भर्खरै :

‘यमराज’ सँग डराउने न ‘प्रजातन्त्रवादी’ हुन्छ न ‘कम्युनिस्ट !’

काठमाडौँ, १४ फागुन । पत्रकारितालाई व्यापार र नाफाको रूपमा मात्र लिने र विदेशी पुँजीको एजेन्टको रूपमा काम गर्ने पुँजीवादी संस्थाको मालिकको तखतमा चल्ने समाचारपत्र र पत्रपत्रिकामा काम गर्ने कर्मचारीहरूले आफ्नो विचार र दृष्टिकोण बेच्दैनन्, खालि श्रम बेच्छन् । तर, सम्पादक, स्तम्भकार, लेखक र टिप्पणीकारहरू मालिकको विचार र दृष्टिकोण पछ्याउँछन् र आफ्नो बौद्धिक व्यक्तित्वलाई जनताको मत भाँड्न प्रयोग गरी अपराध गर्छन् ।
‘प्रजातन्त्र’, ‘प्रजातन्त्रवादी’, ‘समाजवाद’ र ‘समाजवादी’ तथा ‘कम्युनिस्ट’, ‘कम्युनिस्ट पार्टी’ भन्नेहरू पनि अत्यन्त बहुमत जनतालाई निर्वाचनमा दिएको ‘वचन’ र ‘घोषणापत्र’ अनुसार काम नगरी विश्वासघात गर्छन् । तिनीहरूका अघिल्लो पुस्ताले राणाहरूको शासन र शोषणको विरोध गरेको थियो तर ती परिवारहरूकै नयाँ पुस्ताहरूले ‘प्रजातन्त्र’ लाई ‘सत्तामा जाने सिँढी’ बनाए र ‘प्रजातन्त्रवादीहरू’ हिटलर, मुसोलिनी, ट्रम्प–बाइडेन र मोदीका ‘एजेन्ट’ बने ।
नेपाली ‘प्रजातन्त्रवादी’ र ‘कम्युनिस्ट’ एकै सिक्काका दुई पाटा हुन् । तिनीहरू ‘यमराज’ देखि डराउँछन् । संरा अमेरिका ‘महाशक्ति’ हो । यसकारण, ‘नेका, एमाले, माओवादी केन्द्र, समाजवादी (माधव) शासनमा जाने सबै सांसदहरू एमसीसीको अगाडि नतमस्तक भएर घुँडा टेक्छन् । संसद्मा सबभन्दा बलियो भएको ठान्ने नै बबुरो अमेरिकी राजदूतको ‘आदेश’ मा आफ्नो राजनीतिक शत्रु प्रम देउवाको शरणमा जानु के उचित हो ?
के एमसीसीले नै एमाले, माओवादी केन्द्र, समाजवादी (माधव) र नेकामा प्रधानमन्त्रीको ‘उपहार’ प्रस्ताव, लोभ, पाप, पदको भागबन्डा, ठेक्का–पत्ता र राजदूत नियुक्तिको चर्चा हुनु र व्यापारी, उद्योगी र ठूल–ठूला ठेकेदारीमा आपसको ‘कुकुरझगडा’ चर्किनु के ‘पाण्डोराको बाकस’ खोलिएको होइन ? सम्पादकीय लेख्नु एक–दुई कक्षाका विद्यार्थीको ‘कखरा’ को ‘राइटिङ’ होइन । नेपालप्रति चीनले देखाएको सद्भावना र मित्रताको चासोलाई ‘अशोभनीय’ भन्नु गलत भएको कुरा समय र अनुभवले पुष्टि गरेको छ ।
२० वर्षअगाडि नै संरा अमेरिकी साम्राज्यवादको ‘हिन्द–प्रशान्त’ रणनीतिबारे पश्चिमी पत्रपत्रिकाले संसारलाई सचेत पारिसकेको थियो । ठाउँ–ठाउँमा अमेरिकाले साना र कमजोर देशहरूमा एमसीसीको नाममा बन्दूक आफ्ना शत्रुहरूमाथि हान्ने योजना बनाइसकेको थियो । पहिले नै ‘बर्लिन पर्खाल’ भत्काएर संरा अमेरिकाले कुटिल तरिकाले पूर्वी युरोपेली देशहरूलाई विशृङ्खलित पारेको थियो र सन् १९९१ मा अमेरिकी केन्द्रीय गुप्तचर विभागको एजेन्ट गोर्भाचोभले सोभियत कम्युनिस्ट पार्टीलाई विघटन गरेर सोभियत सङ्घलाई विशृङ्खलित गरे । परिणाम सोभियत समाजवादको अस्थायी हार भयो ।
इस्तोनिया, लातभिया, लिथुआनिया, बेलारुस, युक्रेन र मोल्डाभिया रुसको पश्चिमी स्वायत्त प्रान्तहरू अलग राज्यको रूपमा स्थापित भए । त्यस्तै संरा अमेरिका र नाटो देशहरूले रूसको दक्षिण भागका कजाकिस्तान, जर्जिया, अजरबैजान, आर्मेनिया, उज्वेकिस्तान, तुर्कमेनिया, ताजकिस्तान र किर्गिस्तानलाई पनि टुक्राएर रूसलाई कमजोर गरेका थिए । सन् १९१७ को अक्टोबर क्रान्तिपछि पनि धेरै पटक ‘कम्युनिस्ट नेताहरू’ भनिने त्रोत्स्की, कामेनेभ, जिनोभित्र्, बुखारिन आदिमार्फत पुँजीवादी र साम्राज्यवादी देशहरूले सोभियत सङ्घलाई टुक्राटुक्रा पारेर उपनिवेश बनाउन खोजेका थिए । आज अमेरिका र नेटो शक्तिले युक्रेनको काँधमा बन्दुक बिसाएर रूसमाथि हान्न खोजेको हो ।
‘महाशक्ति’ अमेरिकाले टेलिफोन मार्फत वा नेताहरूको घरघरमा गई नेपाललाई धुजाधुजा पार्न शासक दलहरूलाई जुधाउने र मिलाउने कुटिल चालहरू चालेर सरकारको गठबन्धनका नेताहरूलाई ‘त्राहीमाम’ पारिरहँदा ‘चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा युनचिङले ‘एमसीसी उपहार हो कि पान्डोराको बक्स’ भन्ने प्रश्न गर्दै ‘अल्टिमेटमको प्याकेजसहित उपहार आउन नसक्ने’ आसय व्यक्त गरिन् । यसबाट नेपालको आकाशमा देखिएको कालो बादल हट्ने आशा गरिएको छ । मित्रलाई सहयोग गर्ने यो एउटा इमानदार ढाडस हो । साथै, चीन सधैँ आपसी सम्मान र समानताको सिद्धान्तको आधारमा अन्तर्राष्ट्रिय सहकार्य हुनेमा विश्वस्त भएको, कुनै देशबाट नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न नहुने र नेपालको सार्वभौमिकताको सम्मान र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्ने अभिव्यक्ति दिने नेपाली जनताबीच एक असल मित्रको उदाहरण भएको अत्यन्त सकारात्मक पक्ष हो ।
केही पत्रिकाले ‘कोभिडको बहानामा नेपाली व्यवसायीहरूलाई चरम मर्का पर्ने गरी चीनले नाका कसिरहेको’ गुनासो र आरोप लगाए । तर, नेपालमा उत्तरबाट कोरोना फैलिने डर देखाएर चीनबाट विद्यार्थी फर्काउने आन्दोलन चलाउने तथा भित्रभित्र चीनको सामानबाटै कोरोना फैलिने गुप्त हल्ला फैलाउने तत्व उही थियो । अर्कोतिर चीनको सामान भित्र्याउन नदिन अन्य देशबाट कर्मचारीहरूलाई दबाब पनि दिइँदै छ । परिणामतः भारतसँग नेपालको ठूलो व्यापार घाटा देखिँदै छ । ‘सिँगान पुछ्दा नाक झिक्न खोजियो’ भन्ने नेपाली उखान यहाँ चरितार्थ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *