भर्खरै :

‘अमेरिकी शैलीको प्रजातन्त्र’ ले बोतलबाट भूत निकाल्छ

जनवरी ६ मा संरा अमेरिकी क्यापिटोल विद्रोहको वर्ष दिन पुग्यो । वासिङटनले त्यस दिनको सम्झनामा ठाँटबाँटसहित विभिन्न कार्यक्रम आयोजना ग¥यो । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबारको आफ्नो भाषणमा त्यस दिन “प्रजातन्त्रमाथि आक्रमण भएको थियो, खालि आक्रमण भएको थियो” भने । उनले पूर्वराष्ट्रपतिको ‘झुटको जालो’ लाई तारो बनाए । केही रिपब्लिकन सांसदहरूले दङ्गालाई आफ्नो निहीत स्वार्थपूर्तिको निम्ति डेमोक्र्याटहरूले दुरूपयोग गरेको आरोप लगाए । ‘अमेरिकी शैलीको प्रजातन्त्र’ को सङ्कट यही टुङ्गिन्न । बरु यसले दुई दलहरूबीचको शत्रुता झन्झन् गहिरो बनाइदिएको छ । उक्त सङ्कट राजनीतिक तानातानको लागि ‘मुहान’ बन्दै छ ।
२०२१ जनवरी ६ मा ट्रम्पका एक हुल समर्थकहरूको संसद् भवन (क्यापिटोल) को हाताभित्र पसे र सारा संसारको ध्यान तान्दै भवनमा ढुङ्गामुढा गर्ने, तोडफोड गर्ने, लुट्ने र जलाउने काम गरे । प्रदर्शनकारीहरू प्रहरीसँग भिडे । भिडन्तमा पाँचजनाको मृत्य भयो र धेरै घाइते भए । २०० वर्षपछि पहिलोपटक क्यापिटोल भवनमा तोडफोड गरिएको थियो । दृश्यको अर्को दुःखद पक्ष के थियो भने ‘अमेरिकी शैलीको प्रजातन्त्र’ को मुकुन्डो च्यातिएको थियो । संरा अमेरिकाको सबैभन्दा उच्च राजनीतिक दरबारमा रगताम्य हिंसा भयो र त्यसले ‘अमेरिकी शैलीको प्रजातन्त्र’ को बिम्ब च्यातिदियो । वासिङटनका राजनीतिक घरानाहरूले त्यसलाई जोड्न जति नै बल लगाउन खोजे पनि त्यो बिम्ब कहिल्यै ब्युँततिने छैन । संसारलाई सिकाउन अब त्यसको प्रयोग गर्न सकिने छैन ।
दुनियाँले यी सबै दृश्य हेरेका छन् । अमेरिकी राष्ट्रपति सरकारविरोधी प्रदर्शनकारीहरूका सबैभन्दा ठूला उत्प्रेरक बने । अमेरिकी समाजमा घृणा र झूटहरूको रजाइँ छ । वासिङटनका राजनीतिज्ञहरूले अन्य देशहरूमा हिंसात्मक प्रदर्शनकारीहरूलाई ‘राष्ट्रिय वीरहरू’ र ‘प्रजातन्त्रका योद्धाहरू’ भनेर महिमा मण्डन गर्ने गर्छन् । तर, त्यस्तै अमेरिकी प्रदर्शनकारीहरूलाई क्यापिटोलका ‘दङ्गाकारी’ र ‘लज्जास्पद’ भने । ‘अमेरिकी शैलीको प्रजातन्त्र’ को आन्तरिक स्खलनका गहिरा राजनीतिक र सामाजिक जराहरू छन् । यसले निम्त्याएका परिणामहरू झन् गम्भीर र पछिसम्म प्रभाव पार्ने खालका छन् । तर, यी सबैलाई वासिङटनका राजनीतिक घरानाहरूले जानाजान वा नजानीकन बेवास्ता गर्दै आएका छन् । गत वर्षको सम्झँदै गर्दा उनीहरूले गाँठी कुरा बिर्से वा सतही बने थाहा छैन । तर, यसले गर्दा वास्तविक समस्याहरू नसुल्झिने र अझ विध्वंश निम्त्याउने स्पष्ट छ ।
क्यापिटोल दङ्गाले विश्वलाई ‘अमेरिकी शैलीको प्रजातन्त्र’ मा गहिरो रोग छ भनी देखायो । तर, वासिङटनलाई यसलाई खालि ‘केही कुहिएको आलु’ भन्यो । उनीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प आफै ‘अमेरिकी शैलीको प्रजातन्त्र’ का उपज हुन् भन्ने कुरा बिर्सेको देखिन्छ । एक वर्ष बितिसक्दा पनि संरा अमेरिकामा सामाजिक विभाजन, राजनीतिक ध्रुवीकरण, जातीय द्वन्द्व र सम्पत्तिको असमानतालगायत समस्याहरू कम भएका छैनन्, बरु झन् चर्केका छन् । पछिल्लो सर्वेक्षणअनुसार ‘अमेरिकी शैलीको प्रजातन्त्र’ माथिको अमेरिकीहरूको गर्वबोध एक्कासि खस्केको छ । २००२ मा ९० प्रतिशत रहेको सो गर्वबोध अहिले ५४ प्रतिशतमा झरेको छ । सोही मत सर्वेक्षणले ३४ प्रतिशत उत्तरदाताहरूले सरकारविरुद्ध हिंसात्मक कारबाही कहिलेकाहीँ सही हुने विश्वास गरेको पाइएको छ । यस्तो भन्ने यो यस दशककै ठूलो सङ्ख्या हो । ‘अमेरिकी शैलीको प्रजातन्त्र’ ले बोतलबाट भूत निकाल्यो । यसले वासिङटनका राजनीतिक घरानाहरूलाई तर्साएको छ । केही अमेरिकी बुद्धिजीवीहरूले अझ निराशापूर्ण अनुमानहरू गरेका छन् । उनीहरूले आउँदो ३ देखि ४ वर्षसम्म अमेरिकामा ठूलो आकारका हिंसात्मक द्वन्द्वहरू देखिने, सङ्घीय सरकारहरू ढल्ने र देश रातो र निलो गरी दुई शत्रुतापूर्ण शिविरमा टुक्रिने बताए ।
यस्तो स्थितिले संरा अमेरिकालाई सम्भावित भाँडभैलोको ठूलो स्रोतमा फेर्दै छ । अन्तर्राष्ट्रिय जगत अमेरिकाले आफ्नो यो रोगको उपचार गर्नसक्छ भनी नम्र आशा लिएको छ । तथापि, हामी के देखिरहेका छौँ भने ‘अमेरिकी शैलीको प्रजातन्त्र’ सिकिस्तै हुँदा पनि उपदेश छाँटिरहेको छ र अन्य देशलाई यसो गर, उसो गर भन्दै छ । यसले मानिसहरूलाई उदेक लगाउँछ, चिन्तित बनाउँछ । राष्ट्रपति बाइडेनले १४० भन्दा धेरै देशका नेताहरूले आफूलाई “अमेरिका ठीकठाक बन्नेछ त ? अमेरिकाको प्रजातन्त्र के होला ?” भनी सोधेको बताए । तैपनि, अमेरिकाले कथित प्रजातन्त्रको लागि सम्मेलन आयोजना गर्ने आँट ग¥यो ।
संसद्का प्रवक्ता न्यान्सी पेलोसीले कुनै बेला हङकङको प्रदर्शनलाई हेर्नुपर्ने सुन्दर दृश्य भनेका थिए । उनैले क्यापिटोल दङ्गाको पहिलो वार्षिकीमा मिडियालाई अन्तर्वार्ता दिँदै प्रजातन्त्रले जित्यो र अमेरिका बाँचिरहनेछ भने । वासिङटनका घरानियाँहरूको चुरीफुरी र अहम् अमेरिकी रोगको अङ्ग बनिसकेको छ । ‘अमेरिकी शैलीको प्रजातन्त्र’ र पश्चिमा उदारवादको विश्वभरि अझै पनि बजार र प्रभाव छ भन्ने कुरामा शङ्का छैन । तर, त्यसको विषयमा घोत्लिने, प्रश्न गर्ने र त्यो भन्दा पनि पर गएर सोच्ने काम संरा अमेरिकाबाहिर भइराखेको छ । चीनलगायत केही मुलुकहरूले आफू सुहाउँदो प्रजातन्त्रको बाटो पहिल्याउँदै छन् । तिनीहरूले उल्लेख्य उपलब्धिहरू हासिल गरेका छन् ।
सायद ‘प्रजातान्त्रिक प्रभुत्व’ ढलेपछि नै मानवताको प्रजातन्त्र जुर्मुराउने र फक्रिनेछ । आज संरा अमेरिकाको प्रजातन्त्रको भाष्य धर्मराउँदै छ । गएको वर्षको अन्त्यतिर सम्पन्न कथित प्रजातन्त्रको लागि सम्मेलनले यो कुरा प्रस्ट्याइसकेको थियो । मञ्चमा उभिएका नेताहरूले खोक्रा नाराहरू फत्फताइरहेका थिए र दर्शकहरू तल बसेर झोँक्राइरहेका थिए ।
(ग्लोबल टाइम्सको सम्पादकीय)

Leave a Reply

Your email address will not be published. Required fields are marked *