युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
मस्को सन्धिको प्रभाव
फ्रान्समा मस्को सन्धिको धुमधाम स्वागत भयो । यसलाई त्यहाँको सल्लाहकार सभाले फ्रान्सको महान् उपलब्धि भन्यो । विद्वानहरूको विचारमा सो सन्धि फ्रान्सेली इतिहासको कोसेढुङ्गा बन्यो । दे गाल आफैले पनि सन्धिको लागि सोभियत सङ्घको तारिफ गरेका छन् । सन्धि गर्नुका पछाडि दे गालको विदेश नीतिका तीन पक्षहरूबारे चर्चा हुन्छ । पहिलो पक्ष जर्मनीप्रतिको दे गालको डर थियो । दोस्रो पक्ष, दे गालले बेलायती र अमेरिकी विदेश नीतिबाट आफूलाई अलग देखाउन चाहेका थिए । तेस्रो, फ्रान्सको एकतामा सो सन्धिले महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट थियो । सन्धिपछि देशमा दे गालले अलग्गै मान्यता पाए । उदारवादीहरूले सन्धिलाई ठूलो महत्व दिए । त्यस्तै, कम्युनिस्टहरूले पनि त्यसले फ्रान्सको विदेश नीतिमा कायापलट ल्याउनसक्ने ठाने ।
पछि फ्रान्सेली शासकहरूको कम्युनिस्टविरोधी धारले मस्को सन्धिलाई निस्तेज पार्दै लग्यो । तर, यही सन्धिका कारण फ्रान्सले अन्तर्राष्ट्रिय मञ्चमा स्थान पाउँदै गयो । याल्टा सम्मेलनमा फ्रान्स थिएन । तर, सम्मेलनले जर्मनीको एउटा भाग फ्रान्सलाई दिने र फ्रान्सलाई सोभियत सङ्घ, अमेरिका एवम् बेलायतसँगै मित्र देशको नियन्त्रण परिषद्मा राख्ने तय ग¥यो । त्यस्तै, सन् १९४५ को पोट्सड्याम सम्मेलनले फ्रान्सलाई युद्धले निम्त्याएका समस्याहरूलाई शान्तिपूर्ण निराकरण गर्न गठन गरिएको विदेशमन्त्रीहरूको परिषद्मा राख्यो । युद्धमा पराजित देशले समेत विजेताहरूको टेबलमा स्थान पाउँदा जर्मनीका फिल्डमार्सल किटेल पनि चकित परेका थिए ।
यसरी मस्को सन्धिबाट फ्रान्स शक्ति राष्ट्रको स्थानमा उक्लियो । खासमा फ्रान्सलाई यो सोभियत सङ्घको उपहार थियो । यसले गर्दा दे गाललाई कूटनीतिक क्षमता भएको व्यक्तिको रूपमा हेरिन थालियो । तर, जर्मनीको विभाजनमा उनको अडान प्रभावकारी हुन सकेन । उनले राइन नदीलाई प्राकृतिक विभाजन बनाएर नदीबाट पश्चिमको भाग फ्रान्सलाई दिनुपर्ने कुरामा जिरह गरे । कुनै बेला उनकै पुस्तक ‘पेशेवर सेनातर्फ’ मा आधुनिक सैन्य प्रविधिलाई प्राकृतिक अप्ठ्याराहरूले छेक्न नसकिने निष्कर्ष निकालेका थिए । जर्मनीलाई अनेक टुक्रामा विभाजन गरेर सङ्घीय शासन लागु गर्नुपर्ने उनको अर्को तर्क थियो । यो तर्क पनि अव्यावहारिक हुनाले उनको कुरा कसैले सुनेन ।
सन् १९४५ को पहिलो ६ महिनामा केही कूटनीतिक विवादहरू देखापरे । याल्टा र पोट्सड्यामको बदला लिन खोज्दा यस्तो खटपट भएको थियो । दुवै सम्मेलनले फ्रान्सलाई स्थान दियो तर दे गालले तिनलाई बेवास्ता गरेझैँ गरे । खासगरी रुजवेल्टले दे गाललाई शक्तिशालीमा गन्न चाहेका थिएनन् । त्यसैले उनी रुजवेल्टसँग रिसाए । क्रिमियाबाट फर्किँदा रुजवेल्टले दे गाललाई अल्जायर्समा भेट्न चाहे तर दे गाल मानेनन् । यसले गर्दा फ्रान्समा उनीप्रति असन्तोष बढ्यो । रुजवेल्टले याल्टा सम्मेलनमा दे गाललाई ‘मान खोज्ने’ भनेर व्यङ्ग्य गरेका थिए । त्यस्तै, चर्चिलसँग पनि दे गालको मनमुटाव भइरह्यो । फ्रान्सले सिरिया र लेबनानबाट मुखले सेना फिर्ता लाने बतायो तर कार्यान्वयन गर्न हतारो गरेन । यसले गर्दा चर्चिल दे गालसँग चिढिए । दे गालले यसलाई फ्रान्सको अपमान बताए ।
बदलिँदो नीति
बाहिर जे भने पनि फ्रान्सको विदेश नीति बेलायत र अमेरिकातिर ढल्किँदै गयो । वास्तवमा फ्रान्सको आर्थिक अवस्था खस्किँदै थियो । आर्थिकरूपमा ऊ अमेरिकानिर्भर थियो । सन् १९४२ देखि अमेरिकाले फ्रान्सलाई सहयोग गरिरहेको थियो । रुजवेल्टको लेन्ड–लीज सहयोग फ्रान्सले पनि पाएको थियो । यस्तैमा सन् १९४५ अगस्टमा दे गाल आर्थिक सहयोग लिन अमेरिका गए । रुजवेल्टको मृत्युपछि नयाँ राष्ट्रपति ट्रुमेन आइसकेका थिए । ट्रुमेनले दे गाललाई उपहारको रूपमा एउटा विमानसँगै एक अमेरिकी सैन्य पदवी पनि दिए । साथै, फ्रान्सलाई ६५ करोड अमेरिकी डलर दिने घोषणा गरे । उपकार गरेर ट्रुमेनले फ्रान्सलाई आफूतिर तान्न चाहन्थे । खासमा हिटलरविरोधी गठबन्धन टुक्राएर उनी शीतयुद्धको तयारी गर्दै थिए ।
पहिले दे गालले युरालदेखि जिब्राल्टरसम्मको कुरा गर्थे । अब उनले पश्चिम युरोपेली देशको मात्र कुरा गर्न थाले । सेप्टेम्बर १० मा उनले ‘टाइम्स’ पत्रिकालाई दिएको अन्तर्वार्तामा यस्तो विचार राखे । फ्रान्स शक्ति राजनीतिको गुटबाजीमा लाग्ने सङ्केत देखियो । पहिले उनी फ्रान्सलाई पूर्व र पश्चिम जोड्ने कडी मान्थे । उनले आफ्नो नयाँ नीतिलाई अलग्ग देखाउन खोजे । तर, फ्रान्स अमेरिकाको खर्चमा बाँच्न सुरु गरिसकेको थियो । त्यसैले उनको फूर्तिफार्तीलाई फ्रान्सका अन्य राजनेताहरूले राम्रो मानेनन् । फ्रान्सका पुँजीपतिहरू दे गाल अमेरिका र बेलायतबाट अलग्गिन खोजेकोमा आत्तिए ।
बिस्तारै दे गालको विदेश नीति युद्धको बेलाजस्तो स्पष्ट रहेन । सोभियत सङ्घ उपनिवेशवादको विपक्षमा थियो । त्यसैले आफ्ना उपनिवेशहरूको साँचो आफूसितै राख्न फ्रान्स बेलायती र अमेरिकी शरणमा पर्नुपर्ने भयो । त्यसो नगर्दा आफ्नो राजनीतिक वर्चस्वमा कमी आउने दे गालले बुझे ।
प्रतिरोध सङ्घर्षले फ्रान्सेली जनता जागेका थिए । दे गालले कामदार जनता पनि ‘देशभक्त र क्रान्तिकारी’ बने भनी प्रशंसा गरेका थिए । फ्रान्समा कम्युनिस्ट र समाजवादीहरूको प्रभाव बढिरहेको थियो । तैपनि सत्ता दे गालकै हातमा थियो । कम्युनिस्टहरूको लोकप्रियताले गर्दा दे गाल उनीहरूसँग हात मिलाउन बाध्य थिए । यसले गर्दा विरोधी वर्गहरू एकै सुत्रमा बाँधिनुप¥यो । तर, यो सम्बन्ध काँचो धागोले बाँधिएको जत्तिको बलियो थियो । जनताको मन जित्न दे गालले प्रतिरोधको राष्ट्रिय परिषद्ले तय गरेका कार्यक्रमहरूलाई लागु गर्न थाले । उनले केही कोइला खानी राष्ट्रियकरण गरे । खानी राष्ट्रियकरण गर्ने खबर सुनेर रेनो नामका एक पुँजीपति हृदयघातले मरेका थिए । त्यसपछि दे गालले मोटर गाडी, विमान र जलबेडासँग जोडिएका उद्योगहरू तथा तेल र ग्यास प्रशोधन केन्द्रहरू राष्ट्रियकरण गरे । अनि, उनले केन्द्रीय बैङ्क र बिमा कम्पनीहरूलाई राष्ट्रियकरण गरे । यसको लागि उनले पुँजीपतिहरूलाई चित्तबुझ्दो मुआब्जा दिएका थिए । राष्ट्रियकरणलाई पुँजीपतिहरूको लागि नाफादायी बनाउन कर्मचारीतन्त्रलाई विज्ञतन्त्रले विस्थापित गरिएको थियो । यसरी फ्रान्स एक राज्यनियन्त्रित पुँजीवादी देश बन्यो ।
दे गालले श्रमिकहरूलाई केही सहुलियत दिए । सामाजिक सुरक्षाको नीति लागु भयो । कामदारहरूको ज्याला बढ्यो । तर, छिट्टै फ्रान्समा बजारभाउ अकासियो । यसले गर्दा श्रमजीवीहरूको जीवनस्तर जस्ताको तस्तै रह्यो । पुँजीपति वर्गलाई खालि आफ्नै जीवनस्तरसँग चासो थियो । दे गालले उनीहरूकै सेवासुविधाको पक्ष लिए । अर्थतन्त्रको नोक्सानी श्रमिकहरूले उठाउनुप¥यो । बढ्दो महँगीले उनीहरूको जीवन नर्कतुल्य बनाइदियो । दे गालका अर्थमन्त्रीले अलग्गै मौद्रिक नीति लिएर देशको वित्तीय अवस्था सुधार्न चाहेका थिए । अर्थमन्त्री मेन्डेसले युद्धमा कालोधन्दा गरेर मोटाएका पुँजीपतिहरूको सम्पत्ति जफत गरेर मूल्यवृद्धि घटाउने सोचेका थिए । पुँजीपतिहरूको लोलीमा बोली मिलाउँदै दे गालले त्यसो गर्न दिएनन् । त्यसैले मेन्डेसले राजीनामा दिए । दे गालले उनलाई भने, “तर, विज्ञहरू तपार्इँको खिलाफमा छैनन् र ?” उत्तरमा मेन्डेसले भनेछन्, “मैले युद्धअघि सारा विज्ञहरूले विरोध गरेका कर्नेल दे गाललाई चिनेको छु ।”
दलीय व्यवस्था
युद्धअघिजस्तो दे गाल अब एक्लै रहेनन् । अगाडि उनीसँगै रहेका साथीहरू कमजोर बनिसकेका थिए । पुँजीपतिहरूको सेवा गरेको हुनाले उनी पुँजीपतिहरूले घेरिए । राजनीतिक दलहरू क्रियाशील भइसकेका थिए । दे गाललाई दलीय व्यवस्थामा विश्वास थिएन । तैपनि उनले आफ्नो पक्ष लिनसक्ने राजनीतिक दलहरू खोज्न थाले ।
युद्धमा ठूलो वीरता देखाएको हुनाले कम्युनिस्टहरू लोकप्रिय हुँदै गए । कम्युनिस्ट पार्टीको सदस्य सङ्ख्या १० लाख पुग्यो । दे गाललाई सघाएको भए पनि उसले उनको आलोचना गर्न छोडेन । त्यस्तै, समाजवादी पार्टी पनि प्रभावशाली थियो । सुरुमा समाजवादी दलले दे गाललाई सघाएको भए पनि अब ऊ कम्युनिस्ट पार्टीनजिक भयो । तेस्रो ठूलो दल लोकप्रिय गणतान्त्रिक मोर्चा, एमआरपी थियो । यो पार्टीले दे गाललाई सघाउने भने पनि पछि यसले त्यसो गर्न सकेन । दक्षिणपन्थी क्याथोलिक पार्टीका बिदोलाई दे गालले विदेशमन्त्री बनाएका थिए । दे गालको नजिक रहेको यूडीएसआर नाउँको पार्टी अत्यन्त सानो थियो । युद्धअघिका दक्षिणपन्थी पार्टीहरू खेलमा सामेल थिए । तर, युद्धपछि फ्रान्सका पुँजीपतिहरूले कुनै बलियो दक्षिणपन्थी पार्टी बनाउन सकेनन् ।
दे गालले दलीय व्यवस्थालाई मलजल नगर्ने धेरै पहिल्यै बुझिएको थियो । त्यसैले सन् १९४५ मार्चमा सल्लाहकारसभाका सदस्यहरू चुनाव गराउनुपर्ने माग लिएर दे गाललाई भेट्न गए । दे गालले फ्रान्सको सत्ता आफ्नो मुठ्ठीमा भएको र त्यसलाई फ्रान्सकै हितमा लगाउने विश्वास दिलाए । तर, उनले चुनाव गराउने वचन पनि दिएका थिए । नयाँ परिस्थितिमा आफ्नो स्थानबारे शङ्का लागेर मात्र उनले चुनाव गराउन अलमल गरेका थिए । तर, वचन दिइसकेको हुनाले उनले चुनाव गराउनुपर्ने भयो । नयाँ परिस्थितिमा आफ्नो हैकम कायम राख्न उनले संसद् र सरकारको अधिकार खुम्च्याउनुपर्ने देखे । खासमा उनले एक हिसाबले राजतन्त्र सहितको गणतन्त्र चलाउने सोचे । सारमा, उनले आफूअनुकूलको शासकीय ढाँचा बनाउन चाहे ।
दे गालले तेस्रो गणतन्त्र ब्यूँताएनन्, बरु सीमित अधिकार सहितको संविधानसभाको चुनाव गराए । यो सभाले सरकारको मामिलामा हस्तक्षेप नगरी संविधानको मस्यौदा अनुमोदन गर्नुपर्ने भनियो । अक्टोबर २१ मा भएको संविधानसभाको चुनावमा कम्युनिस्टहरूले १६०, समाजवादीहरूले १४२, एमआरपीले १५२, यूडीएसआरले ३०, ¥याडिकलले २९ र दक्षिणपन्थीहरूले ६६ सीट ल्याए । उनीहरूले सभालाई कम शक्तिशाली बनाउने दे गालको विचारमा विमति जनाए किनभने जनमत उनीहरूको पक्षमा थियो । सभाले दे गाललाई नेता चाहिँ मानिरहने भयो । सबैभन्दा ठूलो पार्टी भए पनि कम्युनिस्टहरूलाई दे गालले पर्याप्त ‘राष्ट्रवादी’ र ‘फ्रान्सेली’ नभएको आरोप लगाएर राजीनामा दिए । फासीवादविरोधी युद्धमा ७५ हजार कम्युनिस्ट नेताकार्यकर्ताले बलिदान दिएका थिए । अरू कुनै पनि पार्टीले कम्युनिस्टहरूले जति गरेका थिएनन् । फेरि जनमतको कदर पनि गर्नैपथ्र्यो । त्यसैले राजीनामा फिर्ता लिएर दे गालले आफ्नो सरकारमा ५ जना कम्युनिस्ट, ५ जना समाजवादी, ५ जना एमआरपी र ६ जना दे गालपन्थीहरूलाई मन्त्री बनाए । चुनावी घटनाले दे गाललाई संसद्विना आफूले शासन गर्न नसक्ने शिक्षा दियो ।
सन् १९४६ को बजेट बनाउँदा अर्को विवाद आयो । समाजवादीहरूले सैन्य खर्चमा २० प्रतिशत कटौती गर्नुपर्ने माग राखे । फ्रान्सलाई ‘महान्’ बनाउन सैन्य खर्च ठूलो बनाइएको थियो । यो महानतामुनि सामान्य जनता भोकप्यास र अभावमा पिल्सिरहेका थिए । जनतालाई रासनको प्रबन्ध गर्नुपर्ने समाजवादीहरूको मागमा कम्युनिस्टहरूको पनि समर्थन रह्यो । सैन्य खर्च कटौती गर्ने माग दे गालले रुचाएनन् । खासमा दे गालको अधिकार घटाउन सैन्य खर्चको कुरा उठाइएको थियो । संविधानको मस्यौदा आफूप्रतिकूल आउने दे गालले भेउ पाए । त्यसैले सोचविचार गर्न उनी ७ वर्षपछि केही समय बिदामा बसे । यसबीच एकजना धातुउद्योगी परिवारमा उनको छोरीको बिहे भयो । उनले भूमध्य सागरको किनारमा बिदाको समय कटाउँदै अवकाश लिने योजना बनाए ।
बिदापछि दे गाल पुनः आफ्नो काममा लागे । संविधानसभामा बोल्दै एकजनाले युद्धमा भिशे सरकारको पक्षबाट युद्ध लडेर मर्ने सैनिकहरूलाई देशले सम्मान गर्न नहुने तर्क राखे । यसले दे गाल आहत भए । उनले लड्ने सिपाहीको कुनै दोष नहुने, बरु तिनलाई निर्देशन दिने राजनीतिक वा सैन्य नेतृत्वको दोष हुने बताए । उनले भिशे सरकारसँग गोप्य पत्राचार गर्ने व्यक्तिहरू राजनीतिक दलहरूमा पसेको घटनाप्रति कटाक्ष गरे । सन् १९४६ को जनवरी १९ मा दे गालले सबै मन्त्रीहरूलाई बोलाएर राजीनामा दिए । तर, उनले राजीनामा फिर्ता लिनुपर्छ भनेर कसैले पनि भनेन । सबै राजनीतिक दलहरूले उनलाई ससम्मान बिदा दिनुपर्ने कुरा राखे । दे गाल मन्त्रीहरू बस्ने गरेका खाली घरमा बसे । जर्मन आक्रमणमा परेर ध्वस्त भएको कोलोम्बे–ले–देक्ज–इग्लिजस्थित गाउँले घरको मर्मत गरेपछि उनी त्यतै बस्न थाले । यसबीच कसैले आफूबारे सोधीखोजी नगरेकोमा उनको चित्त दुखेको थियो । सरकारको तर्फबाट कोही पनि उनको सल्लाह लिन आएन । दे गालमा पीडा खप्नसक्ने गजबको गुण थियो ।
दे गालविनाको फ्रान्स
गाउँले घरमा दे गालका दिनहरू शान्तिपूर्वक कट्न थाल्यो । उनको मनबाट राजनीति हट्न सकेन । उनी उत्कण्ठापूर्वक दैनिक पत्रपत्रिका पढ्थे । उनी सबै दललाई गाली गर्थे । यो मिलेन, त्यो मिलेन भन्थे । अरू दलले भन्दा कम्युनिस्टहरूले काम गरेर देखाउन सक्थे । त्यसैले उनी कम्युनिस्टहरूसँग रुष्ट थिए । तैपनि तिनको शक्तिलाई उनी सम्मान गर्थे । आगन्तुकहरूलाई उनी यो देशमा केही हुन सक्दैन, फ्रान्स फेरि भड्खालोतिर लाग्दै छ भनिरहन्थे ।
तर, फ्रान्स दे गालविना भड्खालोमा खसेन । दे गालपछि समाजवादी नेता फेलिक्स गोइँ प्रधानमन्त्री बने । सरकारमा कम्युनिस्ट पार्टी, समाजवादी दल र एमआरपी गरेर तीन दलका मन्त्रीहरू थिए । गरिबी, भोकमरी, कालोबजारी, महँगी दे गालको शासनकालमा जस्तै थियो । बिस्तारै यसमा सुधार आयो । कम्युनिस्ट मन्त्रीहरूको नेतृत्वमा उत्पादन बढ्न थाल्यो । सामाजिक सुधारका कार्यक्रमहरू लागु गरियो । मजदुरहरूको ज्यालामा वृद्धि भयो । हडतालहरू कम भए । यद्यपि, मुद्रास्फितिले मजदुरहरूको बढेको ज्याला निलिदियो ।
नयाँ संविधानको मस्यौदा जारी भयो । यो तेस्रो गणतन्त्रको संविधानभन्दा जनपक्षीय थियो । यसमा प्रतिरोधी सङ्घर्षमा भाग लिने लडाकूहरूका आकाङ्क्षाहरू प्रतिविम्बित भएको थियो । ५ मे १९४६ मा नयाँ संविधानको विषयमा जनमत भयो । दक्षिणपन्थी, दे गालपन्थी र गिर्जाघरहरूले विपक्षमा मत दिए । २ जूनमा संविधानसभाको नयाँ चुनाव भयो । समाजवादीहरूलाई मोहरा बनाई संरा अमेरिकाले कम्युनिस्टहरूविरुद्ध खेल्न खोज्दा ‘एमआरपी’ चुनावमा बलियो भएर निस्कियो । दक्षिणपन्थीहरूको शक्ति बढ्यो ।
१६ जूनमा दे गाल नियोजितरूपमा राजनीतिक दृश्यमा देखिए । उनले संविधानसभाले पहिलेको संविधानको नक्कल गर्न नहुने चेतावनी दिए । उनले शक्तिशाली राष्ट्रपतिको माग गरे । साथै, दुइटा सदनसँग थोरैभन्दा थोरै शक्ति हुनुपर्ने बताए । उनले दलीय व्यवस्थाले देश कमजोर बनेको र आफू तानाशाह बने राष्ट्र शक्तिशाली बन्ने बताए । दक्षिणपन्थीहरू उनका कुराले मक्ख परे । नयाँ संविधानमा जनपक्षीय धाराहरू समावेश गर्न कम्युनिस्टहरू सफल भए । नयाँ संविधान पुरानै संविधानजस्तो भएकोमा दे गाल फेरि बम्किए । यसबीच दे गाल र एमआरपीबीच धाँजा फाट्यो । जनमतले नयाँ संविधान पारित ग¥यो । यसमा पनि दे गालले असन्तुष्टि जनाए । तर, यही संविधानले चौथो गणतन्त्रको जग हाल्यो ।
यसपछि फ्रान्समा एउटा गालपन्थी पार्टी खुल्यो । नोभेम्बरमा चुनाव हुँदै थियो । सुरुमा दे गाल त्यस पार्टीको प्रचारमा लागे । तर, यसले गर्दा आफू सानो पार्टीको नेतामा खुम्चिने देखेर उनी चुनावी अभियानमा तटस्थ रहन थाले । चुनावमा एमआरपी पार्टी र दे गालबीच मनमुटाव सतहमा आयो । त्यस्तै, क्याथोलिक पार्टीलाई दे गालले आलोचना गरे । कम्युनिस्ट पार्टी शक्तिशाली भइरहेको बेला दे गालले दक्षिणपन्थी पार्टीहरूसँग शत्रुता मोलेकोमा फ्रान्सेली पुँजीपतिहरू चिन्तित थिए । सन् १९४७ जनवरीसम्म फ्रान्समा थप दुई सरकार बने । फ्रान्स पुरानै संसदीय ढर्रामा हिँडिरहेको थियो ।
प्रस्तुति : सुरेन
Leave a Reply