भर्खरै :

महाधिवेशनहरूको परिस्थितिले सिकाएको पाठ

काठमाडौँ, ९ मङ्सिर । नेपाली काङ्ग्रेस र एमाले देशका ठूला शासक दलहरू हुन् । ती दलहरूले कहिले आफ्नै एकल सरकार र कहिले संयुक्त सरकारहरूको नेतृत्व गरेकै हुन् । तर, नेकाको चौधौँ र एमालेको दसौँ पार्टी ‘महाअधिवेशन’ को चर्चा–परिचर्चा र गतिविधि हेर्दा नयाँ पात्रहरूले देशको ‘महानिर्वाचन’ अर्थात् संसद्को निर्वाचनको ‘रिहर्सल’ (पूर्वाभ्यास) को अनुभव गर्दै छन् ।
शासक दलहरूको महाधिवेशनले आगामी वर्षहरूको निम्ति आ–आफ्नो नयाँ घोषणापत्रको निम्ति नीति तयार गर्ने र त्यस नीति लागू गर्ने नयाँ नेतृत्वको निर्वाचन गर्ने हो । शेरबहादुर देउवा वा प्रकाशमान सिंह, रामचन्द्र पौडेल वा शशाङ्क कोइरालालाई छान्ने होइन कि कुनकुन नेताले कुन नीति अँगाल्ने हो भन्नेबारे निक्र्योल गरेर नेतृत्व छान्नुपर्ने हो । जुन नीतिको नेतृत्वले बहुमत पाउँछ भोलि त्यही नीतिको नेतृत्वले सरकार चलाउने तर्कसङ्गत राजनैतिक उपाय हो ।
त्यस्तै, एमालेमा पनि कसलाई अध्यक्ष र महासचिवमा छान्ने भन्ने होइन कुन नीतिका नेताहरूलाई नेतृत्वमा ल्याउने हो भनी सोचेर प्रतिनिधिहरूले एउटा निश्चित नीतिका नेताहरूलाई नेतृत्व प्रदान गर्ने हो । तर, व्यवहारमा व्यक्ति प्रधान, जातजाति प्रधान, भाषा, धर्म र प्रदेश प्रधान ढङ्गले राजनैतिक दलहरूको नेतृत्व चयन गर्ने छाँटकाँट देखिँदै छ ।
समय–समयमा प्रारम्भिक पार्टी सदस्यहरूले पार्टीलाई आवश्यक चन्दा दिएका छन्÷छैनन्, पार्टी कक्षा, बैठक, प्रदर्शन तथा जन–सभाहरूमा सहभागी भए÷भएनन्, समाज र जनताको हितमा निःस्वार्थरूपले लागेका छन्÷छैनन्, अनुशासित छन्÷छैनन् भन्नेबारे माथिल्ला समितिहरूले छानबिन गर्ने र रिपोर्टहरू दुरुस्त राखेका भए महाधिवेशनमा भाँडभैलो कम हुन्थ्यो । निर्वाचनको मिति घोषणा भएपछि नेतृत्वका आकाङ्क्षी नेताहरूले सत्तामा पुग्ने उद्देश्यले नै प्रारम्भिक तहबाटै आ–आफ्ना पक्षमा मत दिने व्यक्तिहरूलाई सदस्यता प्रदान गर्ने प्रतिस्पर्धा गरे । त्यसकारण, मतदानको बेला कुटपिट र अनेक अनियमितताका घटनाहरू सार्वजनिक हुनु स्वाभाविक हो ।
माथिल्ला स्तरका व्यापारी, ठेकेदार, गिटी र बालुवाका व्यापारी, घर–जग्गाका दलाल र अपराधीहरूसमेत आ–आफ्नो स्वार्थ पूरा गर्ने र ‘नाफा’ खाने उद्देश्यले ती शासक पार्टीको नेतृत्वको एक न एक गुटमा सरिक भए । ती पार्टीमा यस्ता अनेक अराजनैतिक दृश्य र गतिविधि देखिए ।
हरेक कार्यकर्ताले आफूहरूलाई केन्द्रीय सदस्यमात्र होइन अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव पदहरूको दाबी र हकदार सम्झे ।
आफ्नो योग्यता र क्षमतालाई आफूले भन्दा अरूलाई मूल्याङ्कन गर्न देऔँ भन्ने भावनाले काम गर्न दिने प्रवृत्ति भएमा अहिलेको भद्रगोल स्थिति विस्तारै सङलो हुने थियो । त्यस्तै जातजाति, भाषाभाषी, क्षेत्र र महिलाहरूलाई ‘आरक्षण’ वा ‘सहभागी’ गराउने, युवा, विद्यार्थी र बुद्धिजीवीहरूलाई पनि पार्टी नेतृत्वमा स्थान दिनेबारे निश्चित नीति र समझदारी आवश्यक देखियो । यसकारण, तलका केही उद्देश्य र कारणबारे ध्यान दिए छलफलको निम्ति उपयुक्त आधारको उपाय हुनसक्छ –
१) जाति, जन–जातिका साथीहरू आफ्नो क्षेत्रमा सङ्गठन विस्तार गर्दै स्थापित हुनु आवश्यक छ । नत्र, ती जाति र जनजातिका साथीहरूलाई अवसर दिनुको उद्देश्य व्यापक जनताको चेतना स्तर विकास गर्नुभन्दा एक–दुई जनालाई पदमा पु¥याउनु र बहुमतलाई दर्शक बनाउनु मात्र हुनेछ ।
२) महिलाको हकमा पनि यही परिणाम समाजले भोग्दै छ । नयाँ–नयाँ महिला नेतृहरू समाजले खोज्दै छ ।
३) बुद्धिजीवी साथीहरूले पनि आ–आफ्नो ज्ञान र बुद्धिले व्यापक कार्यकर्ताको सांस्कृतिक स्तर उठाउन अथक मेहनत गर्नु आवश्यक छ । नत्र, सांस्कृतिक स्तर नउठेका साथीहरूले आफूहरू शोषित भएको अनुभव गर्नेछन् र बुद्धिजीवीहरूलाई भाग खोज्न आउने समूहको रूपमा हेर्नेछन् ।
४) युवा साथीहरूले पनि आफूलाई माथिबाट विशेष सहयोग र दृष्टि पुगोस् भनी आशा गर्नुभन्दा आ–आफैले सङ्गठन विस्तार, अध्ययन र गतिविधिबाटै आफू तलदेखि माथिसम्म योग्य र सक्रिय भएको सावित गर्नु आवश्यक छ ।
५) विद्यार्थीहरू पनि जाति, भाषा, क्षेत्र र लिङ्गको आधारमा अधिकारी सम्झनुभन्दा सङ्गठन, अध्ययन, सेवा र सङ्घर्षबाटै खारिँदै योग्य सावित हुन रचनात्मक ढङ्गले लाग्नु आवश्यक छ ।
६) पार्टीका समर्थक, सहयोगी र सहानुभूति राख्ने साथीहरूको पार्टीमा सक्रिय र देखिने साथीहरूभन्दा चौतर्फीरूपमा पार्टीलाई देखिने वा नदेखिने गरी तन, मन र धनको सहयोग निरन्तर आवश्यक हुन्छ ।
७) गुण्डा र डनहरूबाट राजनैतिक दलहरू र सिङ्गो देशको राजनीतिबाट जोगाउनुपर्छ नत्र, पञ्चायतजस्तै प्रजातन्त्र र गणतन्त्र पनि तल झर्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *