भर्खरै :

के जनताको साहित्य ‘प्रचार साहित्य’ हो ?

  • बैशाख २४, २०७९
  • हरिबहादुर श्रेष्ठ
  • साहित्य

हो, जनताको साहित्य जनताको ‘प्रचार साहित्य’ हो । जनताको साहित्य जनताको प्रचारका साधन हुन् । त्यस्तै अरू सबै किसिमका साहित्य पनि प्रचारका साधन नै हुन् । कुनै पनि साहित्य कसैको ‘दु–धन’ (गुप्त धन) होइन । साहित्य प्रचारकै निम्ति लेखिएको हुन्छ । हरेक वर्गले साहित्यलाई आ–आफ्नो स्वार्थको ज्यावलको रूपमा उपयोग गर्दै आएका छन् ।
तर, केही मानिसहरू साँचो कुरालाई लुकाउने असफल प्रयास गर्छन् । तिनीहरू आफ्नो वर्ग र पार्टीको प्रचारलाई ढाकछोप गर्न खोज्छन् । तिनीहरू आफ्नो साहित्यलाई वर्ग र राजनीतिबाट अलग्ग र ‘चोखो’ भनेर फलाको गर्छन् । जनताको साहित्य वा प्रगतिशील साहित्यलाई तिनीहरू ‘राजनैतिक प्रचार’ र ‘पार्टी प्रोपगन्डा’ (पार्टी प्रचार) भनेर गुहार माग्छन् । यो एक जालसाजी हो । यो एक बेइमानी हो ।
तर, हामी प्रस्ट भन्छौँ कि साहित्य र कला जहिले पनि एउटा न एउटा वर्ग अथवा गुटका प्रचारका साधन भएरै आएका छन् । उदाहरणको निम्ति रामायण र महाभारतजस्ता काव्यहरूलाई नै लेऔँ । राजा हरिश्चन्द्र र नल दमयन्तीका कथाहरूलाई लेऔँ । ती सबै काव्य र कथाहरू दास–मालिक र सामन्त वर्गको अथवा एक–एक गुटको पक्षमा लेखिएका प्रचार साहित्य हुन् । त्यस्तै आज पनि लेखक, कवि र कलाकारहरू सीधा या घुमाउरो रूपले कुनै न कुनै वर्ग या गुटको प्रचार गरिरहेके छन् । जनताको साहित्य वा प्रगतिशील साहित्यलाई ‘राजनैतिक प्रचारका साधन’ भन्नेहरू स्वयं कुनै न कुनै सामन्त वा पुँजीपति वर्ग वा तिनीहरूको कुनै एउटा गुटको पक्षमा लागेकै हुन्छन् । सोझो हिसाबले सोधौँ नेपाली साहित्य एकेडमी (नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान) का सदस्यहरू र त्यस सम्बन्धित लेखक, कवि र कलाकारहरू के कसको पक्षमा लेख्ने गर्छन् ? प्रत्यक्ष वा अप्रत्यक्षरूपले तिनीहरू कुन वर्ग वा कुन गुटको पक्षमा कलम चोप्छन् ? यो कुरो दिउँसोको घामजत्तिकै प्रस्ट छ कि तिनीहरूले सामन्त वर्ग र सामन्ती व्यवस्थाको पक्षमा लेख्छन् । त्यस्तै अनेक गुरू–पुरोहित, पण्डित र प्राध्यापकहरूले आ–आफ्नो सामन्ती मालिक र गुटको गुणगान गर्छन् । तिनीहरू आफ्ना मालिकलाई हुने हमलालाई पहिले नै रोक्न जोरजाम गर्छन् । पुँजीवादी लेखक, कवि, कलाकार र प्राध्यापकहरू ती पुँजीपति वर्ग र पुँजीवादी व्यवस्थाको फाइदाको निम्ति आ–आफ्ना बुद्धि खियाउँछन् । ‘गरूड पुराण’ होस् कि शोषण पुराण त्यसले दास मालिक र सामन्त वर्गकै फाइदा गर्छ । कृष्ण भगवानको रासलीलाको बयान होस् वा छाडावाद त्यो शोषक वर्गकै साहित्य हो । त्यसले तिनीहरूकै प्रचार गर्छन् । त्यस साहित्यले जनताको मनलाई बिटुल्याउँछ । जनताको मनलाई वर्गसङ्घर्षबाट पर पन्छाउँछ । त्यसले शोषक वर्गलाई फाइदा गर्छ । यसकारण छाडावाद पनि शोषक वर्गको राजनैतिक प्रचार हो ।
तर, तिनीहरू फेरि जनताको साहित्य वा प्रगतिशील साहित्यलाई किन ‘राजनैतिक प्रचार’ र ’पार्टी प्रचार’ भनेर गुनासो गर्छन् त ? पहिलो, तिनीहरू शोषक वर्गको पक्षमा लेख्छन् भन्ने कुरो जनताबाट लुकाउन चाहन्छन् । दोस्रो, जनताले पनि साहित्यलाई आफ्नो वर्गको हितमा उपयोग गरेको हेर्न तिनीहरू चाहँदैनन् । जनताले साहित्यलाई आफ्नो हितको निम्ति उपयोग गर्लान् भनेर तिनीहरू चौपट्टै तर्सन्छन् । यसकारण, तिनीहरू साहित्यलाई राजनीतिबाट अलग्ग भएको देखाउन चाहन्छन् । साहित्य राजनीतिको एक बलियो र प्रभावशाली हतियार हो भन्ने कुरा तिनीहरूलाई थाहा छ । जनता राजनीतिमा लागेको हेर्न भने तिनीहरू चाहँदैनन् । ‘सा कुब्युया लाय्कु च्युता’ (मल बोक्नेको दरबारको विचार) भनेर जनतालाई राजनीतिबाट अलग्याउन खोज्छन् । छोटोमा, जनताले राजसत्ता कब्जा गर्लान् भनेर थरथर काँप्छन् ।
यसबाट तिनीहरू आफै पनि शोषणलाई ठीक छ भनेर भन्न ह्याउ गर्दैनन् भन्ने प्रस्टिन्छ । तिनीहरू शोषक वर्गको पक्ष लिएको देखाउने साहस गर्दैनन् । जनताले त्यसबाट के सिक्छन् ? जनताले तिनीहरूको इच्छाको उल्टो कुरो गर्न सिकेका छन् । जनताले राजनीतिमा चाख लिनुपर्छ । शोषित वर्गले राजसत्ता कब्जा गर्ने काममा लाग्नुपर्छ । त्यसको निम्ति साहित्यलाई वर्गसङ्घर्ष र राजनीतिको हतियार बनाउनु पर्छ । अथवा साहित्य मजदुर, किसान र जनताको पक्षमा लेखिनुपर्छ । जनताको साहित्यले जनताको पक्ष लिने कुनै राजनैतिक पार्टी वा गुटको प्रचार र पक्ष लिनुपर्छ । साहित्यले बत्तीको काम गर्नुपर्छ । जनताले शत्रुहरूबाट यही कुरो सिक्छन् ।
हो, जनताको साहित्यले मजदुर–किसानहरूको एक साँचो क्रान्तिकारी पार्टीको प्रचार गर्ने उद्देश्य राख्छ । साहित्यले जनताको राजनीतिको सेवा गर्नुपर्छ । त्यही साहित्यमात्र आज असल र राम्रो साहित्य हो, जुन साहित्यले शोषित वर्ग या त्यसको राजनीतिको प्रत्यक्ष या अप्रत्यक्ष प्रचार र पक्ष लिदैन, त्यो साहित्य साहित्य होइन । त्यो जनतालाई ठग्ने जालसाजी गरिएको कागतपत्र हो । त्यो साहित्य किसान र गरीब जनतालाई चुस्न शोषक र जमिनदारहरूले तयार पारेको जाली तमसुक हो । त्यसको निन्दा र विरोध गरिनुपर्छ । त्यस जाली र छल–छामको कागतपत्रलाई जनताको अगाडि उदङ्ग्याई दिनुपर्छ ।
जनताको साहित्यलाई राजनीति र पार्टी ‘प्रचार’ भन्नेहरूसँग हामी प्रश्न गर्छौँ– भलाद्मीहरू, तपाईँहरूको प्रज्ञा प्रतिष्ठान (साहित्य एकेडेमी), गोरखापत्र संस्थान, रेडियो नेपाल र अरू यस्तैखाले प्रचार र प्रकाशनका संस्थाहरूले कसको र कुन राजनीतिको प्रचार र प्रकाशन गर्ने गरेका छन् ? के तपाईँका संस्थानहरू र प्रतिष्ठानहरूले देश–विदेशका कुनै क्रान्तिकारी साहित्यलाई छापेका छन् ? अथवा के तपाईँहरू त्यसो गर्ने हुति राख्नुहुन्छ ? के यो शोषक राजनीति होइन ? यसकारण हामी भन्छौँ, शोषित जनताको पक्षमा नलेखिएका सबै साहित्य जनताको निम्ति कागजका खोष्टा हुन् । तिनीहरू शोषक वर्गकै ऐस आरामका वस्तु र जनतालाई छल्ने र ठग्ने जालसाजी हुन् । शोषक वर्गको प्रतिक्रियावादी साहित्य जनता र क्रान्तिको निमित ‘ढिलो विष’ हो । एक अन्धोले पनि देख्न सक्ने कुरो हो कि दास–दासी, जग्गा–जमिन, सुन–चाँदी, असर्फी र अनेक वस्तुहरू दान– दक्षिणा, इनाम र बक्सिस पाएर सामन्ती लेखक र कविहरू, ऋषिमुनि वा गुरू–पुरोहितहरूले ‘कृष्ण–लीला’, ‘चीर हरण’, ‘भीमको बल’, ‘अर्जुनको वीरता’ र अनेक स्वर्ग–नर्कका जाली बखानहरू लेखेका हुन् । के यो ‘नुनको सोझो’ गरेका होइनन् ?
ठिक्कै छ, ‘जसको सीता खान्छ उसकै गीता गाउँछ ।’ यसकारण, तिनीहरूलाई भाट कवि, भाट लेखक भन्ने चलन छ । तिनीहरू पढे लेखेका बुद्धिजीवी कमारा र बाँधाहरू हुन् । त्यस्ता पालिएका वा बन्धक राखिएका वा बेचिएका र किनिएका साहित्यकारहरूले जनताको साहित्यलाई ‘राजनैतिक प्रचार’ र ‘पार्टी प्रचार’, भन्नु ‘चोरले चोर आयो’ भन्नु जत्तिकै होइन ? हामी भन्छौँ, जनताको साहित्य वर्गीय र राजनैतिक प्रचार हो, जनताको साहित्य कामदार वर्ग र त्यसको पार्टी र गुटको प्रचार हो ।
के सबै प्रचार जनताको साहित्य हो ? होइन, सबै किसिमका प्रचारहरू जनताका साहित्य होइनन् । तर सबै साहित्य भने प्रचारका साधन हुन् । शोषक वर्ग सिनेमाका फोहोर तस्बिर र कुराहरूलाई पनि कला र साहित्य मान्छन् । स्टिलका भाँडाकुँडाको प्रचार गीत, आशा र गरूड चुरोटको विज्ञापन, देशी र विदेशी सामान र औषधि बेच्नेहरूले ल्याउने छापा र तस्बिरहरूलाई पनि पुँजीवादीहरू अरू साहित्यलाई जस्तै महत्व दिन्छन् । किनभने हरेक सामन्ती र पुँजीवादी साहित्यिक पत्रपत्रिकाहरू माल–सामान र कम्पनीहरूको विज्ञापन र सूचनाहरूले भरिएको हुन्छ । एक अर्थमा तिनीहरू त्यसलाई साहित्य नै मान्दछन्, किनभने त्यो प्रचारभित्र नाफा र फाइदा लुकेकै हुन्छ । ‘…. राजा र रानीको तस्बिर छ’, ‘नारायणहिटी सुनको दरबार’ आदि त्यस्तै नाफा र शुभलाभमा अडेको सामन्ती र पुँजीवादी साहित्यकै हाँगाबिँगा हुन् । तर, जनताको साहित्य त्यसलाई साहित्य स्वीकार गर्दैन । ती सबै शोषक सामन्तहरूको तारिफ गर्ने र नाफा खाने साधन हुन् । ती सबै सीधा–साधा जनतालाई भाँड्ने र ठग्ने वस्तु हुन्, साहित्य होइनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *