भर्खरै :

अफगानी बालबालिकाको बिजोग

काबुल, २१ नोभेम्बर । शिक्षा, स्वास्थ्य र खुशियालीको बालअधिकार प्रवद्र्धन गर्न संसारभरका धेरै देशमा गत शनिबार बाल दिवस मनाइरहेको बेला युद्धग्रस्त अफगानिस्तानका अधिकांश बालबालिका भने आफ्नो परिवारको जीविकोपार्जनको निम्ति सडकमा काम गरिरहेका थिए ।
“म पहिला विद्यालयमा जान्थेँ । तर, हिजोआज म जान्नँ । किनभने हामी युद्ध र गरिबीको चेपुवामा प¥यौँ । बाँच्नको निम्ति मेरो बुबाले एउटा गाई किन्नुभएको छ । त्यसले दिएको दूधबाट मेरो परिवार पालिएको छ”, चौध वर्षका मलिकले शनिबार भने ।
तीन वर्ष पढेर विद्यालय छोड्नुपरेकोमा दुःख व्यक्त गर्दै मलिकले आफ्नो बुबाको कुनै रोजगारी नभएको बताए । घरको जेठो छोरो मलिकले नै परिवार चलाउन पैसा कमाउनुपरेको छ ।
गाईको लालनपालन गर्नुका साथै मलिकले विभिन्नथरी सामान मानिसका घर–घरमा पुगेर बेच्दै केही आम्दानी गर्ने गर्छन् ।
उनले आफ्नो गरिबीको मूल कारण नै युद्ध भएको बताए । चार दसकको युद्धले उनीहरूका सबै कुरा ध्वस्त भयो ।
प्राथमिक विद्यालयको पाँच कक्षामा पढ्ने अमिनुल्लाह पोपालजै पनि आफ्नो पढाइको विषयमा चिन्तित छन् । उनी पनि विद्यालयबाट फर्केर काममा जान्छन् । “मेरो बुढो बा काम गर्न सक्नुहुन्न । त्यसैले आम्दानी पनि छैन । त्यसकारण मेरो परिवार पाल्न मैले काम गर्नुपरेको छ”, उनले भने ।
यसरी नै परिवारको बोझ बढ्दै गए कुनै पनि दिन आफूले विद्यालय छोड्नुपर्ने हुन सक्नेमा उनी चिन्तित छन् ।
“हाम्रा बालबालिकालाई शिक्षाको खाँचो छ र म अन्तर्राष्ट्रिय समुदायसमक्ष अफगानी बालबालिकालाई विद्यालय पठाउनमा मद्दतको लागि आग्रह गर्छु”, काबुलका बासिन्दा अजिजले भने ।
अजिजका अनुसार धेरै अफगानी बालबालिकाको घरमा आम्दानी गर्ने कोही छैन, त्यसकारण उनीहरू आधा दिन विद्यालय गएर आधा दिन परिवारको पेट पाल्न कमाउनतिर लाग्नुपरेको छ ।
आज दसौँ लाख बालबालिकासहित २ करोड २० लाखभन्दा अफगानी जनता खाद्यान्नको अभाव भोगिरहेको संयुक्त राष्ट्र सङ्घीय नियोगले बताएको छ । उनीहरूले युद्धग्रस्त देशमा मानवीय सहायता पठाउन विलम्ब भए आउँदै गरेको जाडोयाममा ठूलो आपत आइलाग्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *