भर्खरै :

रोजगारी सिर्जनामा सहकारीको भूमिका

परिचय
अन्तर्राष्ट्रिय सहकारी एलान्सले सहकारीलाई संयुक्त स्वामित्व र लोकतान्त्रिक तरिकाले गठन गरिएको संस्थाको माध्यमबाट आफ्नो साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकताहरू र आकाङ्क्षाहरूलाई पूरा गर्नको लागि स्वैच्छिकरूपमा एकजुट भएका व्यक्तिहरूको एक स्वायत्त सङ्घको रूपमा परिभाषित गरेको छ । प्रजातान्त्रिकरूपमा स्वतन्त्रता र सामूहिक उद्देश्य प्राप्तिको लागि भन्ने कुरा परिभाषामा जोड दिइएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक आवश्यकताहरू र आकाङ्क्षाहरू पूरा गर्न एकजुट भएका व्यक्तिहरूको स्वैच्छिक सङ्घ हो, सहकारी ।
सहकारीले पश्चिमी युरोप, संयुक्त राज्य अमेरिका र अष्ट्रेलियामा १७ औँ शताव्दीमा ‘जीवन निर्वाह कृषि प्रणाली’ बाट ‘बजार अर्थ व्यवस्था कृषि प्रणाली’ मा रूपान्तरण गर्न महत्वपूर्ण योगदान दिएको थियो । १९१४ र १९५० को बीचमा पाँच प्रकारका सहकारीहरूको उदय भयो । इङ्गल्यान्डको उपभोक्ता सहकारी, फ्रान्समा कामदार सहकारी, जर्मनीमा साख सहकारी, डेनमार्क र जर्मनीमा कृषि सहकारी र आवास सहकारीहरू औद्योगिक युरोपको विभिन्न भागहरूमा देखा परे । दोस्रो विश्वयुद्ध पछि रुसमा सहकारीहरू केन्द्रीय प्राधिकरण योजनाअन्तर्गत समाजवादी सामूहिक उत्पादनको रूपमा सुरु भयो ।
सहकारी र बेरोजगारी
बजारमा प्रचलित ज्यालामा काम गर्न चाहेर पनि काम गर्न नपाएका मानिसहरूलाई बेरोजगारको रूपमा परिभाषित गरिएको छ । पछिल्लो परिभाषाअनुसार हप्तामा एक घण्टामात्र काम पायो भन्ने पनि त्यसलाई रोजगारमा गनिन्छ । बेरोजगारीको समस्या विश्वव्यापी मानव सामाजिक प्रयासकर्ताहरूलाई चुनौती दिइरहेको अवस्थामा कोरोनाले गर्दा बेरोजगारी समस्या इतिहासकै उच्च तहमा पुगेको छ । कोरोनाकै कारण विकासशील देशहरूमा अर्थ व्यवस्थाको गिरावटको कारण बेरोजगारी समस्या झनै बिकराल बनेको छ ।
सामाजिक अस्थिरता बेरोजगारीको कारण हो भन्ने कुरामा दुईमत छैन । मान्छे बाँच्नको लागि चोरीजस्ता असामाजिक कार्यमा संलग्न हुन्छन् । यतिमात्र होइन, बेरोजगारीको कारणले मानिसहरूले सामाजिक बहिष्कारको सामना गर्नुपरेका छन् । रोजगारीको अभावले उनीहरूको आयमा पहुँचको न्यूनतम अवसरले गर्दा उनीहरूलाई शिक्षा, खेलकुद र स्वास्थ्यजस्ता सामाजिक गतिविधिहरूमा सक्रिय सहभागिताबाट टाढा राख्छन् । सबैभन्दा ठूलो कुरा आर्थिकरूपबाट सक्रिय श्रमिकको पलायनबाट स्थानीय अर्थ व्यवस्थालाई प्रभावित गर्दछ । समग्रमा बेरोजगारीको कारणले गरिब जनताको जीविकोपार्जन कष्टकर रहेको हुन्छ ।
उच्च बेरोजगारी दर, भोकमरी र ग्रामीण समुदायहरूमा विद्यालय छोड्ने बच्चाहरूको सङ्ख्याबाट नेपालमा सामाजिक र आर्थिक अवस्थामा गिरावट आएको प्रस्ट हुन्छ । कोरोनाले गर्दा यो समस्या झनै बिकराल बनेको छ । एक तथ्याङ्कअनुसार कतिपय जिल्लाहरूमा ८५ प्रतिशतसम्म आर्थिकरूपमा सक्रिय श्रम शक्ति बेरोजगार छ । यो प्रवृत्तिमा खासै सुधार भएको छैन । यी परिस्थितिले गर्दा ग्रामीण अर्थ व्यवस्थालाई पुनर्जीवित गर्नको लागि आर्थिक गतिविधिलाई सहकारीको रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ ।
बेरोजगारी गरिबीसँग नजिकबाट जोडिएको हुन्छ । कम औद्योगिकृत देशमा गरिबीको दर उच्च छ जहाँ कममात्र रोजगारी सिर्जना हुन्छ । नेपाली श्रमशक्तिको १५.४४ प्रतिशत औद्योगिक क्षेत्रमा कार्यरत छन् र जीडीपीमा उनीहरूको योगदान १३.२९ प्रतिशत छ र १९.८६ प्रतिशत जनता सेवा क्षेत्रमा कार्यरत छन् । जीडीपीमा उनीहरूको योगदान ५०.६१ प्रतिशत थियो । पर्यटन उद्योगले मात्र २०१८ मा ६.७ प्रतिशत रोजगारी पायो । यसले बाँकी रोजगार चाहनेहरूले रोजगार नपाएको देखाउँछ । आधिकारिक तथ्याङ्कले देखाएअनुसार २०२० मा श्रमशक्ति सर्वेक्षणले बेरोजगारी बढेको देखाउँछ । सन् २०२० मा बेरोजगारीको दर ४.४४ थियो र यो २०१९ मा २.८४ बाट थोरै बढ्यो । २००० मा कामको खोजीमा रहेका बेरोजगारहरूको सङ्ख्या १.७७ प्रतिशत अनुमान गरिएको थियो । आधिकारिक तथ्याङ्कले देखाएको तथ्य वास्तविकताबाट पर छ ।
सहकारी एक रणनीति हो जसले गरिब र साधन स्रोतविहीन जनतालाई रोजगार दिएर बेरोजगार दरलाई घटाउनेछ । गरीब जनताको जीवन स्तर सा¥है न्यून छ र ग्रामीण क्षेत्रमा धेरै बेरोजगार छन् । बेरोजगारीको उन्मूलन र जीवन स्तरको सुधारमा योगदान गरेर सहकारी गरीब समुदायको हिस्सेदारी बनेको छ । साना स्तरका सहकारीहरूले स्वामित्व र श्रम आपूर्तिको दोहोरो भूमिका खेलिरहेका छन् । स्थानीयवासी आफूलाई लागेको कुरा राख्न पाउने र आफ्नो हितको लागि प्राथमिकता छनोट गर्ने अवसर पाएकोले ग्रामीण विकासको लागि सहकारीले महत्वपूर्ण भूमिका खेलेको छ । आफ्नो क्षेत्रभित्र धेरै मानिसहरूलाई रोजगार प्रदान गर्न साना स्तरका सहकारीले जोड दिनुपर्छ ।
एक अध्ययनअनुसार ग्रामीण क्षेत्रमा बेरोजगारी घटाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको छ । नेपालमाआर्थिक विकासका रणनीतिहरू स्थानीय स्व–सहायता र सामुदायिकआत्मनिर्भरताको मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको विज्ञहरू भन्छन् । ‘संरचनात्मक समायोजन’, ‘सामाजिक कल्याण’ र ‘माथिबाट तल सर्ने’ रणनीतिको असफलताले गर्दा नेपाली जनताको एक ठूलो हिस्सालाई आफ्नै स्रोतहरू माध्यान केन्द्रित राख्नु आवश्यक छ ।
सहकारीको विकास र बेरोजगारी कमीको बीच सकारात्मक सम्बन्ध रहेको विश्वास गरिन्छ । रोजगारी सृजना र आयआर्जनको रूपमा सहकारीको दायित्व रहेको छ । सहकारीको मूल्य र मान्यताको आधारमा समुदाय र सहकारीको बीच अभिन्न सम्बन्ध छ । सहकारी मूलतः सामुदायिक विकास अवसर वा चुनौतीहरूलाई सम्बोधन गर्छ । काम नपाएका सक्रिय श्रम रोजगारको खोजीमा बसाइसराइका कारण ‘बे्रन ड्रेन’ हुन जान्छ । सहकारीले हाम्रोजस्तो मुलुकको समस्याको रूपमा रहेका ‘बे्रन ड्रेन’ लाई ‘बे्रन ड्रेन’ मा बदल्न सक्छ ।
सहकारी र रोजगार सृजना
धेरै देशहरूमा सहकारीलाई बेरोजगारीे समस्या समाधानको विकल्पको रूपमा प्रयोग गरिएको छ । जर्मनी, फ्रान्स, संयुक्त राज्य अमेरिका, भारत र चीनमा बेरोजगारी समस्या समाधाननको लागि सहकारीलाई प्रमुख माध्यम बनाएको छ । यद्यपि, सहकारीलाई नियमन गर्ने नयाँनयाँ नीतिहरूको विकासको आवश्यकता अझै छ । रोजगारी सृजना गर्ने प्रयासमा ‘सहकारी’ आत्मनिर्भर उपाय रहेको धेरैको सोच छ ।
विश्वभरका सहकारीहरूद्वारा १० करोडभन्दा बढी रोजगारहरू सिर्जना गरिएको अनुमान छ । ग्रामीण क्षेत्रमा आय र रोजगारको प्रमुख स्रोत कृषि बनेको हुँदा अधिकांश सहकारीहरू कृषि क्षेत्रमा पाइन्छ । यसैले सहकारीले ग्रामीण समुदायहरूलाई रोजगार उपलब्ध गराउनमा महत्वपूर्ण भूमिका खेलेको छ भन्दा अति शयोक्ति हुनेछैन । सहकारीले प्रत्यक्ष रोजगारको साथसाथै मौसमी र आकस्मिक रोजगार प्रदान गर्छ । यसको अतिरिक्त सहकारीले किसानहरूलाई स्वरोजगार बन्न सक्षम बनाउँछ । सहकारीका सदस्य भएको कारणले नै उनीहरू खेती जारी राख्न र समुदायको विकासमा योगदान दिन सक्षम हुन्छन् । सहकारीको प्रभावले गरिब जनता आयआर्जन गर्नमा सफल हुँदा अन्य साना उद्यमहरू प्रवद्र्धन हुन सजिलो हुन्छ । यसले स्थानीय स्तरमा रोजगार वृद्धि हुन गई त्यसको गुणक प्रभावको माध्यमबाट अतिरिक्त रोजगार पैदा गरेको छ ।
सहकारी उद्यमले रोजगारी सिर्जना गर्छ जसले जनताको आयआर्जनमा सहयोग गर्छ । यसले उनीहरूको आवश्यकता पूरा गर्नसक्छ । रोजगारलाई बढावा दिनको लागि सहकारी उद्यम राम्रो उपाय हो । सामान्यतया सहकारी कर्मचारी सदस्यहरू र कर्मचारीहरूको परिवारका सदस्यहरूको लागि रोजगार सुरक्षामा अधिक जोड दिन्छन् । त्यसैगरी उचित ज्याला दिनु, लाभांशको वितरण, स्वास्थ्य क्लिनिक र स्कूलहरूको रूपमा सामुदायिक सुविधाहरू दिन सहकारीले जोड दिन्छ । स्व–सहायता, आत्म–जिम्मेवारी, लोकतन्त्र, समानता र एकता, सामाजिक जिम्मेवारी सहकारीको मूल्य र मान्यता रहेको छ ।
सहकारीले अर्थव्यवस्थाको सबै क्षेत्रहरूमा रोजगार प्रदान गर्दछ । उदाहरणको लागि उत्पादन, प्रशोधन, मार्केटिङ्ग, खरिद र बिक्रीको साथै वित्तीयसेवा, ऋण, स्वास्थ्य, बिजुली, पानी, आवास, पर्यटन र हस्तशिल्प केही नाम हुन् । सहकारीले कृषि क्षेत्रको स्थिरता बढाउने, उनीहरूको उत्पादनको बजार पहुँचमा सुधार ल्याउने र कृषि–खाद्य श्रृङ्खलामा किसानहरूको स्थिति सुदृढ गरी किसान परिवारहरूलाई वास्तविक आर्थिक लाभ प्रदान गर्दछ । किसानहरूको जीवनस्तरमा सुधार गरी गरिब समुदायहरूको सक्षमताको संरक्षण गर्दछ । सहकारीहरू प्रायः ग्रामीण समुदायहरूमा सेवाको एकमात्र प्रदायक हुन् । उदाहरणको लागि बिजुलीका सेवाहरू, जल संसाधनहरूको प्रवद्र्धन वा उपभोक्ता आपूर्ति हुन् जसले अन्य उद्यमहरूलाई स्थापित गर्न र वृद्धि गर्न सक्षम बनाउँछ । यसबाहेक सहकारी नीति लचिलो भएको हुँदा यसका सदस्यहरूको चाहनालाई सम्बोधन सजिलै गर्नसक्छ । धेरै देशहरूमा सहकारीको नयाँ रूपहरू विशेषगरी ग्रामीण क्षेत्रहरूमा गठन गरिरहेका छन् । क्यानाडाका ग्रामीण बासिन्दाहरूमा स्थानीय प्राधिकरण र अन्य उद्यमहरूलाई आफ्नो समुदायको लागि सेवाको प्रावधानलाई सम्बोधन गर्नको लागि उद्यमी सहकारी स्वरूप छनोट गरिएको छ । यसबाट ग्रामीण–सहरी पलायनलाई कम गर्न र ग्रामीण समुदायको संस्कृतिको संरक्षण भएको छ । अन्य देशहरूले पनि ग्रामीण क्षेत्रका मानिसहरूको आवश्यकतालाई सम्बोधन गर्न सामुदायिक हित सहकारी गठन गरिरहेका छन् ।
अन्तमा, सफल सहकारीको अनुभवलाई समेट्दै समुदायमै सेवा र उत्पादनहरू प्रदान गरेर सहकारीले स्थानीय पैसा बाहिर जानबाट रोक्नुपर्छ । आप्रवासीहरूको लागि सहकारीको नेटवर्कको माध्यमबाट सहरी र ग्रामीण दुबै समुदायमा पैसा घर पठाउँदा कम खर्चिलो बनाउन सहकारीले पहल गर्नुपर्छ । गरिब समुदायको लागि सहकारी सुरक्षित वित्तीय सेवाको एकमात्र प्रदायक हो । गरिब समुदायमाथि लगानी गर्न र उद्यम विकास गरी रोजगार सिर्जनाको थप अवसर प्रदान गर्न सहकारीले मद्दत गर्नुपर्छ । गरिब निमुखा जनतालाई नीतिगत मामिलामा आवाज उठाउन सहकारीले प्रेरित गर्नुपर्छ । आर्थिक क्षमता भएका जनता र समाजमा दबिएका जनतालाई सहयोग गरेर सामुदायिक पहिचानमा हुने वस्तु तथा सेवा उत्पादनको समस्यालाई सम्बोधन गर्नको लागि सहकारीले मञ्च प्रदान गर्नुपर्छ । सहकारीद्वारा रोजगार सृजना र आर्थिक विकासको लागि नयाँनयाँ सहकारीको दर्ता र पँुजी संरचनाको लागि सुधारिएको अवस्थाको सबैले अपेक्षा गरेका छन् ।
(भक्तपुर साकोसको रजत जयन्तीको अवसरमा प्रकाशित स्मारिकाबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *