भर्खरै :

राजनीतिक मुहार सङ्लो हुनुपर्छ

राजनीतिक मुहान सङ्लो हुनुपर्छ । राजनीति गर्ने दलका नेता तथा कार्यकर्ताहरूको हृदय सफा र शुद्ध या निष्पाप र पवित्र हुनुपर्छ । सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू इमानदार, स्वच्छ र निःस्वार्थी नभएकै कारण देश धमिलिएको हो, देशले विकास गर्न नसकेको हो या देश विकासमा पछि परेको हो । अहिले नेपाल विकासशील देश पनि बनेको छैन । सरकारमा पुगेका सबै दलका नेताहरू अवसरवादी भए, आ–आफ्नो दलको सिद्धान्त र विचार बन्धक राखेर निर्वाचनमा जसरी भए पनि जित्ने दाउमा लागे । यही कारण स्पष्ट बहुमत भएको पार्टीले पनि ५ वर्ष सरकार चलाउन सकेन । यो दलका नेताहरूले सिद्धान्त र विचारको राजनीति नगर्दाको परिणामले भएको हो । यसरी राजनीति मुहान धमिलिएकै कारण देशमा समस्या भएको हो, अस्थिर राजनीतिले ठाउँ पाएको हो ।
सत्तासीन दलका नेता तथा कार्यकर्ताहरू पदमा पुगेपछि पदको दुरूपयोग गरी कमाउनेतिर किन ध्यान दिन्छन् ? विकास योजनाको नाउँमा आएको रकममा किन कमिसनतिर पल्किन्छन् ? स्वच्छ राजनीति नहुँदा या नगर्दा सत्तासीन नेता तथा कार्यकर्ताहरूको मतिभ्रष्ट भएको हो । हालको सङ्घीय गणतान्त्रिक व्यवस्था पुँजीवादी व्यवस्था हो । नेता तथा कायकर्ताहरू पुँजीपति वर्गको पक्षपोषणमा लागेकाले व्यवस्था परिवर्तन भए पनि देश, विकास र जनताको सेवामा जुटेनन् । देशको संविधान संसारकै संविधानभन्दा उत्कृष्ट भन्न पछि नपर्ने हाम्रा दलका नेता र मन्त्रीहरू आफूलाई उत्कृष्ट प्रधानमन्त्री र उत्कृष्ट नेता बनाउने प्रयास गर्दैनन् । हरेक सरकार आफूले जति अरूले विकास नगरेको फुक्छन्, धाक लगाउँछन् । तर, देशको हालत उस्तै छ ।
देश विदेशी ऋणमा डुबेको छ । देशमा महँगी बढेको बढेकै छ । देशमा अभावै अभाव छ । नेता र मन्त्रीहरू विदेश पुगेर नयाँ नयाँ कुरा सिकेर, प्रेरणा लिएर आफ्नो देश विकास गर्नेतर्फ चासो राख्दैनन् । तिनीहरू उल्टो असमान सन्धि गरेर देश अहित हुने काम गर्छन् र देशलाई परनिर्भर बनाइरहने काम गर्छन् । व्यवस्था परिवर्तनमा जनताले ज्यानको बाजी राखे, रगतको खोलो बगाए । तर, सत्तासीन दलका नेता र मन्त्रीहरू अल्पसङ्ख्यक, सीमान्तकृत, पिछडिएको वर्ग र जनजातिको सेवा गर्ने वाचा या प्रतिबद्धता लागु गर्दैनन् ।
यसको दोषी सरकार नै हो, सत्तासीन दलका नेता र मन्त्रीहरू नै हुन् । हरेक दलले सिद्धान्त, विचार, निष्ठा, आदर्श, मूल्य र मान्यताको राजनीति गरेको भए यस्तो हालत हुँदैनथ्यो । नेमकिपाका नेता तथा कार्यकर्ताझैँ अरू दलका नेता तथा कार्यकर्ता पनि इमानदार र निःस्वार्थपूर्वक देश र जनताप्रति समर्पित भएका भए ख्वप मोडल होइन देशकै मोडल अर्कै हुन्थ्यो । सत्तासीन दलका नेताहरूले नेमकिपाले गरिरहेको कामबाट सिकेर काम गर्न आफ्ना कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई मार्ग निर्देशन गर्न थालेका छन् । नेमकिपाका नेताहरूले आफ्ना कार्यकर्ताहरूलाई राजनीतिक र सैद्धान्तिकरूपले प्रशिक्षित गरिरहेको कुरा अरू दलका नेताहरूले भन्न थालेका छन् ।
देश सत्ता, शक्ति, पद र लाभहानिको चक्करमा फसिरहेको छ । देश भागबन्डामा अल्झिरहेको छ । स्थानीय तहको निर्वाचन सकेलगत्तै सरकारको हेरफेर हुने कुरा सञ्चारमाध्यममा आइरहेको छ । गठबन्धन तोड्ने र अर्काे नयाँ सरकार गठनको चर्चा परिचर्चा सुरु हुन थालेको छ । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा अहिलेको परिणामभन्दा फरक नतिजा ल्याउन केपी ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपालको भेटघाटका समाचारहरू प्रकाशमा आइरहेको छ । सत्तासीन र ठूला दलका यी घटनाक्रमले ती दलका नेताहरू अझै भागबन्डामै अल्झिएको देखाएको छ । यो अस्थिर राजनीतिको अर्काे सङ्केत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *