भर्खरै :

पत्रकारिता राजनीतिबाट अलग हुनुपर्छ भन्नु पनि राजनीति

पत्रकारिता जनताको पक्ष र राष्ट्रको हितमा हुनुपर्छ । पत्रकारिताको काम सत्ता र शक्तिको पक्षपोषण गर्ने या गुणगान गर्ने होइन । सत्ता र शक्तिको आडमा चलेको पत्रकारिताको निश्चित दृष्टिकोण हुँदैन । किनभने, सरकारको नेतृत्व फेरिरहन्छ, सत्तासीन दल पनि कहिले ठूलो र सानो हुन्छ । अहिले अधिकांश पत्रिकाहरू सत्तारूढ दलतर्फ ढल्केका छन् । सत्यतथ्य उजागर गर्ने, कमी कमजोरी औँल्याएर खबरदारी गर्ने या सचेत पार्ने काम पत्रिकाले गर्नुपर्छ । सही दिशानिर्देश गरेर आदर्शोन्मुख समाज र शोषणरहित समाज स्थापनामा टेवा पु¥याउनुपर्ने कति पत्रिकाहरू आफ्नो जिम्मेवारी भुलेर अर्कै दिशामा लागेका छन् । जनतालाई सत्मार्ग देखाउनुपर्ने ती पत्रिकाहरू जनताको मन बिगार्ने पूर्वाभ्यास गर्दै छन् । अश्लील समाचार र अश्लील दृश्य देखाएर त्यसले समाजलाई राम्रो बाटो देखाउँदैन बरू मन्दविष छरेर युवा युवतीहरूको मन बिगार्दै छ, भड्काउँदै छ, अस्थिरता निम्त्याएर हत्या र हिंसाको बाटोमा लैजाँदै छ । यो खतरनाक विषय हो ।
कुनै सञ्चारकर्मी या पत्रकारिता राजनीतिक दलसित आबद्ध हुनु अनौठो होइन । मानिस सामाजिकमात्र होइन राजनीतिक प्राणी पनि हो । कुनै पत्रिका राजनीतिक दलसित आबद्ध भयो भन्दैमा त्यो पत्रिकाले दलको प्रचारमात्र गर्दैन । त्यस्तो पत्रिकाले समग्र राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भहरू पनि जोडेको हुन्छ । देश–विदेशमा भइरहेका शोषितपीडित जनताको आन्दोलन या मजदुर, किसान, पेशागत सङ्गठनको आन्दोलनबारे लेखिरहेको हुन्छ, ती आन्दोलनप्रति ऐक्यबद्धता जनाइरहेको हुन्छ । भ्रष्टाचारविरोधी आन्दोलनको समर्थन गरिरहेको हुन्छ । के दलसित आबद्ध पत्रिकाले बाढी पहिरोको समस्या, डुबानको समस्याबारे लेख्नु हुँदैन ? कोरोना भाइरसको पीडाबारे लेख्नु हुँदैन ? विदेशी थिचोमिचोबारे लेख्नु हुँदैन ? आस्था र विचार पस्किने माध्यम सञ्चार क्षेत्रलाई किन राजनीतिबाट अलग पार्ने प्रयास भइरहेको छ ?
समाज ब्युँझाउने, समृद्धिको सपना बाँड्ने, सचेतना फैलाउने र जागरण ल्याउने काम पत्रकारिताको हो भने पत्रकारहरू कसरी राजनीतिबाट अलग हुन्छन् ? व्यक्ति, समाज र राष्ट्रको हित खोज्ने, त्यसको प्रचारप्रसार गर्ने पत्रकारिता पेशालाई राजनीतिबाट अलग गर्न खोज्नु पनि राजनीति नै हो । पहिले पहिले शोषक, सामन्त र प्रतिक्रियावादीहरू मल बोक्नेलाई किन राजनीति भनी सधैँ डबाएरै राख्ने धारणा राख्थे । के मजदुर, किसानले राजनीति गर्नु हुँदैन ? शिक्षक, विद्यार्थी, युवा, महिलाले राजनीति गर्नु हुँदैन ? त्यसो भए राजनीति कसले गर्ने ? राजनीतिक दल केको निम्ति ? पत्रकारिताले सबै कुरा लेख्न पाउने तर राजनीति गर्न पाउँदैन भनी के अर्को राजनीति गर्न लागेको होइन ?
शक्तिशाली देश संयुक्त राज्य अमेरिकाले अरू देशमा आक्रमण गर्न पाउने, सैन्य हस्तक्षेप गर्न पाउने, देश–देशबिच जुधाएर हतियार बेच्न पाउने, नाकाबन्दी गर्न पाउने तर त्यसविरूद्ध लड्न नपाउने ? आक्रमणको प्रत्याक्रमण गर्न नपाउने ? आक्रमण गर्ने देश आतङ्कारी नहुने, आक्रमणको प्रत्याक्रमण गर्ने र गर्ने कुरा उठाउने देश आतङ्ककारी हुने कस्तो राजनीति ! सत्ता र शक्तिको पछि लाग्ने पत्रकारिताको हालत पनि त्यस्तै हो । कति सञ्चारकर्मीहरू नेमकिपाको कुनै कुरा लेख्दैनन्, महाधिवेशन र सम्मेलनको समाचार पनि दिँदैनन् । नेमकिपाको समाचार कसैले दियो भने पनि लुकाइन्छ या छापिँदैन । के यो सङ्कीर्ण सोच होइन ? अरूलाई माथि नउठाउने, दबाउने, हेलाहोचो गर्ने र सङ्कीर्ण सोच सामन्ती सोच हो । पत्रकािरतामा देखिएको यस्तो चिन्तनमा पनि परिवर्तन हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *