भर्खरै :

नेमकिपाको प्रतिबद्धतापत्र २०७९ बारे प्राविधिकहरूबीच अन्तरक्रिया

भक्तपुर, २६ जेठ । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा कार्यरत प्राविधिकहरूबीच बिहीबार भक्तपुर नगरपालिकाको लागि नेपाल मजदुर किसान पार्टीको प्रतिबद्धता पत्र २०७९ बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अन्तरक्रियामा त्यहाँ कार्यरत प्राविधिकहरूले विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले नगरवासीहरूको व्यक्तिगत स्वास्थ्य विवरण तयार गरी घरदैलो नर्सिङ सेवालाई थप प्रभावकारी बनाउँदै लाने योजना रहेको बताउनुभयो ।
स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित भएलगत्तै भक्तपुर नपाले मेलम्चीको पानी भक्तपुरमा वितरण गर्न सफल भएको, ख्वप अस्पताल १०० शय्याको अनुमति प्राप्त भएको र ख्वप टेलिभिजन सञ्चालनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै उहाँले घोषणापत्रलाई अक्षरशः पालना गरी देश र जनताको सेवा गर्न प्रतिबद्ध रहने बताउनुभयो ।
घोषणापत्रमा बाल विकास सहजकर्ता शिक्षकहरूको लागि न्यूनत्तम पारिश्रमिकको व्यवस्था गर्ने, नपाबाट सञ्चालित कलेजहरूमा थप विषयहरूको अध्यापन गर्नुका साथै नयाँ कलेजहरू स्थापना गरी जनताको सेवा गर्ने महत्वपूर्ण कार्ययोजनाहरू समावेश भएको अवगत गराउँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले समाजवादउन्मुख हिसाबले काम गर्दै आइरहेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले ख्वपअन्तर्गतका कलेजहरू स्थापनाको उद्देश्यमाथि प्रस्ट पार्दै ढिलै भए पनि ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृति प्राप्त हुनेमा आशावादी रहेको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले भक्तपुर नपाको लागि नेमकिपाले जारी गरेको निर्देशक सिद्धान्त र प्रतिबद्धता पूरा गर्न नपाबाट सञ्चालित कलेजका प्राविधिकहरूको महत्वपूर्ण भूमिका रहने हुँदा सबैजना प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिबद्धतापत्रमाथि भएको अन्तरक्रिया कार्यक्रममा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवा, ख्वप अस्पताल भवन निर्माण आयोजना प्रमुख विजयराम कोजु, ख्वप कलेजका इ. विनोद शाही, प्राविधिकहरू राकेश ग्वाछा, ससिन प्रजापति, इकेशमान शाक्य, प्रमिला शिल्पकार, निरु शिल्पकार र सरिता धुख्वाले आ—आफ्ना सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *