भर्खरै :

बजारमा सिटामोलको अभाव

काठमाडौँ, ४ माघ । कोभिड–१९ को महामारी उत्कर्षमा पुगेको समयमा बजारमा ज्वरो निको पार्न सेवन गरिने पारासिटामोल औषधिको अभाव भएको छ । पारासिटामोलका चक्की उत्पादन गर्दै आएका कम्पनीहरूले उत्पादन बन्द वा कम गरेपछि सर्वसाधारणलाई निकै खाँचो हुँदा आधारभूत औषधिको अभाव भएको हो ।
नेपाल सरकारको मातहतमा रहेको नेपाल औषधि लिमिटेडलगायत केही निजी औषधि कम्पनीहरूले पारासिटामोल उत्पादन गर्दै आएका छन् ।
“कोभिडको दोस्रो लहरदेखि नै पारासिटामोलको अभाव हुन थालेको हो । उत्पादकले औषधि नै उत्पादन गर्न बन्द गरेपछि बजारमा त अभाव हुने नै भयो”, भक्तपुरको कमलविनायकस्थित औषधि पसलका एक कर्मचारीले भने ।
प्रतिगोटा पारासिटामोलको अहिलेको बजार मूल्यमा उत्पादन गर्दा घाटा हुने भएकोले अधिकांश उत्पादकले त्यो औषधिको उत्पादन नै बन्द गरेको बताइन्छ । भारतबाट आयात गरिने सिटामोलका कच्चा पदार्थको मूल्य निकै महँगो भएको अवस्थामा पुरानै मूल्यमा उत्पादन गर्दा उत्पादकहरू घाटा पर्ने भएपछि उत्पादन बन्द गरेका हुन् । तर, त्यसको मार भने सर्वसाधारण जनताले भोग्नुपरेको छ ।
सिटामोलको अभाव भएपछि सिटामोलको विकल्पमा खाइने अन्य औषधिको बजारमा क्रमशः कमी हुन थालेको बिक्रेताहरूले बताएका छन् ।
कोभिड–१९ महामारीमा सङ्क्रमितहरूलाई ज्वरो आउने, रुघा लाग्ने र टाउको दुख्ने जस्ता लक्षण देखिने गरेको छ । स्वास्थ्यकर्मीहरूले सङ्क्रमितलाई ज्वरो आएको अवस्थामा सिटामोल खान सल्लाह दिने गरेका छन् । तर, बजारमा सिटामोलको अभाव भएपछि अन्य वैकल्पिक औषधिको प्रयोग गर्नुपर्ने भएको छ ।
नेपाल औषधि लिमिटेड हाल स्यानिटाइजर उत्पादनमा सीमित भएको छ । लामो समय थला परेको लिमिटेडले केही समयअघि सिटामोल उत्पादनलाई चालु राखे पनि हाल बजार मूल्यको समस्याले उत्पादन नै बन्द गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *