भर्खरै :

घरेलु तथा साना उद्योग नै देशको अर्थतन्त्रको आधार

भक्तपुर, २० जेठ । भक्तपुर घरेलु तथा साना उद्योग सङ्घको आयोजनामा भक्तपुर नगरपालिकामा निर्वाचित प्रमुख र उपप्रमुखको सम्मानमा शुक्रबार बधाई तथा शुभकामना कार्यक्रम भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले देशको अर्थतन्त्रको आधार घरेलु तथा साना उद्योग नै भएकोले घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राखेर राज्यले नीति बनाउनु आवश्यक भएको बताउनुभयो ।
घरेलु तथा साना उद्योगले रोजगार प्रवद्र्धनमा मद्दत पुग्ने भएकोले यसको अझ महत्व रहेको धारणा राख्दै उहाँले भन्नुभयो, “घरेलु उद्योगबाट उत्पादित वस्तुलाई विदेश निर्यात गर्ने नीति केन्द्रीय सरकारले गर्नु आवश्यक छ । यसले विदेशी मुद्रा आर्जनमा थप सहयोग पुग्नेछ ।”
रोपार्इँको समयमा रासायनिक मलको अभाव हुनु भनेको कृषि उत्पादन घट्नु हो भन्दै उहाँले यसको मुख्य दोषी सरकारमा रहेका पार्टीहरू नै हुन् भन्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “नेपाल पनि श्रीलङ्काकै स्थितिमा पुग्ने खतरा छ । कृषि अर्थतन्त्रमा आत्मनिर्भर बन्न सकेमात्र देश स्वतन्त्र हुने हो । विदेशी सामान आयात गरेर देश समृद्ध हुनेछैन । अरूको भरमा बाँचेको देश कहिल्यै स्वतन्त्र हुनसक्दैन ।”
हालै सम्पन्न निर्वाचनमा जित्नको लागि गरिएको असैद्धान्तिक गठबन्धनले बहुदलीय व्यवस्थाको धज्जी उडाएको उहाँले बताउनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले अमूल्य मत दिएर नेमकिपाका उम्मेदवारहरूलाई विजयी गराउनुभएकोमा कृतज्ञता व्यक्त गर्दै नयाँ कार्यकाल पहिचानयुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निर्वाचन घोषणापत्रलाई आधार लिई भनपाका जनप्रतिनिधिहरूले काम गर्ने विश्वास दिलाउँदै उहाँले ‘ख्वप मोडेल’लाई निरन्तरता दिने बताउनुभयो ।
सङ्घका पूर्वअध्यक्ष चन्दनकृष्ण श्रेष्ठले लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धनमा स्थानीय तहले प्राथमिकता राखेमात्र मौलिक सीप र उद्योग कायम हुने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष प्रेमकृष्ण खर्बुजाको सभापतित्वमा भएको कार्यक्रममा पूर्वअध्यक्ष वीरेन्द्र जति र महिला उद्यमी समितिका सभापति देवकी श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *