भर्खरै :

कथा राजनीति –जसको निम्ति व्यापार हो

पञ्चायतकालदेखि देख्दै आएका एक सक्रिय युवकमाथि बरोबर ध्यान तानिँदै आएको छ । उनी पहिले निधारमा पशुपतिको चन्दन लगाएको पाउँथेँ र दुई–चार वर्ष पहिले मैले उसको निधारमा राम तिलक र अनेक हिन्दू धार्मिक सङ्केत भएका टीकाहरू देख्थँे । पछि उनी कहिले नेका र एमालेका फरक–फरक लुगामा देखिए । गएको स्थानीयको निर्वाचनमा उनी निधार छोपिने टोपी लगाएको देखिए । उनको र मेरो आँखा बरोबर जुधिन्थ्यो र उनी कुराकानी होला भनी तर्केर हिँड्थे ।
संयोगले मेरो र उनको जम्का भेट भयो – एक प्रजातान्त्रिक पार्टी नजिकको एक रेष्टुराँमा । उनी सा¥है हँसमुख र विजयी मुहारमा थिए । उनले हाँस्दै आफ्नो राजनैतिक भूमिका नलुक्ने स्थितिबाट लाचार हुँदै भने, “नमस्कार पत्रकार दाइ, मैले गल्ती नगरेको भए तपाईँसँग बरोबर वर्षौँदेखि देखादेख ठाउँठाउँमा हुन्थ्यो होइन ?”
“हो, तपाईँ, होसियार र सक्रिय हुनुहुन्छ, आखिर भेटघाट भएरै छोड्यो, मलाई खुसी लागेको छ । मेरो काम तपाईँजस्तै सक्रिय र चमत्कार देखाउने गतिविधिमा भूमिका खेल्ने एक खेलाडी हुनुहुन्छ, सफलताको निम्ति शुभकामना र बधाई छ ।” मैले प्रस्टै बताएँ ।
उनी आफ्ना चम्किला दाँत देखाउँदै र खुलेरै गौरवको अनुभूतिमा खुले, “आज म फुर्सदमा छु, केही बताउनुस् सेवाको निम्ति हाजिर छु ।”
“म तपार्इँको जीवनका सुरुका गतिविधि र आजसम्मको सफलताको बारेमा जान्न उत्सुक छु, अप्ठेरो मान्नु हुन्न भने तपाईँ आफ्नो धार्मिक पर्दाबाट बाहिर आएको हेर्न चाहन्छु”, मैले भनेँ ।
चिया पिउँदै उनले आफ्नो कथा सुरु गरे– म उपत्यकाकै एक गाउँका दूधका साधारण व्यापारी थिएँ । मैले पशुपति नजिक एक चिया पसल खोलेको थिएँ । दूध राम्रो भएरै होला, धार्मिक ग्राहकहरू पशुपति दर्शनपछि मेरै पसलमा चिया पिउँथे । मेरा ग्राहकहरू सन्तुष्ट देखिन्थे र म मनमनै नाफाको कारण खुसी थिएँ । मेरा ग्राहकहरू साधारण ग्राहक हुँदै माथिल्ला कर्मचारी, व्यापारी र राजनैतिक व्यक्तिहरूसमेतलाई सेवा गर्ने अवसर पाउँदै गएँ र मेरो चिया पसल पनि ठूलो, सफा र चिटिक्क पर्दै गयो ।
एका बिहानै एक व्यापारी वा मारवाडी ग्राहकले मलाई बडो विश्वासिलो आवाज र मुद्रामा भने, “पसले भाइ धेरै दिनदेखि मैले तपाईँको रेष्टुराँमा चिया खाँदै छु, मलाई खुसी लाग्यो, भाइको पसलको दूध धेरै शुद्ध छ, म एक धार्मिक मानिस भएको हुँदा एउटा प्रस्ताव राख्दै छु भन्दै उनले मेरो दायाँ हात समात्यो र एक ठूलो खाम मेरो हातमा राख्दै भने– भाइ भोलिदेखि एक पाठी दूध पशुपतिमा मेरो नामबाट चढाउनु दुई वर्ष ! यो रकम तिमीले पुँजीको रूपमा प्रयोग गर्नु है, बिदा भन्दै उनी पसल बाहिर गए । दायाँबायाँ हेरे, अरू कोही ग्राहक थिएनन् । म माथिको कोठामा गएँ, खाम खोलेँ । त्यस ठूलो खाममा दुई लाख रूपैयाँ थियो ।”
एकछिन लामो सास फेरेर पसले चुप लागे । मैले उनलाई तत्काल प्रश्न गरेँ, “त्यो दुई लाख रूपैयाँ तिमीले तास–जुवामा त लगाउनु भएन, जाँडरक्सीमा लगाउनु भएन होला नि ।”
उनी उत्साहित हुँदै बोल्न थाले, ‘दुई–तीन रात म एक्लै पैसा प्राप्तिले छटपटिएँ । दुई–तीन दिनपछि घटनाबारे मेरी श्रीमतीलाई बताएँ र तिमीले साथीहरूसँग सल्लाह गर्न भनिन् । सबैको एउटै सल्लाह थियो, त्यो पैसा त्यसै राख्नु हुन्न, भूमिमा राख्नु उचित हो । सोअनुसार त्यस रकमले चलनचल्ती भाउले १०–१२ रोपनी जग्गा किने । त्यही रकमले मैले सहरमा आजसम्म २–३ वटा घर बनाएँ ।
मैले सोधेँ, ‘तपाईँको व्यापारमा परिवर्तन किन कसरी गर्नुभयो र त्यसबाट के कस्तो हासिल गर्नुभयो ?’
एकछिन सोचेर उनले भने, “एकजना प्रजातन्त्रवादी कार्यकर्ताले आएर भने, उपत्यकामा दूधको कमी हुँदै गएको बेला केटाकेटी र मानिसले खानुपर्ने दूधले पशुपतिलाई नुहाएर कसरी धर्म लाग्छ ? सफा गर्ने त पानीले हो, हुँदै नभएको स्वर्ग र छँदै नभएको ईवरलाई मानिसहरूले भजन गर्नु त अन्धविश्वास हो ।
मलाई त्यस प्रजातन्त्रवादी कार्यकर्ताको भनाइ राम्रो लाग्यो र मैले आफ्नै दूध राख्ने भान्छा कोठामा एउटा ट्याङ्की बनाएँ र त्यही पशुपतिलाई दिने शुद्ध दूधमा शुद्ध जलपानी मिसाएँ । त्यही दूधले पशुपतिको स्नान दुई वर्ष गराएपछि म त्यही पुँजीको घोडा चढेर ठूला–बडाको नजिक पुगेँ । बैङ्क मेनेजरहरू र अन्य सहर बजारका व्यापारीहरू मेरा राम्रा साथी– सङ्गति भए । ती राम्रा मानिसहरूलाई पनि जनताले कालाबजारी, तस्कर, खानेकुरामा मिसावट गर्ने र शोषक भनी गाली गर्दा मेरो मनलाई अलि नमज्जा लाग्थ्यो । कहिलेकाहीँ पश्चाताप पनि हुन्थ्यो, निद्रा लाग्दैनथ्यो, बरु कममात्र पानी मिसाएको भए पाप त लाग्दैनथ्यो भन्ने तर्कना हुन्थ्यो । ती सबै बिर्सनको लागि रक्सी खाने बानी प¥यो ।
मैले आफ्नो पाप आफ्ना स्वास्नी र केटाकेटीसम्म नसरोस् भनी म एक्लै कल्पन्थेँ र मनमनै पशुपतिसँग माफी पनि माग्थेँ ।
उनले पश्चाताप र प्रायश्चितबाट उनी राम्रो नपढेलेखेका एक किसान भन्ने अनुमान गर्दै मैले सोधँे, “तपाईँ धार्मिक विचारका मानिस हुनुहुन्छ । अनि रामायण, महाभारतजस्ता के–कस्ता धर्मशास्त्रका पुस्तक पढ्नुभएको छ’ ? प्रश्नमा उनले प्रस्टै उत्तर दिए, “मैले त्यसो उच्च स्तरका शास्त्रहरू र राजनीतिशास्त्रहरू पढेको भए म किन कहिले राप्रपा, कहिले काङ्ग्रेस र कहिले एमाले बन्थँे ? यसकारण, मलाई कसैकसैले तिहुन–चाखुवा पनि भनेको थाहा पाउँछु ।”
“पछिपछि मेरो सङ्गत नेपालको प्रजातन्त्रवादी भनिने एक पार्टीका मध्यम स्तरका नेताहरूसम्म पुग्यो । सम्भवतः तपाईँको भाषामा पुँजीवादी पार्टी भन्नु होला । तिनीहरूले मेरो समृद्धिको गुप्त कुरा कसरी थाहा पाए मलाई थाहा भएन र यता केही वर्षपछि मलाई दायाँ हातमा ठूलो खाम ठम्याउने व्यापारी वा मारवाडी देख्न छोडेँ ।”
मैले अनुमान गरेँ र भनेँ, “सम्भवतः उनको नेपालमा व्यापार नगरी भारतमै फर्के होला, होइन त भाइ ?”
तर, उनको बारे आफूलाई के थाहा छ भनी सोध्दा उनले भने, “सहर बजारका मानिस र अफिसहरूसँग उसको धेरै उठबस छ । पछिपछि मलाई घरजग्गाको काम र ठेक्कापट्टामा पैसा लगाउन सिकाउने पनि उनी नै हुन् ।”
स्थानीय निर्वाचनको दुई–तीन महिनाको उनको गतिविधिले उनी कुन दलको कार्यकर्ता हो ठम्याउन मैले सोधेँ– ‘भाइको भित्रैदेखि कुन पार्टीले विजय गर्दा देश उँभो लाग्ने विचार गर्नुभयो र आफू पनि निर्वाचनमा उठेको भए जित्नु हुने थियो– आफ्नै गाउँमा पनि होइन र ?’
‘त्यसो मैले सोचिन दाइ, म एक व्यापारी मानिस कहाँ मैले एक–एक जना मतदातालाई खुट्टा समाएर मत मागी हिडूँ ? घरमै बसेर कारोबारमा पैसा लगाउँदा आफूलाई पुगिहाल्छ, किन अरूलाई दुःख दिऊँ भन्ने लाग्यो के दाइ !’
“तर, भाइ त कहिले यताउता लाग्नु हुन्छ भन्ने सुन्छु र देख्छु नि त !”
“ए दाइ पार्टीका नेताहरूले कहिलेकाहीँ मलाई फलानाफलानालाई यति पैसा दिएर निर्वाचनमा उम्मेदवार बनाइदिनुप¥यो भनेकोमा सहयोग गरेको थिएँ– कता नेताहरूकै सल्लाहमा एउटा दलका उम्मेदवारलाई अर्के दलमा पु¥याइदिएको छु ।”
मैले आश्चर्य मान्दै भनेँ, “अहो भाइ, यस्तो गर्दा त हार्ने जित्ने भयो र जित्ने त हार्ने भयो नि !” “दाइ पनि ! त्यसैमा त मज्जा छ नि !” मैले भनेँ– “त्यसो गर्दा भाइलाई के फाइदा भयो ?” उनले प्रस्ट भाषामा भने, ‘एउटा–एउटा मुद्दामा उम्मेदवार हेरी २–३ लाख र मेयरमा १५ लाख चाँजोपाँजो मिलाउन सघाउ पु¥याएको छ त । थाहै छ नि राजनीति पनि आज व्यापार भयो होइन र दाइ !”
२० जेठ २०७९

Leave a Reply

Your email address will not be published. Required fields are marked *