भर्खरै :

यात्रा पिता र पुत्रको – ८

(यात्रीहरू सबै अगेनाको वरिपरि झुम्मिएर आगो ताप्छन्)
पहिलो मान्छे– हिजोको कुरा बाँकी छ काका !  आज नि सुनाऊ !
ज्ञानका कुरा सुन्नु नै पर्ला राम्ररी बताऊ !
पिता– सुन्दै जानू बुझ्दै जानू समाजका यी कुरा,
जनतालाई गुरु सम्झी कमाउनू ज्ञानका कुरा ।
हिजोको कुरा कहाँ पुग्यो होला मलाई नै सम्झाऊ !
सम्झना शक्ति कमजोर भयो अहिले लौ बताऊ ।
तेस्रो मान्छे– वर्गको स्वार्थ सुनेर हामी सुत्न थालेको
सङ्घर्षबारे भोलिको लागि थाती राखेको ।
पिता– सम्झना भयो दिमाग खुल्यो धन्यवाद तिमीलाई,
समाजको कुरा राम्ररी मैले सुनाउँला सबैलाई ।
राम्ररी सुन मनले गुन नगरौँ हतार,
सही वा गलत छुट्याउन व्यवहारमा उतार ।
वर्गसङ्घर्षमा जसको हुन्छ जित उसैको हुन्छ शासन,
हार्नेलाई दबाउन जित्नेले बनाउँछ कानुन ।
कानुनले पूरा गर्दछ स्वार्थ जित्ने वर्गको,
हार्नेलाई दबाउने कानुन नै हतियार हो ।
सङ्घर्षमा जित्नको लागि नीति निर्माण गर्दछ,
त्यही नीति नै समाजमा राजनीति बन्दछ ।
राजनीति पनि हुन्छ हेर धनी र गरिबको,
राजनीतिले गर्दछ सेवा आफ्नै वर्गभाइको ।
आगो र पानी जत्तिकै छ यहाँ दुई राजनीति,
वर्गअनुसार रोज्छन् मान्छे आफ्नो राजनीति ।
धनीको राजनीतिले गर्दछ सेवा धनी वर्गकै,
गरिबको राजनीतिले गर्दछ सेवा गरिब वर्गकै ।
शासन जोगाउन जित्नेले उपाय अनेक गर्दछन्,
फकाउने फुल्याउने धम्क्याउने काम अनेक गर्दछन् ।
जित्नेको विरुद्धमा किचलो गर्दा प्रहरी – सेना बोलाउँछन्,
नाना थरी आरोप लाई झ्यालखाना कोच्दछन् ।
मुद्दामामिला झ्यालखानाजस्ता हाउगुजी देखाउँछन्,
उपाय कुनै नचलेपछि यातना नै दिँदछन् ।
त्यसैले त भनेको हो नि, अड्डा–अदालत कानुन,
राजसत्ता हो प्रहरी सेना र झ्यालखाना सबै जानून् !
पुत्र– हाम्रो देशमा पार्टी छन् अनेक राजनीति अनेक होइन र ?
दुईथरी मात्र राजनीति कसरी हजुरको कुरा मिल्छ र ?
पिता– मिल्छ बाबू मिल्छ हेर कुरा मेरो साँचो छ,
अनेकौँ पार्टी भए तापनि राजनीति मात्रै दुइटा छ ।
वर्गविहीन समाज र वर्गीय समाज बनाउने नीति हो,
भेडा भेडातिर बाख्रा बाख्रातिर गर्दा बन्न जाने दुइटा हो ।
(पुत्रले हाई काढ्छ)
पुत्र– यो कुरा अहिले थाती राखौँ, भोलि अर्काे सुनौँला,
भालेको डाकसँगै उठ्नुपर्छ, अहिले त म सुतौँला ।
पिता– सुतौँ सुतौँ रात छिप्यो, गाउँ घुम्नुपर्दछ,
सकेको सहयोग गरेर हामी मायाको खानी जानुपर्दछ ।
(सबै अगेना वरिपरि पल्टिन्छन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *