भर्खरै :

‘धानभित्र चामल’ को कथा सुनेका मेरो घरका दाजुभाइको नाममा

बिहानीको स्वागत गर्न
लालुपाते फूलको माला उनेर
धेरै वर्षदेखि पर्खिबसेका
मेरो घरका दाजुहरू, मेरो घरका भाइहरू ।
जाडोले लुगलुग काम्दै
चिसोको आर्तनाद भर्दै
भोकले कराएको पेट
बायाँ हातले थिच्दै
पूर्वेली पर्वतको ढोकामा
आशाको आँखा बिछ्याएर
पर्खिबसेका छन् ।
कति निश्छल छन् उनीहरूका हृदय
हिमाल पग्लेर बगेको पानीजस्तै ।
कति धैर्यवान आशा
पोखरी छेउ पर्खिरहेको बकुलाजस्तै ।
हुन पनि बिहान सूर्य उदाउनेछ
शीतले छपक्कै भिजेको पृथ्वीलाई
न्यानो किरणले जीवन दिनेछ ।
तर,
उज्यालो मन नपराउने चमेराहरूलाई सह्य छैन यो सूर्योदय,
बेरागका गीत गाउने लाटोकोसेराहरूलाई पोल्छ यो उज्यालोले
किनकि,
उनीहरूलाई मन पर्दैन उज्यालो, मन पर्दैन सूर्योदय ।
मन पर्दैन उनीहरूलाई भालेको डाँक ।
त्यसकारण,
बुन्दै छन्–एउटा षड्यन्त्र, एउटा जाल –
‘धानभित्र चामल’ को कथा हालेर ।
मेरो घरका दाजु, मेरो घरका भाइका कानमा भर्दै जान्छन् यही कुराले ।
उफ् ! पछि यही बन्छ आफू आफूबीच
शङ्का–उपशङ्काको चुरो ।
बाङ्गो रूख बनेर हुर्किन थाल्छ ।
स्वागत गर्न कसिएको गाँठी
शनै शनै फुस्किन थाल्छन् ।
अलग अलगै श्वास फेर्न थाल्छन् ।
म चकित पर्छु –
कति दाजुहरू आफै चमेरा बनेर नाचेको देख्दा ।
म जिल्ल पर्छु –
मेरा भाइहरूले लाटोकोसेराको स्वरमा गीत गाएको सुन्दा ।
एकै पेटबाट जन्मेका सन्तानहरू
तह–तहमा उभिएका छन् ।
यो एउटा पूर्णाङ्क नाटक
रात अँगालेर बसेकाहरूको लागि ।
यो एउटा बक्सिस हो
दिनलाई रोक्न खोज्नेहरूको लागि ।
तै पनि मलाई विश्वास छ
एक दिन सूर्य उदाउनेछ
मलाई विश्वास छ
चमेरा र लाटोकोसेराहरूले खोल्नेछन् आँखा ।
(कवि चन्द्रबहादुर उलकको नेपालभाषाको कवितासङ्ग्रह ‘वर्गं जक थः केनि’ मा समावेश कविता ‘वाया दूनय् जाकि दु’ बाखँया छगु छय्ला जिगु छेंया अरा वा किजापिंत’को नेपाली अनुवाद । नेपाली अनुुवादः सुमन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *