भर्खरै :

यसरी सम्भव हुन्छ गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन र प्रयोग

नेपालमा आयुर्वेदिक औषधि परम्परागत एवं संस्थागतरूपमा निर्माण र उपयोग हुँदै आइरहेको छ । नेपाली बजारमा विभिन्न स्थानमा उत्पन्न हुने दुर्लभ एवं उपयोगी जडिबुटीलाई विनाप्रशोधन पनि बेचिन्छ । त्यसैगरी भारतबाट आयातीत, नेपाली कम्पनीका र परम्परागत रूपमा वैद्यहरूद्वारा बनाइने औषधि पाइन्छन् ।
हाम्रो आफ्नै परिवेश र वातावरणमा हुने जडीबुटीबाट सजिलै औषधि निर्माण गर्न सकिने हुनाले यो जन–जनमा लोकप्रिय छ । तर, विशेष तालिम एवं शिक्षाविना सबैको पहुँच हुने हुनाले कतिपय ठाउँमा अदक्ष जनशक्तिले औषधि वितरण गरिरहेका छन् ।
आधुनिक समयमा अनेक कारणले आयुर्वेद औषधिको गुणस्तरीयता दिन प्रतिदिन घट्ने क्रममा छ । बढ्दो सहरीकरणसँगै प्राकृतिक स्रोत र साधनको घट्दो अवस्थाले आयुर्वेदिक औषधि उत्पादन कठिन बनिरहेको छ । सेवामूलक स्वास्थ्य पेशामा बढी नाफा कमाउने होडबाजी पनि गुणस्तरीय औषधि उत्पादन नहुनुको एउटा कारण हो । यस्तो परिस्थितिमा हामी सबै सचेत हुन जरुरी छ ।
यस्तो सचेतताले मात्र आयुर्वेद औषधिलाई बचाउन सक्छ । यसलाई बचाउनु धेरै कोणबाट जरुरी छ । यो नेपालको परम्परागत, अन्य शारीरिक असर नहुने र आफ्नै देशमा सर्वसुलभ हुने हुनाले यसलाई बचाउन सरकारदेखि उपभोक्तासम्मको भूमिका महत्वपूर्ण हुनेछ ।
उपभोक्ता : उपभोक्ताले सर्वप्रथम गुणस्तरीय आयुर्वेद औषधिमात्र सेवन गर्न सुरु गर्नुपर्छ । कसैले भनेको भरमा वा मिडियामा गरिएको प्रचारको भरमा औषधि खरीद गर्ने प्रवृत्तिलाई छाड्नुपर्छ ।
सधैँ गुणस्तरीय कम्पनीको आयुर्वेद औषधि खरिद गर्ने, आयुर्वेद विज्ञको सल्लाहबमोजिममात्र औषधि खरिद गर्ने जस्ता बानीको विकास भएमा बजारमा गुणस्तरीय औषधिमात्र भित्र्याउन ठूलो योगदान हुनेछ । उपभोक्ताले नै गुणस्तरहीन औषधिको बहिष्कार गरेपछि गुणस्तरीय औषधि उत्पादन गर्नेलाई हौसला हुन्छ ।
नियामक निकाय : नेपालमा औषधि व्यवस्था विभाग, आयुर्वेद विभाग, आयुर्वेद चिकित्सक सङ्घ, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रजस्ता ठूला संस्था एवं निकाय यो क्षेत्रमा कार्यरत छन् । तिनको पनि नेपाली बजारमा बिक्री वितरण हुने औषधिहरूको गुणस्तरीयता जाँच गराउने, अनुगमन एवं निरीक्षण गर्ने जिम्मेवारी छ । तसर्थ, यस्ता सङ्घ–संस्थाहरूले विधिपूर्वक कार्य गरेमा आयुर्वेदिक औषधिको गुणस्तरीयता कायम गर्न ठूलो योगदान पुग्छ ।
आयुर्वेद स्वास्थ्यकर्मी ः नेपालमा आयुर्वेद क्षेत्रमा विभिन्न तहमा स्वास्थ्यकर्मीहरू कार्यरत छन् । शैक्षिक योग्यताको आधारमा वैद्य, कविराज, आयुर्वेद चिकित्सक, आयुर्वेद विज्ञजस्ता पदमा रहेर कार्यरत रहँदा आयुर्वेद सेवा र औषधिको गुणस्तरीयतालाई प्राथमिकता दिनु उनीहरूको साझा भूमिका हो । गुणस्तरहीन औषधिलाई निरुत्साहित गरेर सधैँ गुणस्तरीय औषधिलाई प्राथमिकता दिनुपर्छ । जनताको स्वास्थ्यलाई सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नु यो क्षेत्रका लागि ठूलो योगदान पुग्नेछ ।
आयुर्वेद व्यवसायी : अहिले आयुर्वेद स्वास्थ्यकर्मी एवं विज्ञभन्दा धेरै गुणा आयुर्वेद व्यवसायीहरू यस क्षेत्रमा सक्रिय छन् । व्यवसायको मुख्य उद्देश्य नै आयआर्जन गर्ने हुन्छ । तर, जनताको स्वास्थ्यजस्तो संवेदनशील विषयलाई ध्यानमा राख्न जरुरी छ । गुणस्तरीय सेवा प्रदान गरेर दीर्घकालिन व्यवसाय गर्ने कि क्षणिक फाइदाको लागि मानिसको स्वास्थ्यसँग खेलबाड गर्ने भन्ने कुराको मनन व्यवसायीले राम्ररी गर्न जरुरी छ ।
आयुर्वेद औषधि निर्माण कम्पनी ः नेपालमा आयुर्वेद औषधि कम्पनीहरू धेरै सङ्ख्यामा छन् । अधिकांश कम्पनीहरू आयुर्वेदविज्ञको अनुपस्थितिमा सञ्चालित छन् । कम्पनीहरू नाफा कमाउने उद्देश्यले सञ्चालित हुन्छन् । कम्पनीहरूको आफ्नै व्यवहारिक कठिनाइहरू हुने भए पनि मानिसको स्वास्थ्यसँग सम्बन्धित व्यवसाय भएको हुनाले सचेत हुन जरुरी हुन्छ ।
बजारमा जडिबुटीहरूको अभाव हुनु, गुणस्तरीय जडिबुटीहरू नपाइनु, विभिन्न मिसावट हुनु, मूल्यमा एकरूपता नहुनु, आयुर्वेदीय औषधि निर्माणमा धेरै सङ्ख्यामा जडीबुटीहरूको प्रयोग हुनुजस्ता समस्या नेपाली कम्पनीहरूले भोग्नु परेको छ । साथै विभिन्न टेन्डर पार्ने होडमा कम्पनीहरूले गुणस्तरहीन कमसल औषधिहरूको निर्माण गरी जिल्ला आयुर्वेदजस्ता संस्थाहरूमा पठाउने गरेको पनि देख्न र सुन्न पाइन्छ । यसले मानिसको स्वास्थ्यलाई जोखिममा पु¥याउने मात्र नभई आयुर्वेदिक औषधिको विश्वसनीयतालाई पनि कम गर्दै लगेको छ । जसले कालान्तरमा समग्र आयुर्वेद क्षेत्रलाई नै असर पु¥याउने देखिन्छ ।
कम लागतमा गुणस्तरीय औषधि निर्माण गर्न कुनै हालतमा सम्भव हुँदैन । यो विषय सङ्घ–संस्थाका पदाधिकारी एवं औषधि कम्पनीका व्यवसायी दुवैले राम्ररी बुझेका छन् । तापनि, व्यवहारमा भने उतारिएको देखिँदैन । यसकारण व्यवसायमा स्वस्थ प्रतिस्पर्धाको विकास हुनुपर्ने देखिन्छ ।
गुणस्तरीय औषधि कुनै पनि चिकित्साको आधारस्तम्भ हो । आधार नै कमजोर भएपछि कुनै पनि पद्धति दिगो रहन सक्दैन । उपभोक्ता, नियामक निकाय, आयुर्वेद स्वास्थ्यकर्मी एवं आयुर्वेद व्यवसायीको साझा प्रयासले मात्र आयुर्वेदिक औषधिको गुणस्तरीयता स्थापित गर्न सम्भव छ । यस दिशामा सबैको ध्यान जानु अपरिहार्य देखिन्छ ।

(डा. क्षेत्री पतञ्जली आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्र धुलिखेलका सह– प्राध्यापक हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *