भर्खरै :

राजनीतिक आडमा आपराधिक गतिविधि !

मुलुक सङ्घीय गणतन्त्रमा पुगे पनि आपराधिक गतिविधि घटेको देखिँदैन । राजनीतिक दलको भूमिका बढेपछि यस्ता घटनाहरू कम हुँदै जानुपर्ने हो, तर घटेन । यसले देशको व्यवस्था कमजोर छ, देशमा विधिको शासन छैन, सुशासन छैन भन्ने बोध गराउँछ । सत्तासीन राजनीतिक दल वा नेताहरूले भ्रष्टाचारी, घुसखोरी, कमिसनखोर तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई खासै कारबाही गरेनन्, जनतासामु बताएनन्, बरु बचाउने काम गरे । सञ्चार माध्यमहरूले यस्ताखाले नेता, मन्त्री र सांसदहरूबारे जनतामाझ उदाङ्ग्याउनुपर्छ । समाजमा विकृति र अनियमितता हटाउन सरकार र सत्तासीन राजनीतिक दलहरू नै सक्रिय हुनुपर्छ । यस्ता कार्य अन्त्य गराउन र जनतामा जागरण बढाउन सञ्चार जगत्को पनि ठूलो भूमिका हुन्छ ।
सत्तासीन र ठूला दलका नेताहरूमा भ्रष्टाचार अन्त्य गर्ने, जनताको सांस्कृतिक स्तर उठाउने, देशभक्ति बनाउने र इमानदार नेता तथा कार्यकर्ता बनाउने सोच नै छैन । सत्ता गठबन्धनको प्रश्नमात्र तेस्र्याएर सन्तोष लिने र जनजीविकाका सवालमा खासै वास्ता नगर्ने प्रवृत्ति अद्यापि छ । राजनीतिक आडमा हुने गरेका ठूलठूला भ्रष्टाचार, कर छलीले यहाँ थुप्रै काण्डका घटनाहरू सार्वजनिक भइसकेको छ । सार्वजनिक भइसकेका त्यस्ता आपराधिक घटनाको खासै टुङ्गो हुँदैन । कारबाहीको प्रक्रिया कहाँ पुग्यो, थाहा हुँदैन । यस्ता काण्डका कति प्रकरणहरूमा खोजतलास र छानबिनको प्रक्रिया अघि बढाउनुभन्दा लेनदेन र मोलमोलाइ हुन्छ । राज्यले यसतर्फ पनि ध्यान दिएको हुँदैन । सत्य तथ्यको जानकारी सरकारले दिनुपर्ने हो, तर दिँदैन । यसले पनि अनियमिततामा सत्तासीन दलका नेता र मन्त्रीहरू नै संलग्न छन् भन्ने थाहा हुन्छ । सत्य तथ्य बाहिर ल्याउने दायित्व पत्रकारको पनि हो । यसले अपराधीहरूलाई खबरदारी गर्छ भने जनतालाई सुसूचित पार्छ ।
देशका यस्ता जल्दाबल्दा समस्याहरूमा अर्थात् भ्रष्टाचार, महँगी, कुशासन, दण्डहीनता, बालबालिका र महिला हिंसा आदिलाई राजनीतिक दलले छोप्ने काम गर्नु मनासिब होइन । राजनीतिक गफ छाँटेर आपराधिक घटनालाई टेवा पु¥याउने काम हामीले गर्नु हुँदैन । हामीले त मुलुकलाई समृद्ध बनाउन, सुशासन र विधिको शासन कायम गर्न, इमानदारीपूर्वक राजनीति गर्ने पाठ पो सिकाउनुपर्छ । राजनीतिक नेतृत्व पनि मोडेलको रूपमा विकास गर्न, आफ्नो नेतृत्व क्षमता विकास गर्नेतर्फ चिन्तनमनन गर्नु आवश्यक छ । व्यक्ति कुनै न कुनै विचारमा बाँधिएकै हुन्छ । सञ्चार क्षेत्रमा संलग्न सञ्चारकर्मीहरू पनि विचारबाट मुक्त हुँदैनन् । नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरू इमानदारीपूर्वक समयानुकूल आफैलाई परिष्कृत गर्दै राष्ट्र र जनमतमा केन्द्रित हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *