भर्खरै :

मन्त्री र भ्रष्टाचार पर्याय हुन् र ?

(विराटनगर औद्योगिक क्षेत्रमा कार्यरत तीन जना मजदुरबीच देशको समसामयिक विषयमा छलफल हुन्छ ।)
मजदुर १– माओवादीले एमसीसी सम्झौतामा समर्थन गर्ने बिन्दु भेट्टाउन छुट्टै कार्यदल गठन गरेको हो कि ? माओवादी नेकपामा बस्दाको कार्यदलको प्रतिवेदन सार्वजनिक भएन । केही महिना अगाडि सत्ता गठबन्धनको बैठकले झलनाथकै नेतृत्वमा मन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका नारायणकाजी श्रेष्ठ सहितको कार्यदल गठन गरेको थियो । यसको पनि पत्तो छैन ।
मजदुर २– श्रीलङ्काको सरकारले राष्ट्रिय सुरक्षामा खतरा हुने कारण जनाई एमसीसी सम्झौता खारेज ग¥यो । तर, नेपालमा एमाले सरकारले खारेज गर्ने आँट गरेन । अहिले देउवा सरकार त ‘कहाँ छ राष्ट्रघात’ भनी पारित गराउन खोज्दै छ ।
मजदुर ३– नेपालका प्रमहरूले देशघात के हो भनी नबुझेका होलान् र ? श्रीलङ्काको सरकारले बुझे जति पनि नेपालका प्रमहरूको नबुझेको आश्चर्य नै हो ?
मजदुर १– नेपालका प्रमहरूले नारायणी नदीमा आएको बाढीसँगै भारततर्फ नेपालका गँैडा बगाइएपछि नेपाल फर्काउन सजिलो नभएको पनि बुझेका छैनन् । बुझेको भए नेपाल–भारत सीमा बन्द गर्ने योजना किन बनाएनन् ?
मजदुर २– स्थानीय चुनाव आगामी बैशाखभित्र गरिसक्नुपर्ने अर्थात् कम्तीमा जेठ ६ गते नयाँ प्रतिनिधिको बहाल हुने कानुनी व्यवस्था छ तर प्रम देउवा अझै अस्पष्ट अवस्थामा किन ?
मजदुर ३– जिल्ला – जिल्लाका सीडीओहरू बटुवालाई आफै मास्क लगाइदिने काम पनि गर्दै छन् । तर, कोभिड–१९ सङ्क्रमण बढ्दो छ । शनिबार एकै दिन १० हजार २५४ जना सङ्क्रमित थपिए । मृत्यु पनि एकै दिन १६ जनाको भयो ।
मजदुर १– कूल सङ्क्रमितको आधाभन्दा बढी अर्थात् ५ हजार २९६ काठमाडौँ उपत्यकामै थपिए । माघको तेस्रो सातासम्म दैनिक २० हजार सङ्क्रमित थपिने प्रक्षेपण गरिएको छ । दैनिक ५७९ जना बालबालिका सङ्क्रमित भइरहेका छन् ।
मजदुर २– भारतमा शनिबार एकै दिन ३ लाख ३७ हजार ७०४ सङ्क्रमित थपिए । अमेरिकामा त एकै दिन ५ लाखभन्दा बढी सङ्क्रमित थपिएको समाचार छ ।
मजदुर ३– सङ्क्रमण रोकथाम गर्न संसारमै अब एक पटक पुनः ‘लकडाउन’ जरुरी छ । मान्छेको ज्यानभन्दा अर्थतन्त्र ठूलो होइन ।
मजदुर १– नेपालका सरकारहरू भारतले ‘लकडाउन’ नगरेसम्म नगर्ने पिछलग्गू नै भए । विगतमा यस्तै भएको थियो ।
मजदुर २– नेपाल–भारत खुला सीमाको कारण दुवै देशलाई नोक्सान भइरहेको छ । बाँकेकी ३४ वर्षीया महिलालाई खाडी मुलुकको रोजगारीमा पठाइने भनी महाराष्ट्रमा ‘कोख’ भाडामा दिन लगाइएको समाचार पनि प्रकाशित भयो ।
मजदुर ३– भारतले दार्चुला जिल्लाको सदरमुकामको पारिपट्टि महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी करिब दुईदेखि पाँच मिटर नदीको तिरको भागमा तटबन्ध निर्माण सुरु ग¥यो । यो नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप हो ।
मजदुर १– भारतीय प्रम मोदीले २५ दिनअघि भारतको हल्द्वानीमा पुगेर नेपालको लिपुलेकमा सडक निर्माण गरेको र अब पक्की बनाउन लागेको बोलेर नेपालमाथि हस्तक्षेप गरेका थिए । अहिले नेपाल–भारतबीच आफूखुशी भौतिक संरचना निर्माण नगर्ने सहमतिविपरीत भारतले महाकाली नदी मिचेर तटबन्ध बनाएको अन्तर्राष्ट्रिय कानुनविपरीत पनि हो ।
मजदुर २– स्थानीय जनताका अनुसार भारतबाट २०७० सालमै त्यस ठाउँमा महाकाली नदीको धार परिवर्तन हुने गरी तटबन्ध बनाइएको थियो । तर, नेपाल सरकार मौन रहँदा थप अतिक्रमण गरिएको हो ।
मजदुर ३– यसपाली भारतले पुसको १३, १४ गतेतिर नापजाँच गरी माघको सुरुबाटै तटबन्ध बनाएको हो । भारतीय तटबन्धले २०७० सालको वर्षामा पनि नेपालतिर क्षति गरेको थियो ।
मजदुर १– भारतले २०७५ सालमा पनि जिल्ला सदरमुकाम खलङ्गास्थित अस्पतालको पारिपट्टि नदी क्षेत्र मिचेर १२० मिटर बाँध बनाएको थियो । नेपालका प्रमहरू बोल्न सक्दैनन् । यस्ता प्रमहरूले राजीनामा दिनुपर्छ ।
मजदुर २– सरकारहरूले न नेपालको सार्वभौमिकता जोगाउन सके न देशभित्र अमनचयन कायम नै गर्न सके । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढ्दो भ्रष्टाचार, आर्थिक अनियमितता र पदाधिकारीको मनोमानीका कारण ५० भन्दा बढी योग्य र दक्ष चिकित्सकले प्रतिष्ठान छाडेको समाचार छ ।
मजदुर ३– बीपीको नाममा संस्थान खोलियो आज बीपी र नेकाको बदनाम भयो । तर, नेकाका नेता र कार्यकर्ताहरू लज्जित छैनन् । कस्तो आश्चर्य !
मजदुर १– अहिले नेकाहरू बीपीको अनुयायी भएनन्, अब देउवाका अनुयायी भए । देउवाका छोराले एकपटक सञ्चारमाध्यममा बताएका थिए– “बुबाले कार्यकर्ताहरूलाई पैसा बाँड्नुहुन्छ ।” त्यसरी पैसा बाँड्न राजनीतिक नियुक्ति खाएकाहरूसँग उठाउनैप¥यो ! अनि, त्यस्ता संस्थानमा भ्रष्टाचार नभए के हुन्छ ?
मजदुर २– प्राध्यापक डाक्टर रामप्रसाद उप्रेतीले माओवादीका पुष्पकमल दाहाल प्रम र नेकाका गगन थापा स्वास्थ्यमन्त्री हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपतिको प्रस्ताव लिएर दुई जना मान्छे पठाई १० करोड रुपियाँ मागेको सार्वजनिक गरेकै हुन् ।
मजदुर ३– पर्यटनमन्त्री पे्रम आलेले नारायणहिटी दरबार सङ्ग्रहालयमा होटल–रेस्टुराँ खोल्न लागेको बन्द गराए तर लुम्बिनीमा ४ बिघा क्षेत्रफलमा बिना प्रतिस्पर्धा सवाना वैद्य बस्नेतलाई निजी रिसोर्ट बनाउन दिने निर्णय गरेको सार्वजनिक भयो ।
मजदुर १– मन्त्री आलेको दाबी लुम्बिनीको ८–१० ओटा प्लट योगेश भट्टराई मन्त्री हुँदा पनि वितरण गरियो । त्यस अगाडि मन्त्री रविन्द्र अधिकारीले पनि वितरण गरे ।
मजदुर २– मन्त्रीहरू भ्रष्टाचार नगरेका कोही भएनन् ! मन्त्री र भ्रष्टाचार पर्याय बन्नु खेदको विषय हो ।
मजदुर ३– आजको छलफल यहीँ टुङ्ग्याऔँ ¤ बाँकी अर्को भेटमा गरौँला !
२०७८ माघ ९

Leave a Reply

Your email address will not be published. Required fields are marked *