको नाकाबन्दी हटाउन अब विलम्ब नगरौँ !’ भन्ने अपिलले विश्व राजनीतिको एक महत्वपूर्ण क्षेत्रको विषयलाई उजागर गर्छ । यसले अन्तर्राष्ट्रिय राजनीतिका अध्येताहरूलाई नयाँ विश्लेषणको अनुभव गराउने छ । लेखक बेलायतका राजनीतिक तथा अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक हुनुहुन्छ ।
नयाँ वर्ष, नेपाल संवत्का गतिविधिको समाचारले नेपाली बुद्धिजीवीहरूलाई पनि यसबारे वैज्ञानिक आधार खोज्न घच्घच्याउने आशा गर्नु स्वाभाविक हो ।
२० कार्तिकको ‘मजदुर’ दैनिक
काठमाडौँ उपत्यका र काभ्रेका विभिन्न नगरपालिकाहरूको समाचारले प्राथमिकता पायो भने शनिबारको दिन साहित्यले अग्रता हासिल ग¥यो ।
नीरजको ‘फरलोरिडाको अनुषा’ कथालाई स्थानीयताले गाँज्यो भने सितुले ‘नेपालको शैक्षिक जगतको एउटा तस्बिर : हरिहरको ‘कखरा’ उपन्यासबारे एक समीक्षा प्रस्तुत ग¥यो । त, उपन्यासको समीक्षा वा चर्चामा सुरुमा उपन्यासको कथानक बुझ्न पाएको भए पाठकहरू लाभान्वित हुने थिए ।
तर, लेखिएको विषयवस्तु शिक्षाबारे समसामयिक नवउदारवादी सरकारी दृष्टिकोण नै हो । यसबारे अघिल्लो दिनको ‘मजदुर’ मा प्रकाशित ‘मन्थली रिभ्यु’ पत्रिकामा समाजशास्त्री वरिष्ठ प्राध्यापक विथ मिन्टजले चिन्ता व्यक्त गरे । बरु ‘नवउदारवादी’ शब्द प्रयोग नगरी ‘उग्र पुँजीवादी’ शब्द चयन गर्न खोजेको भए जनताले सजिलै बुझ्ने थिए । ‘कट्टरता’ को ‘उदारता’ शब्दसरह नै ‘नव’ को अर्थ ‘आधुनिक’, ‘प्रगतिशील’ सम्झिने भएको हुँदा ‘नवउदारवादी’ शब्दको प्रयोगले साधारण जनतामा तत्काल विरोध भएन र परिणाम थाहा पाएपछि विरोधको स्वर ठूलो भएको हो । चिलीको विद्यार्थी र युवा आन्दोलनले ल्याटिन अमेरिकामात्रै होइन अन्य महादेशका विद्यार्थी, अभिभावक र संवेदनशील समुदायलाई बढी चिन्तित पा¥यो र विरोध झन्झन् मुखर हुँदै गयो ।
यता एक–दुई वर्षदेखि साँखुका ई. राजदास श्रेष्ठ शनिबारको अङ्कको पृष्ठ ७ मा सतत् श्रष्टा हुनुहुन्छ । यस अङ्कमा उहाँ ‘कृषि र जलस्रोत हाम्रो विकासको मूल आधार’ शीर्षकमा बग्नुभयो । ई. राजदासजीले झन्डै १०–२० अङ्कमै थरीथरीका उद्योगहरूबारे जानकारी दिनुभयो । ती सबै सङ्कलन गर्न सके नेपाली भाषा र साहित्यको खाली कुना पनि भरिने थियो ¤
‘कविता’ को कुनामा स्नेहको ‘नेपाल संवत् ११४२’ र सत्यराम कासिछ्वाको ‘तर पनि तिमीलाई छैन कुनै चिन्ता’ शीर्षकको कविता छापिए । तीन तीन पङ्क्तिको त्यो कविताले हरेक सरकारलाई बारम्बार घोच्दै र चिमोट्दै रह्यो – विदेश जान बाध्य युवाहरूप्रतिको सरकारको दायित्व खोइ ?
पशुपति–गुहेश्वरीमा शत्बीज छरेर महिलाहरूले आफ्ना मृतक आफन्तलाई ‘खबर पठाउन ढुङ्गाको गणेशलाई ठूलठूलो स्वरले कराउँदा’ पनि त्यस गणेशले उत्तर नदिएजस्तै युवा ‘शासक’ र मन्त्री’हरू पनि जनताले त्यागेका मन्त्रीहरूजस्तै मौन बसेकोमा युवा जनता, आक्रोश र निराशाले विचलित छन् । यसमा शासक दलका नेताहरू सबै जिम्मेवार छन् भने भावना त्यस कविताको भित्री भावना देखिन्छ ।
बिदाका दिनहरूमा पनि पाठकलाई सुसूचित गर्ने र स्थानीय, साहित्य र संसारको जानकारी दिने ‘मजदुर’ दैनिकलाई साधुवाद छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *