भर्खरै :

कविताहरू

को होला त्यो सज्जन ?!

–चन्द्रबहादुर उलक

स्वार्थको रौँ सम्मन् हल्लिए पनि
फनक्क मुन्टो फर्काउने
अंशमा सिन्को नपुगेपछि
क्षणभरमै रङ्ग बदल्ने !

सारा मित्रहरू श्रममा छँदा
तमासा हेरिरहने,
गुरू अगाडि देखापर्दा
हत्तपत्त काम देखाउने,
को होला त्यो सज्जन ?!

कस्तो धूर्त रहेछ त्यो
बिनापरिश्रम नाम कमाउने,
गुणगान गर्दै गुरूहरूको
स्याबासमात्र बटुल्ने !

आँट उसको मान्नैपर्छ
छेपारोसँग मित लगाउने,
तुरून्त जय नेपाल, तुरून्त लाल सलाम
भन्न नहिच्किचाउने,
को होला त्यो सज्जन ?!

श्रमिकले निर्माण गरेका सङ्गठनहरू
जागीरको अखडा बनाउने,
पार्टीलाई कमाउने साधन बनाई
राजनीति फोहर पार्ने !

को होला त्यो सज्जन ?
उसको खुसामदी, उसको चाप्लुसी
प्रख्यात छ देशभर,
सेवाभाव छैन उसको
समाजमा रतिभर !

कसरी सम्झूँ उसलाई अब
गरूँ कसरी सम्बोधन !
बुद्धि घुमाई लौ भन्नुस् अब
को होला त्यो सज्जन ?!
………………..

ममताको चौतारी

– सुनिता गाइसी

हर दुःख सुखमा
मुस्कुराउँछिन् आमा
आफू भोकै बसी
आफ्नालाई खुवाउँछिन् आमा ।

ममताको शीतलचौतारी
मेरी आमा,
सानैदेखिका हाँसो खुसीका
दौतरी हौ आमा ।

के सही के गलत
बताउने मेरी आमा,
उज्ज्वल भविष्यको आशमा
सधैँ रमाउने मेरी आमा ।

सन्तानका खुसीका लागि
हजारौँ अप्ठयारालाई
सहज बनाउने मेरी
मायालु आमा ।
आमा शब्दका अनेक
छन् अर्थ ।
जसलाई हामीले सदैव
पार्नुपर्छ सार्थक ।

जन्मभूमि अनि जन्म दिेने
दुबै बराबर,
हरसमय ख्याल राखौँ
नगरी फरक ।

ठीक, बेठीक
के हो जान,
आमालाई खुसी पार्न
असल पुत्र बन ।
………….
गाउँ–नगरमा चुनाव
– सत्यराम कासिछ्वा

चर्चा चलेको छ, गाउँ–नगरमा
स्थानीय निर्वाचनको,
दैनिक हजारौँ युवा विदेशमा निर्वासित
तैपनि उद्देश्य भनेकै निर्वाचित !

सोच केन्द्रित छ
गाउँ–नगरको विकास,
राजनीतिक प्रतिस्पर्धाले
दिन सकेको छैन निकास !

गाउँ–नगरमा हिजोआज
खाना पकाउनु पर्दैन रे,
उम्मेदवार केही समयको
अन्नदाता भएको छ रे !

जितको लागि क्षणिक सहयोग
हिजोआज चुनावी मैदानमा,
देखिन थाल्यो व्यवहार
उम्मेदवारको बिन्ती बिसाउमा !

प्रतिबद्धतापत्र निराशाजनक छ
तर, बिन्तीपत्र हेर्दा
व्यवहारमा उतार्लाजस्तो पो
देखियो त सक्रियता !
…………..

सरकार बुँख्याचाजस्तै किन ?
— श्रद्धा

ए सरकार !
व्यापारिक मल कि ठगी ?
पोका पारिएको जोख्न नपाउने !
म्याद नाघेको पोकामा पनि
नयाँ मिति टाँस्न पाउने !
मूल्य निर्धारणमा पनि
मालिकको मनोमानी
नक्कली वस्तु पनि
सक्कली भनेर बेच्न पाउने !

ए सरकार तिमी कस्तो ?
अग्रीम सूचना दिएर
कहिलेकाहीँ अनुगमन गर्ने !
म्याद नाघेको वस्तु
पहिले नै लुकाउन दिने !
मुलुकको उत्पादन होइन
विदेशीको सामान बेच्न दिने !
कोदो, फापर, चामल
फलफुल पनि विदेशी नै बेच्न दिने !

करोडौं रुपैयाँको राजस्व
लाखमा फरफारक गर्ने
के यिनीहरूको बैङ्क खाता
छानबिन गर्नुपर्ने होइन र ?
सरकार बुँख्याचाजस्तै किन ?
के सिंहदरबार अब
बाँदर बस्ने ठाउँ भयो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *