भर्खरै :

किसानहरूबीच १०४ औँ अक्टोबर क्रान्तिबारे प्रवचन

भक्तपुर, २६ कार्तिक । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा १०४ औँ महान् अक्टोबर समाजवादी क्रान्तिको अवसरमा नगरस्तरीय किसान भेला गरी प्रवचन कार्यक्रम भयो ।
उक्त प्रवचन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सन् १९१७ को रुसी अक्टोबर समाजवादी क्रान्ति सफल पारी कामदार वर्गको सत्ता कायम गरिएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सामन्त, पुँजीपतिहरूको जग्गा बिनामुआब्जा राष्ट्रियकरण गरियो । विदेशी कलकारखाना, बैङ्क राष्ट्रियकरण गरियो । जार सरकारले लिएको ऋण नतिर्ने घोषणा गरियो । सरकारले शिक्षा, स्वास्थ्य निःशुल्क ग¥यो । कृषि क्षेत्रमा यान्त्रिकीकरण गरी कृषि उत्पादनमा उल्लेख्य वृद्धि गरियो ।”
समाजवादी क्रान्ति सफल पार्न लेनिनको नेतृत्वमा बोल्सेविक पार्टी स्थापना गरी सङ्घर्षशील, इमानदार, अनुशासित कार्यकर्ताहरू तयार पारी व्यापक मजदुर, किसान, सैनिक र कामदार वर्गबीच सङ्गठन विस्तार गरी कामदार वर्गको राज्य स्थापना गरेको प्रस्ट पार्दै उहाँले कम्युनिस्ट कार्यकर्ताहरू जेल, नेल, कालापानी निर्वासनको पर्वाह नगरी लागेकै कारण अक्टोबर समाजवादी क्रान्ति सफल भएको थियो भन्नुभयो ।
पार्टीभित्रकै संशोधनवादी र आत्मसमर्पणवादीविरुद्ध सङ्घर्ष गरिएको स्मरण गर्दे उहाँले विश्वका कामदार वर्गलाई समाजवाद नै पुँजीवादको विकल्प हो भन्ने कुरा बुझाउन सफल भएको पनि बताउनुभयो । उहाँले कम्युनिस्ट कार्यकर्ताहरू शत्रुको अगाडि कहिल्यै झुक्दैनन, कम्युनिस्टहरूको स्वार्थ भन्नु नै देश र जनताको निःस्वार्थ सेवा गर्नु हो, त्यहीँ शिक्षा लिएर नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरू लागिपरेका हुन् भन्नुभयो ।
देउवा सरकारले देश र जनताको हितमा भन्दा विदेशीको इसारामा काम गरिरहेको छ, केही महिनाको अन्तरालमा ३/३ पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरी बहुमत कामदार जनताको ढाड सेक्ने काम गर्दै छ, सरकार अमेरिकी साम्राज्यवादको पिछलग्गू भएर एमसीसी जसरी भए पनि संसद्बाट अनुमोदन गराउन चाहन्छ । देशभक्त नेपाली जनता र नेपाल मजदुर किसान पार्टी सो सम्झौता खारेज गराउन आन्दोलनमा छन्, उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले पुँजीपति वर्गले आफ्नो स्वार्थपूर्तिको लागि कमजोर राष्ट्रहरूमा आक्रमण गरी आफ्नो साम्राज्य कायम गरी उत्पादन भएका सामान बिक्री वितरण गर्न र बजार कब्जा गर्न युद्ध थोपरेको हुन्छ, युद्धबाट हारेका देशलाई आफ्नो साम्राज्य कायम गरी त्यहाँका कामदार वर्गलाई शोषण, दमन र अन्याय अत्याचार गरी प्राकृतिक श्रोत साधन कब्जा गरेको हुन्छ भन्नुभयो । उहाँले लेनिनको नेतृत्वमा बोल्सेविक पार्टीले सन् १९१७ मा अक्टोबर समाजवादी क्रान्ति सफल पारेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका सदस्य उपेन्द्र सुवालले समाजवादी अक्टोबर क्रान्तिबाट सिकेरै नेपालमा नेपाल मजदुर किसान पार्टीले निःस्वार्थरूपमा देश र जनताको हितमा लागिपरेको उल्लेख गर्दै एक दिन अवश्य समाजवादको विजय हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा निर्वाचित जनप्रतिनिधि राजकृष्ण गोराले भक्तपुर नगरपालिकाले गर्दै आएको गतिविधिबारे जानकारी दिनुभयो । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वको सभापतित्वमा भएको कार्यक्रममा आयोजक समितिका सदस्यद्वय, पूर्णगोपाल राजचल र कृष्णगोपाल चौगुठीलगायतले महान् अक्टोबर समाजवादी क्रान्तिबारे आ–आफ्नो विचार राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *