भर्खरै :

सक्वको म राजदास–११० / मेरो जिन्दगीको सुख–दुःखका केही अनुभूतिहरू

म ७० वर्षको भइसकेँ । तैपनि हाँस्दै, खेल्दै, दौड्दै छु । नयाँ ठाउँमा नयाँ घर बनाउँदै छु, आफैलाई अचम्म लाग्छ । जीवनमा धेरै हन्डर खाइसकेँ । तर पनि मनमा जीवनप्रति केही गुनासो छैन । दुःख आइपर्छ तर सबै दुःख मैले टारेँ । जीवनलाई सुख नै ठानेको छु र सुखी छु । म अहिले एक्लो छु ।
यो लेख लेख्न बस्दा मलाई एक कप कफी खान मनलाग्यो, जाडो जाडो छ । कसैलाई एक कप कफी बनाई देऊ न भन्नलाई मेरो घरमा कोही छैन । किचेन त नजिकै छ, कोठासँगै जोडिएको छ, तैपनि अल्छी लाग्छ । चिया, कफी, चिनी सब छ, ग्यासको चुल्हो छ, सँगै फ्रीज छ, फ्रीजभित्र ब्रेड, वटर, चीज, अण्डा सब छ । तर, किन हो मलाई अल्छी लाग्छ । यो पटक के विषयमा लेख्ने भनेर सोचेँ । शुक्रबार भइसक्यो, एउटा लेख नलेखी सुखै छैन ।
मैले हप्तामा एउटा लेख लेख्नैपर्छ । भक्तपुरबाट निस्कने ‘मजदुर’ दैनिकको लागि । त्यसकारण, म प्रत्येक हप्ता ‘मजदुर’ दैनिकको लागि एउटा लेख लेख्छु ।
आज के लेखूँ के लेखूँ लागेर लेख्दैछु केही आफ्ना जीवनका तीता मीठा अनुभूतिहरू । मेरो यो एकान्त जीवन । म स्वतन्त्र छु । जे मनपर्छ गर्नसक्छु, जहाँ मन लाग्छ जान सक्छु, जे मन लाग्छ खान सक्छु, जे मन लाग्दैन छोड्न सक्छु । हो ४/५ महिना भो मैले मांसाहार र मद्यपान छोडेको छु । मासुमाछा, रक्सी, बियरमात्र होइन अण्डा पनि खान छोडेको छु । साथी भाइहरूलाई मैले जाँड–रक्सी, माछामासु त्यागेँ भनेर भन्ने पनि गरेको छु । अनि चुरोट पनि मैले त्यागिसकेको छु । मैले धूमपान त्यागेको धेरै वर्ष भयो । त्योभन्दा पहिले म चुरोट खान्थेँ । १४/१५ वर्ष हुँदादेखि लुकीछिपी चुरोट खान थालेको थिएँ । पछि २५/३० वर्षको हुँदा दिनको दुई बट्टा (याक) चुरोट खान थालेँ । सोभियत सङ्घमा अध्ययन गरिरहँदा म चुरोट खान्थेँ । सन् १९६९ मा सोभियत सङ्घ पढ्न जानुभन्दा पहिले काठमाडौँमा स्कूल र कलेज पढ्दा लुकीछिपी अलि अलि तान्थेँ, रुस गएपछि भोड्का सँगै धूमपान पनि गर्न थालेँ । इन्जिनियर भएर त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा काम गर्दासम्म चुरोट खान्थेँ । दिनको दुई बट्टा (याक) फिल्टर चुरोट किन्थेँ । बिहान अफिस जाँदा, बेलुका भात खाँदासम्ममा दुई बट्टा सकिसकेको हुन्थ्यो । राति राति पनि आस्त्रेहरू खोज्न थाल्थेँ, ठुटो चुरोटका टुक्राहरू भेटिन्छन् कि भनेर । आस्त्रेमा चुरोटका टुक्राहरू भेटिएन भने डस्टबीनमा हेर्थेँ र त्यहाँ पनि भेटिएन भने ढोका खोलेर घर बाहिर जान्थेँ र झ्यालमुनि यताउति खोज्थेँ । दिउँसो खाएर फालेका चुरोटका एक दुई टुक्रा चुरोट भेटियो भने खुसीको सीमा हुँदैनथ्यो । त्यही ठुटा चुरोट दुई चार सर्को तान्थेँ र आनन्दले सुत्थेँ । यस्तो थियो चुरोटको लत ।
एक दिन मैले सोचेँ र भनेँ, “भोलिदेखि म चुरोट खान्न । यो चुरोट मेरो आवश्यकता होइन । चुरोट मेरो शरीरले खोजेको होइन । मैले आफैले जबरजस्ती खाइरहेको छु । मैले मेरो शरीरलाई दुःख दिइरहेको छु । त्यसकारण, म किन यो बेकारमा आफ्नो पैसा खर्च गरेर धुवाँ उडाइरहको छु !
हुन त म त्रिभुवन विश्वविद्यालयको (कीर्तिपुर) प्रयोगशालामा राति काम गरिरहँदा चुरोटले धेरै मद्दत गरेको थियो । चुरोट तान्दै रातभरि ननिदाइकन म आफ्नो प्रयोगशालामा काम गरिरहन्थेँ । कहिलेकाहीँ दुई तीन दिनसम्म म घर नै नगइकन आफ्नो अफिसमै रात बिताउँथैँ । म दुई तीन दिन घर नआएको देखेपछि मेरा छिमेकीहरू मेरी श्रीमतीलाई जिस्क्याउँथे रे, “तिम्रो लोग्ने अन्तै गयो कि के हो भालेन्टिना” भनेर । भालेन्टिना रुसबाट बिहे गरेर ल्याएकी मेरी पहिलो श्रीमतीको नाम हो । भालेन्टिना पनि त्यसबेला मसँगै त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रमा काम गर्थिन् । उनी ग्लास (सिसा) प्राविधिज्ञ, म चुन र सिमेन्टसम्बन्धी काम गर्थेँ । हामी दुवै सँगै काम गथ्र्यौँ । नेपालको विभिन्न जिल्लाबाट विभिन्न खालका माटो, ढुङ्गा, बालुवा आदि सङ्कलन गरेर ल्याउँथ्यौँ र हाम्रो अफिसको प्रयोगशालामा अध्ययन अनुसन्धान गथ्र्यौँ । ग्लास र सेरामिक्सको सामान बनाउँदा बिजुलीको चुल्होमा धेरै बेर (१०–१५ घण्टा) पोल्नुपर्ने हुन्छ । त्यसकारण, हामीलाई राति पनि इलेक्ट्रिक चुल्होहरू चलाएर बस्नुपर्ने हुन्थ्यो । बलिरहेको बिजुलीका चुल्होहरू छोडेर जान रिस्क हुन्थ्यो कतै आगलागी नहोस् भनेर । अनि आफूले बनाएका ग्लास, सिमेन्ट, चुन र सेरामिक्सका सामानहरू हेरिराख्नुपथ्र्यो । त्यसकारण, म धेरै पटक राति घर नगइकन आफ्नो अफिसको प्रयोगशालामै बस्थेँ र चुरोट खाँदै रात बिताउँथेँ । घरमा दुइटा साना छोराहरू भएको हुनाले भालेन्टिनाले घर जानुपथ्र्यो । भोलिपल्ट उनी अफिस आउँदा म घर गएर सुत्ने गर्थेँ । हामीलाई काम गर्न कीर्तिपुरमा छुट्टै अफिस दिएको थियो । त्यो अफिसमा हामीले आफ्नो प्रयोगशाला बनाएका थियौँ । त्यो अफिस खासमा आवासगृह थियो । हामी जानुभन्दा पहिले त्यो अफिस अमेरिकी प्राध्यापकहरूले ‘समर लिङ्गिस्टीक इन्स्टिच्युट’ भनेर प्रयोग गरेका थिए ।
२०३३/३४ सालतिर हामी त्यस अफिसभित्र छिर्दा अफिसको बाहिरी पर्खालमा एउटा पित्तलको सानो साइन बोर्ड टाँपइिको थियो । पहेँलो पित्तलको प्लेटमा अङ्ग्रेजी भाषामा ‘समर लिङ्गिस्टीक इन्स्टिच्युट’ भनेर काला अक्षरहरू कुँदिएको थियो ।
मलाई थाहा थिएन के हो त्यो । पछि बुझ्दा थाहा पाइयो । त्यो अमेरिकीहरूले स्थापना गरेको भाषा विज्ञान अध्ययन संस्थान थियो । त्यस समर लिङ्गिस्टीक इन्स्टिच्युटको मुख्य काम नेपालमा भएका विभिन्न भाषाहरूको अध्ययन अनुसन्धान गरी भाषाका पुस्तकहरू अन्य भाषामा अनुवाद गर्ने काम थियो । केही त्यस्ता कामहरू भएको पनि थियो । तर, गोप्यरूपमा त्योभन्दा पनि भिन्नै काम कुरो त्यहाँ हुने गथ्र्यो । मैले सुनेअनुसार नेपालमा त्यसबेला चलेको चीनविरुद्धको खम्पा काण्डमा भाषा अनुसन्धान केन्द्रका पदाधिकारीहरू संलग्न थिए । खम्पा काण्डले नेपाल–चीनको सम्बन्धमा खतरनाक मोड ल्याउने सम्भावना देखाएको थियो । नेपालको तर्फबाट शरणार्थी तिब्बतिहरू प्रयोग गरी चीन/तिब्बतविरुद्ध सशस्त्र मुठभेड चलेको थियो । ती खम्पाहरूलाई हातहतियार गोला–बारुद बन्दुक आदि आपूर्ति गर्न काठमाडौँ स्वयम्भुको दक्षिणस्थित स्युचाटारमा एक अस्थायी हवाई मैदान पनि निर्माण गरिएको थियो । त्यस हवाई मैदानबाट साना–साना हवाईजहाज उडाएर खम्पाहरूलाई हातहतियार र आवश्यक सामानहरू पु¥याइन्थ्यो ।
यी युद्धका सामानहरू स्युचाटारमा पु¥याउने र आवश्यक यस्ता सामानहरू विदेशबाट नेपाल ल्याउनमा कीर्तिपुरस्थित उक्त ‘समर लिङ्गिस्टीक इन्स्टिच्युट’ को प्रत्यक्ष संलग्नतामा थियो भन्ने सुनियो । पछि खम्पा काण्ड समाप्त भएपछि उक्त भाषा अध्ययन अनुसन्धान पनि हट्यो । त्यही अफिस मलाई आफ्नो निर्माण सामग्री अनुसन्धान प्रयोगशाला बनाउन दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *