भर्खरै :

घानामा किन अमेरिकी सैन्य अखडा छ ?

सन् २०१८ अप्रिलमा घानाका राष्ट्रपति अकुफो–अडोले घानाले “संरा अमेरिकालाई सैन्य अखडा बनाउन नदिएको र भविष्यमा पनि बनाउन नदिने” भने । संरा अमेरिकासँग नयाँ रक्षा सहकार्य सम्झौता गर्ने विषयमा घानाको संसद्ले २०१८ मार्च २८ मा सहमति जनाएपछि उनको टिप्पणी आएको थियो । मे महिनामा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौतालाई औपचारिकतामा लगेलगत्तै मार्चमा एउटा टेलिभिजन अन्तर्वार्तामा बोल्दै घानाका रक्षामन्त्री डोमिनिक नितिवुलले पत्रकार क्वेसी प्राटलाई घाना संरा अमेरिकासँग सैन्य सम्झौतामा नगएको बताए । यद्यपि प्राटले सैन्य सम्झौता ‘चिन्ताको स्रोत’ थियो र ‘घानाको सार्वभौमिकता सुम्पनु’ थियो भने । प्राट घानाको समाजवादी आन्दोलनका नेता पनि हुन् ।
सन् २०२१ मा प्राटको समाजवादी आन्दोलनको अनुसन्धान संस्थाले ट्राइकन्टिनेन्टल संस्थासँग मिलेर अफ्रिकामा फ्रान्सेली र अमेरिकी सैन्य उपस्थितिबारे एउटा विवरण प्रकाशित गरेको थियो । त्यसको शीर्षक थियो – “हाम्रो सार्वभौमिकताको प्रतिरक्षामा ः अफ्रिकामा अमेरिकी सैन्य अखडाहरू र अफ्रिकी एकताको भविष्य” । त्यसमा संरा अमेरिकाले घानाको राजधानी आक्रास्थित कोटोका अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वेस्ट अफ्रिका लजिस्टिक नेटवर्क’ (डब्ल्युएएलएन) स्थापना गरेको उल्लेख छ । सन् २०१९ मा तत्कालीन अमेरिकी ब्रिगेडियर जनरल लियोनार्ड कोसिन्स्कीले साप्ताहिकरूपमा जर्मनीदेखि आक्रासम्मको अमेरिकी उडान “मूलतः बसको यात्रा हो” भनेका थिए । ‘डब्ल्युएएलएन’ सामूहिक सुरक्षा क्षेत्र हो । यो अमेरिकी सैन्य अखडाकै अर्को नाम हो ।
रक्षा सहकार्य सम्झौतामा हस्ताक्षर गरेको ४ वर्षपछि मैले फेरि एकचोटि क्वेसी प्राटसँग कुराकानी गरेँ र सो सम्झौताको वर्तमान स्थिति र घानाको भूमिमा संरा अमेरिकी अखडा राख्दाका प्रभावहरूबारे सोधँे । आक्राको विमानस्थलका तीन टर्मिनल वा नाकामध्ये एउटा ‘डब्ल्युएएलएन’ ले लिएको प्राटले बताए । उनले भने, “यस नाकामा सयौँ अमेरिकी सैनिकहरू आउनेजाने गरेको देखिएको छ । तिनीहरू अन्य पश्चिम अफ्रिकी देशहरू र खासगरी साहेल क्षेत्रभरि कुनै अपरेसनजन्य क्रियाकलापमा संलग्न हुनसक्छन् ।”
संरा अमेरिकाका सैनिकहरूलाई पासपोर्ट चाहिँदैन
अमेरिका–घाना सुरक्षा सम्झौताले उठाएका प्रश्नहरू केलाऔँ । सम्झौताको धारा १२ मा अमेरिकी सेनाले कुनै नियमन वा चेकजाँचबेगर आक्रा विमानस्थल प्रयोग गर्नसक्ने लेखिएको छ । अमेरिकी सैन्य विमानहरू “जतिबेला पनि तयारीमा रहनसक्ने र जाँचबुझ नगरिने” उल्लेख छ । साथै घाना सरकारले “तय भएका सुविधा र क्षेत्रहरूमा अमेरिकी सेनालाई निर्बाध पहुँच र प्रयोगको छुट” दिने पनि उल्लेख छ । प्राटले मलाई भने, “यस सम्झौताले संरा अमेरिकी सैनिकहरूलाई भियना अभिसन्धिमा कूटनीतिज्ञहरूलाई दिइएको सहुलियतभन्दा कता हो कता बढी सहुलियत दिन्छ । घानामा पस्न तिनलाई पासपोर्ट चाहिन्न । अमेरिकी सेनाको परिचयपत्र भए पुग्छ । घानामा पस्न भिजासमेत चाहिन्न । तिनीहरूको कुनै पनि प्रकारको चेकजाँच वा सुरक्षा जाँच गरिन्न ।”
घानाले संरा अमेरिकी सेनालाई “सित्तैमा घानाको रेडियो फ्रिक्वेन्सीहरू प्रयोग गर्न” दिएको छ । यी तथ्यतथ्याङ्कको सबैभन्दा चकित पार्ने व्यवस्था के हो भने “अमेरिकी सैनिकहरूले कुनै घानाबासीलाई मारे वा तिनको सम्पत्ति नष्ट गरे भने तिनलाई घानाको अदालतमा मुद्दा चलाउन पाइन्न । आफ्ना नातेदारहरूलाई अमेरिकी सेना वा सिपाहीले मारेमा, तिनको धनसम्पत्ति नष्ट गरेको खण्डमा घानाबासीले अमेरिकी सैनिक वा अमेरिकी सरकारसँग क्षतिपूर्ति माग्न पाउँदैनन् ।” प्राटले बताए ।
घानाले यस्तो हुन किन दियो ?
अमेरिका–घाना सम्झौताले घानाको सार्वभौमिकता उल्लङ्घन गर्छ । प्राटले सत्तासीन घाना सरकारको विचार अहिले पश्चिमी औपनिवेशिक शक्तिका मागहरूप्रति निहुरिने र तिनलाई रिझाउने लामो इतिहाससँग जोडिएको बताए । सन् १९५७ सम्म घाना (तत्कालीन गोल्ड कोस्ट) बेलायतको उपनिवेश थियो । त्यसबेला पनि शासकहरू रवैया रिझाउने खालको थियो । यही इतिहास पछ्याउँदै सुरक्षा सम्झौताको नाममा अहिले अमेरिकी सेनालाई ‘निर्बाध पहुँच’ दिइएको हो – प्राटले भने ।
घानाका वर्तमान राष्ट्रपति अकुफो–अडो घानाका पूर्वप्रम (१९६९–१९७२) कोफी अब्रेफा बुसियाकै राजनीतिक विचारधाराका व्यक्ति हुन् । प्राटले भने, “यो विचारधारा मान्ने व्यक्तिहरूले सन् १९५० को दशकको आरम्भमा बेलायतमा एउटा प्रतिनिधि मण्डल पठाएका थिए । तिनीहरूले गोल्ड कोस्टलाई यति छिट्टै स्वतन्त्रता दिनु हुँदैन भनेर बेलायती अधिकारीहरूलाई मनाएका थिए ।” यसले गर्दा घानामा विद्रोह भएको थियो । त्यस विद्रोहमा यो विचारधाराका पक्षधरहरूले “घानाका तत्कालीन राष्ट्रपति क्वामे एनक्रुमाको सरकार उल्ट्याउन १९६६ फेब्रुअरी २४ को षड्यन्त्रमा सीआईएसँग मिलेमतो गरेका थिए । सन् १९६९ मा दक्षिण अफ्रिकाको रंगभेदी शासनविरुद्ध नाकाबन्दी लगाउँदा उनीहरूले विरोध गरेका थिए ।” प्राटले थपे, “घानाको वर्तमान सरकारले संरा अमेरिका र उसका सहयोगीहरूलाई खुसी पार्न जे पनि गर्नेछ ।”
घानामा संरा अमेरिकाको चासो किन छ ?
अफ्रिकामा आफ्नो सैन्य उपस्थितिको कारण आतङ्कवादविरोधी अभियान हो । यस क्षेत्रमा चीनलाई पस्न नदिनु हो भन्ने अमेरिकी दाबी छ । प्राटले भने, “घानामा चिनियाँ सेनाको उपस्थिति छैन ।” खासमा अस्पष्ट उद्देश्यपूर्तिका लागि अफ्रिकामा सैन्य नियन्त्रणको जरा गाड्न संरा अमेरिकाले चिनियाँ उपस्थितिलाई बहाना बनाउँदै आएको छ ।
सन् २००१ मा अमेरिकी उपराष्ट्रपति डिक चेनीको ‘राष्ट्रिय ऊर्जा नीति विकास समूह’ ले ‘राष्ट्रिय ऊर्जा नीति’ प्रकाशित ग¥यो । प्राटले बताएअनुसार यस प्रतिवेदनको विषयवस्तुबाट संरा अमेरिकाले “ऊर्जा आपूर्तिको निम्ति लामो समयसम्म मध्य एसियामा भर पर्न नसकिने र अमेरिकाको ऊर्जाको माग पूरा गर्न पश्चिम अफ्रिका नगई नहुने” बुझेको देखिन्छ । पश्चिम अफ्रिकाका अन्य उर्जा स्रोतहरूजस्तै घाना “स्रोतसाधनमा धेरै धनी छ । हाल ऊ अफ्रिकाको सबैभन्दा ठूलो सुन उत्पादक हो ।… विश्वका १० ठूला सुन उत्पादकमध्ये एक हो । कोका उत्पादनमा ऊ विश्वकै दोस्रो ठूलो देश हो । घानामा फलाम, हिरा, म्याङ्गनिज, बक्साइट, तेल र ग्यास, लिथियम र प्रशस्त पानी छ । साथै उसँग विश्वकै सबैभन्दा ठूलो मानवनिर्मित ताल छ ।” यसबाहेक घाना भूमध्यरेखामा पर्छ, जसले गर्दा कृषिको विकासका लागि मूल्यवान छ । साथै घानामा अङ्ग्रेजी बोल्न सक्ने पेशेवरहरूको ठूलो जमात छ । पश्चिमी सेवा क्षेत्रको माग यसले पूरा गर्न सक्छ ।
यी आर्थिक विषयलाई एकातिर राखौँ । अमेरिकी सरकारले सन् १९६६ को विद्रोहलगायतका घटनाहरूमा घानामा हस्तक्षेप गर्दै आएको छ । उसले अफ्रिकाको उपनिवेशवादविरोधी मुक्ति आन्दोलनमा घानालाई नेतृत्वदायी भूमिका खेल्न दिएन । हालैमात्र अमेरिकाले अफ्रिका महादेशभरि आफूले चलाएका विभिन्न सैन्य र व्यापारिक परियोजनाहरूमा घानालाई भरपर्दो मित्र पायो । घानाका जनताको राष्ट्रिय हितमा नभई यिनै परियोजनाहरू पूरा गर्न संरा अमेरिकाले आक्राको नागरिक विमानस्थलको एक भागमा अहिले सैन्य अखडा निर्माण गरेको प्राटले बताए ।
(विजय प्रसाद भारतीय इतिहासकार, सम्पादक र पत्रकार हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *