भर्खरै :

देश र जनताप्रति समर्पित जनप्रतिनिधिको खाँचो

ख्वप नगर सम्पदाको नगर र नाचगानको नगर हो । देश र जनताप्रति समर्पित जनप्रतिनिधि र जनसमुदायको स्थल ख्वप नगर देशको नमुनाको रूपमा स्थापित छ । ६.८८ वर्ग कि.मि. क्षेत्रफल ओगटेको यो नगर सयौँ ठूला साना मन्दिर, बौद्ध धर्मसित सम्बन्धित वहि र विहार, साना र ठूला पोखरी, सत्तल, मठ, पाटी, इनार, ढुङ्गेधारा, बाहा, ढोका, कुण्ड र दबुलगायत प्रशस्त सम्पदाले यो नगर धनी छ । यो ख्वप नगर आन्तरिक एवम् बाह्य पर्यटकहरूको लागि एउटा खुला जीवित सङ्ग्रहालय बनेको छ ।
२०७२ साल वैशाख १२ गतेको प्रलयकारी भूकम्पले धेरै सम्पदाहरू ध्वस्त भए । सच्चा देशभक्त जनप्रतिनिधिहरूले नेतृत्व गरेको भक्तपुर नगरपालिकाले ५ वर्षको कार्यकालमा यी सम्पदाहरू पुनःनिर्माण, मर्मतसम्भार तथा जीर्णोद्धार ग¥यो । यसको लागि कुनै विदेशसँग भिख माग्नु परेन । यी सम्पदाहरूबाहेक ख्वप नगरको मूल सडक र गल्लीहरूमा ढुङ्गा र इँटा छपाइ कार्यलाई निरन्तरता दिइँदै छ । ख्वप नगर बाहिरका बाटोहरूको छेउमा वृक्षरोपण र नगरभित्रका पोखरीहरूको सौन्दर्यता र आकर्षक बनाउन फूलका गमलाहरू राखिएका छन् । नपाले सरल, सुलभ शिक्षा र स्वास्थ्यको लागि ख्वप कलेज र ख्वप अस्पतालले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । निम्न आयका छोराछोरीहरूलाई उच्च शिक्षा हासिल गराउने उद्देश्यले ५ लाख शैक्षिक ऋणको व्यवस्था गरिएको छ । घर–घरमा नर्सिङ सेवाको व्यवस्था गरिएको छ । प्रत्येक टोलटोलमा व्यायामशालाको व्यवस्था गरिएको छ ।
नाचगानको सहरलाई जीवन्त राख्न परम्परागत वाद्यवादन प्रतियोगिता, सांस्कृतिक प्रतियोगिता तथा वाद्यवादक गुरूहरूलाई सम्मान गर्ने कार्य हुँदै आएको छ । बालबालिकाहरूको शारीरिक विकास एवम् प्रतिभा प्रस्फुटन गर्न हरेक वर्ष नगरव्यापी खेलकुद प्रतियोगिता हुँदै आएको छ । भनपाले ख्वप नगरको सांस्कृतिक सम्पदा, राजनैतिक, भौगोलिक, परम्परागत पेशा, संस्कार र विशिष्ट व्यक्तिहरूको योगदानबारे जानकारी दिन कक्षा १ देखि ८ सम्मको ख्वपको पहिचान पाठ्यक्रम निर्माण गरी अनिवार्यरूपमा पठनपाठन सुरू गरिएको छ । यसले ख्वप नगर यहाँका कला, संस्कृति, इतिहास, भूगोल, सामाजिक मूल्य र मान्यताबारे विश्वसामु चिनाउन सहयोेग पु¥याउनेछ ।
भ्रष्टाचारमुक्त ठाउँको विकास गर्न कुनै विदेशीसँग भिख माग्नु पर्दैन । ख्वप नगरको विकासले भ्रष्ट नेताहरूलाई पाठ सिकाएको छ । ख्वप नगरको सम्पदा पुनर्निर्माणको लागि ख्वप नगरपालिकाको आयोजनामा यहाँको स्थानीय जनता हँसेमा हाइँसे गर्दै आर्थिक, भौतिक र नैतिक सहयोगबाट सजिलै कार्य भएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ ले भक्तपुर जिल्ला पनि आक्रान्त रहेको बेला भक्तपुर नगरपालिकाले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट, भेन्टिलेटर, आइसीयूलगायतको अन्य स्वास्थ्य सामग्रीहरूको उपकरण व्यवस्था गर्न जनस्तरबाट ६ करोडभन्दा बढी आर्थिक सहयोग मिलेको थियो । लकडाउनको समयमा पनि आ–आफ्नो टोलको सम्पदाहरूको सरसफाइ र पाँचतले मन्दिर जीर्णोद्धार गर्न पनि हजारौँ जनसमुदायले श्रमदान गरे ।
राजनैतिक सचेतना, देशभक्त सच्चा जनप्रतिनिधि एवम् सङ्गठित जनसमुदायले गर्दा सरकारमा गएका भ्रष्ट नेताहरू ख्वप नगरको विकासप्रति सहन नसकेर पानीबिनाको माछाझैँ छटपटिरहेका छन् । हरेक स्थानीय चुनाव एवम् संसदीय चुनावमा भ्रष्टाचारी, विदेशीको इसारामा चल्ने, दलालहरू भक्तपुरका जनतालाई आर्थिक प्रलोभन, पदको प्रलोभन तथा अन्य लोभलालच देखाएर जनताको सामु आएका छन् । तर, कोही लोभलालचामा फसे पनि ¤ भक्तपुरका सचेत नागरिकले उनीहरूको प्रयासलाई बिफल पारिदिए भने लोभलालचामा फस्नेहरू त झन् न घर न घाटका भए ¤ अहिले पनि स्थानीय चुनाव नजिक आउँदै गर्दा भक्तपुर नगरपालिकालाई बदनाम गर्ने उद्देश्यले ख्वप नगरभित्रको सांस्कृतिक सम्पदाहरूको वरिपरि जथाभावी फोहर फालेर फेसबुकमा राखेर आफ्नो बहादुरी देखाएका छन् । आफूलाई ठूला दलका नेता भन्नेहरू बहुलाएर ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेजमा अध्ययन गरेर उच्च शिक्षा हासिल गरेकाहरूको सर्टिफिकेट नक्कली हो भनी सञ्चारमाध्यममा बोल्न पछि परेनन् । विदेशीसँग भिख माग्न, पदहरू भागबन्डा गर्ने र नपाए भुस्याहा कुकुरजस्तै झगडा गर्नेहरूमा न राजनैतिक सिद्धान्त नै छ न चरित्र । यसकारण, हामी देशभक्त नेपाल आमाका सन्ततिहरूले स्थानीय चुनावमा सच्चा देशभक्त जनप्रतिनिधिहरू विजय गराउनु आवश्यक छ । देश र जनताको लागि गर्दै आएको कामको मूल्याङ्कन गरी सच्चा देशभक्त जनप्रतिनिधिहरूलाई अत्याधिक मतले विजय गराउनु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *